+
+

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई चाहियो कार्यकारी निर्देशक, खुला आवेदन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते ८:२४

२ वैशाख, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पद खुल्ला प्रतियोगिताबाट पूर्ति गर्ने प्रक्रिया सुरु भएको छ ।

शहरी विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक बन्न इच्छुक नेपाली नागरिकबाट आजको मितिले २१ दिनभित्र आवेदन आह्वान गरेको छ ।

कार्यकारी निर्देशक पदका लागि शहरी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन निर्देशिका २०७६ को दफा ३ मा उल्लेख भएबमोजिमको योग्यता हुनुपर्ने छ ।

निर्देशिकाको दफा ३ मा इन्जिनियरिङ, प्रशासन, व्यवस्थापन, अर्थशास्त्र वा कानुनमध्ये कुनै एक विषयमा मान्यताप्रप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण भएको शैक्षिक योग्यता तोकिएको छ ।

अन्य योग्यतामा कुनै संगठित संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा पाँच वर्षको कार्य अनुभव हासिल गरेको, व्यवस्थापन वा सभा सम्मेलनमा व्यवस्थापनमा विशेष ज्ञान वा अनुभव भएको हुनुपर्ने छ ।

कार्यकारी निर्देशक पदको सेवा सुविधा नेपाल सरकारले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

आवेदन साथ व्यक्तिगत विवरण (बायोडाटा), नेपाली नागरिकता, शैक्षिक प्रमाणपत्र र अनुभव खुल्ने कागजातको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्ने छ ।

साथै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सुधारका व्यावसायिक कार्ययोजना ५ हजार शब्दमा नबढाई छुट्टै खाममा राखेर पेश गर्नुपर्ने छ ।

नयाँबानेश्वर चोकमै रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र चीन सरकारको सहयोगमा सन् १९९३ मा निर्माण भएको थियो । सुरुमा यसको नाम ‘वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ थियो । गणतन्त्र स्थापनापछि पनि ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ मात्र लेख्न र भन्न थालियो ।

यो भवनलाई सरकारले वार्षिक १६ करोड ५० लाख रुपैयाँ (करसहित) भाडा तिर्ने गरी संघीय संसद सन्चालन गर्दै आएको छ ।

सरकारले सिंहदरबारभित्र नयाँ संसद भवन बनाइरहेको छ । त्यो भवन तयार भइसकेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट संघीय संसद सर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?