+
+
सुन तस्करी प्रकरण :

पूर्वउपराष्ट्रपतिका सल्लाहकारले ‘मैले म्यासेज लेखेको होइन’ भने, अदालतले छाडिदियो

धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालत जाने तयारीमा सरकारी वकिल

गौरव पोखरेल गौरव पोखरेल
२०८० चैत ८ गते १४:५८

८ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन प्रकरणका अभियुक्त जीवन गुरुङलाई धरौटीमा छाड्न अदालतले उनको इन्कारी बयानलाई मुख्य आधार बनाएको पाइएको छ ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार रहेका गुरुङले ‘मिसिलमा उल्लेखित नम्बर समूहमा प्रयोग हुने गरेको’ भन्दै दिएको बयानलाई आधार बनाएर जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले धरौटीमा छाड्न आदेश दिएको खुलेको हो ।

‘निज उपर मिनबहादुर र ९८६९…२०४ को नम्बरबाट भएको म्यासेज वार्तालाप शंकास्पद ठानी अभियोग दाबी लिँदा मुख्य आधार लिएको पाइन्छ’, थुनछेक आदेशमा भनिएको छ, ‘प्रतिवोदीले आफूले सो नम्बरबाट म्यासेज नलेखेको, समूहमा प्रयोग हुने गरेको भनेको देखिन्छ ।’

तर, उपराष्ट्रपतिको कार्यालयले २७ फागुनमा विमानस्थल भन्सार कार्यालयलाई पत्राचार गर्दै परराष्ट्र मामिला विज्ञका रुपमा नियुक्त भएका बेला उनको मोबाइल नम्बर ९८६९…२०४ भएको खुलाइएको छ ।

अदालतमा उनले म्यासेज आफूले नलेखेको र नम्बर समूहमा प्रयोग हुने गरेको जिकिर गरेका थिए । त्यसलाई मुख्य आधार बनाउँदै अदालतले ‘थुनामा राख्नैपर्नेसम्म नदेखिएको’ भनेको छ ।

तर, मोबाइल म्यासेजमा भएको शंकास्पद वार्तालाप, अर्का आरोपी चन्द्रबहादुर घलेसँग उक्त नम्बरबाट पटक–पटक गरेर ८२ पटक सम्पर्क भएको र उनको घरबाट डिजिटल वेटिङ मेसिन पनि बरामद भएकाले कसूरमा संलग्न छैनन् पनि भन्न नसकिएको भन्दै अदालतले उनलाई १५ लाख रुपैयाँ धरौटी मागेको छ । धरौटी बुझाएर उनी छुटिसकेका छन् ।

तर, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले भने अदालतको आदेशमा चित्त बुझाएको छैन । जिल्ला सहन्यायाधिवक्ता सन्देश श्रेष्ठका अनुसार, जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिने तयारी भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २१ मंसिरमा राति ११ः४० बजे फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो ।

घलेसँग प्रारम्भिक सोधपुछपछि उनलाई सुन लिन दुबई पठाउने गोरखा, बारपाकका मीनबहादुर घले धुम्बाराहीबाट पक्राउ परेका थिए ।

कोड भाषामा कुराकानी

घलेको मोबाइलको डिजिटल फरेन्सिक ल्याब रिपोर्ट (डीएफएल) मा गुरुङ र घलेबीच संवाद हुने गरेको भेटिएको थियो । गुरुङले घलेलाई ‘आज कति भाउ रैछ र कति डाउन छ सोध्नु त नेबिलाई’ भनेका छन् ।

अनुसन्धानपछि भन्सार अधिकृतहरुले गुरुङले राजनीतिक र व्यवसायिक शक्तिको दुरुपयोग गरेर सुन तस्करी गरेको निष्कर्ष निकालेका थिए ।

‘अनि अरहिन्तलाई दिनु बाँकी भन्छु’ भनेर कोड भाषामा कुराकानी गरेको पाइएको विमानस्थल भन्सारका अनुसन्धान अधिकृतहरु बताउँछन् । जवाफमा घलेले ‘०९०० मूल्य र २५०० डाउन’ भनेर लेखेका छन् । ‘अरहिन्तलाई आजै दिनी ?’ भनेको म्यासेजमा गुरुङले ‘आजै दिनु’ भनेका छन् ।

गुरुङ र घलेबीच फेसबुक म्यासेजन्सरमा समेत यस्तै किसिमको शंकास्पद र कोड भाषाको प्रयोग गरेर कारोबारको विषयमा पटकपटक कुराकानी र सूचना आदानप्रदान भएको खुलेको थियो ।

घलेले बयानका क्रममा समेत गुरुङको नाम लिएका थिए । अनुसन्धान अधिकृतहरुका अनुसार, उनको मोबाइलमा गुरुङले प्रयोग गर्ने ९८६९…२०४ नम्बरको मोबाइल जोन नाममा सेभ थियो । त्यसरी सेभ गरिएका व्यक्ति को हुन् भनेर अनुसन्धान अधिकृतले सोध्दा घलेले प्लाटिनम कलेजका सीईओ जीवन गुरुङ हुन् भनेको मिसिलमा उल्लेख छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, घलेसँग २७ पुस २०७९ देखि २२ मंसिर २०८० सम्म गुरुङको मोबाइलबाट ५५३ पटक सम्पर्क भएको कल डिटेल रेकर्ड (सीडीआर) बाट देखिएको थियो ।

गुरुङविरुद्ध ८ पुस २०८० मा पक्राउ पूर्जी जारी हुनुअघि नै उनी फरार भइसकेका थिए । सीआईबीले उनलाई १४ फागुनमा पक्राउ गरेर थप कारबाहीका लागि भन्सार कार्यालयलाई बुझाएको थियो ।

त्यसपछि बयानमा उनले ९८६९…२०४ नम्बर आफ्नो नभएको दाबी गरेका थिए । भन्सारका अधिकृतहरुले भने अर्काको नाममा जारी भएको नम्बर प्रयोग गरेर गुरुङले गैरकानूनी ढंगबाट सुन भन्सार चोरी पैठारी गर्दै आएको पाइएको जिकिर गरेका छन् । गुरुङले परराष्ट्र सल्लाहकारका रुपमा काम गर्दा बनाएको भिजिटिङ कार्डमा समेत सोही नम्बर उल्लेख छ ।

अनुसन्धानपछि भन्सार अधिकृतहरुले गुरुङले राजनीतिक र व्यवसायिक शक्तिको दुरुपयोग गरेर सुन तस्करी गरेको निष्कर्ष निकालेका थिए ।

गुरुङको शंकास्पद दुबई आउजाउ

विमानस्थल भन्सारका अधिकृतहरुका अनुसार, गुरुङले सुन तस्करी भइरहेको समयमा शंकास्पद रुपमा दुबईमा पटक–पटक आउजाउ समेत गरेको अनुसन्धानबाट देखिएको थियो । भन्सारले पेश गरेको मिसिलमा उनको आउजाउको विवरण समेत समावेश गरिएको छ ।

बयानका क्रममा उनले नेपालमा दुबईको भिसा सेन्टर खोल्ने सन्दर्भमा आउजाउ भएको दाबी गरेका थिए । त्यसका लागि दुबईका रिजवान आलमले सहजीकरण गरेको उनले भनेका छन् ।

आलम पनि विवादित पात्र हुन् । ठगी आरोपमा पक्राउ पूर्जी जारी भएका बेला उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष प्रयोग प्रयोग गरेर १७ भदौ २०७९ मा उम्किएका थिए । पछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई समातेको थियो ।

गुरुङले नेपालको पानी दुबईमा निर्यात गर्ने सोच बनाएकाले पनि बजार सर्वेक्षणका लागि जाने–आउने गरेको दाबी गरेका छन् । उनले टिकट काट्ने गरेको राजश्री ट्राभल्सका सञ्चालक राजकुमार भारतीले पनि ह्वाट्स एप र भाइबरमा पठाएको टिकटको विवरण अनुसन्धान अधिकृतलाई उपलब्ध गराएका थिए ।

‘पहिले जीवन गुरुङले भिजिट भिसामा दुबई जाने र आउने दुईतर्फी टिकट काट्ने गरेका थिए’, उनले भनेका छन्, ‘केही समयपछि उनले रेसिडेन्सियल पर्मिट छ भनेर जाने टिकट मात्र काट्ने गरेका थिए ।’

उनले पनि गुरुङले फोन सम्पर्कका लागि ९८६९…२०४ सहित अन्य दुईवटा नम्बर प्रयोग गर्ने गरेको खुलाएका थिए । भन्सारको अनुसन्धानका क्रममा सुन भरिया मिनबहादुर घलेले दुबई जाने र फर्किने बेला फोन गरेको फेला परेको थियो ।

अन्तिम पटक घले १६ नोभेम्बर २०२३ ममा दुबई गएका थिए । तीन दिनपछि फर्किएर आउँदा २/३ पटक गुरुङलाई सम्पर्क गरेको देखिएको थियो । तर, बयानका क्रममा उनले ‘यसबारे आफूलाई थाहा नभएको’ जिकिर गरेका थिए ।

घले र गुरुङ पक्राउ परेपछि सम्पर्कविहीन भएको सन्दर्भमा उनले आफू अध्यक्ष रहेको महाशिला सामाजिक विकास संस्थाले पर्वतस्थित गाउँमा भलिबल प्रतियोगिता आयोजना गरेकाले गाउँ गएको दाबी गरेका छन् ।

भन्सारको अनुसन्धानका क्रममा चन्द्र घले, मिनबहादुर घले लगायतलाई प्रयोग गरेर दुबईबाट ल्याइने सुन विमानस्थल अध्यागमनको कमर्सियल्ली इम्पोटेन्ट पर्सन (सीआईपी) कक्षको शौचालयमा लुकाएर बाहिर ल्याउने गरेको पाइएको थियो ।

तत्कालीन भन्सार प्रमुख टोकराज पाण्डेका अनुसार, भरियाले ल्याएको सुन अपाङ्गमैत्री शौचालयभित्र लुकाइने गरिएको थियो । अनुसन्धानका क्रममा सुनबाहिर ल्याउन विमानस्थलमा कार्यरत् प्लम्बर, एयर कन्डिसनल चलाउने सहायक, वरिष्ठ सहायक, कार्यालय सहयोगी समेत संलग्न रहेको खुलेको थियो ।

अनुसन्धानका क्रममा उनीहरुले १४ किलो मात्र नभइ, एउटै शैलीबाट पटक–पटक गरेर १३८ किलो सुन भित्र्याएको खुलेको थियो । त्यसपछि भन्सारले एक अर्ब ४० करोड ५५ लाख रुपैइयाँ विगो कायम गर्दै मुद्दा दायर गरेको थियो ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?