+
+
Shares

पतञ्जलिमा मैले कुनै बेठिक काम गरेको छैन : माधव नेपाल

‘पतञ्जलिजस्तो संस्थामा त्यस्तो भएको होला भन्ने मैले कल्पना पनि गर्ने कुरा भएन । जग्गा खरिद प्रकरणमा यताउता र अनियमितता भएको भए त्यो कर्मचारीबाट भएको होला । मेरो संलग्नता छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १५:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै बेठिक काम नगरेको बताए।
  • उनले अनियमितता भए त्यो कर्मचारीले गरेको हुन सक्ने र आफूले संलग्नता नभएको बताए।
  • नेपालले कानुन व्यवसायीहरूसँग परामर्श गरी थप धारणा सार्वजनिक गर्ने बताएका छन्।

२२ जेठ, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै बेठिक काम नगरेको बताएका छन् ।

रौतहटस्थित पार्टी कार्यालयमा बिहीबार प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री नेपालले अनियमितता भएको भए कर्मचारीले गरेको हुनसक्ने बताए ।

‘पतञ्जलिजस्तो संस्थामा त्यस्तो भएको होला भन्ने मैले कल्पना पनि गर्ने कुरा भएन,’ उनले भने, ‘जग्गा खरिद प्रकरणमा यताउता र अनियमितता भएको भए त्यो कर्मचारीबाट भएको होला, मेरो संलग्नता छैन ।’

नेपाली जनता स्वस्थ रहून् भनेर आफूले पतञ्जलिका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको उनको भनाइ छ ।

‘कसैले कसरी के-के लुपहोल्सहरू राख्यो, त्यो लुपहोल्समा ध्यान पुग्यो पुगेन, यावत कुराहरूको बारेमा राम्ररी नबुझी म केही भन्न सक्दिनँ,’ उनले थपे, ‘मैले त आफ्नो तर्फबाट कुनै बेठिक काम गरेको पनि छैन । मेरो त दिमागमा रहेको पनि होइन ।’

उनले आफूले अहिलेसम्म बदमासी नगरेकाले मुद्दा दर्ता हुँदैमा नडराउने बताए । ‘मैले बदमासी गरेको हुनुपर्‍यो नि डराउनलाई । मैले कुनै अनुचित काम गरेको छैन । र, अनुचित कामलाई प्रोत्साहन दिन पनि चाहन्नँ,’ उनले अगाडि भने ।

पूर्वप्रधानमन्त्री नेपालले काठमाडौं गएपछि कानुन व्यवसायीहरूसँग परामर्श गरेर थप धारणा सार्वजनिक गर्ने बताए ।

पतञ्जली जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?