
अहिले बैंकिङ क्षेत्रको मनोबल अत्यन्तै कमजोर छ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरका लागि त्यसमा सुधार गर्नु मुख्य चुनौती हो । बैंकिङ क्षेत्रमा कोरोना महामारी र आर्थिक मन्दीको असर कायमै छ । त्यसबाट पार लगाउनेगरी नियामकीय कदमहरु चाल्नुपर्नेछ ।
साथै सुस्त रहेको अर्थतन्त्रलाई लयमा फर्काउनु पनि अर्को चुनौती छ । अर्थतन्त्र सुस्त हुनुमा अस्थिर राजनीतिक वातावरण पनि उत्तिकै जिम्मेवार छ । यी सबै पक्षलाई गहन विश्लेषण गरेर अर्थतन्त्र र बैंकिङ क्षेत्रको हितमा काम नयाँ गभर्नरले काम गर्नुपर्नेछ ।
डा. विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छैन । त्यसो हुँदा केन्द्रीय बैंक भित्रको नियमन तथा सुपरिवेक्षणको काम कसरी हुँदै आएका छन् भनेर बुझ्नका लागि केही समय लाग्न सक्छ । तर, अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको पछिल्लो अवस्थालाई हेर्दा बुझेर गरौंला भन्ने अवस्था छैन । त्यसैले पनि नवनियुक्त गभर्नरले केन्द्रीय बैंकका कर्मचारीहरूलाई एकाताबद्ध गराएर अघि बढ्नु पर्छ । राष्ट्रबैंकका दुई वरिष्ठ र क्षमतावान कार्यकारी निर्देशकहरु राजीनामा गरेर अवकाशका जाँदै गरेको सन्दर्भमा आन्तरिक व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण छ ।
नियमन तथा सुपरीवेक्षणलाई प्राथमिकतामा राखेर कडाइका साथ अघि बढ्दा समग्र वित्तीय क्षेत्रको सुधार सम्भव हुन्छ ।
अहिले बैंकिङ क्षेत्रमा ऋण नतिर्नेको संख्या धेरै छ । कर्जा तिर्नै पर्दैन भन्ने किसिमका अभियानहरु पनि चलेका छन् । त्यसको असर पनि बैंकहरूमा देखिएको छ ।
कर्जा तिर्ने क्षमता नभएर भन्दा पनि नचाहेर नतिर्ने ऋणी पनि छन् । त्यसले समग्र बैंकिङ प्रणालीमा कर्जाको डिफल्ट रेट बढाएको छ । कर्जा अशुलीको कमजोर भएसँगै खराब कर्जा र गैर बैंकिङ सम्पत्ति समेत बढेको छ । साथै, कर्जा डिफल्ट रेट बढेपछि बैंकहरू लगानी गर्न समेत डराएको अवस्था छ । यी समस्यालाई सम्बोधन गरेर बैंकिङ क्षेत्रको मनोबल पूर्ववत रुपमा फर्काउने वातावरण बनाउनुपर्ने देखिन्छ ।
बैंकिङ प्रणालीको खराब कर्जाले बैकहरुको नाफा समेत घट्न गएकाले उनीहरु दबाबमा छन् । त्यसलाई कसरी पूर्ववत् अवस्थामा ल्याउने भन्ने चुनौती छ ।
(अनलाइनखबरसँगको कुराकानीमा आधारित )
प्रतिक्रिया 4