+

वर्षायाममा छालाको अनेक समस्या, के छ उपचार ?

२०८१ साउन  २२ गते १७:४८ २०८१ साउन २२ गते १७:४८
Shares
वर्षायाममा छालाको अनेक समस्या, के छ उपचार ?

वर्षायाम छ । यतिबेला छालाको समस्याले बढी सताउने गर्छ । धेरैलाई छाला चिलाउने, पोल्ने र बिमिरा आउने लक्षणहरू देखिएका छन् । यी लक्षण फंगल इन्फेक्सन (ढुसीजन्य संक्रमण)का कारणले आएको हुनसक्छ ।

वर्षा र गर्मी मौसममा फंगसको सक्रियता बढ्छ । जुन छालामा टाँसिएर असर गर्न थाल्छ ।

के हो फंगस ? किन वर्षायाममा सक्रियता बढ्छ ?

फंगस भनेको एक प्रकारको परजीवी (जीवाणु) हो । यसलाई नेपालीमा ढुसी पनि भनिन्छ । यो बासी, सडेगलेका खानेकुरा, कुहिएको वस्तु र ओसिलो क्षेत्र (भिजिराख्ने ठाँउ)मा सक्रिय हुन्छ ।

वर्षायाममा दिनहुँ जस्तो पानी पर्दा जमिनको सतह ओसिलो भएको हुन्छ । जहाँ  ढुसीहरू पलाउने र विकास हुने गर्छ । जमिनमा ओसिलोका कारणले मात्र नभई शरीर भिज्दा पनि ढुसी आउन सक्छ । जस्तै, पानीले भिजिरहने खुट्टा, जुत्ता र लुगा भिजे पनि नफेरी बस्ने, चिसै लुगा लगाउने गर्दा ढुसी शरीरमा फैलिन सक्छ ।

हात, खुट्टा र काछ सुक्खा नभएमा पनि ढुसीले संक्रमण गर्न सक्छ ।

के कस्ता लक्षण देखिन्छ ?

ढुसीले हातखुट्टा, औंला, काछ, ढाड, काखी, स्तनको तल्लो भाग, टाउको, यौनाङ्ग र नङमा संक्रमण गर्न सक्छ । संक्रमण गरेमा गोलो, फुस्रो, रातो बीचमा सेतो दाग आउने,  चिलाउने, त्यस वरवर कत्ला देखिन सक्छ ।

कहिलेकाहीं सानो कनिका दानाजस्तो दानाहरू देखिन सक्छ । खुट्टाको औंलाको बीचमा दाग देखिएमा फुस्रो, छाला निस्कने र चिलाइराख्ने हुन्छ । जसलाई हिलोले खाएको पनि भन्ने गरिन्छ । काछमा पनि रातो फुस्रो दाग र फोकाहरु देखिन सक्छ ।

को बढी जोखिममा ?

खेतबारीमा भिजेर काम गर्ने किसान, पानीमा काम बढी गर्ने  र पानीमा भिज्ने व्यक्तिमा ढुसीको संक्रमण हुनसक्छ ।

महिला तथा किशोरीहरुमा पनि यो समयमा देखिन सक्छ । त्यसै पनि यौनांग ओसिलो भइराख्ने हुन्छ । जसकारण सुक्खा बनाएर राखेन भने ढुसीले संक्रमण गर्न सक्छ ।

त्यस्तै, अत्यधिक पसिना आउने व्यक्तिमा काखी र काछ ओसिलो भइरहने हुँदा  ढुसीजन्य संक्रमणले सताउन सक्छ ।

रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरूमा पनि ढुसी संक्रमण आउन सक्छ । किनकि, प्रतिरोध शक्ति कम हुने बित्तिकै यस्ता ढुसीहरू छालामा संक्रमण गर्ने अवसर पाउँछन् ।

यो संक्रमण सिधा पानीबाट मात्रै सर्छ भन्ने छैन । ढुसीले संक्रमण गरेको व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्न सक्छ । परिवारमा कसैमा छ भने पनि लुगा, कपडा, तौलिया र साबुनबाट एकबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

पहिचान तथा उपचार

ढुसीले संक्रमण पत्ता लगाउन डर्मोस्कोपबाट छालाको अवस्था हेरिन्छ । र, संक्रमण भएको पाइएमा चिकित्सकको सल्लाहमा एन्टी फंगल औषधि खाने र लगाउने दुवै प्रयोग गर्नुपर्छ । यसले छिटो निको पार्ने र अरूलाई सर्न पनि दिंदैन । यो औषधि लगाउने तर खाने औषधि नखाने गर्नु हुँदैन ।

जथाभावी स्टेरोयड मलम लगाउनु हुँदैन

कतिपयले छाला चिलाएमा ओभर द काउन्टर (चिकित्सकले लेखिदिएको औषधि पूर्जा बेगर) स्टेरोयड औषधि प्रयोग गर्छन् । यस्ता लक्षणमा स्टेरोयड मलम लगाउनु हुँदैन ।

यो औषधिले केही समयसम्म निको भए जस्तो पारे पनि फेरि फैलिन सक्छ । यसले छाता पातलो गर्ने, खत बसाउने, अन्य ठाउँमा फैलाउने, रौं उमार्ने गराउन सक्छ ।

त्यसैले, छालामा कुनै समस्या देखिए छालारोग विशेषज्ञलाई नै देखाएर मात्र औषधि उपचार गराउनुपर्छ ।

कसरी बच्ने ?

वर्षायाममा फंगल (ढुसी) संक्रमणबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ । भिजिरहने अंग काखी, गुप्तांग, काछ सुक्खा राख्नुपर्छ । त्यसका लागि सम्भव भएसम्म त्यस ठाँउहरु सफा पानीले पखालिराख्नुपर्छ ।

पसिना आइरहन्छ भने एन्टी फंगल पाउडर राख्न सकिन्छ । मोजा लगाउनुअघि पसिना पुछ्ने, एन्टी फंगल पाउडर लगाइरहयो भने ओसिलो हुन दिंदैन ।

दिनहुँ भित्री वस्त्र परिवर्तन गर्नुपर्छ । बाहिरी लुगा पनि पानीले भिजेको छ भने तुरुन्त परिवर्तन गरिहाल्नुपर्छ । वर्षातको समयमा आपतकालीन अवस्थाका लागि दुई जोडी नयाँ भित्री वस्त्र तयार राख्नुपर्छ ।

त्यस्तै, लुगाहरु घाममा सुकेपछि मात्र लगाउनुपर्छ । तौलिया, साबुन र काइयो व्यक्तिगत बनाउनुपर्छ । कुकुर तथा बिरालो जस्ता घरपालुवा जनावरमा पनि चिसोले ढुसी आएको हुनसक्छ । यस्तोमा उनीहरुबाट पनि सर्ने  उपचार गर्ने यो समस्या देखिए उपचार गर्नुपर्छ ।

छालारोग डा. प्रज्वल पुडासैनी फंगस वर्षायाम
डा. प्रज्ज्वल पुडासैनी
लेखक
डा. प्रज्ज्वल पुडासैनी
छाला, यौन तथा कपाल प्रत्यारोपण विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : १७६०७ एमबीबीएस, एमडी हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती  कर्मचारी अस्पताल र भक्तपुरस्थित बीएससीसी क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?