
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले अमेरिका पुगेर जलवायु जोखिम विश्लेषण प्रतियोगिता जित्ने प्रयास गरे।
- उनीहरूले डिजिटल स्रोत र एआई उपकरणको प्रयोग गरी प्रतिस्पर्धामा टप ८ मा स्थान पाए।
- नेपालमा व्यावहारिक सीप र नेटवर्किङको अभावले विकासमा बाधा पुर्याएको उनीहरूले बताए।
त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्याथमेटिकल साइन्समा एक्चुअरियल साइन्स पढ्दैछन्- सम्भव श्रेष्ठ, निशान न्यौपाने, निशान रावत र कृष्णा युगोल । उनीहरू हालै मात्र अमेरिका पुगेर फर्किए । अमेरिका जानुको एउटै ध्येय थियो, ग्लोबल रिक्स म्यानेजमेन्टमा प्रतिस्पर्धा गर्नु ।
लिंक्डइनमार्फत उनीहरूले सो प्रतियोगिताबारे थाहा पाएका थिए । त्रिवि स्कूल अफ म्याथमेटिकल साइन्सका अन्तिम वर्षका यी विद्यार्थीहरूले वेस्ट भर्जिनियाको हन्टिङटनको शहरको जलवायु परिवर्तनले ल्याउने जोखिमहरू– बाढी, पुरानो पूर्वाधार, स्वास्थ्य र आर्थिक नोक्सानी-विश्लेषण गर्ने जिम्मेवारी पाए ।
टिमले १० पेजको अनुसन्धान प्रस्ताव तयार गर्नुपर्यो, तर यो काम सोचे जस्तो सजिलो थिएन । अन्तिम सेमेस्टरको परीक्षा र युकेको जस्ता प्रोफेशनल बोर्ड परीक्षाको दबाबबीच उनीहरूले समय व्यवस्थापन गर्नुपर्यो ।
‘हामीले रात–रातभरि इन्टरनेट र एआई उपकरणहरूको सहयोगमा डाटा संकलन र विश्लेषण गर्यौं’ कृष्णा भन्छिन् । हन्टिङटनको स्थलगत जानकारी नहुँदा उनीहरूले डिजिटल स्रोतहरूलाई भरपूर उपयोग गरे ।
त्यहाँ प्रतिस्पर्धाका लागि पहिला उनीहरूले दिइएको प्रोजेक्ट समिट गर्नुपर्ने थियो, जुन संसारको जुनसुकै कुनाबाट बनाउन सम्भव थियो । अर्को चुनौति के थियो भने त्यसमा छनौट भएपछि अमेरिकामा पुगेर प्रस्तुत गर्नुपर्ने थियो । यो तयारीपछि उनीहरू टप ८ मा छनौट भए ।
दोस्रो राउण्डका लागि तयारी, जो अमेरिका नै पुग्नु पर्ने थियो । त्यसका लागि त्यहाँ बस्ने व्यवस्था, टिकट आयोजकले नै व्यहोर्ने रहेछ । मे ४ मा अमेरिकाको म्याककर्मिक प्लेसमा आयोजित कन्फरेन्समा टप ८ टिमको रूपमा उनीहरूले प्रस्तुति दिए ।
‘हामी नेपालबाट त्यस्तो कन्फरेन्समा जाने पहिलो टिम थियौं त्यसैले दबाब धेरै थियो’ ’सम्भवले सुनाए, ‘तर हाम्रो विश्लेषण र प्रस्तुतिले निर्णायकहरूलाई प्रभावित पार्यो ।’ हन्टिङटनको जोखिम र मिटिगेसन रणनीतिहरू प्रस्तुत गर्दा धेरैले तारिफ गरे ।
अंग्रेजी नेटिभ नभएकाले उनीहरूसँग कुराकानी गर्दा पनि केही ग्याप महसुस भयो । ‘तर टिमवर्क र कन्फरेन्सको मैत्रीपूर्ण वातावरणले हामीलाई सहज बनायो, ‘निशान राउतले थपे।
उनीहरू टप ५ मा छनौट भए । अब तयारी टप ३ को थियो । उनीहरू टप ३ मा भने पर्न सकेनन् । त्यस कन्फरेन्सको टप ३ मा दुई अमेरिकी र एक भारतीय युनिभर्सिटी छानिए ।
उनीहरू टप ३ मा नपरे पनि यो यात्राले टिमलाई धेरै कुरा सिकायो ।
३०० भन्दा बढी प्रदर्शकहरू जस्तै सुश्री जस्ता इन्स्योरेन्स कम्पनीसँगको नेटवर्किङले ग्लोबल इन्स्योरेन्स बजार र एक्टुअरियल साइन्सको गहन तरिकाले बुझ्ने मौका पाएको उनीहरू सुनाउँछन् ।
मिलिम्यानका रेहानसँगको भेटले मलाई दक्षिण एसियामा एक्चुअरियल क्षेत्रको सम्भावना र नेटवर्किङको महत्व बुझायो’ निशान न्यौपानेले भने ।
‘हामी सतहीरुपमा मात्र गएर प्रस्तुति दिएका रहेछौं । उनीहरू भने सानो कुरालाई पनि गहनरुपमा अध्ययन गर्ने रहेछन्, ’कृष्णाले थपिन, ‘समग्रमा भन्नुपर्दा अमेरिकी टिमहरूको माइक्रो–लेभल विश्लेषणले हामीलाई नयाँ दृष्टिकोण दियो ।
नेपालमा रिस्क म्यानेजमेन्टको अवस्था
नेपालमा एक्टुअरियल साइन्स र रिस्क म्यानेजमेन्ट उदीयमान क्षेत्र हो । ‘हाम्रो देशमा सैद्धान्तिक पढाइमा जोड छ, तर ग्लोबल बजारमा व्यावहारिक दृष्टिकोण र नेटवर्किङ चाहिन्छ,’ सम्भवले भने ।
यो अनुभवले टिमलाई साना गल्तीहरूले ठूलो नोक्सानी निम्त्याउन सक्ने र सावधानीपूर्वक विश्लेषणको आवश्यकता बुझायो ।
‘हामीले सिकेका कुरा नेपालमा लागू गर्न सकिन्छ, विशेष गरी जलवायु जोखिम र इन्स्योरेन्समा, ‘निशान रावतले उत्साहित हुँदै भने । यो टिमले हन्टिङटन, वेस्ट भर्जिनियाको जलवायु जोखिम (बाढी, पुरानो पूर्वाधार, स्वास्थ्य र आर्थिक नोक्सानी) विश्लेषण गर्दा सिकेका कुराहरू नेपालमा लागू गर्न सकिने उल्लेख गरे ।
नेपाल किन पछाडि ?
टिमले शिकागोमा अनुभव गरेको सुक्ष्म विश्लेषण र व्यावहारिक दृष्टिकोणको कमी नेपालमा स्पष्ट देखिन्छ । यहाँ सैद्धान्तिक शिक्षामा जोड छ, तर ग्लोबल बजारमा प्रतिस्पर्धा गर्न व्यावहारिक सीप, डाटा विश्लेषण र नेटवर्किंङको अभाव छ ।
जनचेतनाको कमी र प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापनमा डाटाबेस र दक्ष जनशक्तिको अभावले नेपाललाई पछाडि पारेको उनीहरूको तर्क छ । यो टिमको सामान्य लाग्ने तर साहसिक यात्राले नेपालका युवाहरूलाई विश्व मञ्चमा प्रतिस्पर्धा गर्न प्रेरित गरेको छ ।
उनीहरूको अनुभवले सीमित स्रोत र चुनौतिहरूका बाबजुद पनि मेहनत र टिमवर्कले ठूलो उपलब्धि हासिल गर्न सकिने देखाउँछ ।
प्रतिक्रिया 4