+

महिनावारीको पीडालाई सहज बनाउने ५ योगासन (भिडियो)

२०८० चैत  ५ गते ६:३० २०८० चैत ५ गते ६:३०
Shares
महिनावारीको पीडालाई सहज बनाउने ५ योगासन (भिडियो)

विश्वभर झण्डै ८० प्रतिशत महिला तथा किशोरी महिनावारीको समयमा असह्य दुखाइ र पीडा अनुभव गर्छन् । जसमा १० प्रतिशत महिलालाई दैनिकी नै असर गर्ने गरी तल्लो पेट दुख्ने, शरीर कमजोर हुने, मुड स्वीङ हुने र खुट्टा दुख्ने जस्ता समस्या हुन्छ ।

जसकारण उनीहरु दुखाइनिवारक औषधिको सहारा लिन बाध्य हुन्छन् । यी औषधि लामो समयसम्म खाइरहँदा मिर्गौलालाई असर गर्ने मात्र होइन, हार्मोनमा पनि नकारात्मक प्रभाव पार्छ ।

यस्तोमा महिनावारी हुँदा प्राकृतिक रुपमा शरीरलाई आराम, दिमागलाई ताजा, पेट र कम्मर दुखाइबाट बच्न योगासनले धेरै हदसम्म मद्दत गर्छ । योगाभ्यासलाई आफ्नो दैनिकीको भाग बनाउन सकियो भने शरीर हलुका तथा ऊर्जावान् र दिमाग सदाबहार शान्त रहन्छ ।

त्यसो भए महिनावारीको समयमा के कस्ता योगासन कसरी गर्न सकिन्छ ? यसबारे चर्चा गरौं ।

बालासन

महिनावारीमा बालासनबाट अभ्यास सुरु गर्न सकिन्छ । यो अभ्यास गर्न सर्वप्रथम म्याटमा घुँडाले टेकेर शरीरलाई कुर्कच्चाको बलमा राखेर बस्नुपर्छ । त्यसपछि जति भ्याउँछ, त्यति दुवै हातलाई सिधा तन्काउँदै अघि लैजानुपर्छ । त्यसपछि आफ्नो टाउकोलाई तल झुकाई म्याटमा निधार टेकाउनुपर्छ । यदि निधार भुईंमा टेकाउन कठिन हुन्छ भने नछुवाई झुकाएर पनि राख्न सकिन्छ । केही समय सो मुद्रामा बस्नुपर्छ ।

यति गरेपछि चार हातखुट्टा टेबल राखिएको जसरी म्याटमा टेकाएर यथास्थितिमा आउनुपर्छ ।

बन्दाकोणासन

बालासन गरिसकेपछि बन्दाकोणासन अभ्यास गर्न म्याटमा बस्नुपर्छ । र, दुवै खुट्टालाई जोड्दै सकेसम्म शरीरतर्फ लैजाने प्रयास गर्नुपर्छ । त्यसपछि ढाडलाई सिधा, छातीलाई पाखुरा भन्दा माथि अगाडि तनक्क बनाएर दुवै हातले जोडिएको खुट्टालाई समातेर केही समय बस्न सकिन्छ । र, यही अवस्थामा बसेर श्वासप्रश्वास बिस्तारै लिने छोड्ने गरी दुवै घुँडालाई हल्कासँग हल्लाउनुपर्छ । केही समय यही समयमा बस्नुहोस् ।

मृगासन

मृगासन गर्न पहिला म्याटमा बस्नुहोस् । त्यसपछि दुवै खुट्टा जोड्नुहोस् । बायाँ खुट्टा जस्ताको तस्तै राखेर दायाँ खुट्टालाई बिस्तारै उचालेर पछाडि लैजानुहोस् । यही अवस्थामा गहिरो सास लिंदै छोड्दै केही समय विश्राम गर्नुहोस् । त्यसपछि दुवै हातलाई माथि लगी सास छोड्दै बायाँतर्फ हात टेक्नुहोस् । सास लिंदै बायाँतर्फ एकछिन हेर्नुहोस् । ध्यान दिनुहोस्, यो अभ्यास गर्दा सक्दो शरीर तनक्क तन्कियोस् ।

बायाँतर्फ हेरिसकेपछि सास छोड्दै भुईंमा निधार राखेर दुवै हातलाई तन्काएर भुईंमा राख्नुहोस् । केही समय यो मुद्रामा बसेपछि अब दायाँतर्फ पनि सोही आसन दोहोर्‍याउनुहोस् ।

मलासन

मृगासन गरेपछि केही मिनेट आराम मुद्रामा बस्नुहोस् । त्यसपछि मलासन गर्न बसेको अवस्थाबाट दुवै खुट्टालाई अगाडि ल्याउनुहोस् । यसका लागि खुट्टाको बीच डेढ फिट खाली राखेर टुक्रक्क बस्नुहोस् । र, दुवै हातलाइ घुँडाको बीचबाट अगाडि ल्याएर भुईंमा टेक्नुहोस् । अब सास लिंदै शरीरलाई पछाडि धकेल्नुहोस् । यो अवस्थामा बस्दा खुट्टाको पैताला शरीरभन्दा बाहिर राख्नुहोस् ।

हातलाई अगाडि छाती अगाडि ल्याई काँधलाई पछाडि सिधा राखेर नमस्ते गरे जसरी हात जोड्नुहोस् । यो अवस्थामा केही समय बसेर शरीरलाई केही समय दायाँ-बायाँ गर्दै चलाउन पनि सक्नुहुनेछ । मलासन महिनावारी पीडा कम गर्ने मात्र होइन, अनियमित मासिक स्राव ठीक गर्न मलासन गर्न सकिन्छ । यो क्रममा मेरुदण्ड सिधा पार्न गाह्रो भएमा घरको भित्तामा अडिएर सिधा राख्न सकिन्छ ।

सुप्तकपोतासन

यो आसनको लागि म्याटमा आरामसँग सुत्नुहोस् । सास लिंदै दायाँ खुट्टालाई माथि उठाउनुहोस् । घुँडालाई खुम्चाएर दुवै हातले समाएर छातीतर्फ ल्याउनुहोस् । यो अवस्थामा गहिरो सास लिने र एक पटक छोड्नुहोस् । त्यसपछि बाँया खुट्टाको पैतालालाई भुईंमा राखेर दायाँ खुट्टा बायाँ खुट्टामा राख्नुहोस् । यसरी राख्दा घुँडामा कुर्कुच्चा हल्का बाहिर राख्नुहोस् । त्यसपछि सकिन्छ भने बायाँ खुट्टा पनि उचाल्नुहोस् । यो अवस्थामा ध्यान पेटतर्फ लगाउनुहोस् । अब सास छोड्दै दुवै खुट्टा तल झार्नुहोस् । सोही प्रक्रिया बायाँ खुट्टाबाट पनि एकपटक गर्नुहोस् ।

यति गरेपछि सिधा शवासनमा केही समय बसेर दायाँ खुट्टा बायाँ तिघ्रामा जोड्नुहोस् । त्यसपछि दुवै हातलाई जोडेर त्रिकोण बनाएर तल्लो पेटमा राखेर गहिरो सास फेर्ने र छोड्ने गर्नुहोस् । यो अवस्थामा बस्दा आँखा खोल्न वा बन्द गर्न सकिन्छ । सोही प्रक्रिया बायाँ खुट्टाबाट पनि दोहोर्‍याउनुहोस् ।

यी आसनहरुमा धेरै उठ्नु नपर्ने भएकाले बेड वा भुईंमा बसेर गर्न सकिन्छ ।

भिडियो : शंकर गिरी/अनलाइनखबर

महिनावारी योगाभ्यास सन्ध्या नेपाल
सन्ध्या नेपाल
लेखक
सन्ध्या नेपाल
योग प्रशिक्षक

नेपाल काठमाडौंको पेप्सीकोलास्थित यानया योगा स्टुडियोकी सञ्चालक हुन् । उनले देश तथा विदेशमा योग प्रशिक्षण दिंदै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग