काठमाडौं । पायल्सको समस्या झेलिरहेकाले खुर्सानी खान हुन्छ ? यसबारे धेरै अलमल छ । खासगरी पेट र मलद्वारको समस्या हुँदा खुर्सानी अरु बढी हानिकारक हुने आम बुझाइ छ । हामीले यही जिज्ञासा राखेका थियौं आयुर्वेदिक चिकित्सक विजेन्द्र शाहसँग । उनी पायल्ससम्बन्धी रोगको उपचार गर्दै आएका छन् ।
डा. शाहको जवाफ छ, ‘पायल्सको समस्या बढ्नुमा खानपान एउटा मुख्य कारण हो । यद्यपि खुर्सानीले नै पायल्स हुने वा बढ्ने भने होइन ।’
पायल्स हुनुमा मैदाजन्य, तारेको–भुटेको खानेकुरा जिम्मेवार मानिन्छ । यस्तो खानेकुरा पाचनयन्त्रले सहज पचाउँदैन । दिसा राम्ररी हुँदैन, कब्जियत हुनसक्छ । यी विभिन्न कारणले गर्दा मलद्वारमा चाप बढ्छ र पायल्स जस्तो समस्या आउन सक्छ ।
‘पायल्सका समस्या भएकाले खुर्सानी पटक्कै खान नहुने होइन, सीमित मात्रामा खाँदा हुन्छ,’ डा. शाह भन्छन्, ‘तर अत्यधिक खानु उचित हुँदैन ।’ खुर्सानी खाँदै नखाने भन्दा पनि कति खुर्सानी, कसरी खाने भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाइ छ । खासगरी रातो खुर्सानीको धुलो छरेर, सुकेको खुर्सानी, तेलमा तारेको खुर्सानी खानु हानिकारक छ ।
रातो खुर्सानीको धुलोमा क्याप्साइसिन जस्ता तत्त्वहरू हुन्छन् । खासगरी यो खुर्सानीको बियाँमा हुन्छ । यो तत्वका कारण राप वा जलन महसुस हुन्छ । त्यसैले धेरै खुर्सानी खाँदा हाम्रो पेट वा दिसा गर्दा मलद्वारमा पोलेको महसुस हुन्छ । ‘धेरै मात्रामा खुर्सानी खानु उचित हुँदैन,’ डा. शाह भन्छन्, ‘यसले फाइदाभन्दा बढी हानि गर्छ ।’ यद्यपि यही क्याप्साइसिन भन्ने तत्वको उचित मात्राले रक्त नलीमा मांसपेशीलाई लचकदार बनाउन सहयोग सजिलो बनाउँछ । यही कारण रक्त प्रवाह सुचारु हुन्छ ।
पिरो खुर्सानीले खानाको स्वादलाई थप बढाउँछ । त्यसैले पिरोको पारखीहरु खानामा अतिरिक्त खुर्सानी टोक्न रुचाउँछन् । खुर्सानीमा भिटामिन सी, बी ६, फाइबर र म्याग्नेसियमको उच्च मात्रा पाइन्छ । तर यसलाई पकाएमा भिटामिन सी नष्ट हुन्छ । त्यसैले हरियो खुर्सानीलाई सकभर काँचै खानु लाभदायक हुन्छ ।
हुन त खुर्सानीको पिरोले कतिपय अवस्थामा फाइदा पनि गर्छ । खुर्सानी खाँदा जिब्रोमा जुन किसिमको जलन हुन्छ, त्यस क्षण मस्तिष्कले ‘इन्डोर्फिन’ भन्ने रसायन पैदा गर्छ । यस्तो रसायनले हामीलाई आनन्द अनुभूत गराउँछ । त्यसैले खुर्सानी खानै नहुने भन्दा पनि यो कसरी र कति खाने भन्ने कुरामा ध्यान दिनुपर्ने डा. शाह बताउँछन् । उनी भन्छन्, ‘पायल्स हुनुमा खुर्सानीभन्दा पनि चिल्लोचाप्लो, तारेको, भुटेको, मसलेदार, मैदाजन्य खानेकुरा जिम्मेवार छ ।’
पायल्स हुने विभिन्न कारण छन् । यसमा मुख्य कारण कब्जियत हो । कब्जियत हुँदा दिसा गर्ने बेलामा बल लगाउनुपर्ने या दिसा पूरै खुलेर नआउने हुन्छ ।
‘अहिलेको समयमा धेरै मानिस ट्वाइलेटमा गएर मोबाइल हेर्ने, पत्रिका पढ्ने गर्छन् । लामो समय फिस्टुला ट्वाइलेटमा बस्दा भेनहरु फुल्छन् । जसले गर्दा पायल्स हुने सम्भावना बढ्छ,’ शाह भन्छन् ।
पिरो चाउचाउ भने नखानु राम्रो
चाउचाउ फाइबररहित मैदाबाट बन्छ, जसमा प्रोटिन निकै कम हुन्छ । मैदाबाट बनेको हुनाले त्यसमा कार्बोहाइड्रेट बढी हुन्छ । यसमा अतिरिक्त पिरो पनि मिसाउँदा स्वास्थ्यमा झन् बढी असर असर पुर्याउने र पेटसम्बन्धी विभिन्न समस्या निम्त्याउँछ ।
‘हामीले खाएको खानेकुरा पचाउनका लागि पाचन प्रणालीले विभिन्न हार्मोन उत्पादन गर्छ । पिरो खाना पचाउन पनि हाम्रो पाचन प्रणालीले केही हार्मोन उत्पादन गर्छ,’ उनी भन्छन्, ‘तर अत्यधिक पिरो सेवन गर्दा त्यसलाई पचाउन पाचन प्रणालीलाई पनि गाह्रो हुन्छ । जसले गर्दा पेट पोल्ने, पायल्स जस्ता समस्या देखा पर्छन् ।’
चाउचाउमा ‘मोनोसोडियम ग्लुटामेट’को प्रयोग स्वाद बढाउने पदार्थको प्रयोग भएको हुन्छ । जसले सम्पूर्ण पाचन प्रणालीलाई नै बिगार्छ । यसले ग्यास्ट्रिक बढाउने, डायरिया गराउने, कब्जियत गराउने र कब्जियतका कारण पायल्सको समस्या समेत निम्तिन सक्ने डा. शाह बताउँछन् ।
पायल्सको समस्यामा यस्ता खाना उपयुक्त
पायल्स भएका व्यक्तिले फाइबरयुक्त खाना खानुपर्छ । घरमा बनाएको खाना खानु उपयुक्त हुन्छ । पानी धेरै खानुपर्छ । सागपात, हरियो तरकारी, फलफूल धेरै खानुपर्ने डा. शाह सुझाउँछन् ।
मलद्वारमा समस्या आउनुमा पेटको भूमिका मुख्य हुन्छ र पेटमा समस्या आउनु खानपानसँग जोडिन्छ । अस्वस्थ र असन्तुलित खानपानले मलद्वारसम्बन्धी रोग निम्त्याउन सक्छ । तारेका, भुटेका, पटक-पटक तताइएका, पिरो खाना, चटपटे, पानीपुरी, तितौरा, प्याकेट बन्द तथा बोतलका खानेकुराले पाचनक्रिया गडबड हुन्छ र कब्जियतको समस्या हुन्छ । कब्जियतकै कारण पायल्सको समस्या हुने हो ।
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                        
                        
                        
                        
                        
                        
    
    
    
    
    
                            
                            
                            
                            
                                        
                            
                            
                                        
प्रतिक्रिया 4