
News Summary
Generated by OK AI. Editorially reviewed.- रुपचन्द्र बिष्टको २०५६ असार ७ गते वीर अस्पतालमा मृत्यु भयो ।
- मकवानपुर पालुङका उनी दविएका वर्गको उत्थानका लागि लड्ने समाजसेवी र राजनीतिज्ञ थिए।
- आजीवन भुइँमान्छेका पक्षमा आवाज उठाउने एक हक्की र स्पष्ट वक्ता थिए रुपचन्द्र बिष्ट ।
पूर्व कथा
२०५६ असारको महिना ७ गते, बिहान ६:३० बजे । वीर अस्पतालमा कार्यरत डाक्टरहरूको समूहले मिर्गौला, कलेजो लगायतका बहुअंगले काम गर्न नसकेर एउटा मान्छेको मृत्यु भएको घोषणा गरे । स्वाभाविक थियो, मानिस मरेको थियो, यो भन्दा अगाडि पनि उनीहरूले एक होइन, अनेकौं मानिसको मृत्यु घोषणा गरेका थिए ।
मरणशील मान्छेको मृत्यको घोषणा अस्पतालको दैनिकी नै हो । प्रत्येक दिन मान्छे लास हुनु र सूचना टाँस्नु उनीहरूको नियमितता नै हो । त्यही नियमितताको काम भएको थियो ।
असारे आकाश धुमिल हुनु स्वाभाविक नै भयो तर यो दिनको आकाश अझ धुमिल थियो । प्रकृतिले यो मानिस चिन्यो, उनका योगदान सम्झियो । प्रकृति दु:खित् थियो, त्यसैले मौन र मलिन थियो । उसले केही थोपा आँसु चुहायो र आफ्नै लयमा फर्कियो । प्रकृतिलाई सधैं दु:खी वा खुसी भएर बस्ने छुट छैन, यो उसको सनातन नियम नै हो, त्यसैले उ लयमा फर्कनै पर्ने थियो, फर्कियो पनि ।
वीर अस्पतालको बरन्डामा झन्डै अलपत्र अवस्थामा चीर निन्द्रामा सुतेका यी मानिस लामो समयदेखि गुमनाम जीवन व्यतीत गरिरहेका थिए । आजीवन भुइँमान्छेका पक्षमा आवाज उठाउने नेपाली आमाका एक होनहार सपुत रुपचन्द्र बिष्ट थिए ।
यिनलाई अधिकांश जनताले स्नेह स्वरूप रुपचन भन्थे । यी आफूलाई जनमुखी सहकर्मी रुपचन्द्र (जसरु), रुपचन्द्र दामन नेपाल (रुदाने), राष्ट्रिय पञ्चायत सदस्य रुपचन्द्र (रापसरु), स्वतन्त्र रुपे (स्वरुपे) भनेर चिनाउने गर्थे ।
मृत्युपश्चात हल्लाखल्ला भयो । केही आफन्त, साथीभाइ, शुभचिन्तक आए । केही राजनीतिज्ञ आए, श्रद्धान्जली दिए । केही वक्तव्यबाजी भयो र प्रकृतिजस्तै सबै आफ्नै लयमा फर्के।
आत्मीय साथीहरूले उनलाई उपचारका लागि अन्य अस्पतालमा लान खोजेका थिए रे । उनले भनेछन्-म सुविधासम्पन्न अस्पतालमा जाँदिन, जहाँ सर्वसाधारणले उपचार गर्छन् त्यहीँ नै उपचार गर्छु, मलाई विशेष सहुलीयत, सुविधा केही चाहिँदैन । अन्तत: उनी वीर अस्पतालमै बिते ।
नियमित उमेर चक्रलाई गणना गर्दा उनको मर्ने समय भएको थिएन । उनी ६६ वर्षका मात्रै थिए । मकवानपुरको पालुङ घर्तीखोलामा १९९० पौष २६ मा जन्मिएका थिए यिनी ।
अहिलेका प्राय: राजनीतिज्ञहरू सामान्य उपचारका लागि पनि राज्यकोषको दोहन गरी विदेशका महंगा अस्पतालमा पुग्छन् । तिनै नेताहरू आफूलाई त्यागी र क्रान्तिकारी भनेर चिनाउन खोज्छन् ।
यस खालका नेता भोगेका अहिलेको पुस्तालाई त्यस्तो पनि होला र ? भन्ने लाग्न सक्छ । उनको प्रष्ट मान्यता थियो, म जनता भन्दा ठूलो होइन, जनताको हैसियत र स्तर भन्दा म माथि कहिल्यै छैन । उनी यही सिद्धान्तको वरिपरि नै आजीवन बाँचे ।
उनले आफू मर्नुभन्दा अगावै नजिकका साथीभाइ र आफन्तलाई भनेका थिए-मेरो लासमा फूल, माला, खादा केही नचढाउनू, कसैलाई दु:ख नदिनू, कुनै श्रद्धाञ्जलि सभा आदि नगर्नू । मरेपछि कसैले गोहीको आँसु नचुहाउनू, चुपचाप लगेर आर्यघाटमा डढाइदिनू । उनले भनेजस्तै अन्त्येष्टी सामान्य नै भयो । उनको इच्छाअनुसार लासमा दागबत्ती दिने उनका नजिकका मित्र स्वनाम साथी (शशी सेरचन) भए ।
भोलिपल्टदेखि पत्रपत्रिकाका पानाहरू शोकले रंगिन थाले । त्यो बेलाका चर्चित पत्रपत्रिकाहरूले अक्षरहरूमा सकेजति उनको बिदाइको कथा बुन्दै लेखे । अर्को भाषामा भन्दा मरेपछि उनको पुनः खोजि, गुणगान व्याख्या सुरु भयो । जिउँदो हुँदा ज्यान फ्यालेर खेद्ने र मरेपछि गुणगानमा समय बिताउने हामी नेपालीको आनीबानी फेरि यहाँ झल्कियो ।
पढ्नेले पढे, ए मरेछ भने । कोही अलिक दुखित् भए, कोहीले यसो एकछिन् निधार खुम्चयाए । क्रमश: सबै समान्य हुँदै गयो ।
एक होइन, अनेक थिए रुपचन
रुपचन यी बहुप्रतिभाका धनी थिए । यी एक असल र मार्गदर्शक शिक्षक थिए । पालुंगको जनकल्याण माविका ‘हेडमास्टर’ थिए, जहाँ उनले आफैँले विद्यालय गानको रचना गरी विद्यार्थीलाई गाउन लगाएका थिए । कसैको तावेदारी गर्नु हुँदैन ‘कुकुर गर्छ निमेकको सोझो, मान्छे गर्छ विवेकको सोझो’ भनेर बालबालिकालाई शिक्षा दिए ।
यो गीतलाई पालुंगको स्कुलसँगै नजिकका वरपरका अरु थुप्रै स्कुलमा विद्यालयमा गाउने वातावरण मिलाए । कसैको स्तुति होइन जनताको पक्षमा आफ्नो विवेकले बोल, भनेर उनले धेरैलाई सानैबाट सिकाए ।
दिउँसो नपढ़्नेलाई बिहान बेलुका पढाऊ तर पढाऊ भने । ‘केटाकेटी नपढाउने बाउआमा मुर्दावाद’ भन्दै सबै केटाकेटी जम्मा पारेर पढाउने माहोल मिलाए । बिहान सबेरैदेखि राति अबेरसम्म खट्ने महिलालाई चुलोचौकोमा मात्र सीमित गर्नु हुँदैन भन्दै ‘कन्या शिक्षा मातृशिक्षा हुनेछ, कन्यालाई पढाउनु यज्ञसरह हुनेछ’ भनेर अभियान चलाए ।
यी पूर्वीय दर्शनका ज्ञाता थिए । करिव ७ वर्ष तारा मण्डल, ग्रह, नक्षत्र, पूर्वीय दर्शको गहन अध्ययन गरे । यी अत्यन्त प्रकृतिप्रेमी थिए, प्रकृतिको बारेमा अनेकौं स्वअध्ययन गरे । दामन पालुङमा यसको प्रयोग गरे । यसको प्रवर्द्धनमा लागे ।
श्रमलाई असाध्यै सम्मान गर्थे । खेती गरे, ड्राइभर भएर गाडी चलाए, होटेल चलाए ।
‘जन अधिकारका निम्ति राजनीति, समाजको हित निमित्त विकास’ भन्दै स्थानीय राजनीतिमा होमिए । यी बोलीले मात्र होइन साच्चिँकै विकासप्रेमी भए । तत्कालीन शिखरकटेरी गाउँ पञ्चायतको प्रधानपञ्च हुँदा सहकारी मोडलको विकास घर, पालुङ विकास समिति (पाविस) को अवाधारणा ल्याए । जनश्रमबाट धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गरे।
यी क्रान्तिकारी कवि थिए । जनता र छाप्रे जगाउने एक होइन अनेक कविता लेखे ।
‘हामी कसैका होइनौँ, कोही हाम्रा होइनन्,
हामी न्याय र सत्यका, न्याय र सत्य हाम्रो’
भन्ने कालजयी नारा स्थापित गर्दै ‘निष्पक्ष सक्रियताको अभ्यास थाहा’ भन्ने भाष्य नै स्थापित गरे । ‘म तिम्रो जुत्ता हुँ लगाऊ तिम्रो खुट्टामा’ भन्दै आफू सदैव जनताको सहयोगी र सेवक हुँ भने ।
यिनी २०३८ र २०४३ सालमा मकवानपुरबाट राष्ट्रिय पञ्चायतमा सदस्य निर्वाचित भए । गज्जब लाग्ने कुरा यिनका पर्चा किनेर पढ्नु पर्ने, त्यो पनि वर्ग हेरेर मूल्य निर्धारण । व्यापारी, किसान, मजदुर, विद्यार्थीलाई फरक-फरक मूल्य ।
सायद नेपालमा पर्चा बेचेर चुनावी खर्च पुर्याउने नेता यी मात्र होलान, अब सायदै जन्मेलान् । वडा अध्यक्षको चुनावमा लाखौँ खर्च गर्नुपर्ने अवस्था बेहोरेका हामीलाई यो कुरा किस्सा नै लाग्न सक्छ ।
यिनले उबेला संसदमा बोलेका र छापिएका कविताका पर्चा हेर्ने हो भने उदेक लाग्छ । त्यो बेला यिनको बहस सुन्दा यी साँच्चै नै गरिबमुखी विधायक थिए भन्ने झल्किन्छ । २०४३ सालमा निर्वाचित जनपक्षीय रापसहरूजस्तै यिनले संसदबाटै पञ्चायतको बिरोध गरे ।
विद्रोही थिए, आजीवन विद्रोही रहे, आफ्नै घर परिवारसँग बिद्रोह गरे, आफैसँग विद्रोह गरे । पटक-पटक मन्त्रीको अफर त्यागे । जनताको प्रतिनिधि यो गरिबमारा, मुलुकमारा सरकारको मन्त्री बन्न मिल्दैन भन्दै केवल जनता जगाउने काममा मात्र लागिरहे ।
एक थान मन्त्रीको अफरमा पार्टी नै फोड्ने र जोड्ने यो समयमा हुर्केका हामीलाई उनका कथा किम्बदन्ती नै लाग्न सक्छ ।
कयौँ प्रसँगमा उनी किम्बदन्ती नै बने । विशाल ज्यान भएका, अग्ला, हट्टाकट्टा यिनलाई धेरैले अद्भूत व्यक्तित्व र रहस्मयी थिए भनेर भन्छन् ।
‘चार माना माटोसँग
तेरो नाता पर्यो भनेर,
माटोको भाँडोले त सित
दोस्तीसोस्ती गर्यो भनेर,
बसिस कैद गमलामा, सिंगै धर्ती छाडेर ?’
उनका यी हरफ जम्मा ५१ अक्षरका छन् तर यसले गहन अर्थ बोक्छ । सिंगो मानव समूहलाई झिनामसिना कुरामा अल्झिएर नबस्न संदेश दिने यिनको यो कविता हेर्दा मलाई कविताको दर्शन महाकवि देवकोटाको ‘कुन मन्दिरमा जान्छौ यात्री भन्ने’ कविता भन्दा कम छ र ? तर दार्शनिक चेतको यो कविताले कहिल्यै भाउ पाएन ।
आजीवन खेदाइमा
निर्दल निर्दयी र बहुदल बहुला व्यवस्था हो भन्थे उनी । ठिक भनेका रहेछन्, हामीले गलत अर्थ लगायौँ, हा हा.. गरेर उडायौँ । पञ्चायत रहुन्जेल उनी सदैव पञ्च र पञ्चायतको खेदाइमा परे तर लडिरहे । ‘सयौँ मण्डले एक्लाएक्लै, एउटा रुपचन हुलकाहुल’ भन्दै भिडिरहे ।
यिनले पञ्चायतविरुद्ध सदन, सडक सबै ठाउँबाट आफ्ना आवाज बुलन्द बनाइरहे । उनी पञ्चायतको विरुद्ध चट्टानजस्तै उभिए । राष्ट्रिय पञ्चायतको सदस्य भएका बेलामा समेत उनी ६ महिना जेल परे तर आफ्ना कुरा राख्न छाडेनन् ।
जताततै पञ्चायती दमन तीब्र थियो । पञ्चायत कठोर हुँदै आएको थियो । त्यसैले यिनले निर्दल निर्दयी भने ।
बहुदल आएपछि पनि उनीमाथिको खेदाइ रोकिएन। अरु सबै पार्टीसँग संगठित शक्ति थियो । युवा, विद्यार्थी, किसान, मजदुरको संगठन थियो तर यिनी एक्ला थिए । भएका केही सहकर्मी पनि छाडेर हिँडे । उनीहरूले बलेकै आगो तापे वा उनकै भाषामा अन्य पार्टीको टोपी लगाएपछि यिनको राजनीतिक अवस्था क्रमशः कमजोर भयो । समयले एउटा किनारमा पुगेर थन्क्यायो तर गरिबका पक्षमा आफ्ना भनाइ आवाज उठाइराखे ।
बहुदलपश्चात हामी मकवानपुरेले अधिकांश समय उनलाई खेद्यौँ । संकी, मुढी, मगज खुस्केको, बहुला घोषित गर्न र घाँसमा लुकेको हरियो सर्प भनेर बद्नाम गर्न नै लामो समय व्यतीत गर्यौँ । जो आजीवन मण्डले, पञ्च र पञ्चायत निरंकुशताको विरुद्ध लाग्यो, जेलनेल भोग्यो, अधिकांश आफन्त, नातागोता गुमायो, गाली, अपमान सह्यो, दुःख सह्यो उनलाई नै जबरजस्ती पञ्चायत हिमायतीको बिल्ला लगाइदियौँ । मानौ कि, यो कुनै मन्दिरमा लगाइएको टीका हो ।
उनलाई बहुलाहा र गद्दार करार गर्ने क्रममा सायद हामी अविवेकी पो भएका थियौँ कि ? नत्र कसरी उनीविरुद्ध यत्तिको विष ओकल्न सकिन्थ्यो ? त्यसैले बहुदल भनेको विवेकले कम हुल्लडले बढी चल्छ भन्थे उनी । अहिले विचार गर्दा, हो जस्तै लाग्छ ।
यी पनि हामी जस्तै मानिस थिए । हाम्रो जस्तै यिनका पनि केही व्यक्तिगत र केही संस्थागत कमजोरी भए होलान् । यिनै विषयलाई हामीले तिललाई पहाड बनायौँ तर सबैभन्दा ठूलो कुरा यिनी सदैव जनमुखी थिए, जनताको पक्षधर थिए त्यो हामीले कहिल्यै हेरेनौँ, बोलेनौँ । एकोहोरो खेदिरह्यौँ, लखेटिरहयौँ ।
‘वी मिस्ड’ रुपचन
रुपचनको मृत्यु भएको समयमा म वन विज्ञान अध्ययन संस्थान पोखरामा बीएससी अध्ययन गर्दै थिएँ । त्यो बेलाको नाम चलेको वैचारिक मासिक पत्रिका थियो, मूल्यांकन । त्यो पत्रिकाकाको श्रावण र भाद्र अंकमा उनको विशेषांक नै छापियो ।
मूल्यांकन मासिकका सम्पादक श्याम श्रेष्ठले ‘शत्रुले चिनेका, मित्रुले नचिनेका, सिंगै समाज मुक्त गर्न हिँडेका विद्रोही दार्शनिक रुपचन्द्र बिष्ट’ भनेर लामो फेहरिस्त छापेपछि उनको पछिल्लो अवस्थाबारे कयौँ नयाँ जानकारी पाइयो । ती जानकारी मन र मस्तिष्कलाई नराम्रोसँग हल्लाउने किसिमका थिए ।
उनको भुँइवर्गप्रति आजीवन एउटा गुनासो रहिरह्यो । जुन वर्गका लागि उनी आजीवन लडे, ती र तिनको वर्ग आफ्नै दुनियाँमा मस्त थियो, उसलाई आफ्नै धन्दा प्यारो थियो । उनकै भाषामा भन्दा यो सदैव ‘भाते वर्ग’ थियो, जो दुई छाक भात र कुकुरले झैँ सन्तान जन्माउने धन्दा गर्छन् ।
उनी यो वर्गलाई जगाउन लागिपरेका थिए तर यो वर्ग जागेन, जाग्दैजागेन अधिकार र कर्तव्य बुझेन । जो जाग्यो, उ पनि अर्कै वर्गको भयो । जसलाई जगाउनु पर्ने हो उ नै नजागेपछि म बाच्नु के अर्थ भन्ने घोर निराशाले उनलाई घेर्यो । त्यसपछि उनले रक्सी र चुरोटलाई अभीन्न मित्र बनाउन पुगे । क्रमशः आफ्नो शरीरलाई दुःख दिन थाले । यो अत्यन्तै डरलाग्दो अवस्था थियो ।
क्याम्पसको होस्टलमा बसेर मैले मूल्यांकनको यो अंक आधोपान्त पढेँ, पटक-पटक पढेँ । जति पढेँ, म भित्रको म बेस्सरी हल्लियो । यसले मेरो खोक्रे आडम्बरलाई बेस्सरी लोप्पा खुवाइदियो र विवेकको धोति खुस्काइदियो । म अत्यन्त द्रवीभूत भएँ ।
२०४३ को चुनावमा यिनको पक्षमा खुलेर लागेका हामी २०४८ सालको चुनावमा कसरी यिनको विपक्षमा खुलेर लाग्यौँ ? आफैँलाई प्रश्न गरेँ । सम्झेँ, यो नियतिको खेल थियो वा किसुनजीको भनाइ अनुसार सबैको आ-आफ्नो प्रारब्धको खेल थियो, मलाई थाहा छैन । तर, के चाहिँ हो भने, त्यो समय हामी अलिक बढी नै अविवेकी भयौँ । उनले पटक-पटक भनेका थिए, ‘भोट जसलाई मन लाग्छ देऊ तर कम्तीमा को, कसको वर्गीय पक्षधरता हो त्यो हेरिदेऊ ।’
हामीले हालेको भोट प्रगतिशील खेमामै थियो तर उनलाई आवश्यकता भन्दा बढी आलोचना गर्यौँ । उनलाई खुइल्याउनुमा नै आफ्नो सफलता मनायौँ । जे सिकाइएको र सिकिएको थियो त्यसमा थपथाप गरेर अनावश्यक कुरा बोल्यौँ । यसमा आफ्नो विवेकबाहेक कसैलाई दोष दिने कुरा देख्दिन म । मेरा लागि यो आजीवन खट्केको विषय हो र रहनेछ ।
निकै वर्षसम्म चुपचाप बसियो, धेरै हेरियो, धेरै भोगियो । र, अन्त्यमा के थाहा पाइयो भने, फगत एक संसदीय चुनावका लागि हामीले इतिहासको दुर्लभ संयोगले जन्मिएका एक हक्की, स्पष्ट अडान र दृष्टिकोण भएका दार्शनिक र अमूल्य हिरालाई असमयमा गुमायौँ ।
‘सत्यको परिचय भ्रमको उल्टो थाहा’ हो । र, आफ्नो अधिकार, कर्तव्यको बारेमा आफैँले थाहा पाऊ भन्थे उनी । आफ्नो चेतनाको ज्योति आफैँ बाल्दै जाऊ, किसानको नेता सामन्ती हुन् मिल्दैन, मजदुरको नेता मालिक हुन् मिल्दैन, महिलाको नेता पुरुष हुन् मिल्दैन तिम्रो नेता तिमी नै हौ र हुनुपर्छ भन्दै गाँउबस्ती डुल्थे ।
दुरदराजमा छाप्रे जगाउदै सिंगो समाज बदल्न हिँडेका एक महान योद्धालाई जबर्जस्ती मृत्युको मुखमा धकेल्यौँ । अब पछुतोको पनि केही अर्थ छैन, न उनले सुन्छन् न अब कसैले उनका कुरा सुन्छन् ।
अहिले वरिपरि हेर्छु, माथिदेखि तलसम्म जताततै नेता देख्छु । अचम्म लाग्छ, कसका पक्षमा बोलिरहेका छन् यी ? रुपचन जीवित भएका भए यिनलाई के भन्थे होलान् ? को होला अब गाँउगाउँ बस्ती गएर गएर छाप्रे जगाउने ? को होला जाग, उठ भोकानांङ्गा भन्दै विद्रोहको सारंगी बजाउने ? आफ्ना नेताले जे भने पनि हस् र जय हजुर भन्दै अघिपछि गर्नेको जमातमा बेठिकका विरुद्ध ठिक भन्दै स्पष्ट अडान राख्ने अब को होलान् ?
असार ७
असार ७ गते । उनै रुपचनको स्मृति गर्ने दिन, उनलाई सम्झने दिन । जबर्जस्ती भएपनि उनको गुणगान गाउने दिन । म आफैँ अलमलमा छु । के लेख्ने के नलेख्ने ? के लेख्दा उनको साचो श्रद्धाञ्जलि हुन्छ, थाहा छैन ।
म बेचैनीमा छु, उनलाई यत्रतत्र खोजिरहेको छु । उनका भेटेजतिका किताब, लेख आदि हेरिरहेको छु । मनमनै एउटा प्रण गरेको छु, जति सकिन्छ, उनको मूल सिद्धान्त जनमुखी हुने र रहने कोसिस गर्ने, जनमुखी राजनीतिलाई एउटा बिम्ब मान्ने, यही गर्न सकेमा उनीप्रति साँचो श्रद्धाञ्जलि हुनेछ ।
आजकल म हरेक दिन यिनलाई नै सम्झन्छु । जब म दुरदराज गाउँ पुग्छु, चेपाङ, तामाङ, थारु गाउँ पुग्छु, गरिबका झुप्राहरू देख्नासाथ अनायसै उनै रुपचनको सम्झना आउँछ । संसदमा कुरा सुन्छु, आफ्ना नेता जति भ्रष्ट र नालायक भए पनि ढाकछोप गर्ने सांसद देख्छु । अनि, मन्त्री र प्रधानमन्त्रीलाई समेत ‘तँ भाते जनविरोधी भइस्’ भनेर हुंकार गर्ने तिनै रुपचनलाई सम्झँन्छु ।
नेताका ठूलो भुँडी, चिल्ला गाडी, ठूलो घर देख्छु । अनि, रुपचनको खस्रो हात र भाङ्ग्रे लुगा, थोत्रो स्कुटर र सामान्य जीवनशैली सम्झन्छु । गाउँलेका कुरा सुन्छु, छटपट लाग्छ अनि यिनको असाध्य न्यास्रो लागेर आउँछ ।
तिमीले अपेक्षा गरेको छाप्रे वर्ग त्यहाँभन्दा माथि उठ्न सकेका छैनन् । र, हामी पनि त्यहीँ नै छौँ, जहाँ तिमीले छाडेका थियौ ।
निराश हुँदै भन्न मन लाग्छ, ‘रियल्ली वी मिस्ड यु’ रुपचन ।
सालककुटी, धादिङ
प्रतिक्रिया 4