+

डेंगु बढेसँगै सिटामोलको अभाव हुनसक्छ  

२०८१ असार  २० गते १३:५२ २०८१ असार २० गते १३:५२
Shares
डेंगु बढेसँगै सिटामोलको अभाव हुनसक्छ  

मनसुनसँगै डेंगुको प्रकोप बढ्दो छ । सरकारी तथ्यांकलाई आधार मान्ने हो भने हाल नेपालको ७० भन्दा बढी जिल्लामा डेंगु देखा परिसकेको छ । हुन त पछिल्लो समय डेंगु नेपालमा लगभग बाह्रै महिनाजसो देखिन थालिसकेको छ । विगतको अनुभवलाई हेर्ने हो भने डेंगुले प्रकोप वा महामारीको रुप लिंदा सिटामोलको चरम अभाव हुने गरेको देखिएको थियो ।

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरस हो । नेपालमा पहिलो पटक झण्डै २० वर्ष अगाडि पुष्टि भएको थियो । सन् २०२२ मा काठमाडौंमा फैलिएको डेंगु महामारीमा संक्रमित र मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा हालसम्मकै ठूलो मानिन्छ । पहिले दुई-तीन वर्षको अन्तरालमा देखिने डेंगु प्रकोप पछिल्लो समय वर्षेनी अझ वर्षभरि नै देखिन थालेको छ । काठमाडौंमा भने पहिलो पटक सन् २०१० मा स्थानीय डेंगु पुष्टि भएको थियो । त्यसपछि काठमाडौंमा डेंगु देखिंदै आइरहेको तर हरेक प्रकोपसँगै डेंगुले थप जटिल स्वरुप लिंदै गइरहेको छ । डेंगु डेन-१, डेन-२, डेन-३ र डेन-४ गरी चार प्रकारका हुन्छन् । नेपालमा सबै चार प्रकारका डेंगु प्रमाणित भइसकेको छ ।

एडिस जातको लामखुट्टेले डेंगु फैलाउन मुख्य भूमिका खेल्ने गर्छ । नेपालमा यो प्रजातिको लामखुट्टे पछिल्लो समय व्यापक देखिंदै आइरहेको छ । सेतो-कालो छिरबिरे रंगको देखिने यो लामखुट्टे विशेषगरी दिनमा बढी सक्रिय हुने गर्छ । यसर्थ कार्यस्थल वा दिनमा बढी समय बिताउने ठाउँमा यो लामखुट्टेले टोक्ने सम्भावना अधिक हुने गर्छ । त्यसैले आ-आफ्ना घर बाहेक कार्यस्थल/कार्यालय/शिक्षण संस्थाहरुमा केही समय निकालेर भएपनि ‘लामखुट्टे सिजन’ भरि लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने जाँगर देखाउनुपर्छ ।

डेंगु नियन्त्रण गर्ने वा फैलिनबाट रोक्न वा रोक्ने लक्ष्य लामखुट्टेको लार्भा नष्ट गर्ने/नियन्त्रणको कार्य सफलतामा भर पर्छ । एडिस लामखुट्टे वयस्क भइसकेको अवस्थामा भने यसको टोकाइबाट बच्च सक्ने कुरा त्यति व्यावहारिक हुँदैन ।

दुखाइ भनेको नै डेंगु हो भन्दा अत्युक्ति नहोला । दुखाइको स्तर यति धेरै हुन्छ कि सम्भवत: त्यो दुखाइ बिरामीले जीवनमा नै पहिलो पटक अनुभूति गरेको भन्ने अनुभव सुनाउने गरेको लेखकलाई सम्झना  छ । डेंगुको विशेष एन्टि-भाइरल औषधि नहुँदा लक्षणमा आधारित उपचार गर्ने गरिन्छ । कडा दुखाइ डेंगुको मुख्य लक्षण भएकाले दुखाइ कम गर्ने वा ‘पेन किलेर’ बिरामीको लागि मुख्य औषधि हुने गर्छ । तर दुखाइ कम गर्ने केही औषधि चिकित्सकले नचाउन सल्लाह दिने गर्छ । ब्रुफेन, फ्लेक्सन, एस्पिरिन जस्ता ‘पेन किलर’ औषधिले डेंगु बिरामीमा जटिलता निम्त्याउन सक्ने भएकाले हालको निर्देशिका अनुसार प्रयोग नगर्न सल्लाह दिइन्छ । तर सिटामोल भने प्रयोग गर्न सकिनेछ ।

डेंगुले महामारीको रुप लिंदा र यसको मुख्य लक्षण दुखाइको कडा अनुभव लगभग सबै बिरामीले गर्ने हुँदा दुखाइबाट मुक्ति पाउन सिटामोलको उच्च मागले चरम अभाव हुने गरेको अनुभव हामीसँग छ । गर्मी र वर्षातको समयमा ज्वरो र दुखाइ जस्ता लक्षण देखिने संक्रामक रोगहरु व्यापक फैलिने हुँदा पनि सिटामोलको माग ह्वात्तै बढ्ने गर्छ । फलस्वरुप बजारमा सिटामोलको चरम अभाव सिर्जना हुनपुग्छ ।

डेंगुसँग मिल्दोजुल्दो लक्षणहरु देखिए वा पुष्टि भएमा जथाभावी औषधि आफैंले किनेर खाने गर्नुहुँदैन । चिकित्सकसँग परामर्श गरेर मात्र औषधिको सेवन गर्नु उपयुक्त हुन्छ । जथाभावी औषधि खाँदा त्यसको नकारात्मक प्रभाव देखिने जोखिम हुन्छ । डेंगुमा अत्याधिक दुखाइ हुने हुँदा त्यसबाट मुक्त हुन खोज्नु स्वभाविक पनि हो । तर ब्रुफेन, फ्लेक्सन, एस्पिरिन जस्ता पेन किलर औषधिको अत्याधिक प्रयोगले रोगलाई जटिलतातिर लैजान सक्ने सम्भावना बढेर जान्छ ।

सन् २०२२ मा काठमाडौंमा देखिएको डेंगु महामारीमा धेरै बिरामीले सिटामोल नपाएर बाध्य भई ब्रुफेन, फ्लेक्सन, एस्पिरिन जस्ता पेन किलेर खानु परेको भनेका थिए । त्यसैले सिटामोल प्रयोग गर्न सकिने भएपनि एकैपटक धेरै संक्रमित हुने हुँदा सिटामोलको अभाव हुनसक्ने भएकाले आपूर्तिमा कमी हुन नदिन सम्बन्धित निकायले पनि बेलैमा सोच्ने कि ?

डा. शेरबहादुर पुन डेंगु संक्रामक रोग सिटामोल
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?