News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डियन प्रिमियर लिग क्रिकेटमा सनराइजर्स हैदराबादले बेंगलुरुलाई ४२ रनले हरायो।
- हैदराबादले २३१ रनको योगफल बनाएको थियो भने बेंगलुरुले १८९ रन मात्र बनाउन सक्यो।
- बेंगलुरु अब नेटरनरेटमा तेस्रो स्थानमा झरेको छ र प्लेअफबाट बाहिरिएको छ।
१० जेठ, काठमाडौं । प्लेअफमा पुगिसकेर शीर्ष २ को होडमा रहेको रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादसँग हार बेहोरेको छ ।
हैदराबादले बेंगलुरुलाई ४२ रनले हराएको हो । हैदराबादले दिएको २३२ रनको बलियो लक्ष्य पछ्याएको बेंगलुरुले १९.५ ओभरमा अलआउट हुँदा १८९ रन मात्र जोड्यो ।
फिल साल्ट र विराट कोहलीले राम्रो सुरुवात गरेर एक समय लक्ष्य पूरा गर्न सक्ने अवस्थामा देखिएपनि हैदराबादले डेथ ओभरमा शानदार पुनरागमन गर्यो ।
साल्टले सर्वाधिक ६२ रन बनाए । कोहलीले ४३ रन बनाए । जितेश शर्माले २४ र रजत पाटिदारले १८ रन बनाए । एक समय १६औं ओभरमा १७३-३ को अवस्थामा रहेको बेंगलुरुले त्यहाँबाट १६ रन जोड्दा बाँकी सबै विकेट गुमायो ।
हैदराबादका लागि कप्तान प्याट कमिन्सले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । इशान मलिंगाले २ विकेट लिनुका साथै डारेक्ट हिटमार्फत शानदार रनआउट पनि गरे । जयदेव उनादकट, हर्षल पटेल, हर्श दुबे र नितिश कुमार रेड्डीले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २३१ रनको बलियो योगफल बनाएको थियो । इशान किशनले अविजित ९४ रनको पारी खेले । त्यसअघि अभिषेक शर्माले ३४, अनिकेत वर्माले २६ र हेनरिक क्लासेनले २४ रन बनाए ।
बेंगलुरुका लागि रोमारियो शेपहर्डले २ ओभरमा १४ रन दिएर २ विकेट लिए । भुवनेश्वर कुमार, लुंगी एंगिडी, सुयाश शर्मा र क्रुनाल पान्ड्याले १-१ विकेट हात पारे ।
यस हारपछि १३ खेलमा १७ अंक भएको बेंगलुरु नेटरनरेटमा पञ्जाब भन्दा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । प्लेअफबाट बाहिरिएपनि पछिल्लो खेलमा लगातार जित निकालेको हैदराबादको १३ खेलमा ११ अंक छ ।
अब शनिबारको खेलमा पञ्जाबले दिल्लीलाई हराए शीर्षस्थानमा उक्लनेछ भने शीर्ष २ को सम्भावना पनि बलियो बनाउनेछ ।
प्रतिक्रिया 4