 
																			नेपालको सबैभन्दा पूर्वी भेगमा भारतसँग छुट्टिने सिमाना हो- झापाको काँकडभिट्टा नाकाको बसपार्कबाट पूर्व लागेपछि आउने मेची नदी। मेची नदीको पुल तरेपछि आउने भारतीय सीमावर्ती बजार पानीटंकी व्यापारिक नाका मात्रै भन्दा बढी महत्त्वपूर्ण छ। पश्चिम बंगालको दार्जीलिङ जिल्लामा पर्ने यो पानीटंकी बजारबाट ७ किलोमिटर मात्र टाढा छ नक्सलबाडी।
कुनै समय नक्सलबाडी प्रेरणा थियो। वामपन्थी विद्रोहको, सशस्त्र संघर्षको, किसान आन्दोलनको, विद्रोहका ‘नायक’ थिए-चारु मजुमदार। जो एक समय झापाली कम्युनिस्टहरूका समेत प्रेरणा थिए।
सुधीर शर्माको भर्खरै सार्वजनिक भएको पुस्तक ‘हिमाल पारिको हुरी’ पढ्दै जाँदा चारु मजुमदार, कानु सन्याल, नारायण पौडेलको कथा र नक्सलबाडी-नेपाल-बेइजिङ नेक्ससको प्रसङ्ग आएपछि राधाकृष्ण मैनालीले पनि आफ्नो पुस्तक ‘नलेखिएको इतिहास’मा झापा विद्रोह पटक–पटक उल्लेख गरेको याद आयो।
‘हिमाल पारिको हुरी’मा नक्सलबाडीको प्रसङ्ग आएपछि त्यति सहज पहुँचमा भएको भ्रमण किन नगरौं भन्ने लाग्यो। पानीटंकी नाकासँग परिचित ‘गाइड’ खोज्दा आफ्नै क्याम्पस पढ्ने मेचीनगरका विवेक भट्टराईसँग सम्पर्क गरेर काँकडभिट्टामा भेट्ने गरी योजना बनाएर म लागें इटहरीबाट नेपालको ‘पूर्व मेची’।
काँकडभिट्टा बसपार्कमा ओर्लिएर सहयात्रीलाई पर्खंदै गर्दा बसपार्कको प्रवेशद्वारको ठिक विपरीत दिशामा रहेको देवकोटा पार्क पसें। बीस रुपैयाँको टिकट काटेर पार्क भित्र पस्दा पस्दै भेटिए पूर्णकदका महाकवि लक्ष्मीप्रसाद देवकोटा।
दुवै हातमा किताब राखेर २०७४ देखि उभिएका देवकोटाको सालिकलाई पार्कको फूलबारीले अझै आकर्षक पारेको थियो। सालिक वरिपरि मुनामदनका श्लोक र देवकोटाका अरू विवरण कुँदिएका शिलालेख हेर्दाहेर्दै सहयात्रीले बाहिर आइपुगेको जानकारी दिए।
काँकडभिट्टाबाट मेची नदी तरेर नेपाल र भारत दुवैतर्फका सीमा सुरक्षा अधिकारीलाई आफ्नो परिचयपत्र देखाउँदै हामी प्रवेश गर्यौं भारतको पश्चिम बंगालको पानीटंकी बजार। त्यहाँबाट एउटा विद्युतीय रिक्सा लिएर हामी हिंड्यौं भारतीय नक्सलवादी आन्दोलनको सुरुवातकर्ता र नेपालको झापा विद्रोहको प्रेरणाको शहर नक्सलबाडी।

पानीटंकीबाट नक्सलबाडी बजार पुग्दासम्म चनाखो भई केही भेटिएला भनेर हेरिरहेको थिएँ, प्रायः सार्वजनिक आलेख बंगालीमा लेखिएका थिए, त्यसो हुँदा मैले खोजेको कुरा यही हो भन्न चिह्न वा अरू केही संकेतको सहारा लिनुपर्ने भयो।
नक्सलबाडी बजार पुग्नुभन्दा थोरै अगाडि एउटा घरको भित्तामा हँसिया–हथौडाको चिह्न देखियो, छेवैमा एकजना अधबैंसे पुरुष बसिरहेका थिए। अलिअलि नेपाली बोल्दा रहेछन्, यसमा के लेखेको छ भनेर सोध्दा ग्राम पञ्चायतको कुनै चुनावको प्रचार रहेछ।
हामी नक्सलबाडी बजार पुग्यौं। बजार घुम्दै गर्दा पनि कतै आन्दोलनका अवशेषहरू खोज्दै थियौं। करिब बीच बजारमा लेनिन, स्टालिन लगायतका फोटो भएका केही नयाँ पोस्टरहरू देखिए। फोटो खिचेर राखें। गुगल अनुवादले थाहा भयो, भाकपा मालेले नोभेम्बर क्रान्तिको स्मरण उत्सवको लागि गरेको आह्वान रहेछ। माओत्सेतुङको फोटो भएको अर्को पोस्टरमा माओको स्मृति दिवसको सभामा निम्तो गरेको रहेछ, उही भाकपा मालेले। थप एक–दुई वटा अलि पुराना पोस्टर देखिए, स्मरणसभाकै रहेछन् नक्सलबाडी आन्दोलनका प्रणेता चारु मजुमदारको।
अनपेक्षित एउटा पूर्णकदको सालिक देखियो, भानुभक्त आचार्यको। नक्सलबाडी पश्चिम बंगालको दार्जीलिङ जिल्लामा परे पनि यहाँ प्रायः सरकारी र व्यावसायिक साइनबोर्डहरू बंगाली वा अङ्ग्रेजीमा थिए, नेपालीमा लगभग थिएनन्। हामीले पनि कुराकानी गर्दा हिन्दीमा गरिरहेका थियौं।
त्यस्तो अवस्थामा बीच बजारमा अचानक नेपाली भाषाका आदिकविको पूर्णकदको सालिक आश्चर्यकै विषय थियो। नक्सलबाडी ग्राम पञ्चायतले सन् १९९२ मा अनावरण गराएको सालिकमा इस्वी संवत् र विक्रम संवत्मा भानुभक्त आचार्यको जन्म र निधनको मिति लेखिएको थियो।

बजारमा एकफेरो लगाइसकेपछि, अब बस्ती छिर्ने सल्लाह भयो र हामी प्रवेश गर्यौं नक्सलबाडीको बस्ती। बस्तीमा पनि एक–दुई वटा घर र भित्तामा कोरिएका हँसिया–हथौडाको चिह्न र केही ‘लाल स्मारक’ बाहेक खासै केही नभेटेपछि लगभग निराश भएर फर्किनलाई हामीले एउटा विद्युतीय रिक्सा लिएर त्यहाँबाट निस्किंदै मात्र थियौं, थोरै अगाडि बढ्नासाथ एउटा फराकिलो ठाउँमा कम्युनिस्टको झण्डा देखियो।
रिक्सालाई एकछिन रोकेर नजिकैबाट हेर्दा त्यो ठाउँमा कार्ल मार्क्स, एङ्गल्स, लेनिन, स्टालिन, माओत्सेतुङ, लिन प्याओ, चारु मजुमदार, सरोज दत्त र महादेव मुखर्जी जो संसारको र नक्सलवादी आन्दोलनको वामपन्थी आन्दोलनमा आदर्शको रूपमा स्थापित थिए, लस्करै नौ वटा सालिक देखिए।
भारतीय कम्युनिष्ट पार्टीका नेता कानु सन्याल र चारु मजुमदारले सन् १९६७ मा सरकार विरुद्ध अभियान चलाएका थिए। केही समयमै त्यो आन्दोलनमा परिणत भयो र झिल्को फैलिन थाल्यो। यस आन्दोलनमा सहभागीले सरकार विरुद्ध हतियार उठाए। सरकार विरुद्धको यो विद्रोह जमिनदारहरूको अत्याचारबाट दिक्क भएका किसानहरूको थियो । कालान्तरमा यो झिल्को नेपालसम्म फैलियो र झापा विद्रोहलाई प्रेरणा दियो।
भारतीय विधिशास्त्री एन भि परनजापेले आफ्नो प्रकाशन ‘अपराधशास्त्र र दण्डशास्त्र’ मा नक्सलवादीलाई संगठित अपराधको उदाहरणको रूपमा उल्लेख गरेका छन्। भारतीय संस्थापनले नक्सलवादीलाई सुरक्षाको ठूलो चुनौती मान्दै आएको छ, सन् २०१० मै तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भारतको सबभन्दा ठूलो सुरक्षा चुनौतीको रूपमा नक्सलवादीलाई स्वीकार गरेका थिए। यो सामग्री तयार पार्दै गर्दा १३ डिसेम्बर २०२४ मा भारतको छत्तीसगढमा दुई जना नक्सलवादी विद्रोहीलाई प्रहरीले ‘इन्काउन्टर’ गरेको छ।
मैले सालिक हेरेर फर्कंदै गर्दा विद्युतीय रिक्साका चालकलाई सोधें—
घर कहाँ हो तपाईंको ?
यहीं नक्सलबाडी।
नेपाली बोल्नुहुन्छ ?
धेरै बुझ्छु, अलिअलि बोल्छु, यो रुटमा नेपालीहरू धेरै हिंड्छन्।
नेपालीहरू कस्ता लाग्छन् त ?
हामी भारतीय भन्दा ‘दिलदार’ लाग्छन्।
हामीले अहिले केको फोटो खिच्यौं थाहा पाउनुभयो ?
नेताहरू हुन्, तर को हुन् थाहा छैन ।
कम्युनिष्ट भनेको थाह छ ?
छैन !
नक्सलाइट भनेको थाहा छ ?
छैन, तर बाहिरको कुनैकुनै साथीहरूले हामीलाई नै भनेको सुनेको छु।
यसपालिको चुनावमा भोट हाल्नुभयो ?
हालें, सानो चुनावमा (विधानसभा) टीएमसी (तृणमूल कंग्रेस)लाई र ठूलो चुनावमा बीजेपी (भारतीय जनता पार्टी)लाई।
किन त्यसरी हाल्नुभयो, भन्न मिल्छ ?
हामीलाई तल स्कुल, हस्पिटल, मन्दिर चाहिंदा, हाम्रो जातको मान्छेलाई ममता बेनर्जी काम लाग्छिन्, चाइना र पाकिस्तानलाई ‘सबक सिकाउन’ नरेन्द्र मोदी काम लाग्छन् त्यही भएर।
गफ चल्दाचल्दै पानीटंकी बजार पुगियो, रिक्सा चालकले अघि जाँदा तिरेको भन्दा दोब्बर भाडा मागे । किन यति धेरै भनेर सोध्दा, ‘बीचमा रोक्नु पर्यो’ भनेर जवाफ दिए । हामीले पनि उनले भने जस्तै ‘दिलदार नेपाली’ को परिचय दिंदै भाडा तिरेर, मेची तरेर नेपाल टेक्यौं।
काँकडभिट्टाबाट इटहरीको लागि गाडी चढेपछि झोलाबाट झिकेर पल्टाएँ, पढेर सिध्याउन बाँकी नै रहेको ‘हिमाल पारिको हुरी’ जसमा भएको एउटा प्रसङ्गले मलाई नक्सलबाडीसम्म पुर्याएको थियो।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4