
३० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको डीन र निर्देशक नियुक्तिमा प्रमुख तीन दलहरूबीच भागबन्डा भएको छ । मेरिटको आधारमा नियुक्ति गर्नका लागि छनोट समिति बनाइए पनि कार्यकारी परिषद्ले भागबन्डाका आधारमा नियुक्ति गरेको हो ।
कार्यकारी परिषद्का उपकुलपति केशरजंग बराल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले शनिबार ८ जना डिन र ३ जना निर्देशक नियुक्त गरेका छन् ।
जसअनुसार सत्तारुढ नेपाली कांग्रेसको भागमा तीन, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको भागमा दुई–दुई जना नियुक्त भएका छन् । एकजनाको नाममा भने राष्ट्रिय सहमति जुटेको उपकुलपति कार्यालयका एक अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।
कांग्रेस कोटाबाट व्यवस्थापन संकायको डीनमा प्रा.डा. महानन्द चालिसे, वन विज्ञान अध्ययन संस्थान सहप्राध्यापक ठाकुर सिलवाल र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. शंकर खनाल नियुक्त भएका छन् ।
एमालेबाट इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा.डा. सुशिल बहादुर ब्रर्जाचार्य र शिक्षाशास्त्र संकायमा प्रा.डा. बेदराज आचार्य डिन नियुक्त भएका छन् ।
त्यस्तै, माओवादीबाट मानविकी तथा सामाजिकशास्त्रमा प्रा.डा. द्विविनन्द ढकाल र कृषि र पशु विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक किशोरचन्द्र दाहाल डिन नियुक्त भए ।
चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा भने प्रा.डा. मोहोनराज शर्माको नाममा राष्ट्रिय सहमति जुटेको छ । ‘अरुमा भागबन्डा भए पनि उहाँको नाममा सबैको सहमति थियो,’ भीसी कार्यालयका एक अधिकारीले भने, ‘कसैको कोटामा गणना भएको छैन । स्वतन्त्ररुपमा चयन गरिएको हो ।’
उपकुलपति बरालले छनोट समितिले सिफारिस गरेको पहिलो नम्बरमा रहेकोलाई नियुक्ति गर्न चाहेको थिए । तर यसरी नियुक्ति गर्दा एमालेको कोही पनि नपर्ने भएपछि तीन जनामध्येबाट एक जनालाई नियुक्ति गर्ने सहमति जुटेको त्रिविका अधिकारीहरू बताउँछन् ।
सोही अनुसार वर्णानुक्रम अनुसार नै छनौट समितिले सिफारिस गरेकाहरूलाई नियुक्ति दिइएको पदाधिकारीहरू बताउँछन् ।
परिषद्ले अघिल्लो पटक नियुक्ति लिएकाहरूलाई दोहोर्याएको छैन । रेक्टर खड्ग केसीले भने, ‘कार्यविधिलाई टेकेर निर्णय गरिएको हो । परिषद्ले एक मतका साथ निर्णय गरेको हो । नियुक्ति गरिएका सबैजना योग्य हुनुहुन्छ ।’
निर्देशकमा तीन पार्टीको बराबर
परिषद्ले तीन जना निर्देशकको पनि नियुक्ति गरेको छ । जसमा व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) कांग्रेसको भागमा परेको छ । जसमा प्रा.डा. मीना राजभण्डारी निर्देशक बनिन् ।
शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) एमालेको भागमा पर्यो । एमाले कोटाबाट निर्देशकमा सहप्राध्यापक राजेन्द्र कुँवर निर्देशक बने ।
योजना निर्देशनालय माओवादीको भागमा पर्यो । निर्देशनालयको निर्देशकमा लक्ष्मीकान्त शर्मालाई नियुक्ति गरियो । शर्मा उपकुलपति बरालको रोजाइमा पनि परेका हन् । बराल पोखरा विश्वविद्यालयको उपकुलपति भएको समयमा पनि शर्मा योजनाकै प्रमुख थिए ।
भागबन्डाको आधारमा नियुक्ति गर्दा प्राध्यापक छोडेर सहप्राध्यापकलाई डीन र निर्देशकमा नियुक्ति गरेको भन्दै त्रिविका प्राध्यापकहरूले असन्तुष्टि जनाएका छन् ।
‘मेरिटोक्रेसी भनिएको थियो । प्राध्यापकले पनि आवेदन दिएका थिए तर सहप्राध्यापकलाई नियुक्ति गरिएको छ । के आधारमा गरियो ? कसले कति नम्बर पाए ? सिफारिस भएका तीन जना को को थिए त्यो सार्वजनिक हुनुपर्छ,’ त्रिवि प्राध्यापक संघका अध्यक्ष बसन्त ढकालले भने ।
त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा स्वायत्त संस्थामा राजनीतिक हस्तक्षेप गर्न नहुने मत राख्छन् ।
‘बाहिरबाट पार्टीले हस्तक्षेप गर्नुभएन । पदाधिकारीले पनि हस्तक्षेपलाई स्वीकार गर्नहुँदैन । परिषद्ले योग्यताको आधारमा छान्नुपर्छ, भागबन्डामा होइन,’ उनले भने ।
आफू निकटका प्राध्यापक डिन र निर्देशक नबन्ने स्थिति आएपछि कांग्रेस, एमाले र माओवादीको शीर्ष नेतादेखि विद्यार्थी संघ संगठनसमेत सक्रिय भएर त्रिविको पदाधिकारीहरूलाई दबाब दिएका थिए ।
कुलपति समेत रहेका प्रधानामन्त्री केपी शर्मा ओलीले गत बिहीबार त्रिविको सभामा ७ पुस भित्र डीन नियुक्ति गर्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया 4