 
																			२ माघ, काठमाडौं । रवि लामिछानेलाई कास्की अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ‘कसुरदार’ ठहर्याउँदै बिहीबार ६५ लाख धरौटी मागेको थियो । कालिमाटीको स्वर्णलक्ष्मी ठगीमा पनि सोही प्रकृतिको आदेश गर्दै बुधबार ६० लाख धरौटी मागेको छ ।
स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको १ अर्ब १९ करोड रुपैयाँ अनियमितता प्रकरणमा रास्वपा सभापति लामिछाने ‘कसुरदार छैनन् भन्न सकिएन’ भन्दै धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीले आदेश गरेसँगै त्यस बराबरको बैंक ग्यारेन्टी बुझाएर लामिछाने हिरासतमुक्त भए । पोखरामा पनि उनी बैंक जमानत बुझाएर छुटेका थिए ।
सभापति लामिछानेले बुधबार छुटेपछि न्यायालयलाई धन्यवाद दिएका छन् । ‘न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु’, उनले भनेका छन्, ‘न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु ।’
अदालतमा दिएको बयानका क्रममा समेत लामिछानेले आफू निर्दोष रहेको जिकिर गरेका थिए । तर, अदालतले ‘लामिछाने कसुरदार छैनन् भन्न सकिने आधार नरहेको’ भन्दै उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न भनेको छ ।
लामिछानेले सहकारीको रकम अनियमिततामा आफ्नो संलग्नता नरहेको भन्दै गरेको इन्कारी बयानलाई अदालतले नोट गरेको छ ।
तर, रवि लामिछाने र गितेन्द्रबाबु राईको नाममा ऋण खाता खोली गाडी खरिद गर्न ऋण लिएको र स्वर्णलक्ष्मी सहकारीमा लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट ९० लाख १६ हजार ६६० रुपैयाँ तिरेको देखिएकाले उनी अहिले नै कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको भनेको छ । अदालतले लामिछाने कसुरदार होइनन् भन्न नसकिनुका पछाडि अन्य आधारहरु पनि उल्लेख गरेको छ ।

लामिछाने र राईले ४६ लाख ९८ हजार रुपैयाँ ‘फोर ह्वीलर’ र ४६ लाख ४८ हजार रुपैयाँ ‘इको सेभेन सिटर भ्यान’का लागि ऋण लिएको अनुसन्धानबाट देखिएको थियो । ‘गोर्खा मिडिया नेटवर्क प्रा. लि. को खाताबाट प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिंदा अहिले नै प्रतिवादी रवि लामिछाने– प्रस्तुत वारदातमा कसूरदार होईनन् भन्न सक्ने अवस्था’ नदेखिएको आदेशमा भनिएको छ ।
लामिछानेविरुद्ध पोखरा, काठमाडौंबाहेक रुपन्देही, चितवन र पर्सामा पनि अनुसन्धान जारी छ । पोखरा र काठमाडौंबाट छुट्ने अवस्थामा अन्यत्र बुझाइदिनु पर्ने भन्दै सरकारी वकिलले माग गरेका थिए ।
तर, लामिछानेमाथि राज्य संयन्त्रले प्रतिशोध साध्न खोजेको आरोप लाग्न थालेपछि गृह प्रशासनले आफैं अदालतमा हाजिर हुने सुविधा दिएको थियो ।
‘कास्कीमा बाहिरै रहेर अदालतमा उपस्थित हुन दिइएकाले काठमाडौंमा पनि त्यही नीति अपनाइएको हो’, नेपाल प्रहरीका एक उच्च अधिकृतले भने, ‘उहाँ आफैं कानूनको सम्मान गर्दै अन्यत्र पनि हाजिर हुनु हुनेछ भन्ने विश्वास लिएका छौं ।’
रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले सुप्रिम सहकारी प्रकरणमा अनुसन्धान गरेर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।
प्रहरीले लामिछानेविरुद्ध चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्नुपर्ने राय पेश गरेको थियो । यो मामलामा प्रहरीले रुपन्देही अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको छ ।
अदालतमा रविको जिकिर – निर्दोष छु
सहकारीको रकम गोरखा मिडियामा ल्याउने कुनै पनि प्रक्रियामा मेरो संलग्नता छैन । मिसिल संलग्न मलाई देखाइएको निवेदनको छायाँकपीमा भएको हस्ताक्षर र औँठाछाप मेरो हो तर कम्पनीमा जोडिँदा र कम्पनी छोड्दा मैले शेयर वापतको पैसा लगानी गरेको पनि होईन र लिएर गएको पनि होइन । गोरखा मिडिया नेटवर्कका लगानीकर्ता गितेन्द्रबाबु राई नै हुन् ।
लगानीकर्ताको निर्देशनविना र उल्लिखित प्रक्रियाविना मैले कम्पनीको चेक जारी गर्न सक्दैनथेँ । छविलाल जोशी अधिकांश समय विदेश गएका थिए र गितेन्द्रबाबु राई अत्यन्तै व्यस्त थिए । म मात्र लेखाका कर्मचारीहरुले खोज्दा स्टेशनमा रहेको हुँदा मेरो हस्ताक्षर लिन उनीहरुलाई सहजता थियो । त्यसकारण सहजकर्ता रुपमा मात्रै मैले चेकहरु हस्ताक्षर गरेको हुँ ।
व्यक्तिगत रुपमा गितेन्द्र बाबु राईले उपलब्ध गराएको ऋण नै गोरखा मिडिया नेटवर्कले लिएको ऋण हो । मेरो कार्यकालमा गितेन्द्रबावु राईबाट लगभग २२ करोड ऋण आएको देखिन्छ । आफूले लिएको ऋण उनले को कोबाट र कहाँ कहाँबाट लिए त्यो मेरो जानकारीको विषय रहेन ।
लेखा सम्बन्धी कार्यको पूर्ण नियन्त्रण कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राईको हुने भएकाले त्यसमा मैले केही सोच्नुपर्ने अवस्था थिएन । प्राविधिक रुपमा चेकमा सही गर्न मकहाँ चेकहरू ल्याइने भए पनि कम्पनीका लागनीकर्ताको मात्रै यसमा नियन्त्रण थियो ।
म प्रबन्ध निर्देशक रहेको अवधिभर गोरखा मिडिया नेटवर्क प्रालिमा उल्लिखित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी लगायत कुनै पनि सहकारीबाट रकम ल्याउने निर्णय भएको नहुँदा म निर्दोष छु । – आदेशमा समावेश बयान
अदालतको आदेश – कसुरदार छैनन् भन्न सकिएन
प्रतिवादी रवि लामिछानेले अनुसन्धान अधिकारी र यस अदालत समक्षको वयानमा इन्कार रही बयान गरेतापनि यी प्रतिवादीहरु उपर किटानी जाहेरी दरखास्त रहेको देखिन्छ ।
यी प्रतिवादी रवि लामिछाने आफू गोर्खा नेटवर्क मिडिया प्रालि. को प्रबन्ध निर्देशक रहेको, गोर्खा मिडियाबाट शेयर खरिद गरी नलिएको, आफूलाई प्राप्त भएका शेयर स्वेट शेयर वापत पाएको हुँ भनी बयान गरेपनि गोर्खा मिडिया नेटवर्क प्रा.लि.का बिक्रीमा रहेको १,८०,००० थान शेयरमा लगानी गर्न इच्छा भएको निवेदन माग बमोजिम यस प्रा.लि.मा बिक्रीमा रहेको शेयर मध्ये १,८०,००० शेयर खरिद गर्न अनुमति पाउँ भनी निवेदन दिई शेयर लिएको देखिंदा निजले उक्त प्रा. लि. को शेयर खरिद गरि लिएको देखिई निज प्रतिवादी गोर्खा नेटवर्क मिडिया प्रा.लि.को शेयर होल्डर एवं प्रबन्धक निर्देशक समेत रहेको देखियो ।
प्रतिवादी रवि लामिछाने गोरखा नेटवर्क मिडिया प्रा. लि. मा शेयर होल्डर एवं प्रवन्ध निर्देशक हुनु भन्दा अघि नै प्रतिवादी रवि लामिछाने समेतको हस्ताक्षरबाट खाता सञ्चालन हुने गरी गोरखा नेटवर्क मिडिया प्रा.लि. को ग्लोबल आई.एम.ई. बैंकमा खाता खोली संचालनमा ल्याएको, निज प्रबन्ध निर्देशक भएको वेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोरखा नेटवर्क मिडिया प्रा.लि.को सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको देखियो ।
प्रतिवादीहरु रवि लामिछाने र गितेन्द्र बाबु राईको नाममा ऋण खाता खोली रु.४६,९८,०००/– र रु.४६,४८,०००/– लिएको, प्रतिवादी रवि लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट रु.९०,१६,६६० / – स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ऋण भुक्तान गरेको, गोर्खा मिडिया नेटवर्क प्रा. लि. को खाताबाट प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिंदा अहिले नै प्रतिवादी रवि लामिछाने– प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको… ।’
 
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4