+
+

शाखा अधिकृतको प्रारम्भिक परीक्षामा ‘अभूतपूर्व’ उपस्थिति

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते ८:३६

२८ माघ, काठमाडौं । राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको प्रारम्भिक चरणको परीक्षामा झण्डै ८९ प्रतिशत परीक्षार्थी सहभागी भएका छन् । लोक सेवा आयोगले परीक्षार्थीको यो उपस्थितिलाई ‘अभूतपूर्व’ भनेको छ ।

खुला तथा समावेशी प्रतियोगिताबाट २७३ जना अधिकृत पदपूर्तिका लागि लोक सेवा आयोगले गत मंसिर २७ गते विज्ञापन खुलाएको थियो । सोही विज्ञापनको प्रारम्भिक चरणको परीक्षा माघ २७ गते (शनिबार) भएको थियो ।

शाखा अधिकृतका लागि आवेदन दिएका २३ हजार ७११ जनामध्ये प्रारभ्भिक चरणको परीक्षामा २१ हजार २७ जना परीक्षार्थी सहभागी भएका थिए । ‘प्रतिशतको हिसाबले यो सहभागिता ८८.६८ प्रतिशत हुन आउँछ र यो भनेको अभूतपूर्व हो,’ लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले अनलाइनखबरसँग भने ।

आयोगले देशभरका १४ कार्यालयबाट शनिबार १०० पूर्णाङ्कको प्रारम्भिक परीक्षा सञ्चालन गरेको थियो । त्यसमध्ये काठमाडौं केन्द्रबाट सबैभन्दा धेरै १० हजार ८८६ आवदेकमध्ये ९ हजार ८७१ परीक्षार्थी सहभागी भए । यो उपस्थिति करिब ९१ प्रतिशत हो ।

काठमाडौं उपत्यका बाहिरका १३ कार्यालयबाट १२ हजार ८७७ जनाले आवेदन फारम भरेकोमा ११ हजार १५६ जना प्रारम्भिक परीक्षामा सहभागी भएका छन् ।

विद्यार्थी संख्याको आधारमा जुम्ला परीक्षा केन्द्रबाट सबैभन्दा कम ९५ आवेदकमध्ये ८२ जना सहभागी भएका छन् । परीक्षा केन्द्रको हिसाबमा सबैभन्दा बढी काठमाडौंको शान्ति विद्यागृहको ‘क’ केन्द्रमा २०० मध्ये १९२ जना अर्थात् ९६ प्रतिशत परीक्षाथीहरुले पहिलो चरणको परीक्षा दिएका छन् ।

आयोगका अध्यक्ष रेग्मी लोक सेवा आयोगले लिने परीक्षा निष्पक्ष हुन्छ भन्ने विश्वास आम नागरिकमा रहेको र त्यसको एउटा उदाहरण अधिकृत तहको परीक्षाको उत्साहजनक उपस्थिति रहेको बताउँछन् । यो उपस्थितिले आफूहरुलाई थप ऊर्जा प्रदान गरेको उनी बताउँछन् ।

‘लोक सेवा आयोगले परीक्षामा निष्पक्षता र स्वच्छताका साथ योग्यता प्रणालीको प्रवर्द्धन गर्दै आएको छ,’ आयोग अध्यक्ष रेग्मीले भने, ‘आवेदक उम्मेदवारहरुको आयोगप्रतिको विश्वसनीयता समेत निरन्तर वृद्धि हुँदै गएको छ ।’

आयोगकी प्रवक्ता गीता कुमारी होमेगाईले शनिबार सम्पन्न प्रारम्भिक परीक्षामा देखिएको उल्लेख्य उपस्थितिले सरकारी सेवाप्रति आम नागरिकको आकर्षण छ भन्ने देखिने बताइन् । ‘लोक सेवाको परीक्षामा देखिएको उत्साहजनक उपस्थितिले सरकारी सेवाप्रति आकर्षण छ र आम जनताको भरोसा/विश्वास लोक सेवाले लिने परीक्षाप्रति छ भन्ने देखिन्छ,’ उनले भनिन् ।

प्रारम्भिक परीक्षाको नतिजा कहिले ?

लोक सेवा आयोगले न्याय सेवा बाहेकका सेवामा प्रारम्भिक परीक्षा लिने गर्दछ । शाखा अधिकृत बन्न चार चरणका परीक्षा पास गर्नुपर्दछ । प्रारम्भिक चरणको परीक्षामा पास भएकाहरु मात्र दोस्रो चरणको मूल परीक्षामा सहभागी हुन पाउँछन् ।

एक सय पूर्णाङ्कको प्रारम्भिक परीक्षामा पास हुन कम्तिमा ४० अंक ल्याउनुपर्छ । प्रारम्भिक चरणको परीक्षामा पाएको अंकको ५० प्रतिशत मूल चरणको परीक्षाको प्राप्तांकमा जोडिन्छ । सबैभन्दा धेरै अंक ल्याउनेहरुलाई आयोगले शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस गर्दछ ।

आयोगले शनिबार सञ्चालन गरेको प्रारम्भिक चरणको परीक्षाको नतिजा १०/१५ दिनभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । मेसिन रिडेबल एन्सरसिट भएकाले नतिजा निकाल्न ढिला नहुने आयोगले जनाएको छ ।

हामी नियमित लयमा फर्कियौं : अध्यक्ष रेग्मी

लोक सेवा आयोगले वार्षिक तालिका अनुसार परीक्षा सञ्चालन र नियुक्ति सिफारिस गर्दै आएको छ । आयोगको तालिका कोरोना महामारीको बेला भने प्रभावित भएको थियो । थारु समुदायको आरक्षणको विषयमा मुद्दामामिला लगायतका कारण पनि लिखित परीक्षाहरु हुन सकेका थिएनन् । त्यसका कारण क्यालेण्डर प्रभावित भएको थियो भने आयोगमा पनि कामको बोझ बढेको थियो ।

अहिले भने कामको गति बढाएर आयोगलाई नियमित लयमा फर्काइएको अध्यक्ष रेग्मी बताउँछन् । ‘हामी २०७८ असार १० गते नियुक्त भएर आयोगमा आउँदा करिब अढाइ वर्षका काम पेण्डिङ थिए । क्यालेण्डर नै प्रभावित भएको थियो,’ अध्यक्ष रेग्मी भन्छन्, ‘त्यसलाई लयमा फर्काउन डबल सिफ्ट काम गर्यौं । हाम्रा कर्मचारी साथीहरु डटेर खटिनु भयो । त्यसैको परिणाम स्वरुप अहिले हामी नर्मल क्यालेण्डर फलो गर्ने अवस्थामा पुगेका छौं ।’

सोही नर्मल क्यालेण्डर अनुसार शनिबार शाखा अधिकृतको प्रारम्भिक चरणको परीक्षा सञ्चालन भएको उनी बताउँछन् । यो परीक्षामा सहभागीहरुको उत्साहजनक उपस्थितिले आफूहरुलाई काममा थप ऊर्जा पैदा गरेको रेग्मीले बताए । ‘शनिबारको शाखा अधिकृतको प्रारम्भिक परीक्षाको उपस्थिति हाम्रा लागि ऊर्जा हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?