+
+
Shares

४ महिनासम्म आएन पविताको होस, अस्पतालसहित ५ जनाविरुद्ध जाहेरी

घर न घाटको भयो पविताको परिवार

४ महिनादेखि छोरीको होस नआएपछि पविताका बुवा ब्रम्हदेव यादवले अस्पतालविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ जेठ ६ गते २१:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधामको मुस्कान अस्पतालमा पविता यादवको चार महिनादेखि होस नआएपछि पीडित पक्षले प्रहरीमा जाहेरी दिएको छ।
  • जाहेरीमा अस्पताल र चिकित्सकमाथि उपचारमा लापरबाहीको आरोप लगाइएको छ ।
  • पविताका परिवार आर्थिक संकटमा परेका छन् र उपचार खर्च र न्यायका लागि संघर्ष गरिरहेका छन्।

६ जेठ, जनकपुरधाम । ४ महिनाअघि जनकपुरको मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया गराएकी २५ वर्षीया पविता यादवको अहिलेसम्म होस आएको छैन ।

४ महिनादेखि छोरीको होस नआएपछि पविताका बुवा ब्रह्मदेव यादवले अस्पतालविरुद्ध १ जेठमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । सर्लाही हरिपुर्वा नगरपालिका- ५ मजकोठवा टोलका यादवले मुस्कान अस्पतालका सञ्चालकसहित ५ जना विरुद्ध इलाज सम्बन्धी कसुरमा जाहेरी दिएका हुन् ।

उनले जनकपुरधाम उपमहानगर– १४ पिडारीचोकस्थित दर्ताविनाको मुस्कान अस्पताल, अस्पतालका सञ्चालक, पविताको पित्तथैलीको शल्यक्रिया गरेका डा. ज्ञानकुमार साह, उपचारमा संलग्न एनेस्थेसिया र पवितालाई शल्यक्रिया गर्न अस्पताल पुर्याउने सूर्या अल्ट्रासाउन्डका सञ्चालक सुशील यादवलाई प्रतिवादी बनाएका छन् ।

गत माघ ३ गते पित्तथैलीमा रहेको पत्थरी निकाल्न मुस्कान अस्पतालमा पविताको शल्यक्रिया भएको थियो । यो अस्पताल सरकारी जागिरे हेल्थ असिस्टेन्ट कमल राइन आफू सल्लाहकार र श्रीमतीलाई सञ्चालक राखेर सम्बन्धित निकायबाट स्वीकृति नै नलिई कम्पनी राजिष्ट्रारको प्रमाणपत्रको भरमा खोलेका हुन् ।

पविताको सूर्या अल्ट्रासाउन्डमा चेकजाँच गराउँदा पित्तथैलीमा पत्थरी देखिएपछि सञ्चालक सुशील यादवले ललाईफकाई मुस्कान अस्पतालमा शल्यक्रिया गर्न पुर्याएको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा शल्यक्रियापश्चात पविताको होस नआएपछि भेन्टिलेटरमा राखेको, कुरुवालाई राम्रै छ भनी चिकित्सक साहले आश्वासन दिएको, तीन दिनपछि डा. साहले सिटी स्क्यान गराएर ल्याउन भनेको, गराएर ल्याएपछि सिटी स्क्यान पढ्ने डाक्टर नभएको भनी जवाफ दिएपछि उपचारमा लापरबाही भएको थाहा पाएको र त्यसपछि जनकपुरकै जानकी हेल्थकेयरमा लगेको उल्लेख छ ।

त्यहाँ उपचार सम्भव छैन भनी बाहिर लैजान भनेपछि २९ माघमा काठमाडौंको केएमसी अस्पतालमा लगेर भर्ना गराउँदा हालसम्म होस नआएको बुबा ब्रह्मदेव यादवले बताए । उपचारमा लापरबाही गर्ने अस्पतालसहित, चिकित्सकसहितलाई कारबाही र अहिलेसम्म छोरी पविताको उपचारमा भएको ३० लाख रुपैयाँ क्षतिपूर्ति र थप उपचारको व्यवस्था गर्न जाहेरीमा माग गरिएको छ ।

जाहेरीको कारबाहीबारे बुझ्न मंगलबार बुबा ब्रह्मदेव यादव, पविताका पति हरिपुर्वा नगरपालिका- ५ का अंगेश यादव र उनका आफन्त वीरेन्द्र अधिकारी जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका थिए ।

घटना भएपछि पविताको परिवार घर न घाटको भएको छ । न लापरबाही गर्ने अस्पतालले उपचार खर्च बेहोरको छ न त सरकार र प्रहरी प्रशासनबाट कुनै सहयोग पाएको छ ।

तर, मुद्दा शाखाका अधिकारीले अहिलेसम्म जाहेरीअनुसार घटनाको अनुसन्धान गरिरहेको र उपचार सम्बन्धित कसुर रहेकाले मेडिकल काउन्सिललाई अनुसन्धानसहितको पत्र पठाउने वा जिल्ला प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि विमर्श भइरहेको बताए ।

घटनाको बेला पनि उजुरी र पछि जाहेरी दिँदा पनि दोषीमाथि हालसम्म कुनै प्रकारको कारबाही नभएको पविताका बुबा ब्रह्मदेवको गुनासो छ ।

‘छोरीको अहिलेसम्म होस आएको छैन । उपचार गराउने पैसा छैन । प्रहरीमा घटनाकै बेला उजुरीपछि जाहेरी दिएँ । तर दोषीमाथि कुनै कारबाही भएको छैन । तर उपचार खर्च तिरेको छ,’ मंगलबार जिल्ला प्रहरी कार्यालय आएका बुबा ब्रह्मदेवले दुखेसो सुनाए ।

धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले घटना जटिल प्रकृति र संवेदनशील रहेको, घटना मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहको जानकारीमा समेत रहेकाले बुझेर कारबाही प्रक्रिया अघि बढाउने बताए ।

जाहेरी कारबाहीबारे बुझ्न मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका बायाँबाट क्रमशः पविताका पति अंगेश यादव र बुबा ब्रह्मदेव यादव।

घर न घाटका भए पविताको परिवार

गत माघ महिनामा यो घटना भएपछि पविताको परिवार घर न घाटको भएको छ । न लापरबाही गर्ने अस्पतालले उपचार खर्च बेहोरको छ न त सरकार र प्रहरी प्रशासनबाट कुनै प्रकारको सहयोग पाएको छ ।

उनका दुई स-साना सन्तान छन् । कमजोर आर्थिक अवस्थाका कारण पविताका पति अंगेश भारतमा मजदुरी गर्थे । घटना सुनेपछि कुरुवा बस्न घर फर्किए । उनले थोरै घरघडेरी धितो राखेर, गाउँघरबाट ऋण सापटी काढेर पविताको उपचारमा १० लाखभन्दा बढी रकम लगाइसकेका छन् ।

अब कुरुवा बसेर समेत खान नपुग्ने, केएमसी अस्पतालको हालसम्मको लाखौं उपचार खर्च तिर्न दबाब दिने र गाउँमा समेत ऋण र पैँचो नभेटेपछि उनी तनावमा छन् । १९ दिनदेखि केएमसी अस्पतालमा पविताको कुरुवा कोही छैनन् ।

दुई सन्तान र आफूलाई साँझ-बिहान खान समेत नपुगेको उनले बताए । अस्पतालले लाखौं उपचार खर्च लिएर आउन र बिरामी लैजान दबाब दिइरहेको अंगेशको गुनासो छ ।

पविताको घटनापश्चात् मुख्यमन्त्री सिंहले मधेशका ८ वटै जिल्लाका डेढ सयभन्दा बढी अस्पताल सहितका अवैध स्वास्थ्य संस्थामा छड्के गरी बन्द गराइसकेका छन् ।

‘मेरो हैसियत अनुसार घरघडेरी सबै धितो राखेर गाउँघरबाट ऋण र सापटी काढेर उपचारमा लगाएँ । अब कसैले ऋण र सापटी दिँदैन । मेरा दुई साना बच्चा छन् । उनीहरूलाई साँझ-बिहान खुवाउन समस्या हुन्छ । साथमा पैसा छैन, कुनै रात बिस्कुट खुवाएर सुताउनुपर्छ,’ अंगेशले भने ।

अस्पतालमा कुरुवा बस्दा उपचार खर्च तिर्न दबाब दिएकोले आफू घर आइपुगेको अंगेशले बताए । ‘काठमाडौं जाने भाडासम्म छैन । अस्पतालले अहिलेसम्मको सबै उपचार खर्च तिर्न फोन गरेर दबाब दिन्छ । नआए प्रहरी लगाएर समात्ने धम्की दिन्छ । म र मेरो बच्चा घर न घाटको भएका छौं,’ अंगेश पीडा सुनाए ।

उपचारमा लापरबाही गर्ने अस्पतालले मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि पनि उपचार खर्च नतिरेको, मोबाइल अफ गरेको र प्रहरीले पनि हालसम्म लापरबाही गर्नेलाई कुनै कारबाही नगरेको अंगेशको गुनासो छ ।

अनलाइनखबरले पहिलो पटक पविताको घटनाबारे समाचार सार्वजनिक गरेपछि मुख्यमन्त्री सिंहले अस्पतालमा छड्के गर्दै बन्द गर्न र पविताको सम्पूर्ण उपचार खर्च तिर्न निर्देशन दिएका थिए । अस्पताल बन्द गरे पनि उपचार खर्च १ लाख रुपैयाँ मात्र तिरेर सञ्चालक सम्पर्कविहीन बनेका छन् ।

पविताको घटनापश्चात् मुख्यमन्त्री सिंहले मधेशका ८ वटै जिल्लाका डेढ सयभन्दा बढी अस्पताल सहितका अवैध स्वास्थ्य संस्थामा छड्के गरी बन्द गराइसकेका छन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?