+
+
सहकारी संकट-४१ :

डेढ अर्ब अपचलन गरेर कीर्तिपुरको दर्शन सहकारी सञ्चालक सम्पर्क बाहिर, बचतकर्ता सडकमा

सहकारी संस्था अध्यक्ष दिनेश दर्शनधारीको हस्ताक्षर भएको एक विज्ञप्ति जारी गरी संस्था अनिश्चितकालका लागि बन्द भएको भन्दै सञ्चालकहरू सम्पर्कविहीन भएका हुन् ।

विजय पराजुली विजय पराजुली
२०८१ जेठ २१ गते १९:४६

२१ जेठ, काठमाडौं । कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरू बचतकर्ता बोलाएर सोमबार कार्यालय बन्द गरेर फरार भएका छन् ।

१८ जेठमा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्र बज्राचार्य र प्रदेश सहकारी रजिस्ट्रार समेतको उपस्थितिमा कीर्तिपुरमै छलफल भएको थियो ।

छलफलमा सहकारी सञ्चालक समितिले २१ जेठमा बचतकर्तालाई केही रकम फिर्ता गर्ने व्यवस्था गर्ने र थप छलफल गरेर अगाडि बढ्ने सहमति गरेको थियो ।

सोही सहमति अनुसार सोमबार संस्थाका बचतकर्ता सहकारी कार्यालय पुग्दा सञ्चालकहरू भने संस्थामा ताला लगाएर सम्पर्कविहीन भइसकेका थिए ।

संस्था अध्यक्ष दिनेश दर्शनधारीको हस्ताक्षर भएको एक विज्ञप्ति जारी गरी संस्था अनिश्चितकालका लागि बन्द भएको भन्दै सञ्चालकहरू सम्पर्कविहीन भएका हुन् ।

सेयर सदस्य बचतकर्ताको धरपकड र कर्मचारीमाथि गरेको गाली बेइज्जतीले काम गर्ने वातावरण नभएको भन्दै कार्यालय बन्द गर्नुपरेको संस्थाका अध्यक्ष दर्शनधारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘विगत केही दिनदेखि सेयर सदस्यहरूले गरेको आन्दोलन, कार्यालयमा आई कर्मचारीहरूमाथि गरेको गाली बेइज्जती, धरपकड तथा तोडफोडसम्मको अवस्थाले कर्मचारीहरूमा एक प्रकारको त्रास बढेको छ,’ विज्ञप्तिमा छ, ‘सञ्चालक समितिले आफ्नो चलअचल सम्पत्ति व्यवस्थापनबाट निक्षेप फिर्ताका लागि पहल गरिरहेको अवस्थामा विभिन्न माग राख्दै गरिएको चरणबद्ध आन्दोलनका कारण संस्थाले आफ्नो कार्यालयलाई नियमित गर्न नसक्ने निर्णयमा सञ्चालक समिति पुगेको छ ।’

बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री बज्राचार्यकै उपस्थितिमा भएको छलफल, सञ्चालक समिति र सेयर सदस्यबीच पटक–पटक प्रहरीमा भएको लिखित प्रतिबद्धता कार्यान्वयन गर्न संस्थाको काम कारबाहीलाई केही दिन थाती राख्ने निर्णयमा पुगेका विज्ञप्तिमा उल्लेख छ ।

‘यसअघि भएका सहमतिबाट पनि कार्यालय सञ्चालन गर्ने वातावरण नभएपछि अनिश्चितकालका लागि दर्शन साकोसले आफ्नो सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो,’ विज्ञप्तिमा छ ।

संस्थाले प्रहरीसमक्ष बचतकर्तासँग गरेको पटक–पटकको सहमति विपरीत सञ्चालक समिति कार्यालय बन्द गरेर भागेको आरोप बचतकर्ताले लगाएका छन् ।

संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र बचतकर्ताका प्रतिनिधि समेतको उपस्थितिमा १८ जेठमा भएको छलफल अनुसार बचतकर्ता सोमबार सहकारी कार्यालय पुगे पनि सञ्चालक समितिका पदाधिकारी भने संस्थामा ताला लगाएर भागेको बचतकर्ताले बताए ।

प्रहरी वृत कीर्तिपुरका डीएसपी भुवनेश्वरप्रसाद साहले दर्शन सहकारीका सञ्चालकहरू कार्यालयमा ताला लगाएर सम्पर्कविहीन भएको बताए ।

असोज २०८० देखि नै संस्थामा समस्या देखिएको र बचत फिर्ता नभएपछि बचतकर्ता कीर्तिपुर नगरपालिका पुगेका थिए । नगरपालिकाको कार्यक्षेत्र नभई प्रदेशको कार्यक्षेत्र भएको संस्था भएकाले नगरपालिकाको सिफारिसमा पीडित बचतकर्ता कात्तिक २०८० मा प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय हेटौंडा पुगेका थिए ।

बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले सहकारीका सञ्चालक र उजुरी दिने बचतकर्ताबीच पटक–पटक बचत फिर्ताका लागि छलफल गराए पनि अहिलेसम्म बचत फिर्ता नभएको र सोमबार सहकारीका सञ्चालक विज्ञप्ति जारी गरी कार्यालय नै बन्द गरेको बचतकर्ताले आरोप लगाएका छन् ।

पछिल्ला केही दिनयता सहकारी कार्यालयमा बचतकर्ता बचत फिर्ता सुनिश्चित हुनुपर्ने र कार्यालय सञ्चालन हुँदा मात्रै बचत फिर्ता हुन सक्ने भन्दै त्यसका लागि दबाब दिँदै गर्दा सहकारी सञ्चालकहरू भने विज्ञप्ति निकालेर कार्यालय बन्द गरी फरार भएको एक पीडित बचतकर्ता केशरत्न बज्राचार्यले बताए ।

उनका अनुसार प्रदेश सहकारीमन्त्री र सहकारी रजिस्ट्रार समेतको उपस्थितिमा १८ जेठमा भएको छलफल अनुसार २१ जेठ सोमबार केही बचत फिर्ता गर्ने सहमति समेत भएको थियो । सोही अनुसार सोमबार बचतकर्ता सहकारीको कार्यलय पुगेका थिए ।

डेढ अर्बभन्दा बढी जोखिममा

दर्शन सहकारी संस्थाको कुल पूँजी तथा दायित्व डेढ अर्बभन्दा बढी छ । बचतकर्ताको पटक–पटकको उजुरी र प्रदेश सहकारी मन्त्रालयमा भएको सहमतिपछि २०८० असोज मसान्तसम्मको तथ्यांक समावेश गर्दै सहकारीले स्वेतपत्र जारी गरेको थियो ।

संस्थाले जारी गरेको स्वेतपत्र अनुसार २०८० असार मसान्तसम्म संस्थाको कुल पूँजी तथा दायित्व १ अर्ब ५९ करोड ५० लाख १५ हजार छ ।

१३ हजार ६ सय ४० बचतकर्ताको २२ करोड ४६ लाख ३२ हजार सेयर पूँजी र ८९ करोड २१ लाख ८५ हजार बचत दायित्व सहित सेयर सदस्यको सेयर र बचत दायित्व मात्रै करिब १ अर्ब १२ करोड रुपैयाँ छ ।

यस्तै संस्थाले राष्ट्रिय सहकारी बैंक र काठमाडौं बचत तथा ऋण सहकारी संघबाट लिएको ऋण सापटी ३४ करोड ७६ लाख १६ हजार रुपैयाँ छ । संस्थाको विभिन्न कोषमा १० करोड ८७ लाख ७ हजार छ ।

संस्थाले जारी गरेको स्वेतपत्र अनुसार १ अर्ब ४८ करोड ४७ लाख १३ हजार रुपैयाँ कर्जा तथा सापट हिसाब छ । जसमध्ये ठूलो हिस्सा देखिन्छ । असोज मसान्तमा कायम कर्जा तथा सापट हिसाबमा करिब ६१ करोड ऋण विनाधितो लगानी भएको छ ।

जसको ब्याजदर ४ करोडभन्दा बढी रहेको उल्लेख थियो । यस्तै करिब ८७ करोड ९७ लाख रुपैयाँ कर्जा भने धितोमा लगानी भएको देखिएको छ । तर, धितो भएको भनिएको कर्जा पनि अधिकांश कमसल धितोमा रहेको सहकारीका बचतकर्ताहरू नै बताउँछन् ।

सहकारीबाट ठूलो रकम संस्था सञ्चालकहरूले नै दुरुपयोग गरी चितवन, सुनसरी इनरुवा, बारा सिमरा लगायत ठाउँमा लगानी गरेको र बचतकर्तालाई सोही जग्गा देखाउँदै जग्गा दिने समेत तयार भएको बताउँदै आएको बचतकर्ताको गुनासो छ । इनरुवामा रहेको ग्रिन हिलसिटी नामक प्लानिङको जग्गा रहेको भन्दै सहकारीले बचतकर्तालाई देखाइरहेको छ ।

गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष रामबहादुर गौतमले पनि सोही प्लानिङबाट बचतकर्तालाई १० धुरका ७० वटा टुक्रा जग्गा पास गरेको र हरेक टुक्राबाट ७ लाखसम्म बचतकर्ताबाट रकम थप गर्न लगाएको बताएका थिए ।

सोही प्लानिङमा आफ्नो पनि जग्गा रहेको भन्दै दर्शन सहकारी सञ्चालकले पनि आफ्नो लगानी रहेको भन्दै जग्गा भएको विवरण स्वतेपत्रमा नै राखेका छन् ।

उक्त जग्गामा सहकारीको रकम अपचलन गरी कसरी भूमाफियाले चलखेल गरी बचतकर्तालाई महँगोमा बेचिरहेको छन् भनेर अनलाइखबरले यसअघि नै समाचार प्रकाशित गरेको थियो ।

‘बचतकर्तालाई तीन गुणा महँगोमा जग्गा भिडाउँदै गौतमश्री सहकारी अध्यक्ष रामबहादुर’ शीर्षकमा यसअघि नै समाचार प्रकाशित भएको छ ।

उक्त प्लानिङमा सहकारीको रकम अपचलन गरी जग्गामा लगानी गरेको भूमाफियाले चल्तीको मूल्य प्रतिकठ्ठा ८ देखि ९ लाख रुपैयाँ रहेको जग्गा ४० देखि ५० लाख रुपैयाँ प्रतिकठ्ठा मूल्यांकन गरेर हिसाब मिलाउन खोजेको आरोप बचतकर्ताको छ ।

इनरुवामा रहेको ग्रिन हिलसिटीको जग्गा प्रतिकट्ठा ४०–५० लाख रुपैयाँ मूल्यांकन हुनु अत्यधिक महँगो भएको नगरपालिका प्रवक्ता समेत रहेका ६ नम्बर वडाका अध्यक्ष सुमन थापाले अनलाइनखबरलाई बताए । उक्त प्लानिङ इनरुवा नगरपालिकाका वडा नम्बर ५, ६ र ७ मा फैलिएको उनले जानकारी दिए ।

१ सय बिघामा रहेको उक्त जग्गाको केही भाग इनरुवाबाट दुहबी जोड्ने बाटोले छुने उनले बताए । उक्त बाटोसँग जोडिएको जग्गा कठ्ठाको २० देखि २५ लाख रुपैयाँमा बैना भए पनि अन्य जग्गा भने १०/१२ लाख रुपैयाँ कठ्ठामा बैना भएको प्रवक्ता थापा बताउँछन् ।

‘जग्गा धनीसँगै बैना गरेर जग्गा प्लटिङ भएको छ । १२ लाख धुरमा बैना भएको जग्गाको बैना गर्दा २ लाख भुक्तानी भएको रहेछ,’ उनले भने, ‘बैना भए पनि जग्गा स्थानीयको नाममा नै कित्ताकाट भएको छ । यसरी कित्ताकाट भएको जग्गा बिक्री गर्दा जग्गा किन्नेसँग पास गर्दा लिएको पैसाबाट जग्गाधनीलाई बाँकी पैसा भुक्तानी भएको छ ।’

बैना भएको एक वर्षसम्म त्यसरी जग्गा बिक्री भएर पैसा नदिएको अवस्थामा उक्त अवधिको ब्याजसहित पैसा लिएको स्थानीयले कुराकानीमा बताएको वडाध्यक्ष थापाले बताए ।

‘दुहबी–इनरुवा जोड्ने सडकसँग जोडिएको बाहेक अधिकांश जग्गा १०/१२ लाख रुपैयाँ कठ्ठामा बैना भएको हो । त्यसमा अस्पताल, झण्डा पार्क लगायत संरचना बनाउन भनेर ४ बिघाजति जग्गा छुट्याएको छ । अस्पताल बनाउने भनेर प्रदेश सरकारसँग सम्झौता पनि भएको छ,’ अध्यक्ष थापाले भने, ‘जग्गा विकास गर्दा चाहिने मापदण्ड अनुसार बाटो राखेको छ भने नगरपालिकाले ढल, बिजुलीको पोल र तार तथा पानीको पाइप नराखेसम्म नक्सा पास नदिने भएकाले सबै व्यवस्था गरिएको छ ।’

वडाध्यक्ष थापा भन्छन्, ‘सुनसरीका स्थानीयले त्यहाँ जग्गा किनेका छैनन् । जग्गा विकास गर्ने पनि काठमाडौंका हुन् भन्ने सुनेको हो । जग्गा किन्नेहरू पनि पोखरा, काठमाडौं, बुटवल लगायतबाट ल्याएको भन्ने सुनिएको छ ।’

त्यहाँको मूल्यभन्दा धेरै महँगो भएर नै स्थानीयले जग्गा नकिनेको अनलाइनखबरको सम्पर्कमा आएका एक स्थानीयले बताए ।

‘भूमाफियाको विषयमा बोल्दा पनि डराउनुपर्ने अवस्था छ । राजनीतिक संरक्षण लिएका उनीहरूले गुन्डासमेत पालेका हुन्छन्,’ एक स्थानीयले भने, ‘जसरी जग्गाको कारोबार भइरहेको छ । त्यो धेरै नै महँगो मूल्य हो ।’

दर्शन सहकारीका सञ्चालकले स्वेतपत्रमा चितवन रत्ननगर नगरपालिका ४ मा रहेको प्लानिङ गरेको जग्गा पनि देखाएका छन् । यसबाहेक सिमरामा पनि जग्गा रहेको बताए पनि उक्त जग्गाले बचत दायित्व खाम्ने अवस्था नदेखिएको बचतकर्ताको तर्क छ ।

‘हामीले उहाँहरूले देखाएको सम्पत्तिबाट बचत फिर्ता हुने विश्वस्त आधार देखेनौं । बचत फिर्ताको आधार तयार गर्नुपर्ने माग हाम्रो हो,’ संस्थाको बचतकर्ता केशरत्न बज्राचार्यले भने, ‘संस्था सञ्चालन गरेर नै बचत फिर्ताको ग्यारेन्टी हुनुपर्छ भन्ने हामीले खोजेका थियौं । तर, उहाँहरू बचतकर्तालाई विभिन्न आरोप लगाउने र जग्गामा लगानी गरेर रुस–युक्रेन युद्धले समस्या भयो भन्दै बचतकर्तालाई आरोप लगाएर कार्यालय बन्द गरेर भाग्नुभयो ।’

संस्था सञ्चालक समिति अध्यक्ष दिनेश दर्शनधारी कीर्तिपुरकै स्थानीय हुन् ।

 

सहकारी संकट
लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?