
News Summary
Generated by OK AI. Editorially reviewed.- रवीन्द्र मिश्रले आफ्नो हिरासत र सरकारको अत्याचार विरुद्ध सर्वोच्च अदालतको ढोकामा पुगेर न्यायको माग गरेका छन्।
- उनी आफ्नो बयान र कानुनी प्रक्रिया पूरा गर्न चाहन्छन् र आफ्नो नागरिक अधिकारको रक्षा गर्न आग्रह गरेका छन्।
- मिश्रले आफ्नो र आफ्नो आमाको नाममा कुनै पनि अपराधमा संलग्न नभएको स्पष्ट पार्दै कानुनी न्यायको अपेक्षा व्यक्त गरेका छन्।
२ जेठ, काठमाडौं । राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रले सरकारको अत्याचारपूर्ण व्यवहारपछि न्यायका लागि सर्वोच्च अदालतको ढोकामा आइपुगेको बताएका छन् ।
५० दिनदेखि प्रहरी हिरासतमा रहेका मिश्रले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमाथिको बहसपछि इजलाससँग अनुमति लिएर यस्तो बताएका हुन् । न्यायाधीशलाई सम्बोधन गर्दै उनले भने, ‘देशमा राज्यको अधिकार हुने म नागरिकको अधिकार नहुने भएपछि मैले अन्तिम घडीमा भए पनि बन्द प्रत्यक्षीकरणमा जान्छु, अब म एक घण्टा पनि गैरकानुनी ढंगबाट हिरासतमा बस्न चाहन्नँ भनेर सर्वोच्चको ढोका ढकढक्याउन आइपुगेको हुँ ।’
इजलासमा रवीन्द्रको धारणा :
श्रीमान् म छोटकरीमा केही कुरा राख्न सक्छु ? यहाँहरूको अनुमति हुन्छ भने म केही कुरा राख्छु ।
यस किसिमको इजलासमा उपस्थित भएको जिन्दगीमा पहिलोचोटी हो । यसमा केही तलमाथि भए क्षमा गरिदिनुहोला । यसमा म केही छोटकरीमा कुरा राख्न चाहन्छु ।
किन म ५०औं दिनमा बन्दी प्रत्यक्षीकरणमा आएँ भने मैले सुरुदेखि नै अनुसन्धानलाई सघाउँछु भनेको थिएँ । तेस्रोपटकको म्याद थपको क्रममा मैले भनेँ, श्रीमान मलाई छानबिन गर्नका लागि जति दिनको म्याद चाहिन्छ, त्यति दिनुस् ।
उहाँले प्रहरीलाई १५ दिनको म्याद थपिदिनुभयो । त्यो १५ दिनको म्यादको बीचमा चैत्र ३० र वैशाख १ गते गरेर मेरो बयान सकियो । बयान सकिएपछि चौथो बयानमा वैशाख १० गते लिखित आदेश दिइयो ।
त्यसपछि ४२औं दिनमा मलाई जबरजस्ती अर्को पुर्जी ल्याएर थमाइयो, अपराधिक अपद्रव । त्यसपछि पाँच दिनको लागि दिइएको समयभित्र बयान लिइएन । मैले बल गरेर बन्दी प्रत्यक्षीकरणमा जानुअघि मेरो बयान लिइदिनुपर्यो भनेपछि हिजो साँझ मेरो बयान सकियो ।
त्यसरी बयान सकिएपछि मलाई आठौं चरणको म्याद थपसम्म आउँदा मलाई के अनुभूति भयो भने यो देशमा अघि सम्मानीय अधिवक्ताहरूले भन्नुभएजस्तो राजनीतिक हुकुम प्रमांगीबाट यो सबै भइरहेको छ भन्ने मलाई अनुभूति भयो ।
राज्यको अधिकार हुने, म नागरिकको अधिकार नहुने भएपछि अन्तिम घडीमा भए पनि म बन्द प्रत्यक्षीकरणमा जान्छु भनेर यहाँ आएको हुँ । उहाँहरूले अब १० दिन त हो नि भनिरहनुभएको छ । तर, मैले अब एक घण्टा पनि गैरकानुनी ढंगबाट हिरासतमा बस्न चाहन्नँ भनेर आज सर्वोच्चको ढोका ढकढक्याउन आइपुगेको छु ।
मेरो बयान सकियो, मेरो मोवाइल फोन सिज गरिएको छ । मेरो बैंक खाता रोक्का गरिएको छ । फेसबुकसँग पत्राचार गरेर मेरो डिटेल मगाउनुभएको छ । अब म जान्छु कहाँ ? अब उहाँहरूले मलाई हिरासतमा राखेर मेरो छाती चिरेर मेरो मुटु हेर्ने ? के हेर्नु हुन्छ उहाँहरूले ? म भागेर कहाँ जान्छु ?
आजसम्म नाक ठाडो पारेर यो देशको कानुन र नियम पालन गरेर बसेको नागरिक हुँ । आज पनि कानुन र नियम मान्दछु ।
यो देशमा जनता र ईश्वरको नाममा कसम खानेहरूले धेरै फट्याईं गरे र यो देशलाई धेरै हानी पुर्याए । श्रीमान् मेरो यो मनोगत टिप्पणी होइन । आज म मेरो ८२ वर्षकी डिमेन्सिया भएकी, अरुले डाइपर फेरिदिनुपर्ने, अरुले खुवाइदिनुपर्ने, अरुले सुताइदिनुपर्ने गम्भीर अवस्थाकी विरामी आमाको नाममा कसम खाएर भन्छु, मैले यो देशमा राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अहिले फेरि थपिएको अपराधिक उपद्रवजन्य कुनै पनि काम गरेको छैन । छ भने प्रमाणित गरेर देखाउनुस् ।
प्रतिक्रिया 4