+

पनीरले कोलेस्टेरोल बढाउँछ ?

२०८१ असार  ७ गते ११:२१ २०८१ असार ७ गते ११:२१
Shares
पनीरले कोलेस्टेरोल बढाउँछ ?

शाकाहारीको प्रिय परिकार हो पनीर । अन्यलाई मासु प्रिय भएजस्तै हो शाकाहारीका लागि पनीर । चाडपर्वमा शाकाहारी भान्सामा यो नछुट्ने खानेकुरा हो ।

पनीर खाँदा स्वादिष्ट हुने मात्र नभई स्वास्थ्यका लागि पनि लाभदायक छ । किनकि यसमा शरीरलाई चाहिने बोसो, प्रोटिन, फस्फोरस, क्याल्सियम र म्याग्नेसियम जस्ता पोषक तत्व पाइन्छ ।

स्वास्थ्यका लागि पनि राम्रो र स्वादको हिसाबले मीठो मानेर धेरैले पनीर टन्न खाने गर्छन्, तर फाइदा गर्छ भन्दैमा आवश्यकभन्दा बढी खानु हुँदैन । किनकि अत्याधिक मात्रामा पनीर खाँदा यसले शरीरलाई हानि गर्ने ‘ब्याड कोलेस्टेरोल’ को स्तर बढाउँछ ।

कसरी ?

पनीरमा बोसो र प्रोटिनको मात्रा धेरै हुने भएकाले अन्य तरकारीको तुलनामा पच्न समय लाग्छ । त्यसमाथि पनि पनीरलाई तारेर चिल्लो तथा बाह्रमसला हालेर खाने चलन छ । उच्च प्रोटिन अनि त्यहीमाथि मसालेदार बनाएर खाँदा क्यालोरी पनि बढ्छ ।

त्यसैले पनीरको परिकार धेरै खाँदा लगातार पाचनशक्तिमा भार पर्छ र फलस्वरुप पाचन प्रक्रियामा समस्या उत्पन्न हुन्छ ।

कुनै शारीरिक कसरत पनि भएको छैन भने शरीरमै थुप्रिएर बस्छ र बिस्तारै रक्तनलीहरुलाई पनि साँघुरो बनाउँछ । रक्तनली खुम्चिंदै गएमा कोलेस्टेरोलको स्तर बढ्ने, रक्तचाप बढ्ने समेत हुनसक्छ ।

त्यस्तै, बजारिया पनीरमा नुन पनि हुन्छ । जसले सोडियमको खपत बढाउँछ । उच्च सोडियमले पनि रक्तचाप बढाउँछ ।

पहिलेदेखि उच्च रक्तचाप र मधुमेह छ भने त झन् शरीरलाई आवश्यकभन्दा बढी पनीर खानुहुँदैन । यसले कोलेस्टेरोलको जोखिम ह्वात्तै बढाउँछ ।

ब्रिटिश हार्ट फाउन्डेसनमा प्रकाशित एक आलेखले पनि पनीरमा उच्च स्याचुरेटेड फ्याट र नुन हुने हुँदा कोलेस्टेरोल र रक्तचाप बढ्ने उल्लेख छ ।

यी दुवैको स्तर बढ्दा मुटुरोग समेत बढ्न सक्ने हुँदा पनीरलाई स्वस्थरुपमा पकाएर सीमित मात्रामा खान  फाउन्डेसनले सुझाएको छ ।

त्यसो भए पनीरको सीमितता कति ?

हाम्रो शरीरलाई फाइदा गर्ने खानेकुरा पेटभर खानै पर्दैन । थोरै खाँदा पनि पोषण पुग्छ ।

पनीर होस् वा अन्य प्रोटिन भएको खानेकुरा, यदि जति खान्छौं, त्यही अनुसार शारीरिक गतिविधि गछौं भने खानेकुरा पच्छ । तर काम गर्दैनौं, टन्न खान्छौं मात्र भने सीमित खानेकुराले पनि पाचनमा समस्या ल्याउन सक्छ ।

सामान्यतया एक जना स्वस्थ व्यक्तिले पोषणका लागि दैनिक २०० ग्राम पनीर खान सक्छन् । यति खाएमा मासु बराबरकै प्रोटिन शरीरले पाउँछ ।

पनीरमा पाइने पोषक तत्व

पनीरमा ल्याक्टोज कम हुन्छ । यसमा फ्याट, प्रोटिन, क्याल्सियम, भिटामिन, फस्फोरस र खनिज प्रशस्त मात्रामा पाइन्छ ।

यसबाहेक भिटामिन ए, बी १२, बी ९, बी ७, बी ६, बी ५, बी ३, बी २ पनि केही मात्रामा पनीरमा पाउन सकिन्छ ।

खान तरिका पनि जान्न आवश्यक

पनीरमा उच्च प्रोटिन हुने भएकाले बिहान र दिउँसो खान सकिन्छ । बेलुकीको खानामा सकेसम्म प्रोटिन समावेश नगर्नु नै उचित हुन्छ । साँझ पर्दै गएपछि शरीरको पाचन क्षमता सुस्त हुन्छ र भारी खाना पचाउन पेटलाई कठिन हुन्छ ।

जहाँसम्म कसरी खाने ? भन्ने कुरा छ, पनीरलाई तारेर भन्दा त्यसै ताजा नै गेडागुडीमा वा अन्य तरकारीसँग कम मसलामा मिसाएर वा रोटी, पराठाभित्र राखेर पकाउन सकिन्छ ।

धेरैलाई थाहा नहुन सक्छ, पनीरलाई सलादमा कोरेर वा खानासँगै दुई-तीन टुक्रा पनीरमा कागती र स्वादअनुसार नुन मिसाएर खाँदा पनि स्वादिष्ट र स्वास्थ्यवर्द्धक हुन्छ ।

कोलेस्टेरोल मात्र होइन, सीमितभन्दा बढी खाएमा अन्य स्वास्थ्य समस्या पनि देखा पर्छन् ।

मिर्गौलामा पत्थरी

पनीरमा क्याल्सियम भरपुर हुन्छ । जुन हड्डीको लागि फाइदाजनक छ । तर अत्याधिक खाएमा मिर्गौलामा पत्थरी बनाउन सक्छ । नेसनल किड्नी फाउन्डेसनले दिनको हजारदेखि १२ सय ग्रामभन्दा बढी क्याल्सियम नखान सुझाव दिने गर्छ ।

पेट फुल्ने

आवश्यकताभन्दा बढी पनीर खाँदा पच्न सक्दैन । पनीरमा प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले यसलाई पचाउन समय लाग्छ भने यसको सेवनले पेट फुल्ने वा एसिडिटी हुनसक्छ ।

कब्जियत तथा डायरिया

पनीर बढी खाँदा नपचेर कब्जियतको समस्या वा डायरिया हुनसक्छ । बेलुकीको समयमा मसालेदार पनीर खाँदा पाचनले काम गर्न नसकेर डायरिया हुनसक्छ ।

खानेकुरा डा. उमा कोइराला पनीर पोषण
डा. उमा कोइराला
लेखक
डा. उमा कोइराला
पोषणविद

डा. कोइराला पोषणविद् हुन् । उनी हाल  राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिकी सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?