+

डिप्रेसनको औषधिले कसरी काम गर्छ ?

२०८१ साउन  २० गते १२:२५ २०८१ साउन २० गते १२:२५
Shares
डिप्रेसनको औषधिले कसरी काम गर्छ ?

धेरै सोचेर र आफ्नै कमजोरीका कारण डिप्रेसन हुन्छ भन्ने आम बुझाइ छ । आफ्नो कमजोरीका कारण डिप्रेसन हुने भएकाले यसलाई नियन्त्रण पनि आफैंले गर्नुपर्छ भनिन्छ । यसलाई रोगको रुपमा पनि लिइँदैन ।

त्यसैले डिप्रेसनको औषधिले के कसरी काम गर्छ होला ? डिप्रेसनको औषधिले कतै साइड-इफेक्ट पो गर्ला कि ? लगायत प्रश्न आउन सक्छन् ।

सबैभन्दा पहिले त डिप्रेसन भनेको अरू रोग जस्तै रोग नै हो भनेर बुझ्नुपर्छ । ज्वरो आएको, खुट्टा भाँचिएको त हामीले देख्छौं र बुझ्छौं । तर मानसिक समस्या त देखिंदैन नदेखेपछि त धेरै सोचेका कारण यसलाई यस्तो भयो भनिन्छ । तर यथार्थ के हो भने धेरै सोचेर हैन, धेरै सोच्नु चाहिं डिप्रेसनको प्रमुख लक्षण हो ।

डिप्रेसन रोग भनेर बुझ्नुपर्छ र यो बुझेपछि मात्र यसको उपचार र औषधिको कुरा बुझ्न सकिन्छ । मानसिक समस्या देखा पर्ने विभिन्न कारण हुन्छन् । त्यसमा एउटा प्रमुख कारण तनाव हो । दिमागमा थुप्रै न्युरो ट्रान्समिटर हुन्छ । ती न्युरो ट्रान्समिटरमध्ये पनि सेरोटोनिन, डोपामिन जस्ता न्युरो ट्रान्समिटरको गडबडीले डिप्रेसन हुन्छ ।

डिप्रेसनको औषधिले के कसरी काम गर्छ ?

जब बिरामीले डिप्रेसनको औषधि खान्छन् त्यो औषधि पेटमा कलेजो हुँदै रगतमा पुग्छ । रगतको माध्यमबाट नै औषधि लक्षित स्थानमा पुग्छ । लक्षित स्थानमा पुगेर सेरोटोनिन, डोपामिन जस्ता न्युरो ट्रान्समिटर कम भएको हो भने बढाउने र बढी भएको हो भने कम गरेर सन्तुलनमा ल्याउँछ । यसरी डिप्रेसनको औषधिले काम गर्छ ।

कति दिनमा औषधिले काम सुरु गर्छ ?

ज्वरोको औषधि खाएको केही घण्टामा ज्वरो कम हुन्छ । तर डिप्रेसनको औषधिले त्यसरी काम गर्दैन यसलाई काम गर्न सामान्यतया दुईदेखि चार हप्ता लाग्छ । औषधिले राम्ररी काम गरेको छ कि छैन भन्ने कुरा थाहा पाउन एक महिनासम्म लाग्छ ।

औषधि जीवनभर खानुपर्छ ?

डिप्रेसनको औषधि एक पटक सुरु गरेपछि जीवनभर खानुपर्छ भन्ने धेरैलाई लाग्छ । सबै डिप्रेसनका बिरामीले जीवनभर औषधि खानुपर्छ भन्नेमा सत्यता छैन । रोगको प्रकृति, आवश्यकता र शारीरिक मानसिक अवस्था हेरेर औषधि कति समय खाने भन्ने कुरा निर्धारित हुन्छ ।

पहिलो पटक डिप्रेसन भएको हो भने नौ महिनादेखि एक वर्षसम्म औषधि खानुपर्ने हुन्छ । तर समस्या बढ्दै गयो वा बल्झियो भने फेरि औषधि खानुपर्ने हुन्छ । डिप्रेसन निको भइसकेपछि पनि फेरि बल्झिने सम्भावना हुन्छ । १०० जनालाई डिप्रेसन भएको छ भने ६० जनालाई समस्या फेरि दोहोरिन सक्छ । दोहोरियो भने त फेरि औषधि चलाउनुपर्छ ।

औषधिको बानी परेर बन्द गर्न नमिल्ने होइन रोगको प्रवृत्ति नै दोहोरिने भएर बन्द गर्न नमिल्ने हुनसक्छ । तर समस्या बिस्तारै ठीक हुँदै गएपछि औषधि घटाउँदै बन्द गर्न सकिन्छ ।

औषधिको साइड–इफेक्ट हुन्छ कि हुँदैन ?

औषधिको प्रकृतिअनुसार केहीको साइड-इफेक्ट देखिन सक्छ । कुनै औषधिले ग्यास्ट्रिक हुने, तौल बढ्ने, थकान महसुस हुने सम्भावना रहन्छ । यद्यपि सबै औषधिको सबैलाई साइड-इफेक्ट हुन्छ भन्ने होइन ।

साइड-इफेक्ट देखिए त्यसलाई निवारण गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । जस्तै, कुनै औषधिले मोटोपन बढ्छ भने व्यायाम गर्ने, सन्तुलित खाना खाने गरेर मोटोपनबाट बच्न सकिन्छ । लामो अध्ययन अनुसन्धान गरेर मात्र औषधि बनेको हुन्छ । त्यसैले साइड-इफेक्ट हुन्छ भनेर औषधि प्रयोग गर्न डराउन भने हुँदैन ।

औषधि विना पनि डिप्रेसनको उपचार गर्न सकिन्छ ?

डिप्रेसन ‘माइल्ड’ हल्का, ‘मोडरेट’ ठिक्क र ‘सिभियर’ कडा कुन अवस्थाको हो त्यसअनुसार औषधि विना पनि उपचार गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा तय गर्न सकिन्छ ।

‘माइल्ड’ अवस्थाको डिप्रेसन छ र कडा खालको लक्षण देखिएको छैन भने औषधि विना काउन्सिलिङ र साइको थेरापीले मात्र पनि ठीक हुन्छ । तर मोडरेट र सिभियर अवस्थाको डिप्रेसन छ भने औषधि नै खानुपर्छ ।

औषधि सेवन गर्दा चिकित्सकको सल्लाहमा गर्नुपर्छ । औषधि छाड्ने र निरन्तरता दिने भन्ने कुराको निर्णय पनि चिकित्सकको सल्लाहमा नै गर्नुपर्छ ।

डा. रचना शर्मा बस्नेत डिप्रेसन मानसिक स्वास्थ्य
डा. रचना शर्मा बस्नेत
लेखक
डा. रचना शर्मा बस्नेत
मानसिक रोग विशेषज्ञ

डा. शर्मा हाल काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टरमा कार्यरत छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६८८३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया