+

वास्तवमै रिसलाई मान्छेले दबाउन सक्छ ?

२०८० फागुन  ९ गते १५:०० २०८० फागुन ९ गते १५:००
Shares
वास्तवमै रिसलाई मान्छेले दबाउन सक्छ ?

जब हामीलाई झनक्क रिस उठ्छ, तब के गर्छौं ? कराउँछौं, चिच्याउँछौं, तोडफोड गर्छौं, झैं–झगडा गर्छौं । रिस उठ्दा हाम्रो शरीरले जुन प्रतिक्रिया दिन्छ, त्यो कुनै पनि रुपमा फाइदाजनक छैन । यो तथ्य थाहा भएर पनि हामी नरिसाई बस्न सक्दैनौं । वा रिसलाई नियन्त्रणमा राख्न सक्दैनौं ।

हामीलाई रिस उठ्नुमा खासगरी दुई कुरा जिम्मेवार हुन्छन्– जैविक र मनोवैज्ञानिक । रिस हरेक व्यक्तिमा हुने एक किसिमको प्राकृतिक गुण (अवगुण) हो । यसकारण रिस उठ्नु स्वभाविक पनि हो ।

हामी भन्ने गर्छौं, जब रिस उठ्छ त्यसलाई नियन्त्रण गर्नुपर्छ । कसरी ?

मनलाई अन्यत्र मोड्नुपर्छ, लामो र गहिरो सास लिनुपर्छ, बाहिर हिंड्डुल गर्न निस्कनुपर्छ, रमाइलो गीत सुन्नुपर्छ । तर के व्यावहारिक रुपमा यो सम्भव छ ? रिस उठिरहेको बखत हामी त्यसलाई शान्त गर्ने यी विधिहरु खोज्ने गर्छौं ।

रिसको चरणमा पुगेको बेला त्यसलाई हामीले मोड्न कठिन हुन्छ । रिसलाई कुनै न कुनै रुपमा व्यक्त नै गरिन्छ । चाहे मूर्खले होस् वा चाहे विद्वानले नै । रिसको झोंकमा केही न केही गरेकै हुन्छन् ।

रिसाउनु मानवीय संवेगको एउटा स्थिति हो । शरीरभित्र र बाहिर यसले हानि नै गर्छ । रिसाएको बेला हाम्रो मुटुको गति तीव्र हुन्छ, श्वासप्रश्वास अनियमित हुन्छ । शरीरमा कतिपय यस्ता रसायन पैदा हुन्छ, जसले भित्री अंगको कार्यप्रणालीमा अवरोध पुर्‍याउँछ ।

हाम्रो मस्तिष्कमा एउटा सानो भाग हुन्छ, जसलाई ‘आमिग्डाला’ भनिन्छ । यसलाई रिसको केन्द्र पनि भन्ने गरिन्छ । मान्छेलाई कुनै कुरामा चित्त नबुझ्दा यही भाग सक्रिय हुन्छ र त्यसमा कुनै न कुनै प्रतिक्रिया जनाउन तम्सिन्छन् ।

रिसले बाहिरी रुपमा जुन असर गर्छ त्यो त हामी सबैले देखे, भोगे, झेलेकै कुरा हो । कराउने, झगडा गर्ने इत्यादि रिसकै नतिजा हुन् । संसारमा आठ अर्ब हाराहारीमा मान्छे छन् र सबैसँग यो अवगुण पनि छ । सबै रिसाउँछन् । रिसलाई कुनै न कुनै रुपले व्यक्त गर्छन् ।

यद्यपि कोही सानोतिनो कुरामा रिसाइरहने हुन्छ भने झिना मसिना कुरामा खासै वास्ता नगर्ने हुन्छन् । कोही पटक-पटक रिसाइरहन्छन् भने कोही त्यस्ता हुँदैनन् । कोही रिसाउनासाथ चिच्याउने, तोडफोड गर्ने हुन्छन् भने कोही रिसाएपछि झट्ट प्रतिक्रिया नजनाउने पनि हुन्छन् ।

यो कुरा मान्छेको पृष्ठभूमि, अवस्था र वातावरणमा फरक पर्छ । साथै शारीरिक र मानसिक स्थिति पनि यसमा जिम्मेवार हुन्छ । कतिपय मानसिक समस्याले गर्दा पनि मान्छेलाई रिस उठिरहने हुनसक्छ ।

सारमा बुझ्नुपर्ने के भने रिस हामी सबैलाई उठ्छ । त्यसलाई हामीले फरक-फरक ढंगले व्यक्त गरिरहेका हुन्छौं । त्यसो भए के रिसलाई नियन्त्रण गर्न सक्छौं ? झनक्क रिस उठ्दा त्यसलाई शान्त तुल्याउने कुनै विधि छ ?

जब रिस उठ्छ, तब लामो सास तान्ने, मनपर्ने किताब पढ्ने भन्ने कुरा त्यति व्यावहारिक छैन । यद्यपि हामीले रिसले शरीरको भित्री प्रणाली र बाहिरी रुपमा पार्ने नराम्रो असरलाई बुझ्न सक्यौं भने रिस उठ्ने स्थितिलाई कम गर्न सक्छौं । रिस उठ्ने परिस्थिति र मनस्थितिलाई बदल्न सक्छौं ।

जस्तो हामीलाई के कुराले रिस उठ्छ ? कुन कुरामा हामी बढी रिसाउँछौं ? यो कुरा पहिल्याउन सकिन्छ । अतः त्यस्ता कुराहरुलाई हामीले बेवास्ता गर्न सक्छौं, जसकारण हामीलाई रिस उठ्छ । साथै त्यस्तो परिस्थिति सिर्जना हुनै दिंदैनौं ।

रिसाउने मान्छेमा मुटुरोगको जोखिम बढी हुन्छ । यसले उच्च रक्तचाप जस्तो कतिपय दीर्घरोग पैदा गर्छ । विभिन्न अध्ययनमा के पाइएको छ भने रिसाइरहने मान्छेको आयु तुलनात्मक रुपमा कम हुन्छ ।

व्यायाम गर्ने, हिंडडुल वा घुमफिर गर्ने, योग ध्यान गर्ने, पुस्तक पढ्ने अभ्यासले रिसको स्थिति आउन दिंदैन ।

पदम जोशी मनोविज्ञान रिस
पदमराज जोशी
लेखक
पदमराज जोशी
मनोविद्

जोशी द स्कुल अफ साइकोलोजी नेपालका संस्थापक अध्यक्ष हुन् । उनले मानसिक स्वास्थ्य तथा मनोविज्ञानमा विद्यावारिधि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?