+

बिरामीको मनोबल बढाउन डाक्टरले के गर्ने ? (भिडियो)

२०८१ जेठ  ३१ गते १३:२० २०८१ जेठ ३१ गते १३:२०
बिरामीको मनोबल बढाउन डाक्टरले के गर्ने ? (भिडियो)

मानसिक हिसाबले कुनै पनि कुराप्रति सकारात्मक दृष्टिकोण राखेर यसले मलाई राम्रो गर्छ भन्ने विश्वास गरिन्छ भने त्यसलाई ‘प्लेसिबो’ भनिन्छ । जस्तो- एकदमै पेट दुखिरहेको छ, जँचाउन अस्पताल गइयो र चिकित्सकले लक्षणको आधारमा तपाईंको समस्या यो हो निको हुन्छ भन्दा मात्र पनि केही बिरामीले आधा रोग निको भएको महसुस गर्छन् ।

‘म अस्पताल गएर ठीक हुन्छु’ भन्ने विश्वासले गर्दा पनि धेरै लक्षण सुधार भएको हुन्छ । सुन्दा त गफ जस्तो लाग्न सक्छ । तर यो कुरा वैज्ञानिक रुपमा पनि प्रमाणित भएको छ ।

मान्छेले यदि दृढ रूपले कुनै कुरामा विश्वास राख्छ र यसले मलाई सकारात्मक असर गर्छ भन्ने सोच राखेर अघि बढ्छन् भने त्यसबाट केही न केही फाइदा भएको देखिन्छ ।

सेल्फ हेल्प बुकहरूमा र कतिपय युट्युब भिडियोहरूमा विश्वास गर्नुपर्छ, सकारात्मक हुनुपर्छ भनेर हामीले पढ्छौं, सुन्छौं, हेर्छौं । प्लासिबोले बिरामीको ३० देखि ४० प्रतिशत लक्षण कम गरेको देखिन्छ । तर जुनसुकै अवस्थामा प्लासिबोको प्रयोग गर्नु सही नहुन सक्छ ।

यस्तो विश्वास केही हदसम्म फाइदाजनक हुन्छ । तर यही विश्वास चाहिने भन्दा बढी भयो भने त्यसले सकारात्मक नभई नकारात्मक असर पनि गर्न सक्छ ।

कोही मान्छे लामो समयदेखि उदासीपनको समस्याले गर्दा दु:खी छन् भने अन्य व्यक्तिले उदास हुनुहुँदैन, सकारात्मक हुनुपर्छ भनेर सल्लाह दिन्छन् । तर  नराम्रो सोच्न हुन्न, दु:खी हुनुहुन्न र सकारात्मक हुनुपर्छ भनेर भन्ने कुरा थाहा हुँदाहुँदै पनि आफूलाई आफ्नो भावनालाई नियन्त्रण गर्न नसकेर नै समस्या भएको हो ।

औषधिसँगै बिरामीलाई मनोबल बढाउन परिवार, साथी र चिकित्सकले हिम्मत दिन सक्छन् । तर भित्र रोग बढिरहेको छ, बाहिर मैले मलाई केही भएको छैन र हुँदैन भन्दैमा समस्या ठीक भएर जाने होइन । त्यसैले औषधि, सकारात्मक धारणा र मनोबल मिलाएर लैजान सके त्यसबाट बिरामीमा धेरै राम्रो सुधार हुन्छ ।

औषधिलाई काम गर्न समय लाग्छ

कतिपय तनाव तथा चिन्ताको समस्यामा बिरामीलाई लाग्छ, आफूभित्र कुनै ठूलै रोग छ । रोगको लक्षण देखा परेको छ तर लक्षणमा देखिए जस्तो कुनै गम्भीर रोग रिपोर्टमा भने देखिंदैन । मानौं, कसैलाई घाँटीमा केही अड्किएको जस्तो, थुक निल्न गाह्रो भएको जस्तो हुन्छ भने कतै थाइराइड पो भयो कि घाँटीको क्यान्सर पो भयो कि भनेर सोच्न सक्छन् ।

यस्तो भयो भने सबैभन्दा पहिले त नाक, कान, घाँटीको डाक्टरलाई भेट्नुपर्छ । त्यहाँ केही समस्या देखिएन भने मनोरोगको डाक्टरलाई रिफर गरिन्छ । जँचाउँदा रिपोर्टमा केही समस्या देखिएन भने बिरामीले विश्वास नै गर्दैनन् । यो अस्पतालको रिपोर्ट ठीक छैन, यहाँ मेरो रोग पत्ता लाग्दैन भनेर त्यही जाँच अरू ४-५ वटा अलग अस्पतालमा गर्छन् । यो मनोरोगको समस्या होला भन्ने बिरामीलाई हेक्का नै हुँदैन ।

जसोतसो मनोचिकित्सककहाँ पुगे भने त्यहाँ उनीहरूलाई यो मनोरोग हो भनेर सम्झाइन्छ । तर बिरामी अस्पताल त घाँटीको समस्या अस्पताल गएको हो । यस्तोमा मेरो उपचार सही तरिकाले भएको छैन भन्ने शंका बिरामीलाई लाग्छ ।

चिकित्सकले बिरामीलाई औषधि दिन्छन् । बिरामीले औषधि खान्छन् एक-दुई दिनमा नै त औषधिले काम गर्दैन, औषधिले काम गर्न त कम्तीमा पनि १० दिनदेखि १४ दिन लाग्छ । औषधिले राम्ररी काम गरेको छ कि छैन भन्ने कुरा थाहा पाउन एक महिना लाग्छ र पूर्ण रुपमा काम गर्न दुईदेखि तीन महिना लाग्छ ।

बिरामीले भने पाँच दिन औषधि खान्छन् र औषधिले काम गरेन भन्छन् । पहिले नै उनीहरूमा मेरो उपचार राम्ररी भएको छैन भन्ने शंका हुन्छ । यस्तोमा पाँच दिन औषधि खाँदा पनि औषधिले काम गरेन यो औषधि खानु बेकार रहेछ भने औषधि नै खान छोड्छन् ।

फेरि समस्या बल्झियो भने अर्को अस्पताल पुग्छन् । जसरी प्लेसिबो भनेको कुनै पनि कुराले मलाई राम्रो हुन्छ भनेर सकारात्मक धारणा राख्नु हो । त्यसको उल्टो कुनै कुराले मलाई नराम्रो हुन्छ भन्ने धारणा आउनु ‘नोसिबो’ हो । यो औषधिले राम्ररी काम गरेको छैन, अस्पताल गएर पनि मेरो रोग पत्ता लाग्दैन, औषधि खाए भने पनि फाइदा भन्दा साइड-इफेक्ट धेरै हुन्छ भन्ने सोच राख्छन् ।

यस्तो सोच राखियो भने बिरामीको शरीर र बिरामीको दिमागले औषधिको फाइदा भन्दा साइड-इफेक्टमा बढी ध्यान दिन थाल्छन्, जसले उनीहरूको उपचारमा नै समस्या निम्तिन सक्छ ।

बिरामीलाई औषधिले काम गर्न कति समय लाग्छ भन्ने कुरा चिकित्सकले राम्ररी बुझाएको खण्डमा यस्तो समस्या कम हुनसक्छ । बिरामीले पनि यो विषयमा चिकित्सकलाई सोध्नुपर्छ ।

औषधिले काम गर्न दुई हप्ता लाग्छ तर दुई दिनमै काम गरे हुन्थ्यो भन्ने हतार बिरामीलाई हुन्छ । तर बिरामीलाई हतार भयो भनेर उसलाई चाहिने भन्दा बढी डोजको औषधि पनि त दिन मिल्दैन । त्यसैले बिरामीले हतार गर्नु हुँदैन र औषधिले काम गरेन भनेर एक्कासि खान छोड्नु हुँदैन ।

डाक्टरले बिरामीको कुरा राम्ररी सुनिदिनुपर्छ

डाक्टरले धेरै कुरा सिक्ने बिरामीबाटै हो, त्यसैले बिरामीको कुरालाई राम्ररी सुन्नुपर्छ । हरेक मान्छेको शरीर फरक हुन्छ । सबैको औषधि पचाउने तरिका पनि एउटै हुँदैन । त्यसैले औषधिले काम गर्न दुई हप्ता लाग्छ तर दुई हप्तासम्म औषधिले काम गर्न सुरु गरेन भने पनि डेढ महिनासम्म औषधि परिवर्तन नगर्नु भनेर मेडिकल पुस्तकमा नै लेखिएको छ ।

हरेक औषधिको केही न केही साइड-इफेक्ट हुन्छ । तर त्यही औषधिले कोहीलाई एउटा पनि साइड-इफेक्ट देखिंदैन, कसैलाई देखा पर्छ ।

छिटो औषधि पचाउने व्यक्तिलाई औषधिले काम गर्न समय लाग्छ भने ढिलो औषधि पचाउने व्यक्तिलाई साइड-इफेक्ट देखिने सम्भावना बढी हुन्छ । औषधिले काम गरेको जस्तो लागेन भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

बिरामीलाई एक महिनाको औषधि दिएको छ, औषधिले काम गरेको छैन तर डाक्टरले दिएको औषधि हो ढिलोचाँडो काम गर्ला नि भनेर कतिले औषधिले काम नगरे पनि वा साइड-इफेक्ट देखिएपनि दुई-तीन महिनासम्म औषधि खाइरहन्छन् । त्यो गर्नु पनि गलत हो, चिकित्सकले बोलाएको बेला फलोअपमा गएर त्यो औषधिले काम गरे नगरेको जान्नुपर्छ । कतिपय अवस्थामा औषधि परिवर्तन गर्नुपर्ने पनि हुनसक्छ ।

साइडइफेक्ट हुन्छ भनेर औषधि खान डराउनु हुँदैन

केही पनि साइड-इफेक्ट नहुने औषधि नै हुँदैन । सबै औषधिको केही न केही साइड-इफेक्ट हुन्छ । ग्यास्ट्रिकको औषधि पनि नियमित खाँदा शरीरमा म्याग्नेसियम भन्ने तत्त्व कम भएर मुटुमा असर गरेको पाइएको छ । नियमित ग्यास्ट्रिकको औषधि सेवन गर्नेमा मिर्गौलामा समस्या भएको पनि पाइएको छ । साथै प्रेसरको औषधि, सुगरको औषधि र थाइराइडको औषधिको पनि केही साइड-इफेक्ट देखिन्छ ।

औषधिले धेरै फाइदा भएको छ कि साइड-इफेक्ट भएको छ भन्ने कुरा थाहा पाउन ६ देखि आठ महिनामा चेकजाँच गर्नुपर्छ । दीर्घरोगीहरुले नियमित चेकजाँच गर्नुपर्ने मुख्य कारण नै यही हो ।

फोटो, भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

बिरामी मनोबल स्वास्थ्य
डा. आशिष ढकाल
लेखक
डा. आशिष ढकाल
मानसिक रोग विशेषज्ञ

डा. ढकाल हाल काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत छन् । मानसिक रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १६९२५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय