+
+

सुसारे बुहारी खोजिरहेको समाज

नेपाली समाज आज पनि झिसमिसेमा उठेर दैलो–कुचो, पूजापाठ लगायत भान्सा सकेर आय आर्जन गर्दै आफ्नो परिचय बनाउन सक्ने जाँगरिली, रूपवती, गुणवती, कुशल, सहनशील, लगनशील, कर्मशील र परिवारको सुसारे बुहारी खोजिरहेको छ ।

सीमा बन सीमा बन
२०८१ वैशाख ३ गते १५:३०

समूह समारोहमा आफ्नो परिचय दिंदा कतिपय महिलाले म केही गर्दिनँ घरमै बस्छु भन्ने गरेको सुनिन्छ । कतिपयले आफ्नो परिचयमा नै हीनता महसुस गरेको पाइन्छ । महिलाले आफ्नो परिचयलाई समाजमा लज्जाबोध गर्नुपर्ने स्थिति किन बन्यो ?

महिलाले अलिकति प्रेम र अलिकति सुरक्षाकै लागि दिन–रात नभनी मिहिनेत गरिरहेका हुन्छन् । घरपरिवारको जिम्मेवारी सम्हालेर श्रीमान्लाई बाह्य काममा पठाइरहेकी श्रीमतीकै परिचय दिंदा श्रीमान्हरू धक मान्छन् । ‘मेरो श्रीमतीले केही गर्दिनँ, खाली छ, तेरो त बरु जागिरे छ’ भन्दै चिया चौतारोमा गफिंदा श्रीमतीहरूको अहोरात्र खटाई र श्रमको मूल्य किन बिर्सिएका होलान् ?

सानैदेखि आमालाई भान्सामा देख्ने बानी परेकोले होला; छोरा, बालाई भान्सामा देख्दा छक्क पर्नुपर्छ । त्यही सिकाइबाट उसले पनि भान्सामा बहिनी अघि सार्ने परिपाटी सामान्य बन्दै गयो । आमालाई सघाउन छोरी पछि लाग्नुपर्ने र बासँगै भाइ बाहिर जान पाउने नियम कसले बनायो ? हरेक पुस्तालाई यसमै बानी बसाएर समाजले आमालाई भान्सा र बालाई घर बाहिरको जिम्मेवारी दिने नजिर बनायो ।

नेपाली समाजले आज पनि झिसमिसेमा उठेर दैलो–कुचो, पूजापाठ लगायत भान्सा सकेर आय आर्जन गर्दै आफ्नो परिचय बनाउन सक्ने जाँगरिली बुहारी खोजिरहेको छ । रूपवती, गुणवती, कुशल, सहनशील, लगनशील, कर्मशील र परिवारको सुसार गर्न सक्ने सुसारे बुहारी खोजिरहेको छ । हरक्षण अग्नि परीक्षामा होमिनसक्ने ज्यामी माहुरी जस्तो श्रीमती खोजेको छ ।

बिग्रिएको छोरो सुधार्ने, जति पिट्यो आकार नबदलिने फलाम जस्तै बुहारी खोजेको छ । प्रकृतिले पनि महिलालाई सन्तान प्राप्ति र सन्तानको पोषणका लागि फरक जिम्मेवारी दिएको कारण पनि धर्ती जस्तै अटल बनेर महिलाहरू हरेक सम्बन्ध र भूमिकामा अब्बल बनेका छन् ।

विभिन्न अध्ययनले महिलाहरू प्रायः परिवारप्रति बढी जिम्मेवार र संवेदनशील हुने र आफ्नो कामप्रति लगाव राख्ने हुन्छन् भन्ने देखाएका छन् । साँच्चै महिला यतिसम्म सहनशील नभइदिने हो भने के हुन्थ्यो होला ?

बुझ्नै नसक्ने कठिन यात्रा अनि मूल्यविहीन श्रमको मूल्यांकन कसले गर्ने ? दिनको १४ देखि १५ घण्टा काम गरेर न त महिला श्रमिक बने न त श्रमको मूल्य पाए बरु समाज र परिवारमा केही नगर्नेको उपमा पाए ।

सबै किसिमका महिला हिंसाका घटनाहरू सम्बोधन गर्ने किसिमको नीति तर्जुमा र प्रभावकारी कार्यान्वयन आवश्यक छ

यो त भयो घरभित्रै ओझेलमा परेका श्रमिक महिला । बाहिर निस्केर श्रमिक बन्न खोज्ने कैयौं श्रमिक महिलाहरूले समान कामका लागि समान पारिश्रमिक समेत पाएका छैनन् । दैनिक मजदुरी गर्ने, बाटोघाटो निर्माणमा संलग्न, बालुवा–गिटी चाल्ने, इँटा बोक्ने, ठेला धकेल्ने महिलाहरूले सहज रूपमा शौचालयसम्म उपयोग गर्न पाउँदैनन् ।

शारीरिक र मानसिक रूपमा पीडित उनीहरू विभिन्न हिंसाको शिकार बनिरहेका छन् । श्रमसँगै आफ्नो इज्जत बेच्न बाध्य छन् कति श्रमिक महिला । अभाव र दबाबमा हिंसा सहेका छन् कतिले ।

औपचारिक क्षेत्रतर्फ पुरुषसँग समान प्रतिस्पर्धी भएर आफ्नो हैसियतले बौद्धिक श्रमिक बनेका महिलाहरूले पनि कार्यस्थलमा विभिन्न खालका हिंसा भोगिरहेका छन् ।

पद, शक्ति र अधिकारको दुरुपयोग गरी कुनै किसिमको दबाब, प्रभाव र प्रलोभनमा पार्ने, हतोत्साहित गर्ने तथा कामको बहानामा नजिकिन खोज्ने, सहयोगी र उदार बनेर कमजोरीहरू बुझ्न खोज्ने र कमजोरीको फाइदा उठाउने, वृत्ति–विकास र तालीम, सेमिनारको प्रलोभन देखाउने अधिकांश पुरुष सहकर्मीहरूमाझ केही नबुझेको जस्तो गरेर काम गर्नुपर्ने बाध्यता नेपाली कामकाजी महिलाका तितो यथार्थ हुन् ।

महिलाका योग्यतालाई भन्दा सुन्दरतालाई बढी महत्व दिइन्छ । प्रायः महिलाहरूलाई पारिवारिक भूमिका जोडेर समय दिन नभ्याउने भन्दै महत्वपूर्ण जिम्मेवारी नदिने र उनीहरूको कार्यक्षमताको कम मूल्यांकन गरिन्छ । महिलाहरूको निर्णायक भूमिकालाई आत्मसात् गर्न र उनीहरूका क्षमताका विषयमा प्रशंसा गर्न समकक्षी पुरुषहरूले सक्दै सक्दैनन् ।

त्यति मात्रै होइन उनीहरू महिलालाई उसको पदीय सम्मान दिन समेत हिच्किचाउँछन् । बरु योग्यताले पाएको सफलता समेतलाई कसैको बक्सिस् सम्झन्छन् ।

बोल्यो कि पोल्यो, आवाज उठाउनेहरूले नै उल्टै लाञ्छना भोग्नुपर्ने हाम्रो समाजको अव्यावहारिक परिपाटीले गर्दा महिलाहरू आवाजविहीन भएर बसेका देखिन्छन् । हाम्रो समाजले छोरीलाई सहनशील बनायो । यस्ता घटनालाई सामान्य रूपमा लिन सुझायो र आफूले देखे, भोगे र सुनेका अनुभवले सहनुको विकल्प नभएको बुझायो ।

प्रत्यक्ष रूपमा भोग्नुपर्ने हिंसा सहजै प्रतिकार गर्न सक्ने हुन्छन् तर कामको बहानामा कार्यस्थलमा भोग्नुपर्ने यस्ता दुव्र्यवहारको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । यस्ता घटनाको प्रमाण नहुने हुँदा पनि यतिकै सेलाएको देखिन्छ । यस्ता हिंसाले महिलाको मनोविज्ञानमा असर पार्छ । यसले गर्दा उनीहरूको वृत्ति–विकासमा समेत असर पुग्दछ ।

इतिहासलाई हेर्दा विश्वका कतिपय देशका तुलनामा नेपालमा महिलाको स्थान उल्लेखनीय थियो । वैदिककालदेखि नै महिलालाई दुर्गा, सरस्वती, लक्ष्मीका रूपमा पुजिंदै आएको पाइन्छ । जहाँ नारीको सम्मान हुन्छ त्यहाँ ईश्वरको बास हुन्छ भन्ने भनाइ पनि हाम्रो समाजमा चलेको छ ।

महिलालाई हिंसामुक्त हुन शिक्षा र चेतनासँगै आर्थिक आत्मनिर्भरता नै प्रमुख कुरा हो भने महिलाहरूको क्षमताको कम आकलन गर्ने सोचमा परिवर्तन ल्याउनु जरूरी छ । तसर्थ हरेक घरपरिवारबाट महिलालाई उत्पादनका लागि घर बाहिर निस्कने सहयोगी वातावरण र हौसलाको खाँचो छ

परिवारमा आमाको स्थानलाई सर्वोपरि मान्ने जस्ता प्रचलन थिए । तर समयान्तरमा परिवार, समाज र राज्यशक्तिको सञ्चालन, नेतृत्व र कार्यबोझ बाँडफाँटमा महिलाको भूमिकालाई पारिवारिक दायित्वभित्र संकुचित पार्दै लगियो । विगतमा रहेको सती, झुमा, बोक्सी जस्ता प्रथा प्रतिको अन्धविश्वासका कारण त्यतिबेलाको समाजमा महिलाको अवस्था कस्तो थियो भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।

यद्यपि बेला–बेलामा त्यस्ता व्यवस्था विरुद्ध आवाज भने नउठेका होइनन् । महारानी राजराजेश्वरीबाट आफ्ना राजाको मृत्युमा सती जान अस्वीकार गरिएको घटना, सामाजिक आन्दोलनको अगुवाइ गर्ने योगमायालाई तत्कालीन शासकले आत्महत्या गर्न बाध्य पारेका घटना र छिटपुट रूपमा भएका अन्य आन्दोलनलाई परिवर्तनका लागि गरिएका तत्कालीन विद्रोहका रूपमा लिइन्छ ।

अठारौं शताब्दीबाट सुरुवात भएको श्रमिक महिलाको अधिकारको आन्दोलन २१औं शताब्दीसम्म आइपुग्दा पनि नेपालमा भने महिलाहरूले आफ्नो पूर्ण अधिकार उपभोग गर्न पाएका छैनन् । कतिपय समाजशास्त्रीका अनुसार लिङ्गका आधारमा हुने असमानता त्यतिबेलादेखि बढ्दै गयो जब समाज शक्ति–सञ्चयको विचारधाराबाट सञ्चालित हुन थाल्यो । राज्यशक्तिमा कब्जा जमाउन र क्षेत्रीय विस्तारका लागि युद्धहरू महत्वपूर्ण हुन थाले । यसरी युद्धका लागि पुरुषहरूलाई अगाडि सारियो भने महिलाको जिम्मामा घरेलु कामहरू अर्थात् कृषि, परिवार व्यवस्थापन र बच्चाहरूको हेरचाह गर्न पर्‍यो ।

यही कार्य विभाजनको प्रकृतिकै कारण अन्ततः महिलाको भूमिका घरभित्रै सीमित रहनगयो । त्यसमाथि महिलाले पूरा गर्ने दायित्वलाई उपयोग र उत्पादनका हिसाबले कम आकलन गर्न थालियो र विस्तारै महिलाहरूले आफ्ना पुरुष समकक्षीहरू भन्दा कम अधिकारहरू उपभोग गर्नुपर्ने वातावरण बन्दैगयो । आधुनिक नेपाली समाजलाई हेर्दा अहिले पनि यो लैङ्गिक विभाजन प्रष्ट देखिन्छ ।

नेपालमा आर्थिक रूपमा सक्रिय महिलाको संख्या ठूलो छ । जसको आर्थिक स्रोतमा पहुँच छैन । पारिश्रमिक विनाको घरायसी जिम्मेवारीमा तीन चौथाइ महिला संलग्न छन् । पुरुषको तुलनामा महिला ठूलो अनुपातमा कृषि कार्य, घरायसी व्यवस्थापन जस्ता कार्यमा संलग्न छन् नेपाली महिलाहरूको आर्थिक क्षेत्रमा पहुँच निकै कम छ ।

एक त उनीहरू प्रायः प्रत्यक्ष रूपमा आय आर्जन हुने काममा सहभागी हुने अवसर नै पाउँदैनन् अर्कोतर्फ आफैंले गरेको कमाइ खर्च गर्ने स्वतन्त्रता समेत नभएको पाइन्छ ।

महिलालाई सीपयुक्त र स्वरोजगार बनाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु जरूरी छ । महिलाहरू आफ्ना सन्तान र परिवारप्रति बढी संवेदनशील हुन्छन् । तसर्थ महिलामाथिको लगानी तथा महिलाहरूको विकास हुनु भनेको प्रत्यक्ष रूपमा परिवार हुँदै समाज र समुन्नत राष्ट्रको आधार बन्नु हो ।

देशको आर्थिक रूपान्तरणलाई गति दिन महिलाहरूको अहम् भूमिकालाई स्वीकार्नुपर्छ । नेपाली समाजमा बौद्धिक श्रम होस् या शारीरिक श्रम, औपचारिक क्षेत्र होस् या अनौपचारिक क्षेत्र श्रमिक महिलाहरूले झेल्नुपरेका समस्या थुप्रै छन् ।

महिलालाई हिंसामुक्त हुन शिक्षा र चेतनासँगै आर्थिक आत्मनिर्भरता नै प्रमुख कुरा हो भने महिलाहरूको क्षमताको कम आकलन गर्ने सोचमा परिवर्तन ल्याउनु जरूरी छ । तसर्थ हरेक घरपरिवारबाट महिलालाई उत्पादनका लागि घर बाहिर निस्कने सहयोगी वातावरण र हौसलाको खाँचो छ ।

हरेक क्षेत्रले लिंगको आधारमा नभई क्षमताको आधारमा जिम्मेवारी दिनेमा जोड दिनुपर्दछ । सबै किसिमका महिला हिंसाका घटनाहरू सम्बोधन गर्ने किसिमको नीति तर्जुमा र प्रभावकारी कार्यान्वयन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?