+

टाउको दुखाइ : कुन सामान्य, कुन गम्भीर ?

२०८१ जेठ  ८ गते १८:२० २०८१ जेठ ८ गते १८:२०
टाउको दुखाइ : कुन सामान्य, कुन गम्भीर ?

टाउको दुखाइको अनुभव सबैले गरेकै हुन्छन् । टाउको दुख्नुका कारण विभिन्न हुन्छन् । कतिपय अवस्थामा टाउको आफैं दुख्छ भने कुनैबेला अन्य रोगका कारण पनि दुख्छ ।

टाउको दुखाइलाई चिकित्सकीय भाषामा प्राइमरी र सेकेन्डरी हेड्याक गरी दुई प्रकारमा विभाजन गरिन्छ ।

प्राइमरी हेड्याक

अन्य कारणले नभएर आफैं दुखाइ हुनु प्राइमरी टाउको दुखाइ हो । यो तीन प्रकारको हुन्छ- टेन्सन टाइप हेड्याक, माइग्रेन र कलस्टर हेड्याक । यी सबै सfमान्य टाउको दुखाइ अन्तर्गत पर्छन् । यस्तो टाउको दुखाइ समय-समयमा भइरहेको हुन्छ र समायमा उपचार गरेमा तीन-चार दिनमा निको हुन्छ ।

प्राइमरी हेड्याकले एकैचोटि ठूलो समस्या पनि ल्याउँदैन ।

तनाव, मनमा अनेक कुरा खेल्दा, कसैसँग मनमुटाव हुँदा टाउको दुख्नुलाई टेन्सन टाइप हेड्याक भनिन्छ । यसमा टाउको पूरै भारी भई केहीले थिचेजस्तो गरी दुख्छ । यस्तो टाउको दुखाइ ठीक बनाउन तनाव नियन्त्रण गर्नुपर्छ ।

माइग्रेनमा टाउकोको आधा भाग सहन नसक्ने गरी दुख्ने गर्छ । कसैको दाहिने आधा भाग दुख्छ भने कसैको देब्रे भाग दुख्ने गर्छ । यस्तो दुखाइ ३ देखि ५ दिनसम्म रहन सक्छ । घाममा हिंड्दा, भोको पेटमा, अनिद्रा, धुलोधुवाँ, गन्ध, तातो, चिसो वातावरणका कारण माइग्रेनको समस्या हुन्छ ।

वाकवाकी लाग्ने, बान्ता हुने, आँखा धमिलो देख्ने, रिंगटा लाग्ने जस्ता समस्या माइग्रेन हेड्याकमा हुने गर्छ । त्यस्तै आलस्य हुने, काम गर्न मन नलाग्ने, दिमागले अन्य कुरा सोच्न नसक्ने अवस्थासम्म पनि बिरामीलाई पुर्‍याउन सक्छ । पुरुषको तुलनामा महिलामा माइग्रेन बढी देखिन्छ ।

हरेकपटक एउटै समयमा मात्र टाउको दुख्नुलाई कलस्टर हेड्याक भनिन्छ । यसमा रातिको समयमा टाउको आधा भाग अत्याधिक दुख्छ । यस्तो दुखाइ आधादेखि तीन-चार घण्टासम्म सहनै नसक्नेगरी हुन्छ । यस्तो टाउको दुखाइ मौसमअनुसार वा केही लामो समयसम्म नियमित एकै समयमा हुने गर्छ । त्यस्तै आँखाको वरिपरि पनि दुख्ने हुन्छ । यस्तो समस्या महिलालाई भन्दा पुरुषलाई बढी हुन्छ ।

सेकेन्डरी हेड्याक

सेकेन्डरी हेड्याक अर्थात् केही रोग, संक्रमण वा अन्य कारणले हुने टाउको दुखाइ हो । जस्तै- दिमागमा नसा खुम्चिंदा, दिमागको संक्रमण जस्तै मेनिन्जाइटिस इन्सेफलाइटिस, दिमागमा कुनै खालको ट्युमर, दिमागको क्यान्सर, दिमागको झिल्ली वा नसा फुटेर टाउको दुख्नुलाई सेकेन्डरी हेड्याक भनिन्छ । यसलाई जटिल टाउको दुखाइ पनि भनिन्छ । किनभने यसलाई समयमा उपचार गर्न सकिएन भने बिरामीको मृत्यु समेत हुनसक्छ ।

के कारणले टाउको दुखेको कसरी छुट्याउने ?

उमेर ५० भन्दा माथि छ र एक्कासी टाउको दुख्न थाल्यो, दुखाइ कम नभई निरन्तर दुख्ने समस्या भएमा दिमागमा ट्युमरको कारणले टाउको दुखेको हुनसक्छ ।

हनहनी ज्वरो आउने, बिरामी बेहोस हुने, बान्ता हुनुका साथै अत्याधिक टाउको दुख्ने समस्या भएमा दिमागको संक्रमण वा दिमागको क्षयरोग भएको हुनसक्छ ।

बिरामीलाई अत्याधिक टाउको दुखाइसँगै बिरामीको बोली लरबराउने, हिंड्न नसक्ने, बान्ता हुने, आँखा धमिलो हुने, हातखुट्टा हलचल गर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा दिमागमा नसा खुम्चिएर वा नसा फुट्ने समस्याको कारण टाउको दुखेको हुनसक्छ ।

अत्याधिक टाउको दुख्नुसँगै बेहोस भएमा दिमागको क्यान्सरको समस्याको कारण हुनसक्छ । भेनस थ्रोम्बोइम्बोलिज्म अर्थात् नसामा रगत जम्ने समस्या भएमा पनि टाउको दुख्ने हुन्छ ।

उच्च रक्तचाप र मधुमेहको समस्या भएका व्यक्तिलाई टाउको पनि अत्याधिक दुख्छ भने स्ट्रोक वा भेनोसिस समस्याको संकेत हुनसक्छ ।

वयस्क महिलालाई हाडजोर्नीको समस्या र एक्कासी टाउको दुख्ने बेहोस भएमा बाथको कारणले हुनसक्छ ।

पिनासको कारणले पनि टाउको दुख्छ । टाउकोको अघिल्लो भाग अर्थात् निधार दुख्ने, ज्वरो आउने, नाक बन्द हुने र सुक्खा हुने समस्या हुन्छ ।

उपचार

सेकेन्डरी हेड्याकको उपचार बिरामीको समस्या अनुसार फरक-फरक हुन्छ । के कारणले टाउको दुखेको हो त्यसलाई पत्ता लगाएर त्यसको उपचार गरिन्छ । त्यसपछि आफैं निको हुन्छ । मस्तिष्कमा संक्रमणको कारण बिरामीलाई टाउको दुखेको छ भने संक्रमणको उपचार गरेपछि स्वत: टाउको दुख्ने समस्या निको हुन्छ । त्यसैले सेकेन्डरी हेड्याकमा टाउको दुख्नुको उपचार नभई टाउको दुख्ने कारणको उपचार गर्नुपर्छ । यसमा सकेसम्म चाँडै उपचार गर्नुपर्छ किनभने सेकेन्डरी हेड्याक हप्ता तथा महिना दिनमा नै बिग्रिने जोखिम हुन्छ । त्यसैले समयमा नै उपचार गर्नुपर्छ ।

टाउको दुखाइ डा. दीपेश शाक्य स्वास्थ्य
डा. दीपेश शाक्य
लेखक
डा. दीपेश शाक्य
वरिष्ठ नसारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७८४० एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन), न्युरोलोजी (केएमसीटीएच, केयू), न्यूरोलोजीमा स्नातकोत्तर प्रशिक्षण। हाल काठमाडौं डिल्लीबजारस्थित सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस र रातोपुलस्थित नेसनल बाथरोग सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय