+
+

अर्थतन्त्र सुध्रिएको दाबी, तर निजी क्षेत्र निराश

अहिले व्यापार–व्यवसायमा मन्दी छ । निजी क्षेत्र चरम निराश देखिन्छ । धमाधम सटर खाली भइरहेका छन् । व्यवसाय छाडेर पलायन हुनेको संख्या सहरमा देखिएका खाली सटरले पुष्टि गर्छ । जताततै अर्थतन्त्रको चिन्ता देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १८:१६

४ फागुन, काठमाडौं । कारोना भाइरस महामारीले विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि मारमा पर्‍यो । त्यसपछि रुस–युक्रेन युद्धले अर्थतन्त्र थप थिलथिलो बनाएको छ ।

अहिले व्यापार–व्यवसायमा मन्दी छ । निजी क्षेत्र चरम निराश देखिन्छ । धमाधम सटर खाली भइरहेका छन् । व्यवसाय छाडेर पलायन हुनेको संख्या सहरमा देखिएका खाली सटरले पुष्टि गर्छ । जताततै अर्थतन्त्रको चिन्ता देखिन्छ ।

प्रधानमन्त्री वा अर्थमन्त्री अर्थतन्त्रमा सुधार भइरहेको व्यक्तव्यबाजीमा रमाइरहेको अवस्था छ । तर, सर्वसाधारणको चासो भने अर्थतन्त्र तङ्ग्रिन्छ कि लड्छ भन्नेमा छ ।

पोखरामा जारी ११औं संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ मा शुक्रबार ‘अर्थतन्त्र : तङ्ग्रिन्छ कि लड्छ ?’ विषयक छलफल भयो । सरोकारवालाले अर्थतन्त्रमा सुधार भइरहेको दलिल सारे ।

व्यवसायी निरञ्जन श्रेष्ठ मुलुकको अर्थतन्त्र दुई दशकदेखि धर्मराउँदै तङ्ग्रिरहेको बताउँछन् । ‘फेरि धर्मराउँदै–धर्मराउँदै एउटा बिन्दुमा पुग्छ । ठोसरूपमा हामीले केही गरेनौं भने यस्तै धर्मराउँछ,’ उनले भने ।

अहिले भने निजी क्षेत्र निकै निराश रहेको उनको भनाइ छ । ‘बजारमा व्यापार एकदम तल आएको छ । मागको कमी छ । माग कमी हुनुको मतलब व्यपार–व्यवसायमा जो छ ऊ निश्चय नै निराश हुन्छ । सटर बन्द भइरहेको छ भने निराश हुन्छ नै,’ उनले थपे ।

वाह्य क्षेत्र सुधार भए पनि आन्तरिक माग बढाउने काम गर्नुपर्ने उनको धारणा छ । ‘लगानीमा बैंकको ऋण मात्रै आधार हुँदैन । व्यवसाय भनेको चक्रका रूपमा बुझ्नपर्छ । बैंकबाट त पूँजी आयो तर त्यसपछि व्यवसाय गर्दा स्वयं पूँजी चाहियो । बजारमा आत्मविश्वास चाहियो,’ श्रेष्ठले भने, ‘अर्को सबैभन्दा ठूलो कुरा, आन्तरिक फिर्ता दर हेरिन्छ । अहिले फिर्ता कम छ । बैंकमा पूँजी छ भने लगानी गर्न हिच्किचाउँछ ।’

अर्थतन्त्र कमजोर बन्नुमा निजी क्षेत्रको पनि धेरथोर हात रहेको श्रेष्ठ स्वीर्काछन् । ‘आत्मविश्वास बढ्यो भने अहिलेको अवस्थामा फरक आउँछ,’ उनले भने ।

त्यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महतका आर्थिक सल्लाहकारसमेत रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट अर्थतन्त्र सुधार भइरहेको बताउँछन् । दुई वर्ष अगाडि विदेशी विनिमय सञ्चितिमा दबाब रहेको उनी सम्झिन्छन् ।

‘गत वर्ष पुसमा हेर्दा हामीसँग भएको विदेशी विनिमय सञ्चिति १० अर्ब २८ करोड डलर थियो । अहिले १३ अर्ब ६९ करोड डलर पुगेको छ । त्यसले १२.१ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्छ,’ उनले भने, ‘दुई वर्षअघि यही बेला नीति निर्मातादेखि व्यवसायी सबै आत्तिएको अवस्था थियो, नेपाल कतै श्रीलंका त बन्दैन भनेर । हामी त्यहाँबाट माथि उठेको अवस्था छ । एउटा महत्वपूर्ण आधार हो विदेशी विनिमय सञ्चिति ।’

उनका अनुसार नेपालले वार्षिक ३ खर्बको पेट्रोलिय पदार्थ र ४ खर्ब हाराहारी खाद्यान्न आयात गर्छ । ‘त्यस्तो मुलुकमा विदेशी विनिमय सञ्चिति थोरै भए पनि घट्ने बित्तिकै अर्थतन्त्र हल्लिन बेर लाग्दैन, त्यहाँबाट हामी निस्कियौं ।’

डेढ–दुई वर्षअघि बैंकहरूसँग कर्जा दिने पैसा नभएको उनले सुनाए । उनका अनुसार गत वर्ष माघमा कर्जाको औसत ब्याजदर १३ प्रतिशत थियो । अहिले ११ प्रतिशतमा झरेको छ ।

‘बैंकहरूसँग बढी भएको पैसा करिब १ खर्ब राष्ट्र बैंकले तानेर राख्नुपरेको छ । ब्याजदर पनि तल आइरहेको छ,’ भट्टले भने, ‘मौद्रिक क्षेत्र, वित्तीय क्षेत्र राम्रो अवस्थामा देखिएको छ तुलनात्मक रूपमा । गत वर्ष बैंकहरूले ६ महिना १ खर्ब ३७ अर्ब कर्जा प्रवाह गरेका थिए । अहिले ६ महिनाको कर्जा प्रवाह १ खर्ब ९३ अर्ब देखिएको छ ।’

सरकारको वित्त व्यवस्थापन चुनौतीपूर्ण देखिरहेको उनले उल्लेख गरे । ‘सरकारको राजस्व असुली गत वर्षको तुलनामा केही सुधार भए पनि अपेक्षित हुन सकिरहेको छैन । आार्थिक गतिविधि अपेक्षित विस्तार हुन सकेको छैन,’ उनले भने, ‘पहिलो त्रैमासिकको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रह्यो । ६ प्रतिशतको अपेक्षा गरेका थियौं । आममान्छेले महसुस गर्ने मुद्रास्फीति पनि उच्च छ । सावधानी अपनाएकै कारण अर्थतन्त्र सुधार भइरहेको छ ।’

पूर्वबैंकर भुवन दाहाल निक्षेप संकलन अनुसार कर्जा प्रवाह नहुनु अर्थतन्त्रको समस्याका रूपमा लिन्छन् । अर्थशास्त्रमा समस्या देखिएपछि त्यसको प्रभाव बैंक तथा वित्तीय संस्थाको विवरणमा देखिने उनको भनाइ छ ।

‘निष्क्रिय कर्जा बढेको देखिन्छ । यसले अर्थतन्त्रमा समस्या छ भन्नेमा कुनै शंका भएन,’ उनले भने, ‘निजी क्षेत्र, नीति निर्माता सबैले आत्मसाथ गरेर समस्या निराकरणमा लाग्नुपर्ने छ ।’

उनका अनुसार दक्षिण एसियाको तथ्यांक हेर्दा प्रतिव्यक्ति आयमा नेपाल अफानिस्तानभन्दा माथि छ । बंगलादेशको नेपालभन्दा दोब्बर छ । क्षेत्रफल दुवैको लगभग उस्तै छ । तर, जनसंख्या नेपालभन्दा ५ गुणा बढी छ ।

अर्थतन्त्र भताभुंग भइसकेको अवस्था नरहेको उनको दाबी छ । ‘हामीकहाँ समस्या छन्, समस्याका कारण पनि थाहा छ । अर्थ मन्त्रालय, राष्ट्र बैंक, निजी क्षेत्र, बैंकर सबै बसेर एक हप्तासम्म के– के गर्नुपर्र्ने हो ? रोडम्याप कोरेर त्यो अनुसार काम गर्नुपर्ने छ,’ उनको सुझाव छ ।

एकअर्कालाई आरोप लगाएर अर्थतन्त्र माथि उकास्न नसकिनेमा उनको जोड छ । अर्थतन्त्रको आकार कसरी बढाउनुपर्ने भनेर सोच्नुपर्नेमा उनको जोड छ । स्थायी सरकारको अवस्था नआएसम्म अर्थतन्त्रलाई दौडाउने अवस्था भने नआउने दाहालको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?