शुक्रबार ३ डिसेम्बर, सन् १९२६! घडीले रातको लगभग साढे नौ बजाइसकेको थियो, उनी अधैर्य र अनिद्रालाई बोकेर कुर्सीमा बसिरहेकी थिइन्, आफूसम्मुख पोखिएको मधुरो उज्यालोमा सायद शून्यतालाई खोज्दै। केही समयको विचरणपछि उनी एकाएक कुर्सीबाट उठिन् र भर्याङ उक्लिन थालिन्।
एउटा कोठामा उनकी सात वर्षकी छोरी ‘रोसलिन’ सुतिरहेकी थिइन्। उनले आफ्ना पाइलाहरूलाई त्यतैतिर दिशा दिइन्। ओछ्यानछेउमा गएर निदाइरहेकी छोरीलाई एकटकले हेर्न थालिन्। आफ्ना औंलाहरूलाई छोरीको कपालमा बगाउन थालिन्। भावुकताको डिलमा उभिएर उनका थर्थराइरहेका ओठले छोरीको निधार स्पर्श गर्न पुगे।
त्यसपछि उनी कोठाबाट बाहिर निस्किइन्, चुपचाप।
सायद उनको मस्तिष्कले निर्णय लिइसकेको थियो। उनी विस्तारै भर्याङ ओर्लिइन् र सरासर घरबाहिर निस्किइन्। ग्यारेजमा राखिएको आफ्नो कारमा चढिन् र लागिन्, एउटा गुमनाम गन्तव्यमा। उनी अर्थात् अगाथा क्रिस्टी, जसलाई ‘क्विन अफ क्राइम’ अथवा ‘क्विन अफ मिस्ट्री’को उपनामले पनि चिनिन्छ।
सन् १९४५ मा बेलायतको ‘श्रपशायर’मा अवस्थित एउटा फस्टर केयरमा एक किसान र उनकी पत्नीको चरम दुर्व्यवहारपछि दुई बालकको मृत्यु भएको थियो। सोही घटनाबाट प्रेरित भएर ‘अगाथा’ले एउटा छोटो रेडियो नाटक लेखेकी थिइन्, राजा जर्ज पाँचौंकी महारानी मेरीलाई जन्मदिनको उपहार दिन। उक्त नाटक ‘थ्री ब्लाइन्ड माइस’ शीर्षकबाट प्रसारित भएको थियो।
त्यसपछि उनले आफ्नो त्यो रेडियो नाटकलाई छोटो कथामा रूपान्तरित गरिन्, जुन सन् १९५० मा प्रकाशित भएको थियो, ‘थ्री ब्लाइन्ड माइस एन्ड अदर स्टोरिज’ संग्रहमा अरू कथाहरूसँगै। त्यसपछि उनले आफ्नो नाति म्याथ्यू प्रिचार्डलाई उपहार दिन उक्त छोटो कथालाई ठूलो आकारमा ‘द माउसट्रयाप’ नाम दिएर पुन: नाट्यकरण गरिन्।
मर्डर मिस्ट्री नाटक ‘द माउसट्रयाप’ बेलायतस्थित ‘वेस्ट इण्ड थिएटर’मा सन् १९५२ बाट सन् २०२० सम्म लगातार मञ्चन भएर इतिहास रचेको थियो। बीचमा कोभिडले गर्दा केही समय नाटक रोकिन पुग्यो। लकडाउन खुलेसँगै नाटक पुन: थिएटरमा लाग्न थाल्यो। ‘द माउसट्रयाप’ संसारकै सबैभन्दा लामो समयसम्म चलिरहेको नाटक हो, जुन अहिले पनि लन्डनको सेन्ट मार्टिन्स थिएटरमा मञ्चन भइरहेको छ। गिनिज बुकमा आफ्नो नाम दर्ता गराइसकेकी ‘अगाथा क्रिस्टी’लाई केहीले यही नाटक लेख्ने लेखिका भनेर चिन्ने गर्छन्।
६६ वटा डिकेक्टिभ उपन्यास लेखेकी ‘डेम अगाथा मेरी क्लारिसा क्रिस्टी’लाई धेरैले भने ‘द मर्डर अफ रोजर एक्रोइड’, ‘एण्ड देन देअर व्वेर नन’, ‘विटनेस फर द प्रोसिक्युसन’, ‘मर्डर अन द ओरियन्ट एक्सप्रेस’, ‘डेथ अन द नाइल’ जस्ता चर्चित कृतिबाट चिन्ने गर्छन्। अहिलेसम्म उनका किताबहरू थुप्रै भाषामा अनुवाद भइसकेका छन्। सन् २०१३ मा उनी वेस्ट क्राइम राइटरको उपाधिबाट सम्मानित भएकी थिइन्। उनका अधिकांश सिर्जना सिरिज, फिल्म, रेडियो नाटक, भिडियो गेम तथा ग्राफिक नोभलहरूमा रूपान्तरित भइसकेका छन्। पाठक, दर्शक कुनै न कुनै विन्दुमा अगाथासँग ठोक्किएकै छन्/ठोक्किन्छन्।
तिनै ‘क्विन अफ मिस्ट्री’- ‘अगाथा’ आफ्ना किताबहरूमा जस्तै रहस्यको जालो बुनेर सन् १९२६, ३ डिसेम्बर, शुक्रबार, कसैको पत्तो विनै रातको गर्तमा एक्कासि कतै डुब्न पुगिन्। त्यसपछि उनलाई एघार दिनसम्म कसैले पनि देखेनन्।
उनी हराएको खबरले देश–विदेशमा निकै चर्चा पाएको थियो, त्यो बेला। उनलाई खोज्न एक हजारभन्दा बढी प्रहरी अधिकारीहरू, सयौं संख्यामा नागरिकहरू तथा थुप्रै ट्रेन्ड कुकुरहरू परिचालित गरिएका थिए। इतिहासमै पहिलोपटक कुनै लेखकलाई खोज्न भनेर हवाईजहाजहरूलाई पनि आकाशमा फन्का लगाइएको थिए। उक्त खोजी कार्य अहिलेसम्मकै सबैभन्दा ठूलो खोजी अभियानहरूमा पर्छ।
त्यो बेला प्रहरी बललाई छिटो र प्रभावकारी रूपमा खोजी कार्य गर्ने गृह मन्त्रालयबाट निरन्तर रूपमा दबाब भइरहेको थियो। माहोल हेर्दा यस्तो लाग्थ्यो, उनलाई खोज्न चर्चित डिटेक्टिभ ‘शेर्लक होम्स’ (काल्पनिक पात्र) लाई नै बोलाउनुपर्ने अवस्था थियो। तिनै ‘शेर्लक होम्स’का प्रख्यात सृष्टिकर्ता ‘सर आर्थर कोनन डोयल’ र अर्का क्राइम लेखक ‘डोरोथी एल सेयर्स’ (लर्ड पिटर विम्से श्रृंखलाका लेखक) पनि अगाथाको खोजीमा सामेल भएका थिए। उनीहरूमा भएको जासुसी ज्ञानले खोजीमा मद्दत पुग्ने सबैको आश थियो।
‘सर आर्थर कोनन डोयल’ले प्यारानर्मल (असाधारण/अलौकिक) शक्तिको माध्यमबाट समेत रहस्यको समाधान गर्न खोजे, तर सफल भएनन्। ‘अगाथा’को एउटा पञ्जा लिएर तान्त्रिक कहाँ गएका थिए, उनको ठेगाना पत्ता लगाउन। अगाथालाई खोज्न कसैले केही कसर छाडेका थिएनन्।
एक–दुई गर्दै दिनहरू बित्दै गए। अगाथा कतै भेटिइनन्। प्रश्नहरू थुप्रिंदै जान थाले। उनी कहाँ गायब गइन् ? किन गइन् ? उनी हरेक पत्रिकाको पहिलो पृष्ठमा समाचार बनेर छापिन थालिन्। उनलाई देख्ने अथवा खोज्ने व्यक्तिलाई ठूलो धनराशि प्रदान गरिने उद्घोष पनि गरियो।
तर, प्रहरीहरूलाई अगाथा चढेको गाडी पत्ता लगाउन धेरै समय लागेन। उनको गाडीलाई केही माइलको दूरीमा परित्यक्त अवस्थामा गिल्डफोर्ड नजिकै न्युल्याण्ड्स कर्नरमा एउटा ठाडो ढलानमा फेला परिएको थियो। त्यो बेला गाडीका दुवै हेड लाइट बलिरहेका थिए। गाडीभित्र अगाथा थिइनन्, तर पछाडिको सिटमा उनको सुटकेस र कोट थियो। गाडीमा कुनै प्रकारको दुर्घटनाको दाग थिएन।
गाडी रोकिएको नजिकै ‘साइलेंट पुल’ नामको ताल थियो, जहाँ दुई साना बच्चाहरू डुबेर मरेको खबर आएको थियो, त्योभन्दा केही समयअघि। अगाथा पनि त्यहीं डुबेर आत्महत्या गरेको हुनसक्ने धेरैले आशंका-अड्कल लगाउन थाले, तर उनको शव कतै भेटिएन।
त्यो बखत उनको पेशागत जीवन निकै उत्साहजनक रूपमा चलिरहेको थियो। उनको ‘६’ महिनाअघि मात्रै प्रकाशित भएको छैटौं उपन्यास ‘द मर्डर अफ रोजर एक्रोयड’ले राम्रो बजार पाइरहेको थियो। उक्त किताबलाई अगाथाको मास्टरपिस तथा एकदमै विवादित कृति भनेर पनि चिनिन्छ। सन् २०१३ मा सो कृतिलाई ब्रिटिस क्राइम राइटर्स एशोसिएसनले उत्कृष्ट क्राइम नोभेलको उपाधिबाट सम्मानित पनि गरेका थिए। केहीले माने, अगाथाको यो कुनै चतुर चाल हो, आफ्नो नयाँ किताबको विज्ञापन गर्न। यो ‘पब्लिसिटी स्टन्ट’ बाहेक अरू केही होइन। धेरैले त्यसलाई अर्को तर्कले खण्डन पनि गरे, अगाथालाई उनको पति ‘आर्ची क्रिस्टी’ले मारेका हुन्।
अगाथाको जन्म सन् १८९०, सेप्टेम्बर १५ मा टर्कीको डेभनमा भएको थियो। उनी ‘क्लारा’ र ‘फ्रेडरिक मिलर’का तीन सन्तानमध्ये कान्छी थिइन्। उनले एक स्थानीय सांगीतिक कार्यक्रममा ‘आर्ची क्रिस्टी’लाई भेटेकी थिइन्, सन् १९१२ मा। त्यो बेला उनी मात्र बाइस वर्षकी थिइन्। त्यही साँझबाट उनीहरू बीच प्रेम सम्बन्ध सल्कियो। ‘आर्ची’ एक योग्य विमानचालक थिए, जसलाई त्यो समय एक्सेटर शहरमा पोस्ट गरिएको थियो, कामको सिलसिलामा।
सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरू भएपछि आर्चीलाई फ्रान्स पठाइएको थियो। छुट्टीमा आएको बेला क्रिसमस ईभको मौका पारेर उनले अगाथासँग विवाह गरे। त्यसको केही वर्षसम्म आर्ची युद्धमा सक्रिय भइरहे। अगाथा भने टोरक्वे रेडक्रस अस्पतालमा नर्सको रूपमा काम गर्न थालिन्। त्यस अवधिमा टोरक्वेमा केही बेल्जियम शरणार्थीहरू आएका थिए, बसोबास गर्न, जसले अगाथालाई एक किसिमको प्रेरणा दिएका थिए, डिटेक्टिभ ‘हर्क्यूल पोयरोट’ (काल्पनिक पात्र) जन्माउन।
उनका अधिकांश किताबहरूमा जासूस ‘हर्क्यूल पोयरोट’ मुख्य पात्रका रूपमा रहेका छन्। उनकी दिदी मार्गरेट, जो आफैंमा पनि एक लेखिका थिइन्, उनकै प्रोत्साहनमा अगाथाले आफ्नो पहिलो जासूसी उपन्यास प्रकाशित गरिन्— ‘द मिस्टिरियस अफेयर एट स्टाइल्स’ भन्ने।
युद्ध समाप्त भएपछि, अगाथा दम्पती लन्डन आए, जहाँ आर्चीले उड्डयन मन्त्रालयमा काम गर्न थाले। सन् १९१९ मा अगाथाले आफ्नो पहिलो उपन्यास ‘द मिस्टिरियस अफेयर एट स्टाइल्स’ प्रकाशित गरिन्। विस्तारै उनका अरू किताबहरूले पनि बजार तताउन थाले। त्यसपछि अगाथा दम्पती ‘बर्कशायर’मा आएर बस्न थाले, उनीहरूको कान्छी छोरी रोसलिन सहित। अगाथाले त्यहाँ नयाँ घर किनिन्, जसको नाम ‘स्टाइल्स’ राखिन्, आफ्नो पहिलो उपन्यासको नामबाट। उनले नाम र पैसा दुवै कमाउँदै गइन्। सफलता र सम्पन्नताको बावजुद उनी सकेसम्म सावधानीपूर्वक, मितव्ययी तरिकाले जीवनशैली चलाउन थालिन्।
अगाथाको बुबा एक धनी अमेरिकी व्यापारी थिए, जसको मृत्यु हृदयघातको कारण भएको थियो। त्यो बेला अगाथा केवल एघार वर्षकी थिइन्। बुबाको मृत्युपछि उनको परिवार गरिबीको दलदलमा भासिंदै गएको थियो। सायद त्यसैले पनि अगाथा परिवारको आर्थिक व्यवहारमा निकै कडा नियन्त्रण राख्थिन्।
केही टिप्पणीकारहरूले भन्ने गर्छन्, अगाथाको त्यही प्रवृत्तिले गर्दा उनको आर्चीसँगको सम्बन्धमा तनाव पैदा हुन थालेको थियो, जसले गर्दा उनको आफ्नै २५ वर्षीया सेक्रेक्ट्री ‘न्यान्सी नील’सँग सम्बन्ध सुरू भएको हो।
सन् १९२६ अप्रिलमा अगाथाको आमाको मृत्यु भयो। त्यो बेला प्रकाशित केही रिपोर्टहरूका अनुसार उनी गहिरो डिप्रेसनमा पुगेकी थिइन्। आफूलाई भुलाउन उनी केही समय शहर बाहिर ग्रामीण भेगमा बसेकी थिइन्। त्यसको लगत्तै उनले आफ्नो पति आर्चीको सम्बन्धको बारेमा थाहा पाइन्। त्यसपछि आर्चीले अगाथासँग सम्बन्धविच्छेद मागे। उदासीनतामा डुबिरहेकी अगाथा झनै विक्षिप्त भइन्। उनले आफूलाई सबैबाट छुट्टिंदै, छाडिंदै गइरहेको महसुस गर्न थालिन्। अगाथा दम्पती बीच दिनहुँजसो झगडा हुन थाल्यो। हरेक दिन जस्तै त्यस दिन अर्थात् सन् १९२६, डिसेम्बर ३ मा पनि उनीहरू बीच झगडा भएको थियो। त्यही तोडमा साँझतिर आर्ची घरबाट बाहिर गए, आफ्नी प्रेमिकासँग बस्न। त्यही रात लगभग साढे नौतिर अगाथाले पनि घर छाडिन्, अनाम गन्तव्यलाई ताकेर।
अगाथा हराएको एक हप्ता कटिसकेको थियो। उक्त खबरले अन्तर्राष्ट्रिय बजारमा पनि हल्ला गरिरहेको थियो। उनी हराएको खबरले ‘द न्यु योर्क टाइम्स’को फ्रन्ट पेजमा स्थान पाएको थियो।
हराएको पूरा दश दिनपछि अगाथालाई १४ डिसेम्बरमा अन्तत: फेला पारियो, ‘हरोगेट’को एउटा होटलमा सुरक्षित र स्वस्थ अवस्थामा। जुन परिस्थितिमा उनलाई भेटियो, त्यसले झनै धेरै प्रश्नहरू उब्जियो। आफूसँग के भइरहेको छ, के भएको थियो, अगाथालाई केही पनि याद थिएन। यस्तो लाग्थ्यो, उनी छुट्टी मनाउन आएकी हुन्, होटलमा। धेरैले धेरै थरीका अनुमानहरू आकाशमा उडाउन थाले। प्रहरीहरूले ती अनुमानका टुक्राहरूलाई जोड्न थाले।
अन्तत: उनीहरूले निष्कर्ष निकाले, अगाथा क्रिस्टी घर छोडेर लन्डनतर्फ गएकी थिइन्। बीच बाटोमा उनको कार सडक दुर्घटनामा पर्यो। त्यसपछि उनी हरोगेट जाने ट्रेन चढिन्। त्यहाँ ‘स्वान हाइड्रो’, अहिलेको ‘ओल्ड स्वान होटल’मा विना कुनै लगेज चेक इन गरिन्। सबैभन्दा अचम्म र अनौठो अर्को रहस्य थपियो, अगाथा आफ्नो पति आर्चीकी प्रेमिकाको नाममा सो होटलमा बसेकी थिइन्।
‘हरोगेट’ सन् १९२० को दशकमा मनोहर शहरको रूपमा चिनिन्थ्यो, जहाँ विभिन्न क्षेत्रबाट फेशनेबल तथा धनाढ्य मान्छेहरू आउँथे, छुट्टी मनाउन। त्यहाँ पुगेर अगाथाले कुनै प्रकारको शंका उब्जाउने काम गरिनन्। आफ्नो पहिचान तथा परिचय कसैलाई बताइनन्। बरू, उनी पनि त्यहाँको विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूमा सामेल भइन्। उनलाई अन्तत: होटलका एक बञ्जो बजाउने बब ट्यापिन नामक कर्मचारीले चिने र प्रहरीलाई जानकारी दिए। प्रहरीले उनको पति आर्चीलाई खबर गरे, जो तुरून्तै अगाथालाई लिन त्यहाँ आइपुगे। तर, अगाथालाई त्यहाँबाट जान न कुनै हतार थियो, न त मन नै। उनले केही समयसम्म त आफ्नै पतिलाई चिन्न समेत अस्वीकार गरिन्।
अगाथा क्रिस्टीले आफ्नो जीवनका हराएका एघार दिनको बारेमा कहिल्यै कसैसँग कुरा गरिनन्। सन् १९२६ को ३ डिसेम्बरदेखि १४ डिसेम्बर बीचमा वास्तवमै के-के भएको थियो, आजसम्म कसैलाई थाहा छैन। उनको आत्मकथा ‘अगाथा क्रिस्टी: एन अटोबायोग्राफी’ उनको निधनको लगभग दुई वर्षपछि प्रकाशित भएको थियो। उनले त्यस किताबमा पनि आफूसँग घटेको घटनाबारे केही पनि उल्लेख गरेकी छैनन्।
‘आर्ची’का अनुसार, अगाथाले स्मृति गुमाएकी हुन्, कार दुर्घटनामा परेर। तर, प्रसिद्ध लेखक ‘एन्ड्रयु नर्मन’ अनुमान लगाउँछन्, ‘त्यो समयमा अगाथा ‘फ्यूग’ अवस्था अथवा साइकोजेनिक ट्रान्समा थिइन्। यो एक दुर्लभ अवस्था हो, जुन आघात वा डिप्रेसनका कारण उत्पन्न हुन पुग्छ।’ उनी थप्छन्, ‘आफूलाई पतिको प्रेमिकाको अस्तित्व अथवा व्यक्तित्वलाई स्वीकार गर्नू र पत्र-पत्रिकामा आफ्नो फोटो र खबरलाई चिन्न नसक्नु साइकोजेनिक एम्नेसियाका लक्षण तथा संकेतहरू हुन्। सायद त्यो समयमा अगाथा आत्महत्या गर्न चाहन्थिन्। उनको मानसिक अवस्था धेरै नै कमजोर थियो। उनले पछि आफ्नो आत्मकथात्मक उपन्यास ‘अनफिनिश्ड पोर्ट्रेट’ मा पात्र ‘सेसिलिया’ मार्फत आफूलाई केही हदसम्म व्यक्त पनि गरेकी छिन्।’
अगाथा चाँडै नै पूर्ण रूपमा सन्चो भइन् र फेरि कलम समाउन थालिन्। तर, उनी आफ्नो पतिको अनैतिक सम्बन्धलाई सहन गर्न तयार थिइनन्। त्यसैले उनले सन् १९२८ मा पतिलाई डिभोर्स दिइन् र पछि विशिष्ट पुरातत्वविद् ‘सर म्याक्स मल्लोअन’सँग विवाह गरिन्।
अगाथा हराउनुको कारण वर्षौंदेखि नै निकै विवादित रहँदै आएको छ। कारणहरू: उनको आमाको मृत्यु र पतिका प्रेम सम्बन्धको अपमानले ल्याएको मानसिक असन्तुलनदेखि, सफल तर अझै पनि कम चर्चित लेखकको प्रचार गर्न गरिएको एक सिनिकल पब्लिसिटी स्टन्टसम्म थिए। त्यतिबेला उनको पति ‘आर्ची’ले अगाथालाई एम्नेसियाबाट ग्रस्त भएको भनेका थिए, जुन पछि दुई डाक्टरहरूले पनि पुष्टि गरेका थिए।
ती हराएका एघार दिनको पहेली आजसम्म पनि कायम छ। प्रशंसित लेखिका मारी बेनेडिक्टले आफ्नो विशिष्ट शैलीमा इतिहासको कालो छायाँलाई हामीअघि प्रस्तुत गर्न कोशिश गरेकी छिन्, किताब ‘द मिस्ट्री अफ मिसेस क्रिस्टी’ मार्फत। कसरी एक अद्भुत महिला रहस्यमयी तरिकाले हराउन पुग्छिन् ? वास्तविकता के हो ? अगाथाका बेइमान पतिले कस्तो भूमिका खेलेको छ ? सन् २०२० मा प्रकाशित उक्त किताब ‘मारी बेनेडिक्ट’को कल्पनामा आधारित छ।
सन् २०२२ मा अर्की लेखिका ‘निना डे ग्रामोंट’ले पनि किताब लेखिन्, ‘द क्रिस्टी अफेयर’, जसमा लेखिकाले ‘आर्ची’को प्रेमिका ‘नील’ मार्फत कहानी न्यारेट गरेकी छिन्। ‘नील’ कसरी योजनावद्ध रूपमा एक चर्चित लेखिकाको जीवन भाँड्न आइपुगिन् भनेर ‘निना डे ग्रामोंट’ले आफ्नो कल्पना उनेकी छिन्। त्यसैगरी ‘अगाथा एण्ड ट्रुथ अफ मर्डर’ भन्ने फिल्म पनि आएको थियो, सन् २०१८ मा। उक्त फिल्मले पनि इतिहासको अल्टरनेटिभ कथालाई कहन्छ।
फिल्ममा देखाएको छ, अगाथा नयाँ किताब लेख्न संघर्षरत छिन्। आफ्नो आमाको निधन, पतिको अनैतिक सम्बन्ध र सम्बन्धविच्छेदको कुराले उनी तनावमा छिन्। त्यहीबेला एकजना अगाथालाई भेट्न आउँछ, मद्दत माग्न (हत्यारालाई खोज्न)। अगाथा ती व्यक्तिसँग जान्छिन्, आफ्नो जासूसी ज्ञानको प्रयोग गर्न। उनी यसरी गुपचुप भएर एघार दिनसम्म कसैलाई सहयोग गरिरहेकी हुन्छिन्। जब फर्केर आउँछिन्, उनले संघर्ष गरिरहेको किताब लेखेर सक्छिन्, ‘डेथ इन द नाइल’, जुन केही वर्षअघि मात्रै आएको थियो, फिल्मको रूपमा।
यसरी अगाथाको बारेमा थुप्रै फिल्म तथा किताबहरू लेखिएका छन्, सम्भावित घटनाहरूलाई कल्पिएर। तर, हामीले सायद कहिल्यै थाहा पाउनेछैनौं, ती हराएका एघार दिनमा के-के भएका थिए। अगाथा क्रिस्टीले एउटा यस्तो रहस्य छाडेर गइन्, जसलाई उनले नै जन्माएको जासूस ‘हर्क्युल पोयरोट’ले पनि समाधान गर्न सक्ने छैन। यसरी क्रिस्टीले आफूले लेखेको भन्दा सबैभन्दा रहस्यमयी किताब भएर अलबिदा भइन्।
प्रतिक्रिया 4