
News Summary
Generated by OK AI. Editorially reviewed.- संसदको सार्वजनिक लेखा समितिले सांसद मञ्जु खाँणलाई भैरहवा विमानस्थल अनियमितता अनुसन्धानको जिम्मेवारी सुम्पिएको छ।
- बैठकले खाँणलाई अध्ययन उपसमितिको संयोजक बनाएको र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत विरुद्ध मुद्दा दायर भएपछि अनुसन्धान अघि बढेको हो।
- नक्कली भुटानी शरणार्थी प्रकरण र सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान भइरहेका बेला खाँण दम्पत्तिको नाम पनि उजागर भएको छ।
४ जेठ, काठमाडौं। संसदको सार्वजनिक लेखा समितिले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा परेकी सांसद मञ्जु खाँणलाई नै भैरहवा विमानस्थल निर्माण अनियमितता अनुसन्धानको जिम्मेवारी सुम्पिएको छ ।
आइतबार बसेको बैठकले खाँणलाई संयोजक छान्ने निर्णय गरेको लेखा समितिका सचिव एवं संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । पूर्व पर्यटनमन्त्री समेत रहेका एमाले सांसद योगेश भट्टराईले आफूमाथि प्रश्न उठेपछि संयोजक पदबाट अलग हुने घोषणा गरेका थिए । त्यसपछि शुक्रबारको बैठकले खाँणलाई अध्ययन उपसमितिको संयोजक तोकेको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खाजेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत विरुद्ध ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा दायर भएपछि उनकी पत्नी मञ्जु पनि अनुसन्धानको दायरामा परेकी थिइन् । लेखा समितिले भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा परेकी सांसदलाई नै भ्रष्टाचारको उजुरी अनुसन्धानको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो ।
नक्कली शरणार्थी प्रकरणमा ठगी मुद्दा दायर भएपछि प्रहरीले बालकृष्ण खाँणलगायत अरु आरोपितहरुबारे अनुसन्धान गर्न अख्तियारमा पत्राचार गरेको थियो । अख्तियारले २०८० सालको साउन, भदौताका खाँड दम्पत्तिमाथि छानविन अघि बढाएको थियो ।
अख्तियारले थुनामा परेपछि बालकृष्ण र उनकी पत्नी मञ्जुलाई गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानका सिलसिलामा सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ गरेको हो ।
२०७४ सालदेखि सार्वजनिक पदमा रहेका कांग्रेस सांसद बालकृष्ण खाँण ९ पुस, २०७९ सम्म गृहमन्त्री थिए । उनी रुपन्देहीबाट निर्वाचनमा पराजित भएलगत्तै पत्नी मञ्जु खाँण समानूपातिकबाट सांसद भएकी थिइन् ।
अख्तियारले खाँण दम्पत्तिमाथि नक्कली शरणार्थी प्रकरण र त्यसबाट रकम आर्जन गरेको अभियोगमा परेको उजुरीका आधारमा सम्पत्तिमाथि अनुसन्धान गरिरहेको थियो ।
त्यतिबेला कांग्रेस संसदीय दलको कार्यालयमा पुगेकी सांसद खाँडले केही सांसदहरुसँग अघिल्ला वर्षहरुको आम्दानी अभिलेखिकरण गर्ने र त्यसको हिसावकिताववारे चासो राखेकी थिइन् । उनले यसअघि सरकारी निकायहरुले गरेको भुक्तानीको विवरण पाउने ठाउँबारे समेत सोधपुछ गरेकी थिइन् ।
अख्तियारले कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानविन गरेपछि आम्दानीको बैध स्रोत पुष्टि गर्नुपर्ने चुनौती हुन्छ । आम्दानीको स्रोत देखाउन नसक्नेमाथि गैरकानूनी आर्जनको अभियोग लाग्छ र भ्रष्टाचारको मुद्दा चल्छ । करिब दुई वर्षअघि अख्तियारले अघि बढाएको अनुसन्धान अहिलेसम्म टुंगिएको छैन ।
नक्कली शरणार्थी मामिलामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणमाथि भ्रष्टाचारको अभियोग आकर्षित हुने प्रमाणहरु सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । खाणमाथि घुसबापत एक करोड २४ लाख ५० हजार रुपैंया नगद लिएको आरोप छ । दावी अनुसार, केशवप्रसाद दुलाल र सानु भण्डारीले बयानमा उनले रकम लिएको स्विकारेका थिए ।
दुलाल र भण्डारीले बालकृष्णका साथै उनकी पत्नी मञ्जुको नाम पनि जोडेका थिए । प्रहरीले मञ्जुमाथि अनुसन्धान नै नगरी मुद्दा दायर गरेको भनी प्रश्न समेत उठेको थियो । जिल्ला अदालतको थुनछेक बहसमा समेत कानून व्यवसायीहरुले त्यो प्रश्न उठाएका थिए ।
शरणार्थी प्रकरणका आरोपित केशवप्रसाद दुलालबाट बरामद भएको फोनमा खाँण र सचिव टेकनारायण पाठकबीचको संवादमा सचिव टेकनारायण पाण्डेले ‘मन्त्रीज्यूको सामान रेडी भएन ?’ भनी रकम लेनदेनलाई संकेत गरेको सरकारी दावी छ ।
शरणार्थी मामिलामा आरोपितहरु पक्राउ पर्ने र अनुसन्धान अघि बढ्न थालेपछि गृहमन्त्री बालकृष्ण खाँणले स्वकीय सचिव नरेन्द्र केसीमार्फत सानु भण्डारीका दाजु राजु भण्डारीलाई एक करोड रुपैंया दिएको र त्यो मध्ये ३० लाख रुपैंया शेर्पाले राजुलाई बुझाएको प्रहरीको दावी थियो । त्यो सम्पत्ति छानविनका क्रममा कांग्रेस समानूपातिक सांसद मञ्जु खाँण पनि अनुसन्धानको दायरामा थिइन् ।
लेखा समितिका सभापति ऋषिकेश पोखरेलले खाँण लेखा समितिको सदस्य नै रहेकाले उपसमितिको संयोजक बनेको प्रतिक्रिया दिए । ‘उहाँ लेखा समितिको सदस्य हो, अरु सदस्य झै उहाँ पनि उपसमितिको संयोजक बन्नुभयो’ पोखरेलले अनलाइनखबरसँग भने, ‘बाँकी सार्वजनिक रुपमा उठेका प्रश्नको जवाफ उपसमितिले नै दिनेछ ।’
नक्कली शरणार्थी प्रकरणमा थुनामा परेलगत्तै सोधपुछ र बयानपछि बालकृष्ण खाँण अख्तियार गएका थिए । त्यसलगत्तै उनी अख्तियारबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुगेका थिए । विभागले खाँड सहित उनकी पत्नी मञ्जुमाथि पनि अनुसन्धान अघि बढाएको थियो । असार, २०८१ मा कांग्रेस–एमालेको सत्ता गठबन्धन बनेपछि अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान अलपत्रजस्तै छ ।
प्रतिक्रिया 4