+

एस्पिरिन : दुखाइदेखि हृदयघातको रोकथामसम्मको औषधि

२०८१ असार  १६ गते १३:५० २०८१ असार १६ गते १३:५०
Shares
एस्पिरिन : दुखाइदेखि हृदयघातको रोकथामसम्मको औषधि

एस्पिरिन यस्तो औषधि हो, जसले एउटा मात्र होइन धेरै स्वास्थ्य समस्या कम गर्न मद्दत गर्छ । जुन सामान्य शरीर दुखाइ, टाउको दुखाइ, कुनै अंगमा चोटपटक लागेर सुन्निएको अवस्था र उच्च तापक्रम (ज्वरो) घटाउन प्रयोग गरिन्छ ।

त्यति मात्र नभई यो औषधिमा रगतलाई पातलो बनाउने खुबी हुन्छ । जसकारण रगत जमेर हुन लागेको हृदयघात र पक्षघातमा समेत चाँडोभन्दा चाँडो यो औषधि दिए बचाउन सकिन्छ । यो एन्टी इनफ्लामेटरी औषधिको समूहअन्तर्गत पर्छ ।

औषधिको इतिहास

हजारौं वर्षअघि ग्रीक र इजिप्टका नागरिकहरुले शरीरको कुनै भागमा दुखाइ हुने र ज्वरो आउने समस्यामा वीलो वनस्पतिको बोक्रा प्रयोग गर्थे । त्यसले निको पनि हुन्थ्यो ।

विस्तारै पछि विज्ञहरुले ती बिरुवाको बोक्रामा के त्यस्तो गुण छ भनेर खोज गरे । जसमा स्यालिकिन तत्व रहेको पत्ता लाग्यो । १९औं शताब्दीमा रसायनशास्त्रीहरूले सेलिसिलिक एसिडलाई छुट्टै राखेर औषधिमा रुपान्तरण गर्न सक्षम भए । यद्यपि, सेलिसिलिक एसिडले बिरामीमा पेट पोल्ने र अन्य साइड-इफेक्ट बढी देखायो ।

सन् १८९७ मा औषधि कम्पनी बायरका जर्मन रसायनविज्ञ फेलिक्स होफम्यानले रासायनिक रूपमा सेलिसिलिक एसिडको साइड-इफेक्ट कम हुनेगरी थप प्रभावकारी बनाउन परिमार्जन गर्ने तरिका पत्ता लगाए ।

त्यसका लागि सेलिसिलिकमा एसिटाइल एसिड थपे । सो परिमार्जित औषधिलाई सन् १८९९ मा ‘एस्पिरिन’ नाम दिइयो ।

कुनकुन अवस्थामा प्रयोग हुन्छ ?

दुखाइ : एस्पिरिन एक ‘नन्-स्टेरोइडल एन्टिइन्फ्लेमेटरी ड्रग’ हो । यसको मुख्य काममध्ये दुखाइ र सुन्निएको भाग कम गर्नु हो । प्रायः टाउको दुखाइ, दाँतको दुखाइ, मांसपेशी दुखाइ, बाथले जोर्नी दुखाइ र महिनावारी पीडा कम गर्न प्रयोग गरिन्छ ।

ज्वरो घटाउन : भाइरल ज्वरो, भ्याक्सिनपछि ज्वरो र ब्याक्टेरियल ज्वरो, सबै प्रकारको ज्वरोमा यो औषधिको प्रयोगले निको हुनसक्छ ।

मुटु : कम मात्रा (डोज) भएको एस्प्रिन प्रायः हृदयघात र हृदयघातको जोखिममा भएका व्यक्तिलाई सिफारिस गरिन्छ ।

रगत जम्नबाट जोगाउन : हृदयघात, स्ट्रोक वा केही मुटुको अवस्था भएका व्यक्तिमा रगत जम्नबाट जोगाउन कहिलेकाहीं एस्पिरिन प्रयोग गरिन्छ ।

एन्टिइन्फ्लेमेटरी प्रभाव : एस्पिरिनले रुमेटोइड बाथ र ओस्टियोआर्थराइटिस जस्ता अवस्थामा सुन्निएको कम गर्न मद्दत गर्छ ।

केही प्रकारको क्यान्सरमा प्रभावकारी : एस्पिरिनको लामो समयसम्म प्रयोगले कोलोन क्यान्सर जस्ता निश्चित प्रकारको क्यान्सरको जोखिम कम गर्न मद्दत गर्न केही अध्ययनले देखाएका छन् ।

शरीरमा औषधिले कसरी काम गर्छ ?

एस्पिरिनले इन्जाइम साइक्लोअक्सिजेनेज (सीओएक्स) लाई रोक्न मद्दत गर्छ, जसले प्रोस्टाग्ल्यान्डिन हर्मोनको उत्पादनलाई बढावा दिन्छ । यो हर्मोनका कारण शरीरका कुनै पनि अंग सुन्निने, दुख्ने र ज्वरो आउने हुन्छ । इन्जाइम साइक्लोअक्सिजेनजको गतिविधि अवरुद्ध गरेर एस्पिरिनले प्रोस्टाग्ल्यान्डिनको उत्पादनलाई कम गर्छ ।

एस्पिरिनले थ्रोम्बोक्सेनको उत्पादन घटाएर रगत जम्न पनि रोक्न सक्छ ।

हृदयघात र मस्तिष्कघातको रोकथाम

मधुमेह, उच्च रक्तचाप र कोलेस्टेरोल भएका व्यक्तिलाई कुनै पनि बेला हृदयघात र मस्तिष्कघात हुनसक्ने जोखिम हुन्छ । यी कुरा अनियन्त्रि भएका ५० वर्षमाथिका व्यक्तिमा यसको सम्भावना उच्च हुन्छ ।

यस्तोमा हृदयघातको लक्षण देखिनेबित्तिकै यो औषधि दिइएमा हृदयघात हुँदा रगत जमेर रक्तसञ्चार धमनीहरूमा पार्ने अवरोध कम हुन्छ र रगत जमेर पक्षघात हुन पाउँदैन । किनकि यसमा रगत पातलो गराउने क्षमता हुन्छ ।

त्यसैले मधुमेह र रक्तचाप छ भने यो औषधि घरमा र आफ्नो साथमा अनिवार्य राख्नुपर्छ । लक्षण देखिनेबित्तिकै औषधि खाएमा केही हदसम्म यसको जोखिम कम गर्न सकिन्छ ।

यद्यपि, अन्य अवस्थामा एस्पिरिन सबैका लागि सिफारिस गरिएको हुँदैन । स्वास्थ्य सेवा प्रदायकको निर्देशनमा मात्र लिनुपर्छ, किनकि यसको साइड-इफेक्ट पनि धेरै छन् ।

कसले कुन अवस्थामा लिनु हुँदैन ?

– अल्सर भएको अवस्थामा

– ग्यास्ट्रोइन्टेस्टाइनल रक्तस्राव भएको इतिहास

– कलेजोमा समस्या

– तेस्रो त्रैमासिकमा रहेको गर्भावस्था

– दम

के यो औषधि मनलाग्दी खान सकिन्छ ?

यो चिकित्सकको सल्लाहमा लिनै नसकिने भन्ने होइन । तर दैनिकरुपमा भने (दुखाइ र ज्वरोको लागि) नलिनु नै उपयुक्त हुन्छ । किनकि यो भन्दा अरु सुरक्षित औषधिहरु छन् । खानैपर्ने भए चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

एस्पिरिनका साइडइफेक्टहरु

– पेट र छाती पोल्ने

– बान्ता तथा टाउको दुखाइ

– रक्तस्राव हुनु

– खानेबित्तिकै चिलाउने र छाला रातो हुने

– कान बज्ने

बालबालिकाको लागि कति सुरक्षित ?

यो १८ वर्षमुनिका बच्चामा प्रयोग नगर्नु राम्रो हुन्छ । एस्पिरिनले बालबालिकामा ‘रे सिन्ड्रोम’ निम्त्याउन सक्छ । ‘रे सिन्ड्रोम’ एक दुर्लभ तर गम्भीर अवस्था हो, जसमा कलेजो र मस्तिष्क सुनिन्छ ।

त्यसैले बालबालिकाका लागि दुखाइ कम गर्न र ज्वरोका लागि पारासिटामोल र आइव्रुफिनको सुझाव दिइन्छ ।

डा. सतिश यादव
डा. सतिश यादव
लेखक
डा. सतिश यादव
इन्टरल मेडिसिन तथा क्लिनिकल रिसर्चर

डा. यादव काठमाडौंको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत छन् । इन्टरनल मेडिसिनमा एमडी गरेका यादवको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १३५०० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

बालबालिकालाई लगाइने खोपबारे भ्रम र तथ्यहरू

बालबालिकालाई लगाइने खोपबारे भ्रम र तथ्यहरू

स्वास्थ्य बीमा सेवा खुम्चियो, ओपीडी २५ हजारसम्मको मात्रै

स्वास्थ्य बीमा सेवा खुम्चियो, ओपीडी २५ हजारसम्मको मात्रै

हिँड्ने कि दौडने : पेटको बोसो घटाउन कुन उपाय राम्रो ?

हिँड्ने कि दौडने : पेटको बोसो घटाउन कुन उपाय राम्रो ?

ग्यासमा सेकाएर पकाइने रोटीले स्वास्थ्यलाई कुनै हानि पुर्‍याउँछ ?

ग्यासमा सेकाएर पकाइने रोटीले स्वास्थ्यलाई कुनै हानि पुर्‍याउँछ ?