+

तनाव कसरी डिप्रेसनमा बदलिन्छ ?

२०८० फागुन  २९ गते १३:४३ २०८० फागुन २९ गते १३:४३
तनाव कसरी डिप्रेसनमा बदलिन्छ ?

कुनै कुराको चिन्ता गर्नु स्वभाविक हो । तर चिन्तामा डुबिरहनु चाहिं हानिकारक हुनसक्छ । दिनरात तनाव वा चिन्ता लिंदा व्यक्ति डिप्रेसनमा पुग्न सक्छ । र, डिप्रेसनमा पुगिसक्दा समयमै पहिचान भई परिवारको सहारा र सहयोग मिलेन भने अवस्था थप गम्भीर हुनसक्छ ।

आजभोलि डिप्रेसनले सिकार भएका कलिला उमेरदेखि पाको उमेरका मानिस अस्पतालका मानसिक रोग विभागमा धेरै भेटिन्छन् । वास्तवमा, मस्तिष्कले जब पूरा आराम पाउँदैन, तब त्यसमा एक किसिमको तनावले दबाब बनिरहन्छ । जसकारण तनाव बिस्तारै डिप्रेसनमा बदलिन्छ ।

तनाव कसरी डिप्रेसनमा बदलिन्छ ?

तनाव शरीरको होमियोस्टेसिसमा हुने गडबडी हो । होमियोस्टेसिस एक अवस्था हो, जसले व्यक्तिको शारीरिक, मानसिक र मनोवैज्ञानिक कार्यलाई बाधा पुर्‍याउँछ । तनावका कारण शरीरमा केही हार्मोनको स्तर औसतभन्दा बढ्छ, जसमध्ये एड्रेनालाइन र कोर्टिसोल प्रमुख छन् । निरन्तर यी हार्मोनको स्तर बढेमा तनाव डिप्रेसनमा परिणत हुन्छ ।

डिप्रेसन एक गम्भीर अवस्था हो । यद्यपि यो कुनै रोग होइन, यो शरीर र जीवन असन्तुलित बन्दै गइरहेको संकेत हो । डिप्रेसनले घेर्दै गएपछि कतिपयलाई समाधानका लागि औषधि लिनु आवश्यक लाग्छ । तर  डिप्रेसनका लागि चलाइने ‘एन्टिडिप्रेसन’ जस्ता औषधि सेवन मात्र व्यक्ति र उसको जीवनलाई सन्तुलित पार्न त्यति प्रभावकारी हुँदैनन् ।

अस्पतालमा कलिलो उमेरका बिरामीको चाप  

तनाव कुनै पनि उमेरमा हुनसक्छ । अस्पतालहरूमा १८ देखि २६ वर्ष उमेर समूहका बिरामीको भीड धेरै देखिन्छ । यो जति छिटो पहिचान भयो त्यति छिटो निको हुन्छ । तर विडम्बना कतिपय रोगलाई दोष भन्दै झारफुक जस्तो अन्धविश्वासमा समय खेर फालिरहेको पनि देखिन्छ । अवस्था निकै जटिल भएपछि मात्रै बिरामी चिकित्सककहाँ आइपुग्छन् । त्यतिबेला ढिला भइसकेको हुने हुनाले पहिलेकै अवस्थामा फर्काउन कठिन हुन्छ ।

तनावग्रस्त बिरामीलाई औषधि दिएर अस्पताल भर्ना गरेर मात्र निको हुन सक्दैन । उसलाई माया, हेरचाह र हौसला पनि दिन आवश्यक छ ।

डिप्रेसन कसरी हुन्छ ?

डिप्रेसन के कारणले हुन्छ भन्ने अहिलेसम्म वैज्ञानिक अनुसन्धानबाट स्पष्ट भइसकेको छैन । तर मानिसको व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै कुराले तनावमा महत्त्वपूर्ण भूमिका खेल्ने केही निश्चित प्रमाणले देखाउँछन् ।

जीवनमा कतिपय यस्तो मोड आउन सक्छ, जसबारे धेरै सोचेमा अवस्था नाजुक बन्न सक्छ । जस्तै, प्रियजनबाट अलग हुनु, जागिर गुमाउनु, वैवाहिक सम्बन्ध टुट्नु, पढाइमा असफलता र अन्य धेरै कुरा डिप्रेसनको कारण बन्छन् ।

यसबाहेक जीवनप्रति नकारात्मक सोच भएका व्यक्ति डिप्रेसनमा जाने डर बढी हुन्छ । ‘म सफल हुन सक्दिनँ, त्यस कारण म केही काम गर्न सक्दिनँ, अरू भन्दा म कमजोर छु’ सोच उनीहरुमा आउँछ ।  उनीहरूको मनभित्र एक किसिमको त्रास भइरहन्छ । जसले दिन बित्दै जाँदा डिप्रेसनमा पुग्ने जोखिम बढ्छ । साथै, थाइराइड तथा भिटामिन डीको कमी जस्ता स्वास्थ्य समस्या र केही औषधिको साइड-इफेक्टका कारण पनि मानिस डिप्रेसनमा जान सक्छ ।

सामान्य मानिसको तुलनामा डिप्रेसन भएका व्यक्ति समाजबाट टाढै बस्न रुचाउने भएपनि अन्य धेरै लक्षण छन्, जसबाट डिप्रेसन भएको अनुमान गर्न सकिन्छ ।

लक्षण

डिप्रेसनका लक्षणहरू फरक-फरक हुन सक्छन् । अत्यधिक संवेदनशील हुनु, कम वा बढी भोक लाग्नु, धेरै वा कम सुत्नु, रिस र चिडचिडापन हुनु, थकान र ऊर्जाको कमी हुनु, पेट र टाउको दुख्नु, ध्यान केन्द्रित गर्न समस्या हुनु जस्ता समस्या डिप्रेसनका लक्षण हुन् ।

उदासी वा एक्लोपन, नकारात्मक मनोवृत्ति, शारीरिक अस्थिरता जस्ता समस्या छन् भने मनोचिकित्सकसँग परामर्श लिइहाल्नुपर्छ ।

डिप्रेसनका विभिन्न स्तर हुन्छन् ।

मेजर डिप्रेसन : यो डिप्रेसन भएमा व्यक्तिको दिनचर्या नै प्रभावित हुन्छ । यो समस्याबाट ग्रसित व्यक्तिमा अत्यधिक दु:खी, हतास, ऊर्जाको कमी, चिडचिडापन, कुनै काममा ध्यान नजानु, निद्रा र खाने बानीमा परिवर्तन, शारीरिक दुखाइ र आत्महत्या जस्तो विचार आउन सक्छ । डिप्रेसनको मुख्य कारण यही हो भनेर पत्ता लगाउन चिकित्सकलाई एक साता लाग्न सक्छ ।

कतिपय अवस्थामा भने मानिसलाई कुनै आघातले मेजर डिप्रेसनको हल्काफुल्का अनुभव गर्छन् । र, समय अनुसार उनीहरू सम्हालिन्छन् ।

क्रोनिक डिप्रेसन : यो मेजर डिप्रेसनभन्दा केही हदसम्म कम गम्भीर छ । तर यसमा खतरा पनि छ । क्रोनिक डिप्रेसनलाई ‘डिस्थाइमिया’ पनि भनिन्छ । जसमा व्यक्ति लामो समयसम्म खराब मानसिक अवस्थाबाट ग्रस्त हुन्छ । यो अवस्था एक वर्ष वा सोभन्दा बढी रहन सक्छ । यस डिप्रेसनमा औषधिभन्दा टक थेरापी राम्रो हुन्छ ।

यद्यपि, केही अध्ययनले टक थेरापी र औषधिको संयोजनले राम्रो परिणाम आएको देखाएको छ । एक व्यक्ति जो डिस्थाइमियाको जोखिममा छ उनीहरूमा गम्भीर प्रकारको जोखिम हुन्छ ।

बाइपोलर डिसअर्डर : बाइपोलर डिसअर्डर पनि डिप्रेसनको एक प्रकार हो, जसलाई ‘म्यानिक डिप्रेसन’ पनि भनिन्छ । यसले व्यक्तिको मुडमा असन्तुलन अर्थात् भावनात्मक उतारचढाव (मेनिया वा हाइपोमेनिया) निम्त्याउँछ ।

जब कोही व्यक्तिले उदास वा निराश महसुस गर्छ, कुनै पनि गतिविधिमा रुचि गुमाउँछ । तर जब मुड अर्को दिशामा परिवर्तन हुन्छ, ऊ ऊर्जाले भरिएको र हर्षित देखिन्छ । मुडमा यस्ता परिवर्तन प्रायः वर्षमा एक वा दुई पटक देखिन सक्छ ।

यद्यपि, यो रोग अशान्त हुने खालको दीर्घकालीन अवस्था हो । जसकारण यस रोगबाट पीडित व्यक्तिले विशेषज्ञको सल्लाहमा उपचार गर्न आवश्यक छ ।

पोस्टमार्टम डिप्रेसन : बच्चाको जन्मले महिलाभित्र मिश्रित चरम भावनाको सागर ल्याउँछ । जसमा उत्साह र खुसीका साथै डर हुन्छ । कहिलेकाहीं यी सबैको संयुक्त परिणाम डिप्रेसन हुनसक्छ । सबैभन्दा बढी पहिलो पटक बच्चाको आमा बनेकी आमाले केही समयसम्म मुड स्वीङहरू हुनसक्छ । जसमा अचानक रुनु, चिडचिडापन र निद्रा समस्या देखिन सक्छ ।

यो महिलामा सुत्केरी भएको एक वा दुई दिनभित्र सुरु हुन्छ । र, लगभग दुई हप्तासम्म रहन्छ । तर केही नयाँ आमाहरूले गम्भीर डिप्रेसन अनुभव गर्छन्, जुन लामो समयसम्म रहन्छ, जसलाई ‘पोस्टमार्टम डिप्रेसन साइकोसिस’ भनिन्छ ।

प्रिमेनेस्ट्रुअल सिन्ड्रोम : केही महिलामा महिनावारी हुनुपुर्व केही दिन पहिलो स्तनमा कडापन, सुजन र मांसपेशीमा दुखाइको अनुभव हुन्छ । यो स्वभाविक प्रक्रिया हो ।

तर कसैमा हार्मोनको गडबडले यो स्वभाविक प्रक्रियाले दिननै अस्तव्यस्त गर्‍यो भने प्रिमेनेस्ट्रुअल सिन्ड्रोम भनिन्छ । यो सिन्ड्रोम भएकी महिलालाई ३० देखि ४० वर्षमा थप खतरनाक हुनसक्छ । साथै, भिटामिन बी, क्याल्सियम वा म्याग्नेसियमको कमी, तनावको उच्च स्तर, शारीरिक निष्क्रियता र अत्यधिक कफी पिउने महिला यसको जोखिमा रहन्छन् ।

सिजनल अफेक्टिभ डिसअर्डर : सिजनल अफेक्टिभ डिसअर्डर (एसएडी) मौसम परिवर्तनअनुसार व्यक्तिमा असर देखिन्छ । मौसम बदलिएसँगै केही व्यक्तिको ऊर्जा समाप्त भई उसलाई ‘मुडी’ बनाउँछ । गर्मी र जाडो मौसमको सुरुवातमा कसैलाई डिप्रेसनको अनुभव हुनसक्छ ।

साइकोसिस डिप्रेसन : साइकोसिस एक मानसिक अवस्था हो । तनावमा परेका दुई प्रतिशत भन्दा बढी मानिसले यस्ता गम्भीर अवस्था अनुभव गर्छन् । यस्ता मानिसलाई बोल्न, घुम्न इच्छा हुन्छ । यसको उपचारका लागि ‘एन्टिडिप्रेसेन्ट’ र ‘एन्टिसाइकोटिक’ औषधिहरू प्रयोग गरिन्छ ।

उपचार

फार्माकोथेरापी : कुनै पनि मानसिक रोगको औषधि उपचारलाई फार्माकोथेरापी भनिन्छ । डिप्रेसनको उपचारका लागि एन्टिडप्रिसेन्टहरू औषधि प्रयोग गरिन्छ । लक्षणका आधारमा यी औषधि छनोट गरिन्छ । सामान्यतया, तीन महिनादेखि एक वर्षसम्म यो औषधि लिने सल्लाह दिइन्छ ।

यसको सेवनले कतिपयलाई बान्ता हुने, मुख सुक्खा हुने, चक्कर लाग्ने, बेचैनी हुने, तौल बढ्ने, कब्जियत हुने जस्ता लक्षण देखा पर्न सक्छन् ।

कतिपय व्यक्तिले डिप्रेसन भएपछि आफ्नो उचित हेरचाह गर्न सक्दैन । वा, जब बिरामीले आफैंलाई वा अरू कसैलाई हानि पुर्‍याउने डर हुन्छ । यस्तोमा भने अस्पतालमा राख्नुपर्ने हुन्छ । अस्पतालमा मनोचिकित्सा उपचारले बिरामीको मुड सुधार नभएसम्म शान्त र सुरक्षित राख्न मद्दत गर्छ ।

परामर्श आवश्यक

डिप्रेसनको सबैभन्दा प्रभावकारी उपचार ‘टक थेरापी’ मानिन्छ । परामर्शदाताले डिप्रेसनका व्यक्तिलाई व्यावहारिक सल्लाह दिन्छन् ।

‘टक थेरापी’का धेरै चरण हुन्छन् । र, प्रत्येकको अवधि एक घण्टाको हुन्छ ।

कोगनिटिभ बिहेबियोरल थेरापी

कोगनिटिभ बिहेबियोरल थेरापी (सीबीटी) को उद्देश्य सकारात्मक सोच्न मद्दत गर्नु हो । डिप्रेसनबाट सिकार भएको व्यक्ति असहाय र निराश महसुस गर्नुको सट्टा परिस्थितिसँग राम्रोसँग सामना गर्न सकोस् । र, परिस्थितिको आनन्द लिन पनि सुरु गर्न सकुन् ।

यो थेरापी पनि विगत वा बाल्यकालका घटनाहरू भन्दा वर्तमान परिस्थितिहरूसँग व्यवहार गर्नमा केन्द्रित छ ।

उपचारको अन्य विकल्प

गम्भीर तनाव र डिप्रेसनको उपचारका लागि केही अन्य विकल्पहरू पनि प्रभावकारी हुँदै गएका छन् ।

अंकुपञ्चर : यसमा उपचारका लागि शरीरको विशिष्ट बिन्दुहरूमा सुई प्रयोग गरिन्छ । डिप्रेसनको उपचारको रूपमा यसमा आत्मविश्वास निरन्तर बढ्दै गएको छ । यसबाट केही अनुसन्धानमा राम्रो नतिजा पनि आएको छ ।

विश्राम प्रविधि : विश्राम प्रविधि तनाव व्यवस्थापनको एक महत्त्वपूर्ण भाग हो । यसले शरीर र दिमागको तनाव स्तर कम गर्छ । विश्राम प्रविधिहरूले सास फेर्न र वर्तमान क्षणमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ ।

मसाज थेरापी : मसाजलाई दिमाग र शरीरलाई तनावमुक्त राख्न एक निश्चित तरिका मानिन्छ । यो मन र शरीर कायाकल्प गर्ने सबैभन्दा पुरानो तरिका हो । मसाजले तनाव, क्रोध, निराशा र डिप्रेसन कम गर्छ । मसाजले मानसिक शान्ति प्रदान गर्छ, जसले एकाग्रता बढाउँछ र उत्साह कम गर्छ ।

डान्स थेरापी : डान्स भनेको औषधि जस्तै हो । यसले तनाव र चिन्ता कम गर्छ र शरीरमा ऊर्जाको प्रवाह बढाउँछ । नृत्यबाट दिमागमा ‘एन्डोर्फिन’ नामक हार्मोन निस्कन्छ । यसबारे भएका अध्ययन तथा अनुसन्धानले पनि नृत्यले अल्जाइमर र डिमेन्सियाको जोखिम कम गर्ने पत्ता लगाएको छ । नृत्यले डिप्रेसनको सिकार हुने जोखिम पनि कम गर्छ । डान्स थेरापीमा डान्स सत्र एक घण्टादेखि तीन मिनेटसम्म रहन्छ ।

यो थेरापीका लागि चिकित्सकको सल्लाहमा नृत्य सिकाउने वा जुम्बा सिकाउने केन्द्रमा सामेल हुन सकिन्छ ।

बीबीसीबाट

डिप्रेसन तनाव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

‘कलेजोमा बोसो जम्यो, अब के गर्ने ?’

‘कलेजोमा बोसो जम्यो, अब के गर्ने ?’

८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?

डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?