+
+

महिलाका काम-के काम ?

कसरी समाजमा महिलाका काम घरभित्रका ‘अर्थहीन’ र पुरुषका काम बाहिरका ‘अर्थपूर्ण’ भन्ने बुझाइको निर्माण भयो जसले गर्दा समान ज्याला, कार्यस्थलमा विभेद र हिंसा जस्ता कुरा उठाउँदा महिलाहरूलाई ‘खुरुक्क घरको काम गरेर आनन्दले नबसेर’ भन्ने गरियो ?

नारायणी देवकोटा नारायणी देवकोटा
२०८१ असार १ गते १८:१७

महिला अधिकारका क्षेत्रमा काम गर्नेहरूको हेर्दा सामान्य लाग्ने तर गहिरो अर्थ बोक्ने एउटा नारा छ- ‘महिलाको काम पनि काम हो ।’ वुमन वर्क इज वर्क ।

सामान्यतया ‘महिलाका काम’ भन्नासाथ धेरैले महिलाले ‘घरभित्र गर्ने काम’ लाई बुझ्ने सम्भावना बढी हुन्छ । र, यी कामलाई ‘काम’ नठानिने सम्भावना पनि उत्तिकै छ । तर, यो त्यस्तो महत्वहीन काम भने होइन । अर्थशास्त्री क्लाउडिया गोल्डिनले महिलाको कामलाई केन्द्रमा राखेर प्राज्ञिक क्षेत्रमा गरेको योगदानको आधारमा गत वर्ष अर्थशास्त्रतर्फ नोबल पुरस्कार पाइन् ।

नेपालको महिला आन्दोलनको प्राज्ञिक तवरमा विश्लेषण गर्दै आएकी अर्थशास्त्री मीना आचार्यले लामो समयदेखि उठाउँदै र लेख्दै आएको कुरा के छ भने- महिलाले गर्ने घरभित्रको कामलाई गणना नगरिएका कारण विकासोन्मुख देशहरूको जीडीपी थोरै छ । महिलाहरू अत्यधिक निर्भर रहेको कृषिलाई अझै अनौपचारिक क्षेत्र मानिने हाम्रो जस्तो समाजमा महिलाको कामलाई अनौपचारिक (घरपरिवार, कृषि जस्ता) मात्रै मानिनु र यसलाई वास्तविक ‘काम’ नमान्ने आम बुझाइ अतिशयोक्तिपूर्ण लाग्दैन ।

‘घरभित्रको काम काम होइन’

मानव सभ्यताको विकास भएदेखि नै महिलाका काम बालबालिका, बिरामी, वृद्धवृद्धाको हेरविचार, खानपान, दाउरा-पानी र कन्दमूलको जोहो गर्नु रहँदै आएको छ । पुरुषको काम सिकार गर्ने, अर्को समूहसँग लडाईं गर्ने जस्ता बाह्य काम रहँदै आएका छन् । यसरी हेर्दा महिलालाई सेवाका काम र पुरुषलाई बाहिरी दुनियाँका बढी श्रम र बल चाहिने काममा विभाजन गर्ने गरिएको पाइन्छ ।

महिलाको शारीरिक अवस्था, त्यो समयको अविकास (भौतिक, प्राविधिक, चिकित्साशास्त्र जस्ता कुरामा) ले गर्दा उक्त प्रकारको श्रम विभाजन ठिकै जस्तो लाग्छ । तर, उक्त कुरा आवश्यकताले भन्दा पनि परम्परादेखि चल्दै आएको र मानिसहरूको स्मृतिमा रहेका कारण विस्तारै महिलाको काम भन्नु नै मसिना तर धेरै समय र मिहिनेत लाग्ने एवं पुरुषका काम बल चाहिने तर छिटो सकिने हुन्छन् भन्ने वर्गीकरण स्थापित हुनपुग्यो । यसरी हेर्दा महिलाका काम स-साना र पुरुषका काम ठूला भन्ने धारणा विकसित हुँदै गएको देखिन्छ ।

विवाह टुटेका अथवा विवाह नगरेका महिलालाई हेर्ने नजर अर्कै छ । उसले लगाएको लुगा गहनादेखि बाइक, गाडीदेखि जोडेको सम्पत्तिलाई लिएर अनेकौं कुरा काटिन्छन् । पहिलो नम्बरमा ‘कसले दिएको हो ? वा दिलाएको हो ?’ भन्ने पर्छ । अर्थात् कोसँग यौन सम्बन्ध राखेर यो बाँचिरहेकी छे भनेर महिलाहरू माथि प्रत्यक्ष-अप्रत्यक्ष प्रश्न उठाइरहिन्छ

आज पनि समाजमा हामीले धेरै हदसम्म (नेपालमा मात्रै होइन, संसारभरि नै) महिलाको कामलाई प्रारम्भिक समाजकै नजरबाट हेर्छौं । अर्थात् घरभित्रका मसिना काम, छोराछोरी हुर्काउने, बुढाबुढी स्याहार्ने, रोगीको हेरविचार गर्ने महिलाका काम हुन् । बाहिरबाट नुन तेलको जोहो, खर्चबर्चको जोहो गर्ने काम पुरुषका भन्ने नजरिया जस्ताको तस्तै नभए पनि धेरै मात्रामा छ । यो दृष्टिकोणमा परिवर्तन निकै सुस्त भइरहेको छ । यसका आधारमा समाजमा विविध विभेदकारी भाष्य निर्माण छन् । महिला हुनु भनेको घरभित्रको काम जान्नु, पुरुष भनेको शारीरिक काम गर्नु । यो भाष्यले महिला-पुरुष दुवैको जीवनलाई असहज बनाउँदै आएको छ ।

समाज विकासको क्रममा भएको औद्योगिक क्रान्ति वा विकासले मानिसलाई खेतबारी, जंगल र खोलाबाट उद्योगमा ल्यायो । कामसँग पहिचान दिएर उनीहरूमाथि शोषणको सिलसिला सुरु गर्‍यो । औद्योगिक क्रान्तिपछि समाजले परम्परागत रूपमा महिला र पुरुषका कामलाई भिन्नभिन्न रूपमा हेर्ने नजरियाको विकास गर्‍यो । यसले गर्दा महिलाका काम घरभित्रका ‘अर्थहीन’ र पुरुषका काम बाहिरका ‘अर्थपूर्ण’ भन्ने बुझाइलाई मजबुत बनाउने काम गर्‍यो ।
त्यही विचारका आधारमा बनेका फिल्म, लेखिएका किताब वा पाठ्यपुस्तकमा जसले ‘असल महिला’, ‘असल आमा’ का स्वरुप बुझाउनलाई ‘आमा खाना पकाउनुहुन्छ, बुवा अफिस जानुहुन्छ’, देखि ‘पुरुष ब्रेड अर्नर’ जस्ता भाष्य निर्माण भए । जसलाई महिलाको काम पुनरुत्पादन (बच्चा जन्माउने मात्रै होइन, पुरुषलाई काम गर्न सक्षम बनाएर काममा पठाउने, घरमा भए पनि नभए पनि खानेकुराको व्यवस्थापन गर्ने, घरभित्रका मानिसका मनमा गुम्सिएका कुरालाई सुनिदिने) काम महिलाका र तलब वा ज्याला बुझेर ल्याउने काम पुरुषका भन्ने भाष्य निर्माण भयो ।

सामाजिक चेतना कसरी निर्माण हुन्छ ?

सामाजिक भाष्य, दृष्टिकोण वा चेतना कसरी निर्माण हुन्छ त ? किन हामीले त्यस्तो सोच्दछौं त भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । चेतना आफू वरिपरिको वातावरणले निर्माण गर्छ । दैनन्दिन देखेर, आफैंले भोगेर र अरूले भनेको कुरामा विश्वास गरेर । समाजमा निरन्तर महिलाले गर्ने काम र पुरुषले गर्ने कामका फरक-फरक लिस्ट देख्दै आएको, आफैं उक्त विभेदकारी संरचनाको भोक्ता भएको र विभिन्न माध्यमबाट महिला र पुरुषका कामका लिष्टलाई पढ्दै, हेर्दै, सुन्दै आएको मानिसले समाजमा भइरहेको कामको लैंगिक विभाजनलाई स्वाभाविक ठान्दछ । चाहे त्यो महिला होस्, पुरुष होस् वा यौनिक अल्पसंख्यक होस् । सबैले उक्त सत्यलाई प्राकृतिक रूपमा बुझेर आफ्नो-आफ्नो बुझाइको दायरामा व्याख्या गर्छन् । उक्त बुझाइको दायरा समाज, संस्कृति, अध्ययन अनुसार फरक हुन सक्छ ।

वर्तमानमा आइपुग्दा महिला सहभागी नभएको अब कुनै पनि क्षेत्र छैन होला । थोरै बढीको कुरा होला । त्यसैले अब महिलाको काम भनेको घरभित्रको काम, सन्तान, परिवार, नातागोतासँग जोडिएका काम वा खेतीपातीकै काम हुनुपर्छ भन्ने छैन । सबै महिलाले यी काम जानेको हुनुपर्छ भन्ने पनि छैन । तर, अहिले पनि नेपाली समाजमा धेरै मानिसको बुझाइ के रहेको छ भने, ठिकठाक परिवारका महिलाले घर बाहिर निस्केर काममा जान पाउनु भनेको स्वतन्त्रता हो, उनीहरूको खुशीको वा रोजाइको कुरा हो । त्यसैले घर बाहिरको काम गरिरहेका महिलालाई धेरैपटक ‘तपाईंको परिवार त कत्ति सहयोगी, यसरी दिनभरि वा रातभरि, हप्तौं महिनौं घरबाहिर रहन दिने’ भन्ने गरिन्छ । यसो भनिनुको कारण ‘महिलाको काम त घरभित्रको हो, बाहिर काम गर्ने महिलाले स्वतन्त्रता पाएका रहेछन्’ भन्ने बुझाइको हो भन्न मिल्छ । मानौं, यो उनीहरूको आफ्नो कुरा नभएर अरू कसैबाट प्राप्त ‘उपहार’ हो ।

महिलाको कमाइमाथि प्रश्न उठाउनु र यसमा उसको चरित्रलाई जोडिनुका पछाडि ‘महिलाको सम्पत्ति हुन्न’ भन्ने सोचले काम गरिरहेको हुन्छ, जुन आदिम सोच हो । यस्तै सोचका आधारमा ‘पुरुषको तलब र महिलाको उमेर नसोध’ भन्ने गरिन्छ । मानौं, तलब महिलाको चासोको विषय नै होइन !

यसैले घरभित्र गरिने काममा पारिश्रमिक वा त्यसको मूल्यको कुरा मात्र होइन, महिलाले घरबाहिर गर्ने कामलाई पनि ‘खास काम’ जस्तो नठानेर स्वतन्त्रताको उपभोग मात्रै मान्ने गरेको पनि पाइन्छ । जसका कारण त्यसमा उनीहरूको पारिश्रमिक, समान ज्याला, कार्यक्षेत्रमा हुने विभेद, प्रतिस्पर्धा जस्ता कुरा महिलाका विषय नै होइनन् जस्तो गरिन्छ । यस्ता विषयमा पुरुषले नै निर्णय गर्ने हो झैं गरिन्छ । अनि, धेरैजसो संस्था वा समूहमा कोषाध्यक्ष पदमा महिलालाई राख्ने चलनको विकास भएको छ । महिलाले धनआर्जन गर्न होइन, आफ्नो सोख पूरा गर्नलाई घरबाहिर काम गरिरहेका हुन् भन्ने बुझाइका कारण महिलाहरूले भ्रष्टाचार गर्दैनन् भन्ने आधारमा ।

यस्तै मान्यता, बुझाइ र आग्रहहरूका कारण कार्यक्षेत्रमा महिलामाथि हुने कुनै पनि हिंसालाई समाजले लामो समयसम्म हिंसा मान्न तयार भएन, अझै तयार छैन । चाहे त्यो ‘पे-ग्याप’ (असमान ज्याला) को सवाल होस्, चाहे त्यो महिलामैत्री कार्यालय बनाउने कुरा होस् वा चाहे त्यो महिनावारी, सुत्केरी बिदाको सवाल होस् वा वैदेशिक रोजगारीमा महिलाको सुरक्षाको सवाल होस् । महिलाले कार्यक्षेत्रमा कुनै विभेद, असहज वा समस्या भयो भनेर गुनासो गरे भने उनीहरूलाई जवाफ दिइन्छ- ‘आनन्दले घरपरिवार हेरेर बसे भइहाल्यो नि !’

यस्तो भनाइको निहितार्थ चाहिं ‘पुरुषले गर्ने काममा जोडिएपछि पुरुष जस्तै बन’ भन्ने हुन्छ । अर्थात्-पुरुषका जस्ता लुगा लगाउन, पुरुष जस्तै रुखो बन, गुनासो नगर (पुरुष रुखो अर्थात् मर्द बन्नुपर्छ भन्ने अर्को प्रकारको हिंसा हो), कार्यक्षेत्रमा भावुक नबन ।

‘कल्ले किन्दियो ?’ मनोवृत्ति

यो त भयो बाहिरबाट हेर्दा ठिकठाक देखिने घरपरिवारका महिलाका कुरा जो घरबाहिर काम गरिरहेका छन् । घरपरिवारमा विवाद भएका, विवाह टुटेका अथवा विवाह नगरेका महिलालाई हेर्ने नजर फेरि अर्कै छ । उसले लगाएको लुगा गहनादेखि बाइक, गाडीदेखि जोडेको सम्पत्तिलाई लिएर अनेकौं कुरा काटिन्छन् । त्यसरी काटिने कुरामा पहिलो नम्बरमा ‘कसले दिएको हो ? वा दिलाएको हो ?’ भन्ने पर्छ । अर्थात् कोसँग यौन सम्बन्ध राखेर यो बाँचिरहेकी छे भनेर महिलाहरू माथि प्रत्यक्ष-अप्रत्यक्ष प्रश्न उठाइरहिन्छ ।

महिलाले बिहानदेखि रातिसम्म काम गरेर पैसा कमाए पनि समाजको ठूलो हिस्सा अझै महिलाले कमाउँछन् भन्ने मान्न तयार छैन । तर, पुरुषले चोरेर, लुटेर, ठगेर, भ्रष्टाचार गरेर वा प्रेमका नाममा कैयौं महिलालाई जालमा पारेर कमाए पनि उसलाई समाजले सवाल उठाउँदैन । महिलाले समाज, संस्कृति, कार्यक्षेत्रमा लड्दै-पढ्दै अलिकति कमाए पनि समाजले उसको चरित्रमा सवाल उठाउँछ ।

महिलाको कमाइमाथि प्रश्न उठाउनु र यसमा उसको चरित्रलाई जोडिनुका पछाडि ‘महिलाको सम्पत्ति हुन्न’ भन्ने सोचले काम गरिरहेको हुन्छ, जुन आदिम सोच हो । यस्तै सोचका आधारमा ‘पुरुषको तलब र महिलाको उमेर नसोध’ भन्ने गरिन्छ । मानौं, तलब महिलाको चासोको विषय नै होइन ! अब यसमा परिवर्तन आइरहेको छ । पैतृक सम्पत्ति नपाए पनि मानिसले आफैं कमाउन सक्छ । त्यसमाथि कानुनी रूपमा अब महिलाले पनि पैतृक सम्पत्तिमा हक पाउँछन् ।

घरभित्र वा घर बाहिर काम गर्नु कसैको लागि रहर होला, कसैको लागि बाध्यता होला वा कसैका अरू विविध कारण होलान्, जुन रहर र बाध्यताभन्दा फरक होलान् । कसको लागि कुन काम के हो भन्ने उसले मात्रै व्याख्या गर्ने कुरा हो । व्यक्ति र उसको परिवार (सहयोगी भएमा मात्रै) के काम गर्ने नगर्ने निर्णय गर्ने कुरा हो । अर्को व्यक्तिले यो राम्रो, त्यो नराम्रो भन्ने, आक्षेप लगाउने, कुरा काट्ने विषय होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?