News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव र सगरमाथा दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भयो ।
- मैत्रीपूर्ण खेलमा नेपाल र चीनको सगरमाथा आरोहीहरु मैदान उत्रेका थिए ।
- सगरमाथा फ्रेन्डशिप टिम (नेपाल) ले माउन्ट चोमोलोङ्मा फुटबल टिम (चीन) लाई ४-१ गोलले हरायो ।
१४ जेठ, काठमाडौं । हिमाल चढ्ने बुट, क्राम्पोन, आइस एक्स (बरफ काट्ने बञ्चरो), रोप्स (डोरीहरु), सुरक्षा उपकरणहरु, हेडवेयर, ग्लोभ्स लगाएर हिमातिर जाने आरोही बुधबार फुटबल खेल्न जर्सी र बुट लगाएर मैदान उत्रिए ।
उनीहरु हेर्दा राष्ट्रिय टिमकै खेलाडी जस्ता देखिन्थे । तर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबारको दृश्य भने फरक थियो ।
विश्वकै अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेका आरोहीहरु एन्फा मैदानमा फुटबल प्लेइङ किट्समा खेलाडी जस्तै देखिन्थे । उनीहरु खेलका लागि बिहानै देखि वार्म अफ गरेर तयार भइसकेका छन् ।
मैदानमा खेल्ने टिम थियो सगरमाथा आरोहण गर्ने नेपाल र चीनका आरोहीहरु सहितको दुई टोली । नेपालको तर्फबाट सगरमाथा फ्रेन्डशिप टिम र चीनको तर्फबाट माउन्ट चोमोलोङ्मा फुटबल टिम बनाएर प्रतिस्पर्धा गराइएको थियो । दिप गुरुङको दुई गोल मदतमा नेपाली आरोही टोलीले चिनिया आरोही टिमलाई ४-१ ले हरायो ।
सगरमाथा आरोहीबीचको खेल भएपनि यस खेल पूरा ९० मिनेट नै खेलाइएको थियो । जसमा ४५-४५ मिनेटको दुई हाफ गरेर खेलाइएको छ ।
नेपाली आरोही टिमले दुई गोल गरेपछि चिनिया आरोही टोलीले एक गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाएको थियो । तर नेपालको तर्फबाट थप दुई गोल हुँदा सहज जित हात पार्यो ।
‘फ्रेण्ड्ली फुटबल म्याच’ नाम दिइएको यस खेल नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसर र अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०८२ को सम्मानमा खेलाइएको थियो ।
अल्पाइन र अल्पाइन स्पोर्टमा काम गर्ने अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपालको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा उक्त खेल आयोजना भएको थियो ।
खेलाडीहरु पनि निकै उत्साहका साथ मैदानमा प्रतिस्पर्धा गरिरहेका थिए । उनीहरु कुनै राष्ट्रिय टिम वा क्लब स्तरको टिमले खेलेको जस्तै मैदानमा प्रतिस्पर्धा गरिरहेका थिए । नेपालको तर्फबाट दुई गोल गरेका दिपन गुरुङले पहिलो पटक यसरी फुटबल खेल्न पाउँदा निकै खुशी लागेको बताए । ‘आयोजकहरुलाई धेरै धेरै धन्यवाद । पहिलो पटक यो (एन्फा) मैदानमा आएर यसरी खेल्न पायौँ,’ गुरुङले भने, ‘माउण्ठेन चढ्न नि खुट्टा बलियो हुनुपर्छ । फुटबल खेल्न पनि खुट्टा बलियो हुनुपर्छ । आरोहीहरुले फुटबल खेल्दा अझ धेरै फाइदा हुन्छ ।’
फुटबल खेलेको उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ राजदुत चेन सोङ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ,अल्पाईन स्पोर्ट्स फेडेरेसनका उपाध्यक्ष रोमनाथ ज्ञवाली लगायतको उपस्थिती थियो।
अल्पाइन स्पोर्ट्स फेडेरेसनका महासचिव प्रतिक क्षेत्रीले पहिलो पटक आयोजना भएपनि फुटलब खेल सफलपूर्वक सम्पन्न भएको बताए । ‘दुवै टिमका सगरमाथा आरोहीहरुले प्रतिस्पर्धात्मक खेल खेले । सोचे भन्दा राम्रो खेल भयो ।’
‘युनाईटेड बाई माउण्टेन, बोण्डेड थ्रु फुटबल’ भन्ने नाराका साथ खेलाइएको यस खेलबाट दुवै राष्ट्रका सगरमाथा आरोहीहरुले आफ्नो भावना र अनुभव साट्ने अवसर पाएका थिए । नेपाली सगरमाथा आरोहीहरुले पहिलो पटक यसरी फुटबल खेल्न पाएको भन्दै आयोजक र सबैलाई भन्यवाद दिए ।
यस मैत्रीपूर्ण फुटबल खेलले खेलकुदको विश्वव्यापी भाषामार्फत मित्रता, आपसी सम्मान र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको आयोजक अल्पाइन स्पोर्ट्स फेडेरेसनले जनाएको छ । जसले विश्वकै चर्चित पर्वतारोहीहरूलाई शिखरतिरको यात्राभन्दा बाहिर पनि भावनात्मक रुपमा जोड्न मदत गरेको थियो ।
यसैगरी खेलअघि विशेष आकर्षणको रुपमा ‘समिटियर्स फुटबल हस्ताक्षर समारोह’ पनि भएको थियो । जहाँ नेपाल र चीनका सगरमाथा आरोहीहरुले आरोहीहरुले बलमा सामूहिक रुपमा हस्ताक्षर गरेका थिए । त्यसले एकता र आपसी सम्मानको प्रतीक प्रस्तुत गरेको छ ।
तस्वीरहरू : विकास श्रेष्ठ
प्रतिक्रिया 4