+

क्षयरोगविरुद्ध अब अन्तिम लडाइँ लड्ने बेला आयो

२०८० चैत  ११ गते १४:२३ २०८० चैत ११ गते १४:२३
क्षयरोगविरुद्ध अब अन्तिम लडाइँ लड्ने बेला आयो

क्षयरोग आँखाले देख्न नसकिने कीटाणु म्याकोब्याक्टेरियम ट्युबरकुलोसिसबाट हुने गर्छ । क्षयरोग विश्वमा जनस्वास्थको प्रमुख समस्याको रुपमा रहँदै आएको छ । यो उच्च मृत्युदर भएका १० रोगमध्ये एक हो ।

नेपालमा विगत लामो समयदेखि जनस्वास्थ्य समस्याको रुपमा क्षयरोगको संक्रमण अहिले पनि देखिन्छ । कुनैबेला नेपालको कुल जनसंख्याको झण्डै आधा क्षयरोगबाट संक्रमित भएको थियो । अहिले पनि क्षयरोगबाट संक्रमित हुनेको संख्या उल्लेख्य छ ।

गरिबी, पोषणयुक्त खानाको अभाव, चेतनाको कमीले रोग लुकाउने बानी जस्ता कारणले क्षयरोग पूर्णरुपमा निर्मूल पार्न चुनौती देखिएको छ । औषधि प्रतिरोधी क्षयरोगको बढ्दो प्रकोप, निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान तथा उपचार मूलधारमा आउन नसक्नु, क्षयरोगका बिरामीमा एचआईभीको संक्रमण, मधुमेहका बिरामीमा क्षयरोगको जोखिम चुनौतीको रुपमा छन् ।

यी चुनौतीलाई मध्यनजर गर्दै नेपाल सरकारले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार डट्स विधि अवलम्बन, सरकारी निजी सहकार्य,चेतना अभिवृद्धि कार्यक्रम, क्षयरोग बिरामीको सक्रिय खोजी, औषधि प्रतिरोधी क्षयरोग निदान तथा उपचार सेवा विस्तार, समुदायमा आधारित क्षयरोग व्यवस्थापनको अवधारणा ल्याइएको छ ।

क्षयरोग बिरामीहरुको सम्पर्कमा आएका व्यक्तिको सक्रिय परीक्षण, बच्चाहरुमा हुने क्षयरोग व्यवस्थापन र र टीबी-एचआईभी संक्रमणको व्यवस्थापन र अहिले हाल आएर टीबी फ्री पालिकाको अवधारणाअघि सारिएको छ । राष्ट्रिय र विश्वव्यापी प्रतिवद्धताअनुरुप नेपालले क्षयरोगविरुद्धको लडाइँलाई साकार पार्न सन् २०२१-२२ देखि २०२५-२६ सम्मको बृहत राष्ट्रिय रणनीतिक योजना तयार गरेको छ । यो महत्वाकांक्षी योजनाले सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने अटल समर्पणलाई अघि सारेको छ ।

राष्ट्रिय क्षयरोग रणनीति योजनाको कार्यान्वयन गरी नेपालले सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने, सन् २०५० सम्ममा क्षयरोग निवारण गर्ने र क्षयरोग निदान उपचारमा लाग्ने अधिक आर्थिक व्यय भारलाई शून्यमा झार्ने विशेष लक्ष्य राखेको छ । जनस्वास्थ्य सामाजिक र आर्थिक विकासका लागि क्षयरोग गम्भीर समस्याको रुपमा रहनु हाम्रो जस्तो देशको लागि चिन्ताको विषय हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ७० हजार नयाँ क्षयरोगका बिरामी थपिने र १८ हजारको मृत्यु हुने अनुमान छ । अब पनि हामीले यसलाई सामान्य रुपमा लियौं र यसमा एउटा छुट्टै योजना बनाएर काम गरेनौं भने कोभिड-१९ जस्तै टीबीको महामारीमा फस्न सक्छौं ।

त्यसका लागि मुलुकका ७५३ वटै स्थानीय तहबाट क्षयरोग विरुद्ध ठोस कार्यक्रम सुरु गर्नु जरुरी छ । सबै पालिकामा क्षयरोग निवारणका लागि बजेट विनियोजन गरी जनचेतना अभिवृद्धि र लुकेर बसेका क्षयरोगी पत्ता लगाएर उपचार गराउनुपर्छ । अबको २०-२५ वर्ष सबैले हातेमालो गरेर अगाडि बढे सन् २०५० सम्म नेपाल क्षयरोगमुक्त बनाउन सकिन्छ ।

(कालाखेती स्वास्थ्य कार्यालय इलाममा बागमती सेवा समाजद्वारा सञ्चालित राष्ट्रिय क्षयरोग कार्यक्रमको जिल्ला कार्यक्रम संयोजक हुन् ।)

कमल कालाखेती क्षयरोग स्वास्थ्य
लेखक
कमल कालाखेती
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय