News Summary
Generated by OK AI. Editorially reviewed.- रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्डको आठौं संस्करण असार २६ गते शुक्रबार पुल्चोकस्थित द प्लाजामा आयोजना हुने भएको छ।
- अवार्डमा १४ विधासहित लाइफटाइम अचिभमेन्ट अवार्ड र एक लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।
- कान्तिपुर मिडिया ग्रुपका कर्पोरेट एण्ड इभेन्ट म्यानेजर सिम्रन श्रेष्ठले यो अवार्ड नेपाली सङ्गीत उद्योगको साझा थलो भएको बताइन्।
काठमाडौं । ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड २०८२’ को आठौंं संस्करण असार २६ गते शुक्रबार आयोजना हुने भएको छ । १४ विधासहित लाइफटाइम अचिभमेन्ट र यसवर्ष उत्कृष्ट प्रस्तुति दिने एक संगीतकर्मीलाई पुरस्कृत गरिने जनाइएको छ ।
आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार, कार्यक्रम पुल्चोकस्थित द प्लाजामा हुनेछ । सो अवसरमा हुने कन्सर्टमा जोन एण्ड द लोकल्सदेखि दीपक बज्राचार्यसहित उजन साक्य, समृद्धि राई, मन्त्र ब्याण्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ, कमेडियन प्रभात लामा र कर्मा सिङ लामाको प्रस्तुति रहनेछ ।
अवार्ड प्रदान गरिने प्रमुख विधामा नवगायक, नवगायिका, रचनाकार, सङ्गीत निर्देशक, लोकदोहोरी गायक र गायिका, पाश्र्वगायक, पाश्र्वगायिका, पपगायक, पपगायिका, साङ्गीतिक समूह, हिपहप र आरएनबि तथा आधुनिक गायक र गायिका छन् ।
गीत सङ्गीतसहित कलाको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई १ लाख रुपैयाँ राशिको लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । कार्यक्रममा श्रोताको समेत सहभागिता रहने पिपुल्स च्वाइस अवार्ड पनि रहनेछ ।
यसका लागि सहभागीले ई-सेवामार्फत भोट गर्नुपर्नेछ । सर्वाधिक भोट प्राप्त गर्ने गीत र स्रष्टालाई पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ ।
२०८२ वैशाख १ गतेदेखि २०८२ चैत मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतबाट विभिन्न विधाअन्तर्गत उत्कृष्टमध्ये ५ जनाको मनोनयनका लागि तीन जनाको जुरी बनाइएको थियो । विभिन्न विधाका मनोनयन सोही जुरीको निर्णयअनुसार गरिएको हो ।
कान्तिपुर मिडिया ग्रुपका कर्पोरेट एण्ड इभेन्ट म्यानेजर सिम्रन श्रेष्ठले यो अवार्ड नेपाली सङ्गीत उद्योगको साझा थलो भएको बताउँदै यसले समग्र नेपाली सङ्गीतको प्रवर्धन गर्ने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया 4