+
+

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न किन गरिँदैछ जोड ?

अमृत सुवेदी अमृत सुवेदी
२०८० फागुन १४ गते १८:१९

१४ फागुन, पोखरा । पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि पटक पटक संघीय सरकारलाई आग्रह गर्दै आएको गण्डकी प्रदेश सरकारले आगामी चैतमा आफैं घोषणा गर्ने तयारी गरेको छ ।

गण्डकी प्रदेश सरकारले १२ मंसिरमा गठन गरेको पर्यटकीय राजधानी अध्ययन समितिले २६ पुसमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनलाई आधार मानेर गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिका र प्रदेशका अन्य स्थानीय तहको सहभागितामा पर्यटकीय राजधानी घोषणाको तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

पोखरालाई नेपालको दोस्रो ठूलो पर्यटकीय गन्तव्य मानिन्छ । काठमाडौंपछि धेरै पर्यटकले भ्रमण गर्ने शहर पोखरा हो भन्ने गरिए पनि शहर अनुसार पर्यटकको तथ्यांक छैन ।

गण्डकी प्रदेशको नीति तथा योजना अयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा गठन भएको अध्ययन समितिले बुझाएको प्रतिवेदनमा पर्यटनसँग सम्बन्धित धेरै तथ्यांक समावेश छैन ।

पोखरामा बर्षमा कति पर्यटक आउँछन्, उनीहरुले कति खर्च गर्छन्, कुल ग्रार्हस्थ उत्पादनमा पोखरा र यहाँको पर्यटनले दिने योगदान, राजश्वमा गर्ने योगदान, नेपाल आउने पर्यटकमध्ये कति पोखरा आउँछन् जस्ता तथ्यांक समावेश छैन ।

बरु गण्डकी प्रदेशमा रहेका नदीनाला, ताल, हिमशृंखला, पर्यटकीय गन्तव्य, होटल, बाटोघाटो, रेस्टुरेन्ट, साहसिक पर्यटन र गण्डकी प्रदेश तथा पोखरा महानगरको पर्यटकीय नीति र कार्यक्रमलाई समावेश गरिएको छ । समितिले पोखरामा बढी पर्यटक आउने अनुमानकै आधारमा पर्यटकीय राजधानी घोषणा गर्न सुझाव दिएको छ ।

‘पर्यटकीय राजधानीका लागि पूर्वाधारको अवस्था र अब गर्नेपर्ने तयारीमा हामीले जोड दियौं । नेपालमै तथ्यांक प्रणाली कति कमजोर छ भन्ने कुरा सबैलाई थाहा भएकै छ । राजश्व पनि वृद्धि हुने गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा योजना तयार पारी नीतिगत निर्णय गर्न सुझावसहित प्रतिवेदन दिएका हौं’, डा. देवकोटाले भने ।

पोखरामा पर्यटकीय क्षेत्रमा काम गरेका व्यक्तिहरुसँग छलफल गरी योजना तय गरेको देवकोटाले बताए । ‘नीतिगत निर्णयसमेत अगाडि बढोस् भनेर प्रतिवेदन तयार पारेका हौं । पोखरा र आसपासका जिल्लामा अरु प्रदेशमा भन्दा बढी पर्यटक आउने कुरामा कसैको दुई मत नै छैन’, उनले दाबी गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा केही आधार दिन सक्नुपर्ने बताउँछन् । ‘अरु सहर किन होइन र पोखरा नै पर्यटकीय राजधानी किन हो भन्ने तथ्यगत विश्लेषण हुनुपर्छ’, उनी भन्छन्, ‘बाह्य पर्यटक सबैभन्दा बढी घुम्न आउने हुन् कि आन्तरिक पर्यटकको पहिलो रोजाइ हो कि के हो ?’

गण्डकी प्रदेशमा आन्तरिक र विदेशी गरी वर्षमा १० लाख पर्यटक आउने व्यवसायीहरुको दाबी छ । त्यस्तै बाह्य पर्यटकले प्रतिदिन औसत ५४ डलर र आन्तरिकले ५ हजार रुपैयाँ खर्च गर्ने अनुमान छ । कोरोना महामारी सुरु भएको अघिल्लो वर्ष २०७७ सालमा ४ लाख पर्यटक भित्रिएको अनुमान थियो ।

पोखरामा दोहोरिएर भ्रमण गर्नेको संख्या उच्च रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, त्यसको पनि तथ्यांक विश्लेषण गरिएको छैन । अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरुले पोखराको भ्रमण गरेको र उनीहरुले खुलेर पोखराको प्रशंसा गरेकाले पनि पोखरा पर्यटकीय राजधानी हुने आधार देखाइएको छ ।

गण्डकी प्रदेशमा एक जना पर्यटक आउँदा १० क्षेत्रमा रोजगारी सिर्जना हुने र हिमाल आरोहण लगायत विभिन्न क्षेत्रबाट प्राप्त रोयल्टी तिनै तहका सरकारलाई जाने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बञ्जीजम्प, प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, र्‍याफ्टिङ लगायत साहसिक पर्यटकका गतिविधिहरु, अन्नपूर्ण, अनास्लु संरक्षण क्षेत्रका पदमार्ग तथा ट्रेकिङ मार्ग, होमस्टेका कारण पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने समितिको जोड छ ।

नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशत पदमार्गका लागि आउने र त्यसको पनि ४० प्रतिशत पोखरा आउने अनौपचारिक तथ्यांक बताउने गरिए पनि सरकारलेसमेत यसको पुष्टि गर्ने गरेको छैन ।

गण्डकीको पर्यटन क्षेत्रमा ७ खर्बभन्दा बढीको लगानी रहेको र त्यसमध्ये पनि २ अर्ब होटलमा मात्र लगानी रहेको व्यवसायीले बताउने गरेका छन् ।

गण्डकीमा पर्यटन क्षेत्रबाट ७५ हजार भन्दा बढीलाई रोजगारी सिर्जना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पोखरामा रहेका दुई पाँचतारे होटलमध्ये पोखरा ग्राण्डमात्र सञ्चालनमा छ । चार तारे ७, तीन तारे ७ र त्यसभन्दा मुनिको गरी ४० हजार बेड संख्याका १२ सय पर्यटक होटल पोखरा र आसपासमा रहेको प्रतिवेदनमा छ । होमस्ट, रेस्टरेन्टहरु पनि पर्याप्त रहेको उल्लेख गरिएको छ ।

पोखरा पर्यटकीय राजधानी घोषणापछि के हुन्छ ?

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछि के हुन्छ त भन्ने प्रश्नको जवाफ प्रदेश सरकारका पदाधिकारीसँग छैन । खाली सरकार र निजी क्षेत्रको लगानी तथा गतिविधि पर्यटन केृन्द्रित हुने र आर्थिक चलायमान हुने अपेक्षा गरिएको छ ।

पर्यटकीय राजधानी घोषणा गरेसँगै वाह्य र आन्तरिक लगानीमैत्री वातावरणको सिर्जना हुने प्रतिवेदनमा उल्लेख गरेको छ । पर्यटकीय राजधानी घोषणा गर्नुअघि तयार पार्नुपर्ने पूर्वाधार, सेवालाई समितिले सुझाव तथा सिफारिसमा राखेको छ ।

पर्यटकीय राजधानी बनाउन सधैं माग र वाचा

गण्डकीका सुरुका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारले २८ मंसिर २०७५ मा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारसँग अनुमति मागेको थियो । उसले पोखरालाई राजधानी घोषणा गर्न अरु प्रदेशको पनि समर्थन मागोक थिए । तर संघीय सरकारकै बेवास्ताले यो योजना अधुरै रह्यो ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले २०७४ सालको चुनावको प्रमुख एजेण्डा नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बनाएका थिए । गण्डकीकै पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको बैठकले २०७८ कात्तिक २९ गते पोखरालाई पर्यटकीय राजधानी बनाउन अनुरोध गरेको थियो । खगराज अधिकारीले पनि व्यवसायीलाई राजधानी घोषणा गर्ने वचन दिएका थिए ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको बुुँदा नम्बर १२१ मा पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न आवश्यक पर्यटकीय पूर्वाधारको विकास तथा सेवाको गुणात्मकता वृद्धि गर्ने नीति लिएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले त समिति नै गठन गरेर अध्ययन गराए । अब संघले नमाने पनि राजधानी घोषणाको तयारीमा छन् ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने चुनावी एजेण्डा नै बनाएका मेयर धनराज आचार्यले गत साल जेठ १२ गते पोखरालाई पर्यटकीय राजधानी बनाउन माग गर्दै संघीय सरकारलाई पत्र लेखेका थिए ।

पोखराका पर्यटन व्यवसायीले धेरै पहिलेदेखि नै राजधानी घोषणा गर्न माग गर्दै आएका थिए । तर, पर्यटकीय राजधानी केके कारणले हो र किन गर्नुपर्छ भन्ने तथ्यगत अध्ययन र विश्लेषणसहित योजना अगाडि बढाउन नसकेको सरकारकै प्रतिवेदन र अध्ययनले देखाएको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?