+
+

बिहे गरेर महिलालाई भारततर्फ लगेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १८:०७

८ चैत, काठमाडौं । बिहे गरेर मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नवलपरासीको कावासोती नगरपालिका-८ घर भई पोखरा बस्दै आएका ३६ वर्षीय दुर्गाबहादुर पौडेललाई मंगलबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेकी एक युवतीसँग पौडेलको बसमा चिनजान भएको थियो । सो क्रममा युवतीले आफ्नी बहिनी मृगौला रोगी रहेको बताएकी थिइन् । पौडेलले आफूले उपचारमा सहयोग गर्ने बताएर विश्वासमा पारेका थिए ।

मृगौलाको डाक्टर चिनेको र उपचारका लागि आफूले ७० लाख रुपैयाँ सहयोग जुटाइदिएको भन्दै युवतीसँग बिवाह गरेको पाइएको मानव बेचबिखन ब्यूरोले जनाएको छ ।

उनीहरुले बुटवलमा विवाह गरेको र विवाहपछि पौडेलले भारतीय सीमा क्षेत्रमा पुर्‍याएका थिए । भारतीय सीमा क्षेत्रमा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले युवतीको उद्दार गरेको थियो ।

पीडित युवतीले दिएको जाहेरी अनुसार पौडेलले उनीसँग भएको ६ लाख रुपैयाँ पनि लिएका छन् ।

काठमाडौं फर्केपछि पीडित महिलाले दिएको जाहेरीको आधारमा पौडेललाई पक्राउ गरेर मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

पक्राउ परेका व्यक्ति विवाहित भए पनि महिलालाई प्रलोभनमा पार्न उनले आफू अविवाहित रहेको भनी ढाँटेको खुलेको छ । त्यस्तै मृगौलाको उपचार गर्ने डाक्टर चिनेको छु भन्दै उनले डाक्टर नै नभएका आफ्ना साथीसँग भेट गराएको र ७० लाख सहयोग जुटाएको झुटो आश्वासन दिएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?