
News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेले अनेरास्ववियु २४औँ महाधिवशेनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ।
- महासचिव पोखरेलले जेठ २५ गतेदेखि हुने महाधिवशेनमा उमेर हद ३२ वर्ष लागू गर्न निर्देशन दिएका हुन्।
- संगठनका सबै तहका कमिटीमा लागू हुने गरी विधानमा आवश्यक व्यवस्था मिलाउन भनिएको छ।
१६ जेठ, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अनेरास्ववियु २४औँ महाधिवशेनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ । महासचिव शङ्कर पोखरेलले अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई परिपत्र गर्दै यही जेठ २५ गतेदेखि हुने महाधिवेशनमा नै उमेर हद ३२ वर्ष लागू गर्न निर्देशन दिएका हुन् ।
मल्लले महासचिव पोखरेलको परिपत्र आज प्राप्त भएकाले आसन्न महाधिवशेनबाट उमेर हद लागू गर्ने जानकारी दिए । एमालेको यही जेठ ११ गते बसेको सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हद तोक्ने निर्णय गरेका थियो ।
परिपत्रमा भनिएको छ, ‘३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरु मात्र विधानको व्यवस्थाअनुरुप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने, यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरु अर्को महाधिवेशन नभएसम्म पदमा कायम रहन सक्नेछन् ।’
परिपत्रमा ३२ वर्षे उमेर हदसम्बन्धी व्यवस्था सङ्गठनका सबै तहका कमिटीमा लागू हुनेगरी विधानमा आवश्यक व्यवस्था मिलाउनसमेत भनिएको छ । यसअघि नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु (क्रान्तिकारी)ले ३२ वर्ष उमेरहद तोकेका थिए ।
एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेरहद तोकेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा २८ वर्षे उमेर हद तोकिएको छ । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।
प्रतिक्रिया 4