+
+
Shares

रोल्पाली जारको साँचो कथा

बिरामी पति ओलीलाई खुवाउँदै, पूर्वपति घर्तीलाई सम्झँदै दुई वर्षअघि भीमाले सुनाएकी थिइन्, ‘कल(झगडा) गरेर (घर्ती) कालापार गया हुन्। जाने बेला (घर्तीले) ‘कि तँ मरेपछि घर आन्छु कि तँ पोइल गएपछि’ भनिकन गया हुन् ब भाइ।’

नवीन विभास नवीन विभास
२०८२ जेठ १२ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको सुदूर गाउँका जार सम्झनाले नेपाली सिनेमा क्षेत्रमा नयाँ कथा प्रस्तुत गर्यो।
  • फिल्म ‘जार’ इन्द्रबहादुर राईको कथामा आधारित छ र यसले जातीय सम्बन्ध र मित्रता दर्शाउँछ।
  • सिनेमा दृश्य र संवादलाई प्राथमिकता दिएर पुरानो समाजको झलक दिन खोजिएको छ।}

जार सम्झना हो, यो । नेपालको सुदूरपूर्व र पश्चिमको सुदूर गाउँका जार सम्झना । लाहुरे जार सम्झना सम्झँदासम्झँदै चाउरे जार सम्झना सम्झेको सम्झना । चाउरे जार सम्झँदासम्झँदै लाहुरे जार सम्झेको सम्झना ।

सुदूर गाउँका जार सम्झनाले अचेल नेपाली सिनेमा संसारमा जारी जार सिनेमा सम्झायो, जार सिनेमाले सुदूर गाउँका जारलाई । १३६ वर्ष पुरानो सत्य (?) घटनावाल इन्द्रबहादुर राईको ‘जारः भएकै एउटा कथा’मा आधारित फिल्म ‘जार’का रुद्रमान घले (सौगात मल्ल), हर्षजित रानामगर (अनुपविक्रम शाही) र ठूली थापामगर (गीताञ्जली थापामगर) को चर्चा जति थियो, करिब पैतालीस वर्षअघि सुदूर गाउँका गओन घर्तीमगर, रङ्स्याल झाँक्री (टीकाराम ओली) र भीमा मल्लको चर्चा पनि कम्ता थिएन । फरक यत्ति थियो–

लाहुरे जारभटार शहरका सिनेमा हलमा चर्चित थिए, चाउरे जारभटार गाउँघरका ‘खोलातोला’मा ।

–जार रुद्रमान काट्न भटार हर्षजितको हातमा जंगबहादुर राणाले थमाएको धारिलो खुकुरी थियो । जो गओनको हातमा पुग्दा हगुल्टा (अगुल्टो) भइसकेको थियो ।

हगुल्टाले जार लखेटे
फुलै फुल्छ बारैबार
जोवन एकै बार
हककक

मादल, झ्याली, पैजनको धुनमा नचारुले धुमधाम पाराले कल हाले । कल हाल्नु भनेको चर्को स्वरमा लामो समयसम्म कराउनु हो, पैसरी नाचको बीचबीचमा कल हाल्थे । खुकुरीमा धार हाल्न पाइन हाले जसरी पैसरी नाचमा पाइन हाल्नु नै पैसरी नाचको बीचबीचमा कल हाल्नु हो ।

केही बूढापाका र जैपाली माष्टर घर्तीडेरा खोलापारि जेठा अर्थात् गओन घर्तीमगरको घरभित्र पसे । घरबाहिर खलामा पैसरी नाच चालु थियो ।

‘जाँर छान’, कोहीले भने ।

‘कालापारे (कालापार भनेको भारत हो, भारतबाट फर्केको वा जाने कालापारे)को पाइला अचटेको जाँर पनि होला, तिह्वार(तिहार)को जाँर पनि होला’, एक जनाले बोल्दाबोल्दै अर्काले थपे, ‘जुन मिठो छ, त्यही छान ।’

जाँर छान भनेको घैंटोबाट जाँड निकालेर पिउन तयार बनाउनु हो । घर्ती घरको चुलोघारीमा चौकी (काठको पिर्का)मा बसी जाँड खाँदैथिए । चौकीमुन्तिर जैपाली माष्टर र बूढापाका बिछ्याएको काम्लोमा बसे । त्यसपछि घर्तीसँगै जाँड खान भर्ती भए । घर्ती भर्खरै कालापारबाट तिहार मान्न घर फर्केका थिए । त्यसैले उनको जीउमा कालापारे पाइजामा थियो ।

उत्तरी जैपाको सिंगो गाउँको पैसरी नाच्ने टोली घरबाहिर खलामा नाचिरहेको थियो– करिब पैंतालीस वर्षअघिको तिहारमा । तिहारभर गाउँका प्रत्येक घरमा यसरी पैसरी नाच्ने चलन थियो । घरमा मानिस नभए पनि ‘घरको मान राख्ने’ भनेर एकचाली नाच्ने चलन थियो । ननाचे उक्त घरको मान नगरेको, अपमान गरेको ठहर्थ्यो।

झ्याली र मादल तालमा गोडा नचाउँदा झर्ने पैजनको छेर्लाङछेर्लाङ आवाजसँगै कहिले हात त कहिले ढाड लचकलचक पार्दै जैपाली पैसरी नाच्न थाले । झल पर्न लागेको रातलाई च्वालझ्वाल च्वालझ्वाल मादल, झ्याली, पैजन र मुरली धुनले नसुत् भन्दै थियो ।

बूढापाका, घरपति घर्ती र जैपाली माष्टर चुलो वारिपारि बसेका थिए । ‘अच्छा लेकिन’ भन्दै घर्तीले सुनाइरहेका कालापारे समाचारलाई सितन बनाएर जाँड सुरुप्प पार्दैथिए । घर्तीले कालापारे दिल बहार बिंडी बाँड्दैथिए । चुलोमा खर्सुको दाउरा रापिलो राप दिएर बल्दैथियो ।

खोरे बल्द लोटी मरो,
पुच्छर जिउँदै छ
हककक

पैसरी नचारुले फेरि कल हाले । नचारुको कल पाल्लोपट्टि ताहिबाङ नै सुनियो होला ।घर्ती बाहिर निक्ले । मैराबाट नचारु रम्चाए । पैसरी नाचको अगुवा टीकाराम ओली नाचिरहेका थिए । आँखा ओलीमा अल्झनेबित्तिकै बिजुली गतिमा उनी घरभित्र पसे । झर्झराउँदो खर्सुको हगुल्टा हातमा लिएर निक्ले । चिल्लीबिल्ली सुरु भयो । झ्याली, मादल र मुरली धुन ठाउँको ठाउँ ठहरै पार्दै घाडाङघुडुङ आवाज निक्ल्यो ।

खलामा जान खट्केराबाट झर्ने बित्तिकै सेर्लाङसेर्लाङ पैजन धुनसहित ओली बिजुली गतिमा झिमिक्क भए । झर्झराउँदो यामानको खर्सुको हगुल्टावाल घर्तीले बिजुली गतिमै ओलीलाई पछ्याए । रम्चाउने र नचारुले तिनलाई पछ्याए ।

जंगबहादुर राणाले थमाएको खुकुरी घर्ती हातमा पुग्दा हगुल्टा भइसकेको थियो । राजा महेन्द्रले २०१९ मै भटार हातबाट खुकुरी खोसिसकेका थिए । घर्तीडेरा उत्तरी रोल्पाको जैपाको विभिन्न डेरामध्ये एक थियो । डेरा भनेको टोल हो । ती डेरा थरका आधारमा बनेका थिए ।

उत्तरी जैपाको सिंगो गाउँको पैसरी नाच्ने टोली घरबाहिर खलामा नाचिरहेको थियो– करिब पैंतालीस वर्षअघिको तिहारमा । तिहारभर गाउँका प्रत्येक घरमा यसरी पैसरी नाच्ने चलन थियो । घरमा मानिस नभए पनि ‘घरको मान राख्ने’ भनेर एकचाली नाच्ने चलन थियो । ननाचे उक्त घरको मान नगरेको, अपमान गरेको ठहर्थ्यो।

जैपाका रङनाम र रानीकोट दुई मूल टोल थिए । रानीकोटका तीन टोल घर्ती डेरा सहित भुराडेरा र रोकाडेरा थिए । भुराडेरा (लिखतमा अहिले बुढा) र रोकाडेराको बीचमा घर्तीडेरा थियो । बोलाए पनि सुनिने गरी नजिक थिए– रोकाडेरा र घर्तीडेरा बढीमा पाँच मिनेटको पैदल दूरीमा । त्यही रोकाडेराको झिडुङ सिरानमा ओलीको घर थियो ।

रङ्नाममा ओल्डेरा (ओलीडेरा), खर्काडेरा (खड्काडेरा) र ओखरबोटे पोनडेरा (पछि लिखतमा पुन) थिए । एक्लेपोन डेरा पनि थियो । खर्तीडेरा (खत्रीडेरा)मा बाँस्कोट, बाँठाकोप्चा र तीनदारे थिए । च्हुमाङ्ङेडेरा (चुनबाङबाट बसाइ आएकाले च्हुमाङ्ङेडेरा) र एक घर चन्द ठकुरी बस्ने ठाउँलाई रप्डाँरा भन्थे । रङ्नामका एक घर फुर्सा बाहुन (दाहाल) उनका छोराहरू हमालमा परिणतहुँदै रप्डाँरा झरेका थिए । पछि रप्डाँराबाट कोप्चीखेत झरे ।

‘रोकाडेरा बलबहादुर रोकामगर फ्वाजुको घरमा जारभटारको ढोगभेट भयो’ करिब पैंतालीस वर्ष पुरानो तिहार जैपाली माष्टर अर्थात् स्थानीय पूर्व शिक्षक देवप्रसाद पुनले सम्झिए, ‘भटार गओन घर्तीलाई जार टीकाराम ओलीले दाजु भनेर ढोग गरे, भटार गओनले भाइ भनेर माफी दिए । जारभटारलाई दाजुभाइ बनाएर मिलापत्र भयो ।’
ओली उमेरले घर्तीभन्दा जिनो(जेठो) थिए । तर जार भएकाले ओली त घर्तीका भाइ भएका थिए । घर्ती अहिले ७१ पुगे, ओली ७७ ।

घर्ती रोजीरोटीका लागि कालापार गएको बेला घर्तीपत्नी भीमालाई ओलीले ओलपेका थिए । घर्ती तीन वर्ष कालापार बसेर तिहारमा घर फर्केका थिए । सञ्जोग ! मिलापत्र भएको घर (रोकाडेरा बलबहादुर रोकामगरको घर) घर्ती र ओलीको पूर्व ससुराल थियो ।

घर्तीको त मामाघर पनि (मगर, ठकुरी समुदायमा मामाचेली बिहे गर्ने चलन नै थियो/छ) । बलबहादुरकी जेठी बहिनी आइतमाली ओलीले बिहे गरेका थिए, माइली मंगलीलाई घर्तीले । ओली साढुदाजु थिए, घर्ती साढुभाइ । आइतमाली बितेकी थिइन्, मंगली पोइल हिंडेकी । आइतमाली बितेपछि एक्ला ओली आफ्नो सिरीखुरी बलबहादुर परिवारमै मिसाएर आफू पनि त्यहीं बस्थे ।

सरकारी नियममा जारी नभए पनि अभ्यासमा भने जारी थियो । पोख्राढारा घनसिंह घर्तीमगर मुक्खे र बलबहादुर रोकामगरले घनातना, बिहे खर्च, धनमाल नाउँमा जारी मिलाएका थिए ।

‘त्यसबेला नगद पातलो थियो । झाँक्री बड्डाले काँसा, तामा, पित्तल जारीमा हाले’ ओलीका सौतेनी भाइ एवं घर्तीका सहोदर बहिनीज्वाइँ दलबहादुर बुढामगरले सम्झिए । ओलीले घर्तीलाई एक हजार रुपैयाँ बराबर नगद र फगत जारी तिरेको पनि सम्झिए ।

 ०००

भीमा तातापानीकी मल्ल ठकुरीपुत्री थिइन् । त्यसबेलाको पाछाबाङ गाउँ विकास समिति (अहिले परिवर्तन गाउँपालिका वडा नं. २) तातापानी । जो जैपाबाट करिब दुई घण्टा पैदल पश्चिममा थियो । भीमाले रप्डाँराका दिलबहादुर चन्दसँग बिहे गरेकी थिइन् । घर्तीले चन्दलाई एक हजार सात सय जारी तिरेका थिए । ओलीले घर्तीलाई एक हजार मात्र जारी तिर्नुका कारण थिए ।

एक, ओलीका कान्छा मामा जिबे खत्री (खर्तीडेरा) सिपाही थिए । त्यसबेला पनि सिपाहीको हाइदुहाइ चर्कै थियो । खत्री केवरीका मान्ने (नारायणप्रसाद चन्द, राष्ट्रिय पञ्चायत सदस्य भएकाले माननीय भन्दाभन्दै मान्ने)का सिपाही थिए । मान्नेले केही थान हवल्दार र सिपाही भर्ती गरेका थिए । नटेर्नेलाई कैद गर्न मान्नेले आफ्नै घरमा कैदखाना पनि बनाएका थिए ।

सिपाहीकै हाइदुहाइ थियो भने मान्नेको कति हुँदो हो ? तपाई अनुमान गर्न सक्नुहुन्छ । ओलीले सुनाए, ‘बड्डी त ठाकुरकी छोरी, मान्ने पनि ठाकुर । मान्ने त आफन्त पनि । मान्नेसँग कसले जवान लडाउनु र जारीको भाउ बढाउनु !’

दुई, भीमा दोस्रो जारिके थिइन् । त्यसैले पनि जारी कम भयो (दलबहादुर बुढामगरसँगको कुराकानी) ।

जारिके दोस्रो दर्जाको र कन्ने पहिलो दर्जा, कन्ने अब्बल र जारिके कमसल ‘भाष्य’ले भीमा सास न बास भएकी थिइन् ? प्रेम र महिला ‘अमैत्री’ नेपालको तथाकथित मूल धारे समाज सम्झेर भीमाको हालचाल जान्न तपाईंको मन खसखसाएको होला ।

जैपालाई तथाकथित मूलधारे संस्कृतिले पूरै पुरेको थिएन । सोध्नुहोला, मूलधारे भाष्य प्रभाव नै थिएन ? थियो । र त घर्तीको हातमा हगुल्टा पुग्यो । त्यसैले भीमालक्षित ‘तीन घरबारे’, ‘घाटघाटको पानी खाएको’ जस्ता महिला र प्रेम ‘अमैत्री’ शब्दवाण भीमाको मुखमा झरेनन् । पिठ्ठेपछि झरे होलान् ।

‘कल(झगडा) गरेर (घर्ती) कालापार गया हुन् । कालापार जाने बेला (घर्तीले) ‘कि तँ मरेपछि घर आन्छु कि तँ पोइल गएपछि’ भनिकन गया हुन् ब भाइ’ बिरामी पति ओलीलाई खाना खुवाउँदै, पूर्वपति घर्तीलाई सम्झँदै दुई वर्षअघि भीमाले सुनाएकी थिइन् ।

तथाकथित मूलधारे समाजले मुखमा नै भन्ने त विधवा, गरिब, दलितलाई हो । भीमा त झाँक्रीपत्नी थिइन् । आर्थिक रूपमा पनि झाँक्री परिवार निम्न मध्यम वर्गीय थियो । भीमा मैया थिइन् । त्यसैले तथाकथित मूलधारे संस्कृतिले खाएको समाजमा जस्तो भीमालाई साह्रोगाह्रो थिएन ।

‘कल(झगडा) गरेर (घर्ती) कालापार गया हुन् । कालापार जाने बेला (घर्तीले) ‘कि तँ मरेपछि घर आन्छु कि तँ पोइल गएपछि’ भनिकन गया हुन् ब भाइ’ बिरामी पति ओलीलाई खाना खुवाउँदै, पूर्वपति घर्तीलाई सम्झँदै दुई वर्षअघि भीमाले सुनाएकी थिइन् ।

आर्थिक रूपमा निम्न मध्यम वर्गका घर्ती घर्तीडेराका रैथाने थिए । ओली भने आफ्ना लाहुरे बा बितेपछि ६ वर्षको उमेरमा करिब २० किलोमिटर पूर्व राङ्सीबाट मावली देश सरेका थिए ।

‘खर्तीडेरे (दाहाल खत्री मावली)ले यता (जैपा) लिएर आए । के मावली हुँदाहुन्, ती खर्तीडेरे त पापी रहेछन्, भदै । उता(राङ्सी)बाट लिएको आठबीस (एक सय साठी) कम्पनी रुप्पे पनि खाइदिए । तीनदारे रातामाटा धामी (जेठा मामा) र बाठाकोप्चे(मामा)ले खाए । बदलामा ‘दर्ता छ’ भन्दै म्हाङ्ङेढारामा राखेछन्’ ठग मामाहरूलाई सराप्दै आफू रोकाडेरा पुगेको सम्झना ओलीले सम्झिए ।

जार होइन, मित्र

जार काट्ने कुचलन चलेको, त्यही कुचलन कानून बनेको नेपालमा जारको नकारात्मक ‘भाष्य’को भाउ कति उकालिएको हुँदो हो ? कल्पना गर्न सक्नुहुन्छ । त्यसैले मूलधारे खसआर्य संस्कृति हावी नेपाली समाजमा हदैसम्मको नकारात्मक सम्बन्ध भन्न जारको उदाहरण दिने चलन थियो । एकअर्कालाई देखी नसहने भन्थे, ‘के जारभटार जस्तो गरेको ?’ शत्रुताको पराकाष्ठा पढ्न ‘जोई लग्या जार जस्तो’ भन्थे ।

भन्थे, ‘कसरी हेरेको, जोई लग्देको जारलाई जसरी ?’ ‘कस्तो आँखा तरेको, जारलाई आँखा तरे जस्तो ।’ जारभटार सम्बन्ध जनाउन भन्थे, ‘म त फलानोलाई देखिखान सक्तैनँ, देख्यो कि टिम्की छुट्छ । मलाई त त्यो मान्छे देखें कि जोई लग्या जार जस्तो लाग्छ ।’ जारभटार भन्नेबित्तिकै ‘काटाकाट’ र ‘मारामार’मात्र बुझ्ने बुझाइ बनेको थियो ।जारभटारले एकअर्कासँग बोली बार्ने, घर बार्ने र बाटो काटेर हिंड्छन् भन्थे ।

घर्तीले बोकेको हगुल्टा प्रकरणले नेपाली शासक समाजमा चलेको जार ‘भाष्य’ले आदिवासी जनजाति मगर समुदायलाई पनि कसरी कायल पारेको थियो भन्ने प्रमाण थियो । मनोवैज्ञानिक दबाब र प्रभाव मगर मनमा घर गरेको गतिलो उदाहरण थियो । अर्कैलाई बढी माया गरेर पत्नी पोइल गइन् भन्ने तथ्यलाई मूलधारे समाजको जार भाष्यले घर्तीको हातमा हगुल्टा थमाएको थियो । भलै पछि घर्ती र ओलीले ‘जार’का तमाम भाष्य भत्काए ।

कसरी ?

एक, भन्छन् नि, भूराजनीति । वस्तुगत स्थिति । सञ्जोग ! घर्ती र ओली एकै गाउँ जैपाका दुई फरक टोलवासी थिए । जसका घर पाँच मिनेट पैदल दूरीमा थिए । घाँससोत्तर जाने जंगल एउटै थियो । भारी उठाइदिने पनि कोही त चाहियो । भन्नुपर्ने भयो, ‘आइजौ तो दाजु भारी धकेली देऊ ।’ वस्तुभाउ चराउने चरन पनि एउटै थियो ।

वल्लोपल्लो टोलमा बसेपछि सुखदुःख बिसाउने बिसौना पनि एउटै हुनेभयो । गाउँघरमा हुने जमघटमा पनि भेट हुने नै भयो । भेट हुने मात्र होइन, सँगै खाना पकाउने, पानी ल्याउने, दाउरा ल्याउने सबथोक पनि सँगै गर्न परिगो ।

कुराकानी र ख्यालठट्टा पनि गर्न परिगो । नयाँ घरको थारा छोप्दा होस् कि छानो छाउँदा होस्, भौरे भन्न परिगो । भौरे जान पनि परिगो । जन्म, बिहे, मृत्युमा भेला हुन परिगो । भेला भएर मात्र भएन नि, सँगै काम पनि गर्न परिगो । त्यसबेला नबोली भयो त ? सहकार्य नगरी भयो त ?

जारभटार भन्नेबित्तिकै ‘काटाकाट’ र ‘मारामार’मात्र बुझ्ने बुझाइ बनेको थियो ।जारभटारले एकअर्कासँग बोली बार्ने, घर बार्ने र बाटो काटेर हिंड्छन् भन्थे ।

वस्तुगत स्थितिले जारभटार बीचको दूरी घट्दैगयो । तिनले सकअसकमा एकअर्कालाई सघाउन थाले । आफू र आफ्नो परिवार सदस्य बिरामी हुँदा घर्तीले ओलीलाई मैलो हेराए । फुकफाक गराए ।

झाँक्री ओलीले घर्तीको मैलो हेरे । पाती पोछे (हनमन गर्दै बिरामीको जीउमा तितेपाती छुवाउँदै देउतालाई मनाउनु) । देउता उठाइदिए । गौरो फाले । घर्ती ओलीको घरमा गए । पूर्वपत्नीले छानेको जाँर खाए । माते । मातेपछि पूर्वपत्नीसँग सुखदुःख सुनाए । ओली घर्ती घरमा गए । घर्तीपत्नीले छानेको जाँर खाए । माते । घर्ती घरका बिरामी निको पार्न झाँक्री बसे ।

‘जारभटारले घर बारेनन्, बोली बारेनन् । भटार त जारको घरमा गएर चुलोघारीमा बस्छन् । पुरान्जोई (पूर्वपत्नी)ले छानेको जाँर खान्छन् । गफिन्छन् । जार पनि भटारको घरमा गएर चुलोघारीमा बस्छन् । झाँक्री बस्छन् । फुकफाक गर्छन् । जाँर खान्छन्’ ओलीका सौतेनी आमापट्टिका भाइ र घर्तीका बहिनीज्वाइँ दलबहादुर बुढामगरले जारभटारका सम्बन्ध सुनाए । ओलीका लाहुरे बा बितेपछि दलबहादुरका बाले ओलीकी आमालाई बिहे गरेका थिए ।

दुई, घर्ती र ओली मित्रता मूल ती बाँचेको समाज पनि थियो । जुन समाज मूलधारे हिन्दू संस्कृतिले सिर्जेको जारमाथिको चर्को नकारात्मक भाष्यभित्र तपाईंले सम्झेजति निक्लन नै नसक्ने गरी भास्सिसकेको थिएन । मूलधारे शासक संस्कृतिले डसी नसकेको मगर बहुल गाउँ थियो ।

जातका आधारमा मात्र ओली शासक खलकीय थिए, तिनको जीवनपद्धति शासकखलकी थिएन । मगर प्रभावित थियो । ओली त रोकामगरको रोकाडेरामा बस्थे । झाँक्री पनि थिए । भलै क्षेत्री त धामी बन्ने चलन थियो । ओलीकी हजुरआमा मगर थिइन् ।

घर्ती र ओली दुवैका केही साझा गुण थिए । दुवै कविमनका थिए । अर्थात् कोमल थिए । दिलदार थिए । गाउँथे । नाच्थे । ओली त पैसरी नाचको अगुवा थिए, गुरु पनि । घर्तीलाई त नयाँ पुस्ताले भन्थे, ‘लास्टै कमेडी’ गर्छन् । घर्ती हँसिमजाक गर्न खुङ्खार थिए । जारभटार सँगै गाउँथे । सँगै नाच्थे । सँगै हाँस्थे । सँगै रुन्थे । सँगै पैसरी नाच्थे ।

सँगै झाम्रे नाच्थे । जारभटार सँगै हाँस्थे । त्यसैले होला, एकअर्कालाई सहजै स्विकारेनन् मात्र, मूलधारे शासक संस्कृतिले बनाएको जार भाष्य नै भत्काए । र, मित्र बने । मन मिल्दासम्म पति–पत्नी हुने हो, मन नमिले विछोडिने हो । योभन्दा पर के छ र ?

सौगात र अनुपविक्रम अभिनित फिल्म 'जार'को टिजर सार्वजनिक – Online Khabar

प्रेम र मनलाई महान् मान्ने चरित्र रहलपहल रहेका समाजका दिलदार घर्ती र ओली थिए । त्यसमा पनि थप दिलदार त घर्ती थिए । शायद इन्द्रबहादुर राईले प्रेमप्रति सम्मान देखाउन, भटारले जारलाई माफी दिएको देखाउन भटार मगर र जार घले गुरुङ छाने होलान् । हर्षजित रानामगरले ठूली र रुद्रमानको प्रेमलाई सम्मान गर्दै माफी दिए । त्यसरी नै घर्तीले त ओलीलाई माफी मात्र दिएनन्, मित्र नै बने ।

‘भन्ने अर्थ केउ भदै, जोई लगेको जार गरे, आफ्नो बाउ मारेको बैरी गरे, ती त कैली आफ्नो हुन्न भन्छन् । तर हामी जारभटार त सधैं आफ्ना भएर बाँचिम्’, दुई वर्षअघि ओलीले ‘जार’ भाष्य कसरी भत्काए भनेर सुनाएका थिए । भाष्यले त जार र बा मारेको बैरी ‘कहिल्यै आफ्नो नहुने’ भन्थ्यो । भाष्य भत्काएर जारभटार सबभन्दा नजिकका मित्र बनेका थिए । ओलीले सुनाएको सन्दर्भले भन्थ्यो, जारभटार कहिल्यै नमिल्ने र काटाकाट हो ।

‘अहिले प भदै, हामी जारभटार दुइटै थला परिम् र । बड्डा पनि अखौजी भइकन बस्या छन्’ आफू जस्तै अस्वस्थ भटार घर्तीलाई सम्झँदै ओलीले आफूहरूको गहिरो मित्रता सम्झेका थिए, ‘बड्डा र मेरो जति नाम्रो सम्बन्ध योे दुनियाँमा कसको भयो होला र ?’

गाउँदै र नाच्दै हिंड्ने घर्ती लौरो टेक्दै मुस्किलले हिंड्थे । गीत गाउनुपर्ने र हँसिमजाक गर्नुपर्ने घर्तीको बोली नै नबुझिने भएको थियो । पक्षघातले थलिएका थिए । गीतमै फुल्ने घर्ती मन कति दुखेको होला, बोली नबुझिने भएपछि ?

जार भाष्य भत्काउने जार

मावलीले दुखे (आमा वा बा बितेपछि दुख बारेको मानिस)लाई नयाँ लुगा र टीका लगाइदिए । ढोगभेट चल्यो । दमाईले पनि ‘टीको फुक्यो’, ‘बाजा फुक्यो’ भने । त्यसपछि ‘दुखका दिन गए, सुखका दिन आए’ भन्दै सुल्टा तालमा दमाहा, सहनाई, छेल्लर बजाए ।

रुवावासी चिर्दै सुखान्ततिर लैजान गीत गुञ्जिन थाल्यो । मृत्युवियोग भुल्ने गीतको सहारा लिए होलान् । अधबैंसे एक मंगोल अनुहारकाले गाए, एक खसआर्य अनुहारकाले गला घाँसे । रुवावासी सुस्त भयो, गीत गुनगुन उकालियो । हाँसखेल वातावरणमा फेर्दै गीत झन् उकालियो–

कालो बाख्रा काटिकन मासु मिठो कणकण
तिम्रो छोरी पोइल गइन् सौतामाथि भन्छन्

बजानाबिना गाना झर्‍यो ।
बेलाबेलामा भने, ‘गला पनि बड्डा भइकन खड्डामा जान लाइगिछ, आन्न तो ।’

त्यसपछि हाँक्कहुक्क गर्दै गला खकारे ।
रम्चाउनेले भन्न थाले, ‘गला बस्यो कि के भयो ? अलिकति ख्वाल्ल पारेपछि आन्थ्यो कि ?’ हातको कटौरा बनाउँदै ‘तीनपाने’को प्रसंग उप्काए ।

रम्चाउने भनेको रमिता हेर्ने, दर्शकदीर्घा ।

‘दाजु तमी गाऊ, म गला घाँस्छु’, खसआर्य अनुहारकाले मंगोल अनुहारका अधबैंसेलाई भने ।

फिल्म 'जार'को ट्रेलर सार्वजनिक, २६ बैशाखमा प्रदर्शन तय – Online Khabar

‘होइन, झाँक्री तमी गाऊ, म गला घाँस्छु’, मंगोल अनुहारकाले भने ।

गला घाँस्नु भनेको मूल गायकले गाउँदाखेरि स्वरमा स्वर गाँस्नु हो । शायद गला गाँस्ने भन्दाभन्दै गला घाँस्ने भयो ।

मंगोल अनुहारका घर्ती थिए, खसआर्य अनुहारका ओली ।

साइनोले घर्ती मेरो भेना थिए, ओली फ्वाजु (फुपाजु) । सानोमा मेरो गलामा बुटी बाँधिदिने उनै ओली झाँक्री थिए । बच्चा बचाउन झाँक्रीले भान्ने चलन बाँकी नै थियो । जसले ‘झाँक्रीवादको सिला’ सम्झाउँथ्यो । भान्ने भनेको बेलाबेलामा सातोे कराउने र गलामा जडीबुटी पोको पारेको जन्तर झुण्ड्याइदिनु हो ।

जारभटारले गाएको झुस्ले फ्वाजुको शुद्धारीमा थियो । भटार घर्ती भेनाले गाए, ओली झाँक्री फ्वाजुले घर्ती गला घाँसे ।

एक मात्र मेरी फुपू तिर्सनाका श्रीमान् थिए, झुस्ले फ्वाजु । फुपू बितेको धेरै वर्ष भइसकेको थियो । फ्वाजुले राङ्सीबाट डाँगीकी छोरी बिहे गरेका थिए । ती फुपू ‘तम्रो फुपूको ठाउँमा म आएँ भदै’ भन्दै हरेक पर्वमा रक्सी, केरा, बेलौती बोकेर हाम्रो घरमा आउँथिन् ।

मेरो भेना साइनो लाग्ने गओन घर्तीमगरका श्रीमती फ्वाजु साइनो लाग्ने रङ्स्याल झाँक्रीले लगे । वल्लोपल्लो टोलवासी भएर कतिबार हिंड्नु बाटो काटेर ? कहिलेसम्म हिंड्नु अनुहार लुकाएर ?

फ्वाजुको जीउमा धेरै रौं उम्रेकाले गाउँलेले झुस्ले भन्थे । नाउँ त पूर्णबहादुर भुरामगर थियो । उनी भुराडेराका थिए । भुरा भन्दाभन्दै मानक खस नेपाली भाषा संस्कृतिले किचिमिची पारेर लिखतमा बुढामगर भएको थियो । उनै फ्वाजुको शुद्धारीमा दुःख भुल्ने बाटो पहिल्याउँदै जारभटारले गाएका थिए ।

तपाईंले देखेको फोटोमा गाइरहेका बायाँपट्टिका ओली र दायाँपट्टिका घर्ती थिए । बाँकी रम्चाउने ।

गाइरहेको त्यो फोटो झुस्ले फ्वाजुको शुद्धारीमा खिचेको थिएँ । २०७१ जेठ २५ गते मुहार किताबमा पोस्टिएको रहेछु– गाउँदै जारभटार । फोटो पेटबोली थियो– गाउँमा सधैं गाउन कहाँ पाइन्छ र ? भन्छन् नि, बेलामौकाले ।

मेरो भेना साइनो लाग्ने गओन घर्तीमगरका श्रीमती फ्वाजु साइनो लाग्ने रङ्स्याल झाँक्रीले लगे । वल्लोपल्लो टोलवासी भएर कतिबार हिंड्नु बाटो काटेर ? कहिलेसम्म हिंड्नु अनुहार लुकाएर ? मेलापात जाने पनि एकै ठाउँ, मेलापर्वमा भेटिने पनि ठाउँ एकै । गाउँमा मेलापर्व पर्दा यी दुई जारभटार मज्जाले गाउँछन् । जारले भटारलाई दाजु भन्छन् । बस्, जमघटमा गाउँछन् ।

फोटो प्रतिक्रिया मननीय थिए । रुकुम (पश्चिम) बाफीकोटबाट दाङ धर्ना झरेका पूर्व जनमुक्ति सेना जेबी ठकुरीको फोटो प्रतिक्रिया थियो, ‘असली लोकतन्त्रको नमूना !’
अर्को फोटो प्रतिक्रिया थियो, अमर मगरको । उनले लेखेका थिए, ‘पुरानो कुरा बिर्सनु नै महान् बानी हो ।’

०००

निर्देशक फुर्बाछिरिङ लामाको ‘जार’ जारी छ, नेपाली सिनेमा हलमा । हलमा हेर्नुअघि इन्द्रबहादुर राईको कथा युट्युबमा सुनें । ट्रेलर हेरें । कुनै बेला नाटकघरमा जारी ‘जार’ मिस गरेको थिएँ । त्यसपछि ? साहित्यिक कृतिमा बनेका फिल्म सम्झिएँ ।

सिनेमा हलमा पसेपछि घरीघरी ठूलीसँगै भीमा आइन् । रुद्रमानसँगै ओली र हर्षजितसँगै घर्ती आए । सञ्जोग, भटार त दुवै मगर थिए– राईको कथामा रानामगर, जैपाका घर्तीमगर । राईको कथाकी ठूली र फिल्मकी गीताञ्जली दुवै थापामगर थिए ।

जैपाकी भीमा ठकुरी थिइन् भने फिल्ममा खेलेका जारभटार दुवै ठकुरी (सौगात मल्ल र अनुपविक्रम शाही) । फिल्म हेर्दा र त्यसपछि पनि झस्काइरहे सोध्दै कि– जंगबहादुर राणाले जात व्यवस्थामा आधारित ‘अपराध’लाई लिखित कानून बनाएर दलित, आदिवासी जनजाति र महिलाका आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत कति तल पिंधमा पुर्‍याए ?

संस्कृति, कानून र प्रेम भन्नलाई गोर्खा विस्तार गरी शाह वंशलाई शिरमा सजाउँदा उजाडिएका दुई समुदाय मगर र गुरुङ परिवार फिल्ममा थिए । जंगबहादुर राणाको मृत्यु भएको १३ वर्षपछि (आजभन्दा १३६ वर्षअघि) एक गुरुङ परिवार पश्चिमबाट पूर्व बसाइँ सरेको सिनसँगै सिनेमा शुरू भयो ।

घले गुरुङको जेठो छोरो रुद्रमान इलाममा कालीबहादुर पल्टनको लप्टन थिए । पहिल्यै बसाइँ सरेको चिनजानका मगर परिवार इलाममै थियो । थापामगर र घले गुरुङ दुई लाहुरे बड्डाले लडाइँ सम्झिए । लखनऊ विद्रोह दबाउन गएको पनि सम्झिए । जुन विद्रोह दबाउन सहयोग गरेबापत नेपालले फिरंगी इष्ट इण्डिया कम्पनी सरकारबाट बाँके, बर्दिया, कैलाली र कन्चनपुर फिर्ता पाएको थियो ।

लाहुरे बड्डाहरूले भने, ‘यस्तो लडाइँ र युद्ध हाम्रा गोर्खालीहरूले अर्काका निम्ति कति लडिदिनुपर्ने हो कुन्नि ? हाम्रो त लुटिल्यायौं, भुटिखायौं पाराको जिन्दगी पो भयो ।’ हुन पनि पुष्पकमल दाहालहरूलाई सिंहदरबार सिंहासन दिलाउँदा मगर बस्ती फेरि उजाडिएको थियो । भलै शाह वंशलाई गद्दी दिलाउँदा बाह्र मगरात (गण्डकी पूर्व) उजाडिएको थियो भने दाहालहरूलाई गद्दीनसीन गराउँदा अठार मगरात (गण्डकी पश्चिम) ।

जसै मगर–गुरुङ परिवार मितेरी साइनोमा परिणत भयो तसै ठूली र रुद्रमानको प्रेम संकटग्रस्त भयो । मितेरी गाँसेपछि सिनेमामा द्वन्द्व उकालियो । रगत सम्बन्धजत्तिकै मितेरी साइनो । ठूली र रुद्रमानको बिहे असम्भव भयो । हर्षजित रानामगर र ठूलीको बिहे भयो ।

पछि रुद्रमान र हर्षजित जारभटार भए । जंगबहादुर राणाकृत १९१० को मुलुकी ऐनले भटारले जार काट्ने अधिकारलाई जानभानले प्रयोग गरे । अदल नम्बर १५ ले ‘काट्न हुने जारलाई जार काटी मार्छु भने पनी साधु (जार हान्ने पति) को खुसि’ भनेको थियो । पत्नी लगिदिने जार र पूर्वपति भटार । जार जति भटार शब्द नेपाली समाजमा स्थापित थिएन । मुलुकी ऐनले त जार हान्ने पति अर्थात् भटारलाई ‘साधु’ भनेको थियो ।

जार फिल्मको मूल विशेषता नै संवादलाई भन्दा दृश्यलाई बढी प्राथमिकता दिनु हो । दृश्य–भाषा शक्तिशाली छ । दृश्यहरूलाई त चित्रमा उन्दै निर्देशक लामाले जार सिनेमा सूत्रमा सुनाएका छन् ।

जार रुद्रमान र भटार हर्षजित १०० कदमको दूरीमा उभिए । जंगबहादुरको लिखित कानून अनुसार जानभानले जार काट्न आदेश दिए । खुकुरी उजाउँदै भटार हर्षजितले जार रुद्रमानलाई काट्न लघारे । ठूली पनि रुद्रमानसँगै दौडिइन् । बाटोमा बाघले हमला गर्‍यो । रुद्रमानले बाघ मारे । ‘ठूलीलाई मभन्दा माया तैंले गर्ने रहेछस्’ भनेर भटार हर्षजितले जार रुद्रमानलाई माफ दिए ।

ठूली र रुद्रमान प्रेमको जीत भयो ।

यो त भयो, फिल्मको कथासार । फिल्म कस्तो छ भन्ने होला ।

जार फिल्मको मूल विशेषता नै संवादलाई भन्दा दृश्यलाई बढी प्राथमिकता दिनु हो । दृश्य–भाषा शक्तिशाली छ । दृश्यहरूलाई त चित्रमा उन्दै निर्देशक लामाले जार सिनेमा सूत्रमा सुनाएका छन् । रङ र ध्वनि संयोजन पनि राम्रो । भूपाल राई, स्वप्निल स्मृति र हर्क साउदका शब्दलाई झुमा लिम्बू र गंगा थापाले सास भरेका छन् । गीताञ्जली थापा र सौगात मल्लको अभिनय खास्सा लाग्यो । र, अनुपविक्रम शाहीको अभिनय सन्तोषप्रद ।

सिनेमाले कुनै कृतिमाथि बनेको फिल्म कस्ता बने ? मूल कथालाई दृश्यमा उतार्दा कति छुट हुन्छ कति हुन्न ? जारले त्यो बहसको पनि माग बढाएको छ ।

सिनेमामा मलाई खट्केका केही खाँचा छन् ।

एक, सिनेमाका (मुख्य पात्र) गीताञ्जली थापा, सौगात मल्ल र अनुपविक्रम शाहीको अनुहारले राईको कथाका पात्र मगर र गुरुङ समुदायका अनुहार ‘प्रतिनिधित्व’ झल्किन्छ ? (भन्नुहोला, गीताञ्जली त थापामगर नै हुन् । जुन कथाको पात्र नै ठूली थापामगर हुन् ।)

जार'ले नेपाली चलचित्रमा उचाइमा लैजान्छ : निर्देशक लामा – Online Khabar

दोस्रो, राई कथाको कथान्तमा हर्षजित रानामगरले बोलेको संवाद छः यसको लागि (जोइ) तैंले आफूलाई बाघको मुखमा होमिदिइस् भने तँ मर्द होस् । मैले भन्दा तैंले माया गरेको रहेछस् । मलाई तँदेखि क्रोध छैन । यहाँ जंगलमा अक्षता–टीको छैन । मैले यही दुबो लगाइदिएर तिमेरु दुईलाई लोग्ने–स्वास्नी बनाइदिन्छु । अब तँ मेरो आफ्नै भाइ भइस् । अब तिमेरुलाई फर्काएर लैजान्छु ।

यो संवाद सिनेमामा छैन । यो संवादले भन्ने कुरा दृश्यमा देखाएको पर्याप्त छ ? दृश्यले कथाको संवादले भन्ने कुरालाई न्याय गरेको छ ?

तेस्रो, पात्रहरूले लगाउने पहिरन, बोल्ने शैली र रहनसहनले १३६ वर्ष पुरानो समाजको झल्को दिन्छ या दिने प्रयास पर्याप्त छ ?

यी तीन मलाई खट्केका खाँचा हुन् ।

०००

जार सिनेमा हेर्दाहेर्दै भीमा, ओली र घर्ती आँखामा आए । भलै रुद्रमान र हर्षजित जस्ता लाहुरे थिएनन्, घर्ती र ओली । घर्ती र ओली त चाउरे थिए । घर्ती र ओली जार जस्ता थिएनन् । भटार जस्ता थिएनन् । घर्ती र ओली जारभटार थिए, घर्ती र ओली जारभटार थिएनन् पनि । जारभटार भन्दा घर्ती र ओली त मित्र थिए । असल मित्र ।

कथामा रुद्रमान र हर्षजित मितिनी साइनोले जारमा परिणत भएको ठीक विपरीत घर्ती र ओली जारबाट मित्रमा परिणत भएका थिए । जार भाष्य भत्काएका थिए । त्यसैले तिनका कथा इन्द्रबहादुर राईको जस्तो ‘जारः भएकै कथा’ होइन । तिनका कथा त ‘जारः (न)भएकै कथा’ हो । मेरो मन खसखसाएको खसखसाएकै छ, जार भाष्य भत्काउने घर्ती र ओलीका मित्रता र प्रेम सिनेमा बने, कस्तो सिनेमा बन्ला ?

लेखक
नवीन विभास

नवीन विभास लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?