
News Summary
Generated by OK AI. Editorially reviewed.- अहिलेको पुस्ताले प्रेम बुझ्छ तर नियम र अनुशासन बिर्सदै गएको छ, जसले सन्तुलन बिग्रन सक्छ।
- बालबालिकालाई प्रेम र नियम दुवै सिकाउन आवश्यक छ, जसले आत्मविश्वास र व्यवहारिकता विकास गर्छ।
- दण्ड र पुरस्कारको सही सन्तुलनले बालबालिकालाई जिम्मेवारी र सिर्जनात्मकता सिकाउँछ, जसले जीवनमा सफलता दिलाउँछ।
यतिबेला हामी एक अनौठो समयमा बाँचिरहेका छौं । हामीभन्दा अघिल्लो पुस्ताले हामीलाई नियम बढ्ता सिकाउन खोज्यो, प्रेम व्यक्त गर्न अलिक कम सिकायो वा जानेन ।
अहिलेको नयाँ पुस्ताले प्रेमको भाषा निकै राम्रोसँग बुझ्छ तर नियम र अनुशासन बिर्संदैै गएको छ । जबकि उसलाई नियमको भाषा पनि त्यत्तिकै सिकाउन आवश्यक छ ।
पहिले प्रेम कम र नियम बढी थियो तर आज प्रेम बढी र नियम अर्थात् अनुशासन र जिम्मेवारी कम हुँदै गएको छ । समग्रमा, सन्तुलन फेरि पनि बिग्रँदै गएको छ । यो मिलाउने कसरी ?
र, यो समयमा हामीले लाडप्यार अनि नियम दुवै आदत सिकाउँदै नानीबाबुहरू हुर्काउनुपर्नेछ । हामी बच्चा हुँदा जे–जे भोग्यौं, अभिभावक हुँदा त्यही–त्यही गर्न अब नमिल्ने भइसकेको छ ।
त्यसैले यो आलेखमा स्कूलमा बालबालिकालाई सीपहरू सिकाउँदा होस् या घरमा अभिभावकहरूले आफ्ना सन्तानको हेरविचार गर्दा कस्ता उपायहरू अपनाउनुपर्छ भन्नेबारे छलफल गर्न खोजिएको छ ।
यो समग्र प्रकृति नै दुई ध्रुवका तत्वहरूको संयोजनमा बनेको छ । दिन र रात, महिला र पुरुष, कालो र सेतो, प्रेम र डर, माया र घृणा आदि आदि । आजको विज्ञान र कम्प्युटरका हरेक प्रोग्रामहरूको निर्माण पनि बाइनरी अपोजिसन, शून्य र एकको खेलमा चलेको छ । यो समय यस्तै विपरीत ध्रुुवमा रहेका तत्वहरूको सही संयोजन गर्दै यहाँसम्म आइपुगेको छ । यस आलेखको चिन्तन पनि यस्तै दुई सिकाइका खुट्टाहरू, प्रेम र डरको सही सदुपयोगको बारेमा छ ।
मानिस विचार र भावनाको एक पूर्ण संयोजनमा चल्ने प्राणी हो । शरीर अर्बाैं कोषहरूले बनेको होला तर समग्रमा, यो एक जटिल संयोजन भएको एक इन्जिन हो । अनेक रसायनहरूको । अनेक सिस्टम र तत्वहरूको । यहाँ आगो छ, पानी छ, वायु छ, आकाश (इथर) छ । सबैको सही सन्तुलन र संयोजनले नै एक समग्र शरीर क्रियाशील हुन्छ । यसै क्रममा हाम्रो स्कूलहरूमा विद्यार्थीलाई सिकाउने क्रममा माया र प्रेमको मात्रै प्रयोग गरेर हामी एक सक्षम, अब्बल, कर्मठ, निडर मानिसको उत्पादन गर्न सक्छौं कि सक्दैनौं ? के एक मानिसले जीवनभर डरको व्यवस्थापन गर्न सिक्नुपर्छ कि पर्दैन त ? जसरी दिनको सदुपयोग मात्रले पुग्दैन र हामी रातको पनि सही सदुपयोग गर्दछौं भने प्रेमको सदुपयोगसँगै डरको पनि सिर्जनात्मक र भरमग्दुर उपयोग कसरी गर्न सक्छौं ? त्यो नकारात्मक ऊर्जाको पनि सकारात्मक व्यवस्थापन विद्यार्थीमा कसरी गर्न सकिन्छ ? यो आलेखको मूल उठान यसैमा छ ।
हामीले बालबालिकालाई धेरै नियम मात्रै सिकायौं, प्रेम दिन सकेनौं भने यसको मूल्य महँगो पर्छ । किनभने धेरै नियम भए उनीहरू विद्रोही, आक्रोशित वा कुण्ठित बन्न जान्छन् ।
अनि माया मात्रै बढ्ता सिकायौं, नियममा अभ्यस्त बनाउन सकेनौं भने उनीहरूको भावना र आत्मविश्वास कमजोर बन्न सक्छ । हामी बालबालिकालाई एउटा मात्रै भावना छान्न लगाउन सक्दैनौं । दुवैको सन्तुलन अनिवार्य हुन्छ ।
त्यस बेला हामीलाई दण्ड दिने साहस र सीप दुवै हुनुपर्छ । याद गरौं, त्यो दण्ड सुधारात्मक र सीपोन्मुख भने हुनैपर्छ । नत्र दण्डको नियम मात्रै लागू गराउन खोज्दा त्यो पनि उल्टै हानिकारक बन्न जान्छ ।
अचेल कतिपय बालबालिका सानै उमेरमा साइबर क्राइममा फसेका समाचारहरू आइरहेका हुन्छन् । अधिक दण्डले उनीहरूलाई नियमकै महत्व नबुझ्ने र असीमित रूपमा उद्दण्ड बन्न नकारात्मक प्रेरणा दिइरहेको हुन्छ ।
त्यसैले बालबालिकालाई आवश्यकता अनुसार सीपोन्मुख गराउँदै सुधारात्मक दण्ड वा अनुशासनबाट सिकाइसम्म पुर्याउनुपर्छ । त्यसले उनीहरूलाई आफ्नो र वरिपरिको अवस्थाबारे सही ढङ्गले सिक्न मद्दत पुर्याओस् ।
कतिपय बालबालिका हुर्कंदै गएपछि आफ्नै बा–आमासँग गुनासो गरिरहेका हुन्छन्– सानोमा तपाईंहरू मेरा लागि जे पनि गरिदिनुहुन्थ्यो, अचेल गर्दै गर्नुहुन्न । वा कसैलाई लाग्न सक्छ, मलाई अभिभावकले सानोमा बढ्ता माया गर्नुहुन्थ्यो, अहिले गर्नुहुन्न । मैले यस बीचमा कतिपय अभिभावक र बालबालिकाहरूबीच नराम्रोसँग सम्बन्ध बिग्रेको समेत फेला पारें । अनि कतिपय बालबालिकाचाहिं बाटो बिराउँदै गएको पनि भेट्टाएँ ।
हामी ठान्छौं, बालबालिका हामी जस्तो बन्न सकेनन् वा हामीले चाहे जस्तो उनीहरू हुन सकेनन् । खासमा प्रत्येक बालबालिकाको आ–आफ्नै गुण र स्वभाव हुन सक्छन् । उनीहरूलाई जन्माएर मात्रै पुग्दैन, आफ्नै सन्तानलाई पनि उसकै स्वभावको डालोमा राखेर चिन्न सक्नुपर्छ । यसरी भनौं, जन्माउने र हुर्काउने दुई अलग प्रक्रिया हुन् ।
यही हुर्काउने क्रममा संस्कार, मूल्य र नियमको सिकाइ आवश्यक पर्छ । लाडप्यार र अनुशासन दुवैको महत्व यहींनेर झल्किन आउँछ ।
हामीले सामान्यतया बालबालिकालाई ६ वर्षको हुँदासम्म लाडप्यारमा रत्याउन सक्छौं । तर, त्यसपछि १२ वर्षको हुँदासम्म भने अनुशासन र नियम सिकाउनै पर्छ । अनि १६ वर्षसम्म जीवन र समाजका विभिन्न मूल्य सिकाउने काम गर्नुपर्छ । पूर्वीय दर्शन अनि शास्त्रहरूमा सिकाइका मान्यताका बारेमा गहन चिन्तन र खोज भएको पाइन्छ । ५ वर्षसम्म आफ्नो सन्तानलाई लाडप्यारले पालनपोषण गर्नुपर्छ, त्यसपछि थप दश वर्ष अर्थात् १५ वर्र्षसम्म काममा जिम्मेवार र अनुशासनमा राख्नुपर्छ र त्यसपछि भने सधैं मित्रवत् व्यवहार गर्नुपर्छ । समयानुकूल यो आदर्श परिवर्तन हुन्छ होला तर मूल आशय सन्तुलनको हो भनेर पनि बिर्सन हुन्न ।
यसका लागि अभिभावकले एकअर्कासँग प्रशस्त छलफल गर्नुपर्छ । किनभने बालबालिकासँग छलफल गर्नुअघि बा–आमा वा अभिभावकबीच समान धारणा बन्न सकेन भने आफ्नै बालबालिकाले बा–आमासँग पनि बार्गेनिङ गर्ने छुट्टाछुट्टै छिद्रहरू फेला पार्छन् । अनि, त्यसैमा भावनात्मक रूपले खेल्ने बानीको विकास गर्न पनि सक्छ ।
तपाईं हामीलाई थाहै छ नि, बालबालिकाहरू सितिमिति हार्न मान्दैनन् । मैले नै केटाकेटी हुर्काउँदा उनीहरू सानोमा हामीलाई कत्ति धेरै पेलेको भनेर घुर्की पनि लगाउँथे । तर, स्नेहपूर्वक नियम र मूल्यहरू सिकाउँदै जाँदा एउटा विन्दुमा उनीहरू स्वतः बुज्झकी हुँदै गए । मैले लाडप्यारमा मात्रै रत्याएको भए आज त्यो लक्ष्य प्राप्त हने थिएन ।
म नियम र प्रेमको सन्तुलनबाट बालबालिका हुर्काउने यस प्रक्रियालाई आकाशमा कावा खाइरहेको चङ्गासँग दाँज्छु । चङ्गा आकाशमा मज्जाले कावा खाइरहेको हुन्छ तर लट्टाई भने आफ्नै साथमा हुन्छ ।
नियम सहितको लाडप्यार यस्तै चङ्गा हो, जसको लट्टाई जहिले पनि अभिभावकसँग हुन्छ । अनि, बालबालिका मर्यादित संस्कारका साथ स्वतन्त्रताको उपभोग गर्न सिक्छन् ।
खेलमा उनीहरू हारे कि जिते भन्ने प्रश्नमा धेरै ठोकिनुभन्दा उस्तै समानुभूति र करुणा सहित स्नेह दिइराख्यो भने हार–जित जे भए पनि उनीहरूको मनोबलमा असामान्य उतारचढाव कहिल्यै आउँदैन ।
तिम्रो नतिजा भन्दा कोसिस महत्वपूर्ण थियो भनेर बालबालिकालाई सिकाउनुअघि हामी अभिभावक आफैंले यो विषयको महत्व बुझ्न जरूरी हुन्छ ।
हामीले जङ्कफुड खाने विषयमा होस् या अरू कुनै नकारात्मक नतिजा दिने विषयमा होस्; बालबालिकालाई जहिल्यै चनाखो राख्नुपर्छ । उनीहरूले मानेनन् भने यस्तो दण्ड दिऔं कि जसभित्र प्रोत्साहन पनि साथै लुकेको होस् ।
जस्तो कि उनीहरूलाई आफ्नो लुगा आफैं धुन लगाऔं । तत्काल धुनु परेन । बरु तीन दिन जतिको समय छुट्याऔं । भोलिपल्ट धोएनन् भने पर्सिपल्ट अन्तिम चेतावनी दिऔं । केही सीप लागेन भने बरु लुगालाई आधाआधा बाँडेर भए पनि धोऔं । तर जसरी भए पनि दण्डको कार्यान्वयन गरेरै छाडौं ।
हामी आफ्ना निश्चित मूल्यमा अविचल हुनुपर्छ । उनीहरूलाई सिकाउनैपर्छ तर नरम तरिकाले ।
इटालीको रेनेसा युगका दार्शनिक निकोलो म्याकियाभेली लेख्छन्– प्रेम र भय दुवैको सही सन्तुलन मिल्न सकेन भने प्रेमले भन्दा भयले मानिसलाई बढी बलियो बनाउँछ । त्यो म्याकियाभेलीको समयको परिवेशमा सही थियो होला । हाल यो परिभाषाको सार्थकता अलि कम हुनसक्ला । तर, यसमा दीर्घकालीन सत्य निकै गम्भीर भएर लुकेको छ । सन्तुलनको सिद्धान्तको कुनै समय छैन । हिजो थियो र आज पनि उत्तिकै प्रयोग हुन्छ ।
भर्खरै अमेरिकामा यो कुरा निकै बहसको विषय बनेको थियो । डोनाल्ड ट्रम्पले विद्यालयमा अनुशासन कायम गर्न सजायको प्रयोग गर्ने कि नगर्ने सन्दर्भमा निकै बहस पश्चात् एक नयाँ नियम बनाएर हस्ताक्षर नै गरिसकेका छन् । विद्यालयमा देखिएको अनुशासनहीनता र अराजकता बढ्दै गएपछि सजायलाई वैधानिकता दिइएको छ । नियम र कानून खुल्ला पारिएको छ । नेपालमा पनि कुनै सन्तुलित उपायको खोजी अत्यावश्यक भएको छ । कस्तो विधि वा प्रणालीचाहिं सर्प पनि मर्ने र लट्ठी पनि नभाँचिने हुनसक्ला त ?
त्यसैले अभिभावकले अभिभावकत्व वहन गर्ने क्रममा माया र नियम (लाडप्यार र नीति) को दुवै खुट्टा चलाउनुपर्छ । आफ्ना छोराछोरी हुर्काउने र बढाउने क्रममा विभिन्न भूमिका निर्वाह गर्नुपर्छ । यसरी बुझौं, अभिभावक एक शिल्पकार, चित्रकार, मूर्तिकार हो; जसले आफ्ना सन्तानलाई जन्म दिएर मात्रै पुग्दैन विभिन्न खालका भूमिका निर्वाह गरेर बालबालिकालाई असल व्यवहार र आचरणमा रूपान्तरण गर्न प्रयास गर्नुपर्छ ।
माथि भनिए झैं बालबालिकालाई आकार दिनका लागि कहिलेकाहीं प्रोत्साहन, समर्थन, हौसला प्रदान गर्न पुरस्कार प्रदान गरिन्छ भने नियम, आचरण, अनुशासन र असलमार्गमा हिंडाउन दण्डको पनि सहारा लिन सकिन्छ । तर, त्यो दण्ड ठाडो नभएर सिर्जनशील र कम क्षति पुर्याउने हुन जरूरी हुन्छ । हरेक विद्यार्थीले समस्यालाई अवसरको रूपमा देख्नका लागि पनि तालिमको आवश्यकता पर्दछ ।
नत्र त त्यस विद्यार्थीले समस्यालाई समस्या मात्र देखे, कसरी सो समस्यासँग जुध्ने बानीको विकास हुन सक्छ ? त्यसैले पनि हरेक विद्यार्थीलाई डरबाट भाग्ने होइन कि त्यससँग सामना र समाधान गर्ने सिर्जनशील बन्न प्रेरित गर्नुपर्ने हुन्छ । त्यसका लागि पनि विद्यालयमा अनेक प्रकारका अभ्यासहरूको जरूरी हुन्छ । घरमा पनि योजनाबद्ध अभ्यासको आवश्यकता रहन्छ ।
जन्मँदा मानिस रुँदै जन्मन्छ । तर्संदै जन्मन्छ । मानिस जिजीविषा अर्थात् बाँच्ने इच्छा लिएर जन्मन्छ । त्यहाँ प्रेमको भोक हुन्छ नै र मरिएला कि भन्ने डरको पोको पनि सँगै आएको हुन्छ । त्यसपछिका दिनहरूमा पनि हरेक क्षणमा डरको सामना गर्नैपर्ने हुन्छ । त्यसबाट कसैगरे पनि भाग्नै सकिन्न । त्यसको सामना गर्न र त्यो डर भावनाको सदुपयोग गर्न नसिके अरू कुनै उपाय पनि हुन्न । मानिसको शरीरको विकास र त्यसकोे परिवर्तनको क्रममा दिमागभित्र दुई अङ्गको प्रस्ट विकास भएको छ । हाइपोथालामस, जो प्रेम र भावनाको पुञ्ज हो भने अर्को अमिग्डाला, जो डरको नियन्त्रण र सदुपयोग गर्ने भाग हो । दुवैको सन्तुलित प्रयोगबाट नै त शरीरका सारा संयन्त्र चलेका छन् । शिक्षण र सिकाइमा त्यो सन्तुलन मिलाउने कसरी ?
मानिसको सबैभन्दा ठूलो नै अदृश्य चिजको भय हो । भविष्यको भय हो । कल्पनाको भय हो । मनको बाघको भय हो । त्यस्ता भयको पूर्वानुमान लगाउन सक्नु नै सो भयसँग लड्ने औजारको जोडजाम गर्न थाल्नु हो । सो भयको बारेमा सोचेर मात्र बस्नु समाधान हैन तर त्यसको निराकरण गर्न नयाँ कर्मको रूपरेखा कोर्न थाल्नुचाहिं सही भयको निवारण गर्नु हो । कुनै काल्पनिक घटनाको दृश्य देखाएर भए पनि त्यस्तो अभ्यास हरेक स्कूलमा गराउन अत्यावश्यक हुन्छ । हार्वर्ड विश्वविद्यालयले स्नातकोत्तरका विद्यार्थीमा त्यस्तै घटेका संस्थागत समस्याहरू वा कुनै व्यक्तिगत वा काल्पनिक समस्याहरू बनाएर पनि अभ्यास गराउने गर्छ । सो मोडल आजकल विद्यालयस्तरमा पनि सुरुवात गर्न थालिएको छ । यो सबै अभ्यास समस्यालाई नजिकबाट केलाउने अनि त्यसको तार्किक अनि सही निर्णय निकाल्ने प्रयासस्वरूप गराइएको नै हो । यो अभ्यासलाई सरल बनाएर विद्यालयस्तरबाट नै सबैले सुरुवात गर्दा उत्तम नै होला । किनकि, समस्यामा नै अवसरहरूको चुरो लुकेको हुन्छ ।
तसर्थ, कुनै पनि समस्यालाई अगाडि सारिदिएर त्यसको समाधान खोज्न सिकाउनै पर्छ । त्यसको समाधान एक्लै निस्कन्न भने शिक्षकको सहयोग लिन सिकाउने हो । त्यसमा साथीहरूको मद्दत लिन पनि सिकाउन सकिन्छ । समूहबाट सजिलै र छिटै समस्याको हल खोज्ने बानीको विकास गर्न अति आवश्यक हुन्छ । प्रेमसँगै डर यस्तो भावना हो जुन जीवनको हरेक समयमा र हरेक उमेरमा भिन्न–भिन्न रूप र आकारमा हाम्रो अगाडि आइरहन्छ । त्यसको सामना बलियो बनेर गर्नै पर्छ । त्यो बलियो बनाउने कसरी ?
प्रसिद्ध दार्शनिक बारुक स्पिनोजाको भनाइ छ– मानिस कुनै न कुनै आशाका लागि बाँच्छ तर त्यस्तो कुनै आशा हुन्न जसमा डर मिसिएको नहोस् । आशाभित्र डर हुन्छ र डरभित्र पनि कतै आशा हुन्छ ।
मानिस केही कुरा प्राप्त गर्न चाहन्छ । पाएको कुरा गुमाउन पनि चाहँदैन । यो मानिसको जन्मजात गुण र स्वभाव हो । तसर्थ छोराछोरीलाई पुरस्कारले अझ अगाडि बढ्न, केही कुरा प्राप्त गर्न, प्रतिस्पर्धामा अगाडि बढ्न प्रेरणा मिल्दछ । दण्डले पनि छोराछोरीभित्रका कमी–कमजोरीलाई हटाएर विस्तारै सुधार गर्ने प्रक्रियामा लैजान्छ । दण्ड र पुरस्कार दुवै उत्प्रेरणाका कारण हुन् । यसले बालबालिकालाई राम्रो बाटो देखाउँछ । यद्यपि यसको सन्तुलन मिलाउन सकिएन भने यसको फल सकारात्मक र नकारात्मक दुवै आउन सक्छ वा सन्तुलन बिग्रन पनि सक्छ ।
पुरस्कार भन्नाले सामान्य अर्थमा हाम्रो बुझाइ भौतिक वस्तु प्रदान गर्नु मात्र भन्ने छ । बालबालिकालाई चाहिएको कुरा किनिदिनु वा चाहना पूरा गर्नुलाई बुझिन्छ । तिमी यो सिक म तिमीलाई साइकल किनिदिन्छु । यो मात्र पुरस्कार हैन । वास्तवमा पुरस्कार वस्तु मात्र नभई शब्द पनि हो । मायालु शैलीमा स्पर्श गर्नु, धाप मार्नु, तिमी मेरा लागि विशेष हौ भन्नु पनि हो । म तिमीसँग गर्व गर्छु । तिमी एक अनमोल बन्नेछौ । म तिमीलाई धेरै माया गर्छु भनेर पनि प्रशंसा र प्रेरणा प्रदान गर्न सकिन्छ । उसका सबल पक्षहरूमा अझ बढी प्रोत्साहन दिन विज्ञहरूसँग जोडेर तालिम दिने, अझ बढी सीप विकासमा सहयोग गरेर प्रेरणा प्रदान गर्न सकिन्छ ।
अर्को उदाहरण दिने हो भने प्रेम र डर कुनै पनि निर्माणमा प्रयोग हुने बालुवा र सिमेन्टको सही मात्रा जस्तै हुन्छ । आवश्यकता नै आविष्कारको जननी हो भने जस्तै थोरै डर पनि सचेतना र पूर्वानुमानको चाबी हुनसक्छ । त्यसले कल्पना गर्ने शक्ति दोब्बर पारेर भोलि हुनसक्ने घटनाको पूर्वानुमान आजै लगाउन सिकाउँछ र समस्याको सही समाधान खोज्न प्रेरित गर्दछ । तसर्थ, उमेर, घटना, समस्याअनुसार दुबै विपरीत ध्रुवका भावनाहरूको सही सदुपयोग विद्यालयमा पनि सिकाउनै पर्छ । अभ्यास गराउनै पर्छ ।
सानोमा छोराछोरीको आवश्यकता सानो हुन्छ । ठूलो हुँदै गएपछि आवश्यकता र चाहना दुवै बढ्दै जान्छन् । उनीहरूका आवश्यकता र चाहना आमा–बाबाले पूरा गर्न नसक्ने अवस्था आउँछ । यसले गर्दा उनीहरूभित्र नकारात्मक मनोविज्ञानको विकास हुन्छ । किन आजकाल मलाई माया गर्नुहुन्न ? सानोमा त जे भन्यो त्यही किनिदिनुहुन्थ्यो भन्ने खालका प्रश्न गर्न थाल्छन् । यसले बालमनोविज्ञानमा असर परेको हामीले हाम्रो समाजमा देखेका छौं । उनीहरू तुलनात्मक अध्ययन गर्न सक्दैनन् । अहिले मेरो चाहना बढ्यो र आर्थिक भार ठूलो हुन गयो भनेर सोच्न सक्ने अवस्था उनीहरूभित्र विकास भएको हुँदैन । जे भन्यो त्यही कुरा पाउँदा उनीहरूमा वस्तुको महत्व नबुभ्mने र धैर्यको विकास पनि नहुने गुण र स्वभाव बढ्दै जान्छन् । त्यसकारण पुरस्कार भन्ने वस्तु मात्र होइन । पुरस्कार शब्द र व्यवहारबाट पनि व्यक्त गर्न सक्छौं । हामीले शब्दबाट पनि उनीहरूलाई उत्प्रेरणा प्रदान गर्न सकिन्छ । तिमीले राम्रो गर्न सक्छौ । तिम्रो प्रयास राम्रो छ । प्रयासलाई जारी राख । म तिम्रो प्रयासदेखि खुशी छु भनेर समर्थन जनाउन सकिन्छ ।
एक प्रख्यात भियतनामी कथन छ कि डरले मानिसलाई विगतको ऐना फेरि देखाउँछ अनि भविष्यको छायाँ आजै झल्काउँछ र वर्तमानको बारेमा सचेत गराउँछ । दण्ड भन्नाले हाम्रो बुझाइ फरक छ ।
बालबालिकालाई लट्ठीले पिट्नु, चिमोट्नु, आँखा तर्नु आदिलाई दण्ड भनेर आमरूपले बुझिंदै आएको छ । वास्तवमा लट्ठीको प्रतीकात्मक अर्थ सहारा हो । तिम्रो कमी–कमजोरी हटाउनलाई म सहारा बन्छु भन्ने मानसिकता हो । अक्षर नराम्रा छन् भने थप समय दिएर अक्षर सुधारका लागि निरन्तर मिहिनेत गराउन सकिन्छ । यस्ता दण्डले बालबालिकाको सीप विकासमा सहयोग गर्नुपर्दछ । तसर्थ दण्ड भौतिक र मानसिक दबाब मात्र दिनु होइन । उनीहरूको सीपसँग जोडिने खालको हुनुपर्छ । यसले गर्दा उनीहरूको मिहिनेत गर्ने आदतको विकास भई आत्मविश्वास बढ्दै जान्छ । म सक्दिनँ भन्ने कुरालाई हटाई आफैंप्रति सकारात्मक भावनाको विकास गर्दछ । पुरस्कारले बालबालिकाको सबल पक्षलाई उजागर गर्दछ भने दण्डले उनीहरूको कमी–कमजोरीलाई सुधार गर्न प्रेरणा मिल्छ ।
बी एफ स्किनरले पनि दण्ड र सजायका बारेमा राम्रो खोज गरेका छन् । उनका अनुसार दण्ड दुई प्रकारका हुन्छन्– सकारात्मक प्रेरणा र नकारात्मक प्रेरणा । दण्ड भन्नाले नराम्रो बानीबेहोरा, आचरण अथवा क्रियाकलाप या छोराछोरीमा भएका नराम्रा आदत कम गर्न, घटाउन वा हटाउनका लागि उनीहरूलाई मन नपर्ने कुरा दिनु हो । जस्तो छोराछोरीका अक्षर नराम्रा छन् भने एक घण्टा अक्षर लेख्न लगाउन सकिन्छ । उनीहरूका मन पर्ने सामान खोसिदिन सकिन्छ । उनीहरूका सुविधाहरूलाई कटौती गर्न सकिन्छ । उनीहरूका रुचि विपरीतका काम दिन सकिन्छ । मोबाइलमा धेरै बस्ने आदत छ भने मोबाइलका खराब पक्षहरूको बयान गर्दै त्यसलाई खोसिदिन सकिन्छ ।
जी मिखेल हफ भन्छन् कि सङ्घर्षले मानिसलाई सर्वाङ्गीण रूपले बलियो बनाउँछ । बलियो मानिसले राम्रो समय र सुख–सुविधा सिर्जना गर्दछ । सुख–सुविधाले मानिसलाई कमजोर बनाउँछ । कमजोर मानिसले दुःख पाउँछ ।
तसर्थ, बलियो बन्न सङ्घर्ष गर्न सिकाउनै पर्छ । भय र डरबाट हाम्रा बालबालिकालाई टाढा राखेर उनीहरूले सही संघर्ष सिक्न सक्दैनन् । डर भित्रैबाट भगाउन त्यसको सामना गर्न र लडेर जित्न सिकाउनै पर्छ । लड्ने आत्मविश्वास जगाउन पनि त्यसको छेउमा पुर्याउनै पर्छ । समस्यासँग सिंगौरी खेल्न लगाउनै पर्छ । तर कहिले, कसरी, कसलाई र कति मात्रामा भन्ने अनुमान र पूर्वतयारी त चाहिन्छ नै ।
स्कूलको पढाइमा होस् वा खेलकुदमा होस्; त्यो विद्यार्थी प्रथम हुन्छ, जो आफ्नो कर्ममा गम्भीर भएर लाग्छ र लागिरहन्छ । गम्भीरता डरको अर्को परिवर्तित रूप पनि हो । सुखले मात्र गम्भीर बनाउन सक्दैन । इन्द्रेणी बन्नका लागि घाम र पानी दुवैको सही मिश्रण हुनैपर्छ । विद्यालयमा यो घाम र पानीको सन्तुलन मिलाएर सप्तरंगी इन्द्रेणी कसरी बनाउन सकिन्छ ? नयाँ खोज र चिन्तनको जरूरी छ । हरेक शिक्षक त्यो खोजकर्ता वा मनोविज्ञ बन्नै पर्छ ।
हरेक विद्यार्थीको व्यक्तित्व र स्वभावको गहन अध्ययन गर्दै सही मार्गनिर्देशन गर्न सक्ने बन्नैपर्छ । प्रेम र भयको प्राकृतिक सन्तुलन कता छ भनेर खोज्ने र त्यसको सही सदुपयोग गरेर हरेक नयाँ जीवनमा नयाँ रंग भर्न सक्नुपर्छ । अनि न सही गुरु भएको सार्थकता महसुस हुन्छ । त्यो बन्ने कसरी ? तसर्थ, भय शून्य हुनु अराजकता हो र भय बढी हुनु अत्याचार हो, पाप हो ।
सन्तुलन प्रगति हो । सन्तुलन स्वास्थ्य हो । सन्तुलन बिग्रनु रोग हो । यो परिभाषा शरीरमा पनि उत्तिकै लागू हुन्छ अनि प्रकृतिमा पनि । विद्यालयमा पनि अनि घरमा पनि । सम्बन्धमा पनि, अनि राज्य सञ्चालनमा पनि । त्यो सन्तुलन व्यक्तिको आदतमा, घरमा, विद्यालयमा, समाजमा अनि देशमा ल्याउने कसरी त ? प्रश्न जतै तेर्सिन्छ । समाधान खोज्ने सबैको दायित्व !
प्रतिक्रिया 4