+

धेरैलाई सताउने छालारोग ‘एक्जिमा’ के हो ?

२०८१ जेठ  ३० गते १३:४४ २०८१ जेठ ३० गते १३:४४
Shares
धेरैलाई सताउने छालारोग ‘एक्जिमा’ के हो ?

छालासम्बन्धी समस्यामध्ये सबैभन्दा बढी ‘एक्जिमा’को समस्या लिएर अस्पताल धाउनेको संख्या बढी छ । काठमाडौंस्थित सिभिल अस्पतालले गरेको एक अध्ययनले पनि छालासम्बन्धी सबैभन्दा बढी देखिने पाँच प्रमुख रोगमध्ये एक्जिमा रहेको देखाएको थियो ।

यो समस्याले बच्चादेखि वृद्ध समेतलाई सताउँछ । विश्वभरमा करिब २० प्रतिशत बालबालिका र ३ प्रतिशत वयस्क कुनै न कुनै प्रकारको एक्जिमाको सामना गरिरहेका छन् ।

के हो एक्जिमा ?

कुनै कारणवश छालाको कोषिकाहरुको बीचमा सुन्निएर बाहिरी छालामा देखिने समस्या एक्जिमा हो । एक्जिमा आफैंमा बृहत छ । जसअन्तर्गत छाला पोल्ने, रातो बिमिरा, चिलाउने, अति सानो फोका र डल्लो आउने, हल्का पीप र पानी बगिरहने, छाला कडा हुने तथा छाला फुस्रो हुने जस्ता लक्षण देखा पर्छ ।

कुनकुन अंगमा देखिन्छ ?

एक्जिमा हात, घाँटी, कुहिनो, घुँडा, खुट्टा, अनुहार विशेषगरी घाँटी, कान र ओठको वरिपरि असर गर्छ । कहिलेकाहीं यो निप्पल, स्तन र लिङ्गको छालामा पनि देख्न सकिन्छ ।

कारण

– साबुन, डिटर्जेन्ट, स्याम्पु र अन्य लुगा धुने तरल पदार्थमा बढी चल्दा छालामा एक्जिमा हुनसक्छ ।

– कपाल रंगाउँदा प्रयोग हुने रसायन,  सिमेन्ट, धुवाँधुलोको कण र बोटविरुवामा हुने एलर्जी गर्ने तत्वले हुनसक्छ ।

– धातुको सम्पर्कले पनि एक्जिमा गराउँछ । गहना लगाउने जस्तै, कान, नाइटो र हातमा लगाउँदा यो समस्या हुनसक्छ ।

– घामबाट निस्कने हानिकारक विकिरणले पनि नाङ्गो छालामा एक्जिमा गराउन सक्छ । विशेषगरी खेतबारीमा काम गर्ने व्यक्तिको हात, खुट्टा, गर्दन, छातीको माथिको भागमा यो समस्या देखिन्छ ।

– बुबाआमामा एलर्जी भइराख्ने, बिमिरा निस्कने समस्या छ भने सन्तानमा पनि एक्जिमा हुनसक्छ ।

– चिसो, सुक्खा मौसममा पनि छाला फुस्रो रहने हुँदा यो समस्या देखिन सक्छ ।

– भेरीकोजको समस्या हुँदा पनि छालामा एक्जिमा हुनसक्छ ।

– गाईको दूध, बदाम, गहुँको पिठो, सोया, अण्डा लगायतका खानेकुराको एलर्जीले केही मानिसमा साइड इफेक्टको रूपमा एक्जिमा निम्त्याउँछ ।

– गर्भावस्था, महिनावारी र रजोनिवृत्तिको समयमा हर्मोनल परिवर्तनको कारण एक्जिमा देखिन सक्छ । यद्यपि, सबैलाई देखिन्छ भन्ने हुँदैन ।

– गर्मीयाममा कीराहरु व्यापक हुन्छन् । तिनको सम्पर्कमा आउँदा पनि एक्जिमा हुनसक्छ ।

– भाइरल संक्रमण र कपालमा चाया पर्दा पनि यो समस्या देखिन्छ ।

यसलाई पनि विभिन्न भागमा विभाजित गरिएको छ ।

एटोपिक डर्मेटाइटिस : यो एक्जिमा सबैभन्दा बढी देखिन्छ । जुन एक्जिमा एकपटक निको भएपछि पनि आउन सक्छ ।

कन्ट्याक्ट डर्मेटाइटिस : जब कुनै व्यक्तिको छाला कुनै वस्तुको सम्पर्कमा आएर एलर्जी हुन्छ, त्यसलाई ‘कन्ट्याक्ट डर्मेटाइटिस’ भनिन्छ ।

डिसाइड्रोटिक एक्जिमा : हातखुट्टा र औंलाहरूबीचको भागमा हुने साना फोकाहरुलाई डिसिड्रोटिक एक्जिमा भनिन्छ । यस प्रकारको एक्जिमाले प्रायः २० देखि ४० वर्ष उमेरका मानिसलाई असर गर्छ ।

न्युरो डर्माटाइटिस : शरीरको कुनै एक अंगमा अत्याधिक चिलाउनु र कहिलेकाहीं यो चिलाउने समस्या लामो समयसम्म रहन्छ । विश्वभरका करिब १२ प्रतिशत मानिस न्युरो डर्माटाइटिस एक्जिमाबाट पीडित छन् ।

न्युम्युलर एक्जिमा : यस प्रकारको एक्जिमामा सिक्काको आकार जस्तै दाग बन्ने गर्छ, जसमा धेरै चिलाउँछ ।

सेबोरेहिक डर्मेटाइटिस : यस प्रकारको एक्जिमा लामो समयसम्म रहन्छ । यो समस्या प्रायः टाउको, नाक र ढाडमा देखिन्छ ।

स्टेसिस डर्मेटाइटिस : यस प्रकारको अवस्थामा शरीरको तल्लो भाग, विशेषगरी खुट्टामा खराब रक्त सञ्चारको कारण एक्जिमाको समस्या उत्पन्न हुन्छ । यो एक्जिमाले प्रायः ५० वर्षभन्दा माथिका मानिसलाई असर गर्छ ।

पहिचान

यसको पहिचान लक्षणको आधारमा गरिन्छ । सबैभन्दा पहिला ‘मेडिकल हिस्ट्री’को जानकारी लिइन्छ । सोहीअनुसार एलर्जी परीक्षण, रगत परीक्षण र छालाको बायोस्पी लिइन्छ । तर यो सबै परीक्षण सबैलाई जरुरी नहुन पनि सक्छ ।

उपचार

– एलर्जी भएमा त्यसको पहिचान गरी प्रयोग नगर्ने ।

– छालाबाट पिप र पानी बग्ने समस्या भएमा नुन पानी वा पोटासियम पानीले सफा गरिराख्ने ।

– छाला सुक्खा भइरहन्छ भने चिकित्सक सल्लाहमा दिनको तीनदेखि चार पटक मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।

– केही स्थितिमा चिकित्सकले दुई सातासम्मको औषधि दिन सक्छन् । छाला चिलाउने र सुन्निएको छ भने एन्टिइन्फ्लेमेटरी औषधि एन्टिहिस्टामाइन र कोर्टिकोस्टेरोइड औषधि र संक्रमण छ भने एन्टिबायोटिक औषधि दिइन्छ ।

– कसैमा लाइट थेरापीको पनि प्रयोग गर्नुपर्ने हुनसक्छ ।

एक्जिमा कसरी नियन्त्रण गर्ने ?

जब एक्जिमाको लक्षणहरु देखा पर्न थाल्छन् । त्यतिबेला नै यसलाई नियन्त्रण गरेमा निको हुन्छ । एक्जिमाको लक्षण जस्तै अलि-अलि छाला सुक्खा भएर चिलाउन थाल्दा चिलाएको भाग पानीमा हल्का भिजाएर तेल वा मोइस्चराइजर क्रिम लगाउनुपर्छ । पछि बिस्तारै बिस्तारै आफैं ठीक हुन थाल्छ ।

त्यस्तै, यसबाट बच्न सनस्क्रिन, मोइस्चराइजरको प्रयोग, पूरा बाहुला भएको लुगा लगाउने, केमिकलको सम्पर्कमा बस्नुपर्ने भएमा पञ्जा र मास्क लगाउन सकिन्छ ।

एक्जिमा छालारोग डा. प्रज्ज्वल पुडासैनी
डा. प्रज्ज्वल पुडासैनी
लेखक
डा. प्रज्ज्वल पुडासैनी
छाला, यौन तथा कपाल प्रत्यारोपण विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : १७६०७ एमबीबीएस, एमडी हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती  कर्मचारी अस्पताल र भक्तपुरस्थित बीएससीसी क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

उपचारमा लैंगिक विभेद, छोरी बिरामी हुँदा खर्च गर्दैनन् परिवार

उपचारमा लैंगिक विभेद, छोरी बिरामी हुँदा खर्च गर्दैनन् परिवार

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन, थिए क्यान्सरबाट पीडित

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन, थिए क्यान्सरबाट पीडित

किन चिनी छाड्न सल्लाह दिइन्छ ? यस्तो छ खास कारण

किन चिनी छाड्न सल्लाह दिइन्छ ? यस्तो छ खास कारण

एनआईपीटी : जन्मअघि नै क्रोमोजोम असामान्यता पत्ता लगाउने भरपर्दो परीक्षण

एनआईपीटी : जन्मअघि नै क्रोमोजोम असामान्यता पत्ता लगाउने भरपर्दो परीक्षण

एक यस्तो बिर्सने समस्या, जसले घरबाट निस्केपछि फर्कने बाटो नै थाहा पाउँदैन

एक यस्तो बिर्सने समस्या, जसले घरबाट निस्केपछि फर्कने बाटो नै थाहा पाउँदैन

चिकित्सा सेवा सुधारमा सकस

चिकित्सा सेवा सुधारमा सकस