+

गर्भावस्थामा शारीरिक समस्या कम गराउने ६ योगासन (भिडियो)

२०८० चैत  १६ गते ११:०६ २०८० चैत १६ गते ११:०६
गर्भावस्थामा शारीरिक समस्या कम गराउने ६ योगासन (भिडियो)

गर्भावस्थाको समय सुन्दर पल हो तर सहज भने अवश्य हुँदैन । किनकि यस समयमा आमाको शरीरमा हार्मोनल परिवर्तन आउँछन् । जसले शरीरमा थकान, कमजोरी, दुखाइ, मुड परिवर्तन जस्ता समस्या ल्याउन सक्छ ।

यस्ता समस्याको समाधान प्राकृतिक रूपमा योगले गर्न सक्छ । गर्भावस्थामा केही योगाभ्यास गर्दा शरीर ऊर्जावान्, तनाव कम हुनुका साथै शरीरमा लचकता आई जोर्नी तथा कम्मरदुखाइ कम हुन्छ । त्यति मात्र होइन, प्राकृतिक रूपमा प्रसवको लागि सहज समेत पार्छ ।

गर्भावस्थाको समयमा के-कस्ता योगासन कसरी गर्न सकिन्छ ? यसबारे चर्चा गरौं ।

सुखासन

सबैभन्दा पहिला सुखासनबाट योग सुरु गर्न सकिन्छ । सुखासन गर्न सबैभन्दा पहिले म्याटमा सहज ढङ्गले पलेंटी कसेर बस्नुहोस् र हात घुँडामा राख्नुहोस् ।

त्यसपछि मेरुदण्डलाई सीधा बनाएर हल्का सास लिएर छाती र टाउकोलाई अगाडि ल्याउनुहोस् । सास छोड्दै पेटलाई खुम्च्याउँदै छाती पुनः पछाडि लैजानुहोस् । केही समय यो प्रक्रिया दोहोर्‍याइरहनुस् ।

त्यसपछि त्यही आसनमा बसेर दायाँतर्फबाट सास लिंदै हल्का पछाडि जाने र अगाडि आउने गर्नुहोस् । त्यसपछि बायाँतर्फबाट पनि यो आसन प्रक्रिया दोहोर्‍याउनुहोस् । दायाँ र बायाँ गरेर तीनपटक गर्नुहोस् ।

वीरभद्रासन

वीरभद्रासनको लागि पूर्व फर्किएर दुवै हातलाई जमिनमा राख्नुहोस् । हातलाई तन्काएर घुँडाको बलमा विस्तारै शरीरलाई उचाल्नुहोस् र टेबल जसरी बस्नुहोस् । हल्कासँग सास लिंदै खुट्टाको औंलाले बल लगाएर शरीरलाई उचालेर हात तन्काएर शरीरलाई पछाडि धकेल्नुहोस् । त्यसपछि सास लिंदै दायाँ खुट्टालाई उचालेर खुट्टा तनक्क पारेर तन्काउनुहोस् । तन्काउन सकिंदैन भने खुट्टालाई खुम्च्याएर राख्न पनि सकिन्छ । सास लिंदै हातको बीचमा दायाँ खुट्टा ल्याउन कोसिस गर्नुहोस् । पेट ठूलो भएर लैजान कठिन हुन्छ भने हातको साइडमा राख्नुहोस् । अब सास लिंदै टाउकोलाई माथि लैजानुहोस् र हातलाई पनि आकाशतर्फ तन्काउनुहोस् । केही समय यही स्थानमा बस्नुहोस् ।

सन्तुलनासन

यो आसनको लागि पहिला सीधा बस्ने र दुवै हातलाई काँधभन्दा तल राख्नुपर्छ । त्यसपछि हत्केलाहरू काँधमुनि राखेर माथिल्लो शरीर, टाउको र घुँडाहरू उठाउनुपर्छ । यो अवस्थामा गाह्रो भए घुँडा टेक्न सकिन्छ ।

आफ्नो घुँडा, टाउको र मेरुदण्ड सीधा राख्न खुट्टा र हातका औंलाको प्रयोग गर्नुपर्छ । यो आसनमा केही समय बस्नुपर्छ ।

मलासन

सन्तुलनासन गरिसकेपछि मलासन गर्नु उपयुक्त हुन्छ । यो आसन सुरु गर्न बसेको अवस्थाबाट दुवै खुट्टालाई अगाडि ल्याउनुहोस् । यसका लागि खुट्टाको बीच डेढ फिट खाली राखेर टुक्रुक्क बस्नुहोस् । च्यसपछि दुवै हातलाई घुँडाको बीचबाट अगाडि ल्याएर भुईंमा टेक्नुहोस् । अब सास लिंदै शरीरलाई पछाडि धकेल्नुहोस् । यो अवस्थामा बस्दा खुट्टाको पैंताला शरीरभन्दा बाहिर राख्नुहोस् ।

हातलाई छाती अगाडि ल्याई काँधलाई पछाडि सीधा राखेर नमस्ते गरे जसरी हात जोड्नुहोस् । यो अवस्थामा केही समय बसेर शरीरलाई केही समय दायाँ–बायाँ गर्दै चलाउन पनि सक्नुहुनेछ । महिनावारी पीडा कम गर्ने मात्र होइन, अनियमित मासिक स्राव ठीक गर्न मलासन गर्न सकिन्छ । यो क्रममा मेरुदण्ड सीधा पार्न गाह्रो भएमा घरको भित्तामा अडिएर सीधा राख्न सकिन्छ ।

मलासनले गर्भावस्थामा ढाड दुख्ने र कब्जियत हुने समस्या कम गर्छ । साथै, प्रजनन् अंगलाई पनि बलियो बनाउँछ ।

उत्कटा कोणासन

मलासनमा बसेपछि उत्कटा कोणासन गर्न हातले जमिनमा टेक्नुहोस् । कम्मरमा हात राखेर विस्तारै उठ्ने प्रयास गर्नुहोस् । दुवै खुट्टा फट्टाउनुहोस् । र, हातलाई कम्मरमा राखेर विस्तारै खुट्टा खुम्च्याउनुहोस् । अब छातीलाई हल्का अगाडि ल्याउनुहोस् । यही अवस्थामा बसेर सास लिंदै शरीरलाई माथि लैजानुहोस् । र, सास छोड्दै घुँडा खुम्च्याउँदै हल्का तल शरीर ल्याउनुहोस् । यो प्रक्रियामा केही समय बस्नुहोस् ।

उत्कटा कोणासन अझै गहिरिएर गर्न मन छ भने दुवै खुट्टालाई फट्याएर उभिनुहोस् । र, दुवै हात ज्ञान मुद्रामा राखेर केही समय बस्नुहोस् । यसरी खुट्टा फट्याउँदा थाक्यो भने एकछिन आराम गरी पुनः फट्याउनुहोस् । यो गर्दा गाह्रो भएमा कम्मरमा हात राख्न सक्नुहुन्छ । त्यसपछि कुर्कुच्चा र घुँडालाई भित्र ल्याउँदै दुई खुट्टा जोड्नुहोस् । र, समस्थितिमा बस्नुहोस् ।

शवासन

सबै आसन गर्दा शरीरमा मुटुको चाल र रक्त सञ्चार उग्र भइरहेको हुन्छ । यस्तोमा सबै आसन गरेपछि शवासन गर्नुपर्छ । शवासनका लागि म्याटमा आरामसँग सुत्नुहोस् । यो अवस्थामा श्वासप्रश्वास सामान्य अवस्थामा राख्न सकिन्छ ।

गर्भावस्था योग योगासन सन्ध्या नेपाल
सन्ध्या नेपाल
लेखक
सन्ध्या नेपाल
योग प्रशिक्षक

नेपाल काठमाडौंको पेप्सीकोलास्थित यानया योगा स्टुडियोकी सञ्चालक हुन् । उनले देश तथा विदेशमा योग प्रशिक्षण दिंदै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय