+
+
Shares
पुस्तक समीक्षा :

ब्राकेटबाहिरको संसार : बाकसमा फर्किनेहरूका निम्ति देश कहाँ छ ?

राजकुमार बानियाँ राजकुमार बानियाँ
२०८२ जेठ १९ गते ७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘प्रवासीको देश हुन्न’ संग्रहमा १४ कथामा प्रवासी जीवनका अनुभव र सामाजिक सन्दर्भहरू प्रस्तुत छन्।
  • संग्रहले प्रवासी नेपालीहरूको आवाज र अभियानलाई प्रतिनिधित्व गर्दछ र नयाँ धार र शैलीसहित आएको छ।

प्रवासी जनजीवनका बारेमा एक दशकयता थुप्रै पुस्तक लेखिएका छन् । तर जति पटक ओल्टाइपल्टाइ गरे पनि तिनमा भेटिने भनेको प्रवासी जीवनका ऊहापोह, भावुकतामय भावना, भक्कानो र रोइलो नै हो । झिलिमिली सम्झना भएको तर रोइलो नभएको, सामान्यताभित्रको असामान्यता जाँच्ने अनि प्रस्तुतिमा नयाँ धार र शैलीसहित आएको कथासंग्रह हो– ‘प्रवासीको देश हुन्न’। संग्रहको नामकरणमै त्यसको झिल्कोसँग साक्षात्कार हुन्छ ।

‘प्रवासीको देश हुन्न’ मा संगृहीत १४ कथामा पंचम अधिकारीले परदेशका कथाहरू त भइहाले, विश्व-व्यवस्था, मानव-सम्बन्ध र सामाजिक सन्दर्भमा आफूलाई कसरी परिभाषित गरिन्छ भन्ने सवाल-जवाफ खोज्ने घरदेशका कथाहरू पनि लेखेका छन् । लामो प्रवासी जिन्दगी बिताएकाले होला, पंचमका कथामा पश्चिमा साहित्यिक शैलीहरूको औंठाछाप छ।

खासगरी ‘प्रवासीको देश हुन्न’ कृतिनाम कथाले विचारको हिसाबमा पूरै संग्रहको भाव बोकेको छ । प्रवासी नेपाली साहित्यमा धेरै पुस्तक लेखिएका छन्, तर प्रवासी नेपालीहरूको आवाज र अभियानको प्रतिनिधित्व हुने गरी उत्कृष्ट साहित्य खासै लेखिएको थिएन । गैरआवासीय नेपालीहरूको भाव र बहाव अनि अभियानको सगोल प्रतिबिम्ब ‘प्रवासीको देश हुन्न’ मा अभिव्यक्त भएको छ ।

काठमाडौं एयरपोर्टमा एक प्रवासीको झमेला हुन्छ, हरियो पासपोर्टको । यो कथामा पश्चिमा देशहरूमा जाने नेपालीहरूले अनुभव गर्ने ‘पहिचानको संकट’ र अरब, मलेसियातिर ‘दाल-भात-डुकू’ का निम्ति जाने नेपालीहरूको नियतीलाई सजीव रूपमा प्रस्तुत गरिएको छ ।

पंचमका कथापंक्ति मर्मभेदी छन्- ‘बाकसमा फर्किनेहरू, विदेशमै गाडिनेहरू र परदेशको जेलमा सड्नेहरू, उनीहरूका निम्ति देश कहाँ छ…? यदि देश भनेको माटो वा भू-भाग हो भने यिनीहरूका निम्ति एउटा बाकस नै भू-भाग हो हजुर । यदि देश भनेको झण्डा वा ध्वजापताका हो भने यिनीहरूका लागि बाकसको बिल्ला नै झण्डा हो हजुर । आखिर के रै’छ र जिन्दगी ! फकिरको घर हुन्न, प्रवासीको देश हुन्न।’

संग्रहको अर्को उत्कृष्ट कथा हो- ‘नेहा’। न्यूयोर्कबाट फर्किएकी प्रख्यात ब्यूटिसियन नेहालाई आफ्नै आदर्शमा काठमाडौंमा भुल्ने ठाउँ चाहिएको थियो। संघर्षपूर्वक उसले काम पाइ र प्रतिष्ठा पनि । ऊ सौन्दर्य सेलेब्रिटीका रूपमा चर्चित भइ । कलिउड र बलिउडदेखि हलिउडसम्मका स्टारहरू नेहाका ग्राहक थिए ।

हलिउड स्टारसँगको भेटलाई कथाकारले विनोदपूर्ण रूपमा प्रस्तुत गरेका छन् । नेहाको जीवन-दर्शनमा जवानीमा बिहे गर्ने, लोग्ने हुनुपर्ने र बच्चा पाउने कुरा समाजको माकुरी-जालो थियो । तर, चालीस नाघेपछि ‘मिडलाइफ क्राइसिस’ शुरू हुन्छ ।

एक्काइसौं शताब्दीका नवीन आख्यान प्रवृत्तिहरूले साहित्यलाई अधिक समावेशी, बहुआयामिक र अन्तर्सम्बन्धित बनाएको छ । यी प्रवृत्तिहरूले पाठकलाई नयाँ परिप्रेक्ष्य र विचारधारामा डुबाउँछन् अनि समकालीन समाजका जटिलताहरूलाई चित्रित गर्छन् । चिमामान्डा नगोजी आदिचीका कथामा अफ्रिकी प्रवासीहरूको अनुभव, जातीयता र आप्रवासी जीवनको चुनौतीलाई सजीव रूपमा प्रस्तुत गरिएका हुन्छन् । आदिचीको लय समात्दै पंचमले स्वदेश फर्केकी नेहाको संघर्षलाई व्यक्तिगत मात्र नभई सामूहिक चेतनाको कथाका रूपमा प्रस्तुत गरेका छन्।

त्यस्तै कथामा नयाँ धार देखापरेको छ, ‘इडियट’ कथामा । आडम्बरी जीवनको हो यो कथा । प्रवासमा पार्ट-टाइम प्रेमिकाको प्यारमा पुलकित हुन नसकेको प्रोटगनिस्ट मिड-फाइफ क्राइसिसमा जाकिएको छ । यस कथामा मानवीय जीवनमा आइरहने दैनिक संकट र मोहभंगको वर्णनका साथै आत्म-सचेतना र अस्तित्वगत मूल्यको विवेचना छ ।

परम्परागत कथा र संरचनात्मक ढाँचाबाट बिलकुल अलग छ, ‘इडियट’ । यस मनोब्लग कथामा गहिरो मनोविश्लेषणात्मक र दार्शनिक विचारहरू पाइन्छन्– जस्तै: चेतना, पीडा, आत्म-संवाद, आत्म-चिन्तन र अर्थको खोजी । समकालीन अमेरिकी साहित्यमा डेविड फोस्टर वालेसको लेखनमा पोस्टमोडर्निजमको पुनराविष्कार पाइन्छ । उनले उत्तराधुनिकतामा नयाँ मानवीय इमानदारी (सिन्सेरिटी) को झिल्को थपे।

वालेसले लेखनमा जीवनको आइरोनी अर्थात् विडम्बनालाई आत्मसात् गरे पनि त्यसको सीमितता देखाएर नयाँ, गहिरो संवेदनशीलता ल्याउन खोजे । ‘इडियट’ कथामा वालेसको यही प्रवृत्तिको छाप पाइन्छ । पंचमले कथामा वालेसले जसरी फुटनोट र मेटाफिक्सनको धेरै प्रयोग नगरे पनि वालेसको लेखन धारलाई समातेका छन् । नेपाली कथा-साहित्यमा यो नितान्त प्रयोग हो।

त्यसैगरी अमेरिकामा हुर्केको नेपाली बच्चा नेपाल फर्कंदाको ‘सानो सेक्रेट’, एक होनहार प्रतिभाको अन्त्य ‘यो बर्बादी’ र नेताकी छोरीको गुन्डा नाइकेसँगको प्रेमप्रसंग ‘घातक आकर्षण’ फरक कथावस्तुमा बुनिएका उत्कृष्ट कथा हुन्।

असङ्गत चाहनाको असङ्गत मिलापत्रमा अल्झेको छ- ‘पिकासो केटी’ । समकालीन पश्चिमा साहित्यिक आख्यानमा रहस्य र अनौठोपनका घटनाहरू प्रमुख स्थानमा भए जस्तै ‘पिकासो केटी’ मा यथार्थ र कल्पनाको सिमानालाई धूमिल पारिएको छ । ‘पिकासो केटी’ कथामा उनी शाही रगतको साइनो खोज्छन् र एउटी अजीबकी केटीको सनकी मानसिकताको चित्रण गर्दा कतै चुलबुले त कतै जुद्धशमशेरको भँगेराको मासुप्रेमसम्म खोतल्छन् । उनले यथार्थ र जादुई यथार्थवादको लेपनमा अनौठो घटनाहरूको मिश्रण गरेर एक अनौठो संसारमा लगेका छन्।

यौन मनोविश्लेषण गरिएको कथा ‘तिम्री स्वास्नी’ फरक स्वादको छ । यसमा हत्ते गरेर पाएको स्वास्नीलाई कस-कसले पो आँखा लगाउँछन् ! स्पानिस विरासत बोकेर अमेरिकी साहित्यमा पहिचान बनाएका लेखक जुनोट दियाजका अधिकांश कथा डोमिनिकन गणराज्यबाट अमेरिका आएका आप्रवासीहरूको अनुभवमा आधारित हुन्छन् ।

उनी आप्रवासीको संघर्ष, पहिचान संकट, भाषा र संस्कृतिको द्वन्द्वलाई गहिरो रूपमा उजागर गर्छन् । पंचमका ‘तिम्री स्वास्नी’, ‘फिरन्ते अनुराग’ लगायतका कथामा जुनोट दियाजको लेखकीय शैलीको प्रभाव देखिन्छ। यी कथामा चोटिलो, द्रुत गतिमा बहने वाक्यहरू र कहिलेकाहीं ठाडो अनि हक्की भाषाशैलीको प्रयोग छ।

चिमामान्डा नगोजी, जुनोट दियाज जस्ता लेखकहरूले विश्वसाहित्यमा सांस्कृतिक पहिचानको खोज उत्कृष्ट ढंगले गरेका छन् । विश्वव्यापीकरण र प्रवासनका साथै बहुसांस्कृतिक प्रभावले प्रमुख स्थान पाएको छ । त्यस्तै हारूकी मुराकामीका कृतिहरूमा जापानी र पश्चिमी संस्कृतिहरूको मिलन, सरलता र गहिरो दार्शनिक प्रश्नहरूको अन्वेषण छ । उनी आधुनिकता, अस्तित्ववाद र अलौकिकताको गहिरो मिश्रणले जादुई यथार्थवादका चखिला कथा बुन्दछन् ।

यी सबै लेखकका शैली अत्यन्तै सरल र तरल छन् । पंचमका कथाहरूमा पनि एक्काइसौं शताब्दीका यिनै लेखकहरूको गहिरो प्रभाव छ । र, उनीहरूको धारलाई नेपाली साहित्यमा उस्तै सरल, सरस र गतिशील रूपमा नेपाली कथावस्तुमार्फत पस्केका छन् । शब्दको चतुर्‍याइँ र विचारको बठ्याइँ वैश्वीकरणको नयाँ धारमा बगेका छन् । त्यसबाहेक डेविड फोस्टर वालेसका लेखनमा जस्तो पोस्टमोडर्निजमको पुनराविष्कारमा समेत उनले रूचि देखाएका छन् ।

डिजिटल युग, सामाजिक परिवर्तन र सांस्कृतिक विविधताका मुद्दाहरूमा विश्वसाहित्यका समकालीन लेखकहरूको योगदान रहँदै आएको छ । पारम्परिक कथा संरचनाहरूभन्दा पर, समकालीन लेखनले मनोविज्ञान र अस्तित्ववादका गहिरा प्रश्नहरूलाई अन्वेषण गर्दछ । यी कृतिहरूमा लेखकको व्यक्तिगत आवाज र अनुभवको शक्तिशाली प्रयोग हुन्छ ।

पंचमका जीवनका धेरै अनुभवको हिस्सा यी कथाहरूमा मिस्सिएका छन् । उनका कथाहरूमा नेपाली र पश्चिमी संस्कृतिहरूको मिलन र गहिरो दार्शनिक प्रश्नहरूको अन्वेषण छ । मनोविज्ञान र अस्तित्ववादका गहिरो प्रश्नहरूको खोज छ । अनेक उपमा र विशिष्ट गद्यको मोहित पार्ने कथ्य पढ्नुको मज्जा भिन्नै छ । खासगरी हरेकजसो कथाको उठान र बैठानमा कथाकार खरो उत्रेका छन् ।

त्यसो त कथाकार बाँच्ने भनेकै तिनै केही उत्कृष्ट कथाहरूमा हो । प्रस्तुत संग्रहका पनि सबै कथा समान कद-काँठीका छैनन् । विश्वसाहित्यका नामूद कथाकारहरूका संग्रहमा पनि सबै कथा अब्बल भेटिँदैनन् । सामान्यतया कथा-संग्रह एक तिहाइ उत्कृष्ट, एक तिहाइ मझौला र एक तिहाइ औसत कथाहरू हुन्छन् । यसअघि ‘पथिक प्रवासन’ उपन्यास ल्याइसकेका पंचम पनि यसबाट मुक्त छैनन् ।

नेपाली साहित्यमा अझै पनि लेखनभन्दा लेखकको व्यक्तिगत सम्पर्क र सामीप्यले पुस्तकको परख हुन्छ । यसले गर्दा मोफसल र प्रवासमा बस्ने लेखकहरू साहित्यिक भनसुनबाट टाढा हुन्छन् । अनि काठमाडौंको साहित्यिक वृत्तले फिँज नभएको सोडामा स्वाद खोजेर विश्वसाहित्यको आनन्द कहाँ पाओस् !

प्रवासका कतिपय लेखकले आउट अफ बक्स सोचिरहेका छन्, ब्राकेटबाहिरको दुनिया देखिरहेका छन् र लेखिरहेका छन् । यस संग्रहमार्फत पंचम अधिकारी समकालीन डायस्पोरिक नेपाली साहित्यमा एक सशक्त स्वर बनेर आएका छन् । उनले विश्वसाहित्यको धार र प्रवृत्तिबारे उधारो होइन, नगदी सन्देश बोकेर ल्याएका छन् ।

नयाँ भनेको नयाँ विषयवस्तु मात्र होइन, तिनको सोच, शैली, धार र प्रस्तुति पनि हो । बाबा आदमले स्याउ टोकेको पालाको कथा-वाचनले सिंगै किताब पढ्दा पनि कथा हो कि किस्सा भन्ने भेउ नै नपाउने स्थिति रहन्छ ।

साहित्यमा नयाँपन वा नयाँ धार दिन लेखन तिखार्ने, टल्काउने र सिंगार्ने तमाम काम त छँदै छन्, जीवन र जगतबारे लेखकीय विचार, दर्शन र चिन्तनको खान्की-खुराकी पनि चाहिन्छ । त्यसको एउटा बलियो साहित्यिक दशी ‘प्रवासीको देश हुन्न’ ले छाडेको छ।

लेखक
राजकुमार बानियाँ

बानियाँ लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?