+

नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसीप चैत दोस्रो साता हुने

२०८१ पुष  २८ गते १६:३४ २०८१ पुष २८ गते १६:३४
नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसीप चैत दोस्रो साता हुने

२८ पुस, काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा आगामी चैत दोस्रो साता नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसीप आयोजना हुने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसीप चैत ८ र ९ गते (मार्च २१ र २२) काठमाडौंमा हुने जानकारी गराएको हो ।

दुई दिन सञ्चालन हुने प्रतियोगितामा क्लाइम्बिङको तीन विधामध्ये लिड र बोल्डर गरी दुई विधामा प्रतिस्पर्धा गराइने एसोसिएसनका अध्यक्ष रमेश पौडेलले जानकारी दिए ।

राष्ट्रियस्तरको खुल्ला प्रतियोगिता भएको हुनाले राष्ट्रिय खेलाडीहरु र १४ वर्षमाथि उमेर भएका ईच्छुक खेलाडीहरुले भाग लिन पाइने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तराष्ट्रिय महासंघ (आईएफएसी) द्वारा प्रतिपादित नियम र मापदण्ड अनुसार संचालन गरिनेछ ।

प्रतियोगिताको पहिलो दिन पुरुष र महिलाको क्वालिफिकेसन राउण्ड हुने र त्यसबाट महिला र पुरुषमा ८-८ खेलाडी फाइनल राउण्ड छनोट गरिनेछ । फाइनल राउण्ड दोस्रो दिन हुने आयोजकले जनाएको छ ।

महिला तथा पुरुषहरुको फाइनल राउण्डको प्रतिस्पर्धापछि उनीहरुले पाएको अंकको आधारमा विजेता, उपविजेता र तेस्रो स्थानमा आउने विजेताहरुको घोषणा गरिनेछ । विजेताहरुलाई पुरस्कार स्वरुप नगद सहित मेडल, प्रमाण-पत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा करिब ६० खेलाडी सहभागी हुने अपेक्षा छ । प्रतियोगिताका प्रतिस्पर्धा ठमेलस्थित एस्ट्रेक र काठमाडौं स्पोर्ट क्लाईम्बिङ सेन्टर मध्ये कुनै एक स्थानमा आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनको अवधिमा सुरक्षाको प्रत्याभुति हुने गरी भइपरी आउने शारीरिक समस्या, जोखिम तथा दुर्घटनालाई मध्यनजर गरी सहभागी खेलाडीहरू तथा खेल प्राविधिक व्यक्तिहरुको न्युनतम अवधिसम्मलाई बिमाको व्यवस्था गरिने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुल उद्देश्य यस खेल र यस खेलकुदमा आबद्ध हुने सम्पूर्ण खेलाडी, खेलकर्मी, प्राविधिक व्यक्ति र अन्य पक्षहरुको मनोबल उच्च बनाउने र यस क्षेत्रको विकास प्रवर्द्धन गर्नुका साथै देशमा साहसिक खेल र पर्यटनको प्रचार-प्रसार गरि राजश्वमा टेवा पुर्‍याउनु समेत रहेको आयोजकले जनाएको छ ।

साहसिक खेलकूद तथा खेलकूद पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्नका लागि तत्पर तथा कटिबद्ध रहेको स्पोर्ट क्लाइम्बिङ खेलले विभिन्न प्रतियोगिताहरु गर्दै आएको छ ।

एसोसिएसनका अध्यक्ष रमेश पाैडेलले लामो समय देखि यो खेलको राष्ट्रिय प्रतियोगिता नभएकोले यस पटक जसरी पनि गर्ने तयारीमा भएको बताए । ‘राष्ट्रिय प्रतियोगितामार्फत् सम्भावना भएका खेलाडीहरुलाई खोज्ने हाम्रो प्रयास हुनेछ ‘

पाैडेलले क्लाईम्बिङ स्पोर्ट तीन विधामा हुने र त्यसमा राम्रो गर्न सके ओलम्पिकसम्म पुग्न सक्ने बताए । ‘हामीले राम्रोसँग तयारी गर्न सके ओलम्पिक सम्क पुग्न सक्छाैं । नेपालका लागि सुहाउँदो खेल भएकोले यसलाई राम्रोसँग अघि बढाउन सक्याैं भने धेरै सम्भावना छ ।’

प्रतियोगिता सञ्चालनका लागि लाक्पा शेर्पाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको अध्यक्ष पाैडेलले जानकारी दिए । प्रतियोगिताको लागि करिब २५ लाख बजेट लाग्ने त्यसका लागि राष्ट्रिय खेलकुद परिषद र विभिन्न प्रायोजकहरुसँग कुरा भइरहेको संघका अध्यक्ष पाैडेलले जानकारी दिए ।

नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसीप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय