+
+

संसदको ओज दिन प्रतिदिन घटिरहेको छ : पूर्वसभामुख सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १८:५२

१५ फागुन, काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको ओज र गरिमा घटेको बताएका छन् ।

मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संघीय संसद र सांसदहरुले आफ्नो मर्यादा कायम राख्न नसकेको बताएका हुन् ।

‘संसदको दिन प्रतिदिन, क्षण प्रतिक्षण स्तर घटिरहेको छ । हरेक कोर्षमा स्तर घटिरहेको छ त्यो संसदको । संसद त हाम्रो धमनी हो नि । हाम्रो आत्मा हो नि । सुशासनको शक्तिशाली सन्देश त्यहीँबाट प्रवाह हुनुपर्ने हो नि । संसद आफैंमा सार्वभौम सत्ता सम्पन्न हो । संघीय संसद कति माथि छ । त्यहाँ त्यही ओज र गरिमा कायम छ ? छैन’, सापकोटाले भने ।

उनले अगाडि भने, ‘त्यहाँ चयन गर्ने शब्द, त्यहाँका वाक्य गठनहरु, त्यहाँको स्तर, त्यहाँको ओज, गरिमा, त्यहाँ बोल्ने कुरा संसारको कुनै अदालतमा मुद्दा लाग्दैन । भनेपछि त्यो विशेषाधिकारले स्वतः के माग गर्छ भने त्यही स्तरको गाम्भीयर्ता, त्यही स्तरको ओझ, गरिमा कायम हुनुपर्ने । तर त्यो भइराखेको छैन ।’

अहिले विचारको शून्यता भएकाले नेपालको लोकतान्त्रिक अभ्यास मजबुत हुन नसकेको सापकोटाको निष्कर्ष छ । ‘विचारको विकास नभइकन लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न सक्दैनौं । पार्टी–पार्टीमा पनि लोकतन्त्र असाध्यै कमजोर छ । पार्टी, संसदमा लोकतन्त्र कमजोर हुनका पछाडि पनि, सिंगो राष्ट्रमा लोकतन्त्र कमजोर हुनका पछाडि पनि विचारको शून्यता हो’, उनले भने ।

संविधानका तीन आधार स्तम्भहरु संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई भत्काउने कोशिस भइरहेको भन्दै पूर्वसभामुख सापकोटाले त्यसविरुद्ध एकढिक्का हुनुपर्ने बताए ।

‘यी तीनवटा पिल्लरहरु भत्काउने एउटा ठूलो साजिस भइरहेको छ । त्यसकारण हामीले यसका विरुद्धमा सचेत ढंगले अभियान छेड्नैपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?