+

मान्छेको शरीरमा ‘एन्टिबायोटिक’ले काम गर्न छाड्यो भने के हुन्छ ?

२०८१ वैशाख  ४ गते ६:३० २०८१ वैशाख ४ गते ६:३०
मान्छेको शरीरमा ‘एन्टिबायोटिक’ले काम गर्न छाड्यो भने के हुन्छ ?

एन्टिबायोटिक लगायतका एन्टिमाइक्रोवियल औषधिहरूको प्रभावकारितामा कमी हुँदै आएको तथ्य बाहिर आएको छ ।

एन्टिबायोटिक जस्ता प्रतिजैविक पदार्थ, जसले स्वास्थ्य उपचारका लागि संक्रमण गराउने सूक्ष्मजीव विरुद्ध औषधिको रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । त्यही औषधिको अनुचित तरिकाले प्रयोग गर्दा शरीरमा रहेको सूक्ष्मजीवहरूले औषधिको प्रतिरोध गर्न थाल्छ । अन्ततः प्राणरक्षक औषधिले काम गर्न छाड्छ । यो अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोवियल रेजिस्टेन्स भनिन्छ ।

अर्को शब्दमा भन्नु पर्दा मानव, पशुपन्छी तथा वनस्पतिहरूलाई संक्रमण गराउने जीवाणु, विषाणु, ढुसी र परजीवी लगायतका सूक्ष्मजीवहरूको प्रतिरोधी क्षमता विकास हुन्छ । उपचारको लागि प्रतिजैविक पदार्थको प्रयोग गर्दा पनि जीवित रहन र वंश बढाउन सक्ने क्षमता विकास हुँदा पहिला काम गर्ने एन्टिबायोटिक जस्ता प्रतिजैविक पदार्थहरूले रोगका विरुद्ध काम गर्न छोड्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध भनिन्छ ।

एन्टिबायोटिक अभिशाप त बन्ने होइन ?

बेलायतका वैज्ञानिक सर अलेक्जान्डर फ्लेमिङद्वारा आविष्कार गरिएको एन्टिबायोटिकलाई कुनै समय विज्ञानको वरदान र जीवन रक्षकको रूपमा लिइन्थ्यो भने पछिल्लो समय एन्टिबायोटिक मानव जगतको लगि अभिशाप त होइन भन्ने प्रश्नचिह्न खडा भइरहेको छ ।

मानिस, पशुपन्छी र वनस्पतिमा लाग्ने संक्रामक रोगहरूका जीवाणु विरुद्ध प्रयोग हुने प्रतिजैविक औषधिहरूको समुचित प्रयोग नहुनाले प्रतिरोध विकास भई संक्रामक रोगहरूको उपचारमा बाधा उत्पन्न भएको छ ।

मानव, पशुपन्छी र वातावरण बीच हुने अन्तरसम्बन्ध प्रणालीद्वारा जीवाणुको आदानप्रदान भई एन्टी माइक्रोवियल रेजिस्टेन्स मानव जातिका लागि मात्र नभई समग्र जगतको लागि एक चुनौतीको रूपमा देखापरेको छ ।

यसको कारण वर्षेनि करिब १३ लाख मानिसको मृत्यु भइरहेको छ । यसको नियन्त्रणको लागि अहिले नै ठोस कदम नचाल्ने हो भने यो संख्या बढेर सन् २०५० सम्ममा वर्षेनि १ करोड पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ । यसले मानवीय क्षतिका साथै सन् २०३० सम्ममा विश्वभरि करिब १० खर्ब अमेरिकी डलर बराबर भन्दा बढी आर्थिक नोक्सानी हुने र यसको प्रत्यक्ष असर नेपाल जस्तो विकासोन्मुख देशमा पर्ने विश्व स्वास्थ्य संगठनले चेतावनी समेत दिएको छ । साथै विश्व स्वास्थ्य संगठनले एन्टिमाइक्रोवियल रेजिस्टेन्सलाई विश्वका १० ठूला स्वास्थ्य समस्यामध्ये एक भनी घोषणा गरेको छ ।

एन्टिबायोटिकले किन काम गर्न छाड्दैछ ?

सूक्ष्म जीवाणुहरूले औषधिको प्रतिरोध विकास गरी उपचारको लागि प्रयोग गरिएको औषधिले काम नगर्नुका मुख्य कारण यस प्रकार रहेका छन्ः

(१) निर्धारित भन्दा बढी वा घटी प्रतिजैविक औषधिको सिफारिस र प्रयोग,

(२) बिरामीले सिफारिस अनुसारको औषधि सेवन नगरेको अवस्था,

(३) कृषिजन्य उत्पादनमा प्रतिजैविक औषधिको अत्यधिक प्रयोग,

(४) अस्पताल र क्लिनिकहरूमा कमजोर संक्रमण नियन्त्रण प्रणाली,

(५) स्वच्छताको अभाव र कमजोर सरसफाइ,

(६) प्रतिजैविक प्रतिरोध सम्बन्धी द्रुत प्रयोगशाला परीक्षणको अभाव ।

मानिसहरूमा प्रतिजैविक पदार्थको जथाभावी प्रयोगले तिनीहरूको शरीरमा रहेको सूक्ष्म जीवाणुहरूमा प्रतिरोध विकास हुन्छ । रुघाखोकी जस्ता भाइरल बिरामीको अवस्थामा एन्टिबायोटिकले काम गर्दैन ।

जब हचुवाको भरमा एन्टिबायोटिक खुवाइन्छ

चिकित्सकले लापरवाहीपूर्वक निमोनिया लागेको शंकाको भरमा रगत जाँच नगरी हचुवाको भरमा बिरामीलाई एन्टिबायोटिक औषधि सिफारिस गर्दा प्रतिरोध क्षमता विकास हुन्छ ।

अर्कोतिर बिरामीले पनि चिकित्सकले सिफारिस गरे अनुसार एन्टिबायोटिक औषधिको डोज पूरा नखानुले जीवाणुमा एन्टिमाइक्रोवियल प्रतिरोध क्षमता विकसित हुन्छ । त्यसै गरी औषधि बिक्रेताले पनि बिरामीले माग्यो भन्दैमा चिकित्सकको सिफारिस विना जथाभावी रूपमा एन्टिबायोटिक औषधि बिक्री गर्नुहुँदैन ।

मासु र दूधजन्य पदार्थमा एन्टिबायोटिकको मात्रा

एन्टिमाइक्रोवियल प्रतिरोधी सूक्ष्म जीवहरू खानेकुराको माध्यमबाट पनि मानिसको शरीरमा पुग्न सक्दछ । पशुपन्छीजन्य खानेकुराहरू जस्तै दूध तथा दुग्ध पदार्थ र अण्डा, माछा, मासु र मासुजन्य पदार्थको सेवनले पनि एन्टिमाइक्रोवियल प्रतिरोध विकसित हुनसक्छ ।

पशुधनहरू बिरामी भएको वा नभएको अवस्थामा एन्टिबायोटिक जस्ता एन्टिमाइक्रोवियल पदार्थहरू पशुपन्छीलाई दिइएको छ र त्यस्ता पशुपन्छीहरूको मासु वा दूध मानिसले सेवन गर्दा एन्टिमाइक्रोवियल औषधिको अवशेष पशुपन्छीजन्य खानेकुरा मार्फत मानिसको शरीरमा पुग्दछ र शरीरमा भएको सूक्ष्मजीवहरूमा एन्टिमाइक्रोवियल प्रतिरोधको विकास हुन्छ ।

त्यसैगरी कृषिजन्य उपजहरूमा पनि माटो, पानी र वातावरणको माध्यमबाट फलफूल, तरकारी र खाद्यान्न लगायत खाद्यवस्तुबाट पनि एन्टिमाइक्रोवियल प्रतिरोधी विकास हुन सक्छ । अन्ततः मानिसहरूमा प्रतिरोधी सूक्ष्म जीवहरूको संक्रमण भएर बिरामी भएमा औषधिको प्रभावकारितामा कमी भई उपचारमा जटिलता आउँछ ।

नेपालले कति खपत गर्छ एन्टिबायोटिक ?

नेपाली बजारमा करिब ३५० ब्रान्डका एन्टिबायोटिक औषधिहरू उपलब्ध हुने गरेको छ र देशभित्रै लगभग ५० वटा कम्पनीले एन्टिबायोटिक औषधि उत्पादन गर्छन् । नेपाल सरकार, औषधि व्यवस्थापन विभागले २०८० भदौ ३१ गते प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनबाट सिफारिस नगरिएका १०३ थरीका मिश्रित प्रतिजैविक औषधिको दर्ता÷नवीकरण, पैठारी तथा प्रयोगमा बन्देज लगाएको छ ।

पशुपन्छीहरूमा पनि एन्टिबायोटिकको दुरुपयोग हुने गरेको छ । अझै पनि पशु, माछा र कुखुरा फार्महरूमा एन्टिबायोटिकको सुरक्षित र न्यायोचित प्रयोग हुनसकेको छैन, जसले गर्दा माछा, मासु र दुग्धजन्य पदार्थको उपभोगले जनस्वास्थ्यको जोखिम बढेको छ ।

एक अध्ययन अनुसार नेपालको अस्पतालबाट निस्कने फोहोरको उचित ढंगले व्यवस्थापन गर्ने सुविधा छैन । अस्पतालहरूमा संक्रमण नियन्त्रण गर्ने कमजोर अभ्यासका कारण र स्वास्थ्य हेरचारमा गुणस्तरको मापदण्ड पालना नगरिनाले पनि प्रतिजैविक प्रतिरोध बढेको पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांक अनुसार ई.कोली, क्लेब्सिला, सिगेला, स्टाफाइलोकोकस, साल्मोनेला लगायतका सूक्ष्म जीवाणुहरू धेरै थरीका एन्टिबायोटिक जस्तै टेट्रासाइक्लिन, एम्पिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्कोक्सासिन लगायत औषधिहरू विरुद्ध १० देखि ४० प्रतिशतसम्म प्रतिरोध क्षमता विकास गरिसकेको स्थिति छ ।

माथि उल्लिखित सूक्ष्म जीवाणुहरू खानेकुराको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्न सक्छ र यी जीवाणुहरू मार्नको लागि एन्टिबायोटिक प्रयोग गर्दा तिनीहरूमा प्रतिरोध क्षमता विकास भई एन्टिबायोटिक निष्प्रभावी हुन जान्छ ।

अब के गर्ने त ?

एन्टिमाइक्रोवियल रेजिस्टेन्सका नकारात्मक परिमाणहरूलाई नियन्त्रण तथा रोकथाम गर्न र यसले निम्त्याएको चुनौतीलाई तत्काल सम्बोधन गर्न सबै क्षेत्रको सामूहिक प्रयास अपरिहार्य भइसकेको छ । यस बहुपक्षीय विषयको जटिलतालाई बुझेर नेपाल सरकारले यसको सामना गर्नका लागि ‘एक स्वास्थ्य’ अवधारणा सहितको प्रणालीलाई अंगीकार गरेको छ ।

राष्ट्रिय स्वास्थ्य नीति, २०७६ ले प्रतिजैविक प्रतिरोधको रोकथामलाई प्राथमिकता दिएको छ । यस मुद्दालाई सम्बोधन गर्नका लागि नेपाल सरकारले प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना (२०८०-८१–२०८४-८५) २०८० फागुन १४ गते स्वीकृत गरेको छ ।

यस राष्ट्रिय कार्ययोजनामा बहुक्षेत्रीय निर्देशक समिति र राष्ट्रिय प्राविधिक कार्यसमिति गठन गरेर नियन्त्रण र रोकथामका कार्य गर्ने उल्लेख छ । यस कार्ययोजनाका क्रियाकलापहरूको कार्यान्वयनमा प्रभावकारी समन्वयका लागि सबै सम्बद्ध क्षेत्रका सम्पर्क व्यक्तिहरू पहिचान गरी विभिन्न  कार्य गर्ने आधार तयार गरेको छ ।

प्रतिजैविक प्रतिरोधको नियन्त्रण र रोकथामका उपायः

(१)        कृषि क्षेत्रः

– पशुपन्छीमा लाग्ने संक्रामक रोगको उपचार र नियन्त्रणको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रतिजैविक औषधिको प्रयोग गर्ने ।

–प्रतिजैविक औषधिको प्रयोग कम गर्न खोप वा अन्य वैकल्पिक व्यवस्था गर्ने ।

– सम्पूर्ण खाद्य प्रणालीमा औषधिको असल अभ्यास प्रयोगमा ल्याउने ।

– जैविक सुरक्षाको लागि दिगो प्रणाली अपनाउने ।

(२)   स्वास्थ्य क्षेत्रः

– चिकित्सकहरूले उचित प्रतिजैविक औषधिको प्रयोग सुनिश्चित गरेर मात्र सिफारिस गर्ने ।

–औषधिको निश्चित मात्रा र तालिका अनुसार मात्र बिरामीलाई प्रतिजैविक औषधि सेवन गर्न दिने ।

–सिफारिस गरिएको प्रतिजैविक औषधिको पूर्ण मात्रा र अवधिसम्म बिरामीले प्रयोग गर्ने ।

– नियमपूर्वक हात धुने बानी बसाल्ने ।

– रोगको संक्रमण फैलन नदिन सबैले सरसफाइमा विशेष ध्यान दिने ।

–संक्रमण रोक्न खोपको व्यवस्था गर्ने

–पुरानो बाँकी रहेको औषधि प्रयोग नगर्ने

(३) वातावरणीय क्षेत्रः

– खेतीयोग्य जमीन, माटो र पानीमा भएका सूक्ष्म जीवहरूमा प्रतिजैविक प्रतिरोधको अवस्था बारे अध्ययन अनुसन्धान गर्ने ।

– बाली, नाली, खेती योग्य जमीनमा प्रतिजैविक औषधिहरूको प्रयोग नगर्ने ।

(लेखक वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हुन् । उनी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका कार्यालय प्रमुख हुन् ।)

एन्टिबायोटिक प्रतिजैविक
लेखक
अनुप हलवाई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कस्तो अवस्थामा बच्चालाई एनआईसीयूमा राखिन्छ ?

कस्तो अवस्थामा बच्चालाई एनआईसीयूमा राखिन्छ ?

तौल घटाउने सप्लिमेन्ट खान सुझाउँदैनन् चिकित्सक, बजारमा किन छ्यापछ्याप्ती ?

तौल घटाउने सप्लिमेन्ट खान सुझाउँदैनन् चिकित्सक, बजारमा किन छ्यापछ्याप्ती ?

अनियन्त्रित रिसले स्वास्थ्यमा कस्तो असर पार्छ ?

अनियन्त्रित रिसले स्वास्थ्यमा कस्तो असर पार्छ ?

कृत्रिम रुपमा पकाइएका फलफूलबारे जान्नैपर्ने कुरा

कृत्रिम रुपमा पकाइएका फलफूलबारे जान्नैपर्ने कुरा

मधुमेह : १० भ्रम र सत्य

मधुमेह : १० भ्रम र सत्य

राँगाको मासुमा हुनसक्छ फित्तेजुका, के हानि गर्छ ?

राँगाको मासुमा हुनसक्छ फित्तेजुका, के हानि गर्छ ?