+

आकस्मिक कक्षमा खटिंदा डर, दुःख र असफलता बढी हुन्छ

२०८० चैत  २५ गते १४:५५ २०८० चैत २५ गते १४:५५
आकस्मिक कक्षमा खटिंदा डर, दुःख र असफलता बढी हुन्छ

एक साँझ एक जना २३ वर्षीय बिरामीलाई ओम अस्पतालको आकस्मिक कक्षमा ल्याइयो पेट दुख्यो भनेर । उनलाई मिर्गौलाको क्यान्सर रहेछ । गम्भीर बिरामी भएकाले सम्बन्धित चिकित्सकको जाँच गराएर दुखाइ कम हुने औषधि दिइयो ।

उनको फलोअप जाँच भारतको एक अस्पतालमा भइरहेको रहेछ । हामीकहाँ आएको भोलिपल्ट पनि उनी फलोअपका लागि भारत जाने तरखरमा रहेछन् । तर त्यही दिन उनको मृत्यु भयो । त्यसबेला बिरामीका आफन्तले अस्पतालमा हंगामा मच्याएका थिए । ममाथि पनि आक्रमण प्रयास भयो । २३ वर्षको चिकित्सा करिअरमा मैले भोगेको सबैभन्दा तीतो क्षण थियो त्यो ।

मैले करिअरको सुरुवात महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट भएको हो । डेढ वर्ष अन्य विधामा र डेढ वर्ष आकस्मिक कक्षमा काम गरेको अनुभव छ । डेढ वर्ष आकस्मिक कक्षमा काम गरिसकेपछि मलाई यही विधामा रुचि भएर जनरल प्राक्टिसमा एमडी गरें ।

डर, दु:ख र असफल भएको महसुस

आकस्मिक कक्ष भनेको अपजसे ठाउँ हो जस्तो लाग्छ । त्यहाँ धेरैजसो नाजुक अवस्थाका बिरामी ल्याइन्छन् । हत्तपत्त उपचार गर्नुपर्ने हुन्छ । धेरै लामो तयारी गर्ने मौका नै हुँदैन । यस्तो अवस्थामा कहिलेकाहीं हाम्रो प्रयास पनि असफल हुन्छ ।

जब बिरामीलाई तलमाथि हुन्छ, त्यसको दोष चिकित्सकलाई लाग्ने गर्छ । जबकि कुनै पनि चिकित्सकले बिरामीलाई बचाउनका लागि हरसम्भव प्रयास नै गरेको हुन्छ । बिरामीसँग चिकित्सकको कुनै पारिवारिक नाता नहोला । तर जब आफूले आकस्मिक कक्षमा उपचार गरी निको भएको बिरामी देख्छौं, हामीलाई एकदम खुसी लाग्छ । मन ढुक्क हुन्छ ।

त्यसैगरी आकस्मिक कक्षबाट उपचार गराई सामान्य वार्डमा पठाइसकेका बिरामी पुनः आकस्मिकमा भर्ना आइपुग्यो भने साह्रै दुःख लाग्छ । कहिलेकाहीं आकस्मिक कक्ष बिरामीले भरिभराउ हुन्छ । वार्डमा पनि बेड खाली हुँदैन । आकस्मिक अवस्थाका विरामीलाई अस्पतालबाट उपचार नै नगराई अर्को अस्पतालमा पठाउनुपर्ने बाध्यता हुन्छ । यस्तो बेला पनि मन बेचैन हुन्छ ।

काठमाडौंको चावहिलस्थि ओम अस्पतालको आकस्मिक कक्ष

पहिले र अहिले

पहिले पहिले आकस्मिक कक्षमा भन्दा अहिले एकदम काम गर्न सहज भएको छ । उहिले सामान्य रगतको जाँच गर्न र त्यसको रिपोर्ट आउन एकदिन कुर्नुपर्ने हुन्थ्यो । यसकारण उपचारमा कठिनाइ हुन्थ्यो । किनभने बिरामीको भित्री अवस्था थाहा पाएर उपचार गर्दा लाभदायक हुन्थ्यो । तर हामीले त्यो बेला बिरामीको रिपोर्ट नआएसम्म अनुमानको आधारमा उपचार गर्नुपर्थ्यो ।

अहिले धेरै कुरा परिवर्तन भएको छ । उपचार पद्धति सहज र छरितो भएको छ । रिपोर्टका लागि लामो समय कुर्नुपर्ने बाध्यता छैन । उपकरण पनि धेरै नै उन्नत भएर आएको छ । यसले बिरामीलाई सही उपचार दिन सकेका छौं ।

हामी हरसम्भव प्रयास गर्छौं तर ग्यारेन्टी गर्न सक्दैनौं

कहिलेकाहीं दुर्घटना भएका बिरामी आकस्मिक कक्षमा ल्याइन्छ । टाउको फुटेर ह्वालह्वाली रगत बगेको हुन्छ । मस्तिष्क बाहिर निस्किएको हुनसक्छ । यस्तो अवस्थामा उपचार गर्दागर्दै पनि बचाउन असम्भव हुनसक्छ ।

यसरी उपचारको क्रममा कसैको निधन हुँदा हामी ढुक्क हुँदैनौं । अझ वयस्क, बालबालिका छन् भने त मन नै पोल्छ । बिरामी आकस्मिक अवस्थामा हुन्छ । उनका आफन्तहरु रोइकराइ गरिरहेका हुन्छन् । ‘मेरो मान्छे बचाइदिनु’ भन्दै याचना गरिरहेका हुन्छन् । तर हामीले जतिसुकै प्रयास गरेपछि बिरामी निको नहुन सक्छ । यस्तो बेला हामीलाई असाध्यै पीर लाग्छ ।

आकस्मिक कक्ष अर्थात् जुन जतिबेला पनि हुनसक्छ । यसमा सामान्य बिरामीहरु आउँदैनन् । यसमा भनेको अकस्मात् बिरामी भएका र गम्भीर बिरामी भएका बिरामी आउने गर्छन् । जसलाई तुरुन्तै तत्काल बिरामीको अवस्था हेरेर उपचार गर्नुपर्ने हुन्छ । यसमा अरु सामान्य बिरामीलाई जस्तो ‘भोलि आउनुस्, पछि आउनुस्, डाक्टर छैन’ भनेर उपचार नहुने हुँदैन । बिरामीको अवस्था हेरेर तत्काल निर्णय गरेर उपचार सुरु गरिहाल्नुपर्ने हुन्छ ।

कहिले पनि खाली नहुने कक्ष

आकस्मिक कक्षमा मौसमअनुसार चाप बढ्छ । वैशाख-जेठमा अर्थात् गर्मी महिनामा झाडापखाला, हैजा, टाइफाइड, डेंगु, क्षयरोग, पेटको दख्ने समस्या, दम (सास फेर्न गाह्रो भएका), भाइरल ज्वरोका बिरामीको चाप बढ्न सक्छ । मधुमेह र उच्च रक्तचापका बिरामी अचेत अवस्थामा आउँछन् । गत वर्ष डेंगुका बिरामीको चाप बढी थियो भने कोरोनाको समयमा कोरोना संक्रमित बढी थिए ।

२३ वर्षको अवधिमा आकस्मिक कक्षमा दुर्घटनाको केस सामान्य चोटपटकदेखि, हातखुट्टा भाँचिएका, मेरुदण्ड भाँचिएका, टाउको पूरै फुटेको, दिमाग नै बाहिर निस्केको, भुँडी निस्केको, नाक कानबाट खोला बगेसरी रगत बगेका अवस्थासम्म आएका बिरामीको उपचार गरेको छु ।

योजनाबिना बनेको डाक्टर

मेरो जीवनको कुरा अनौठो छ । मलाई डाक्टर बन्छु भन्ने लागेकै थिएन । तर पढाइमा तगडा थिएँ । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि प्रमाणपत्र तहमा विज्ञान संकाय लिएँ ।

त्यसपछि मैले छात्रावृत्तिमा महाराजगञ्ज मेडिकल क्याम्पस (आईओएम)मा पढाइ सुरु गरें । त्यहाँ पनि मेरो पढाइ उत्कृष्ट थियो ।

माध्यम वर्गको किसान परिवारमा जन्मेको म पैसा तिरेर त पढ्न सक्थें । तर कलेज टप भएका कारण शिक्षा मन्त्रालयबाट एमबीबीएसको सिटको अन्तर्वार्ता दिएर पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरें । यसरी मौकाले नै डाक्टर बनेको हुँ । अरुले भन्नेजस्तो बच्चादेखि डाक्टर बन्ने योजना थिएन ।

चिकित्सक डा. सानुभाइ खड्का
डा. सानुभाइ खड्का
लेखक
डा. सानुभाइ खड्का
एमडी जनरल प्राक्टिसनल

डा. खड्का हाल काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १९०२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय