+

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

२०८२ असार  १७ गते १९:१२ २०८२ असार १७ गते १९:१२
Shares
मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा हप्तामा ४–५ मस्तिष्क मृत्युका घटना हुन्छन् र वार्षिक रूपमा लगभग २४० देखि २५० केस हुन्छन्।
  • नेपालले मस्तिष्क मृत्युलाई कानुनी मान्यता दिएको भए पनि अंगदानको कार्यान्वयन र जागरूकता अभाव छ।
  • सङ्घर्ष र बाधाहरूको बाबजुद, चिकित्सक, परिवार र सरकारको संयुक्त प्रयासले जीवन बचाउने सम्भावना बढाउन सक्छ।
मस्तिष्क मृत्यु भन्नाले मस्तिष्क र ब्रेनस्टेमको सम्पूर्ण क्रियाशीलताको स्थायी र अपरिवर्तनीय अन्त्य जनाउँछ ।  मस्तिष्क मृत्यु प्रमाणित भएपछि ती व्यक्ति कानुनी तथा चिकित्सकीय रूपमा मृत घोषित हुन्छन्, यद्यपि मुटु कृत्रिम जीवन समर्थन प्रणालीबाट केही समयसम्म धड्किरहेको हुन सक्छ ।
कोमा भनेको बेहोसीको गम्भीर अवस्था हो, जहाँ मस्तिष्क आंशिक रूपमा क्रियाशील रहन्छ र बिरामीमा ब्रेनस्टेम रिफ्लेक्सहरू जीवित रहन सक्छन् । कोमाबाट निको हुने सम्भावना पनि रहन्छ, तर मस्तिष्क मृत्यु भएपछि व्यक्ति कहिल्यै पुनर्जीवित हुँदैन।
नेपालको वर्तमान अवस्था
नेपालमा हालको अस्पताल र आईसीयूको अवस्थालाई हेर्दा हप्तामा ४–५  मस्तिष्क मृत्युका घटना हुन सक्छन्, जसअनुसार वार्षिक रूपमा लगभग २४० देखि २५०  मस्तिष्क मृत्युका केसहरू हुने अनुमान छ । यदि तीमध्ये कम्तीमा ५० प्रतिशत बिरामीका अंगहरू दान गरियो भने, ८०० देखि ९०० जीवनहरू बचाउन सकिन्छ ।
तर, यथार्थमा भने नेपालमा हालसम्म मस्तिष्क मृत्यु भएका ६ जनाको अंग मात्रै दान गरिएको छ, जुन अत्यन्तै न्यून र दुःखद तथ्य हो।
नेपालको कानुनी व्यवस्था
नेपाल सरकारले मानव शरीर अंग प्रत्यारोपण (नियमन तथा प्रतिषेध) ऐन, २०७२ मार्फत मस्तिष्क मृत्युलाई कानुनी मान्यता दिएको छ। यस अनुसार, उपयुक्त चिकित्सकीय प्रमाण र परिवारको सहमतिमा मस्तिष्क मृत्यु घोषणा भई अंग संकलन गर्न पाइन्छ ।
मस्तिष्क मृत्यु पुष्टि गर्ने निकाय
नेपालमा मस्तिष्क मृत्यु पुष्टि गर्न चिकित्सकहरूको विशेष समिति चाहिन्छ, जसमा निम्न सदस्यहरू हुन्छन् :
-न्युरोसर्जन वा न्युरोलोजिस्ट
-फिजिसियन वा इन्टेन्सिभ केयर विशेषज्ञ
-एनेस्थेसियोलोजिस्ट
-अस्पताल प्रशासन प्रतिनिधि
यी विशेषज्ञहरूले मिलेर मापदण्ड अनुसार  मस्तिष्क मृत्यु घोषणा गर्ने प्रावधान छ।
नेपालमा अंगदानमा रहेका मुख्य बाधाहरू
१.चेतनाको अभाव : धेरै मानिसहरू र अस्पतालका स्वास्थ्यकर्मीहरूलाई समेत  मस्तिष्क मृत्यु र अंगदानको सटिक जानकारी छैन।
२.धार्मिक तथा सांस्कृतिक मान्यताहरू : केही धर्म/समुदायले मृत शरीरमा हस्तक्षेप गर्न नहुने विश्वास गर्छन् ।
३.अंग संकलन केन्द्रको अभाव : केही सीमित अस्पतालहरू मात्र यस्तो कार्यका लागि सक्षम छन् ।
४.स्थानीय अस्पतालको नीति र तालिमको कमी : परिवारसँग संवाद गर्न र अंगदानमा अगाडि बढाउन तालिमप्राप्त ट्रान्सप्लान्ट कोअर्डिनेटरहरूको अभाव छ ।
५.भ्रामक लक्षणहरू :  मस्तिष्क मृत्युपछि पनि केही समयसम्म बिरामीको शरीरमा हातखुट्टा चल्ने, औंला फुस्फुसाउने, टाउको घुम्ने, सासजस्तै लाग्ने चाल देखिन सक्छ, जसले
चिकित्सकहरूलाई पनि निर्णयमा अलमलमा पार्न सक्छ।
६.परिवारको असहमति र कठिनाइ : परिवारलाई मस्तिष्क मृत्युको बारेमा बुझाउनु, भावनात्मक सहारा दिनु र अंगदानमा तयार गराउनु चुनौतीपूर्ण काम हो।
मस्तिष्क मृत्युमा सरोकारवालाको भूमिका
-न्युरोसर्जन र फिजिसियनहरू : समयमै मस्तिष्क मृत्यु पहिचान, पुष्टि, परिवारसँग संवाद गर्ने प्रमुख भूमिका यी चिकित्सकहरूको हुन्छ।
-परिवारजन : उनीहरूको समझदारी र इच्छाशक्ति नै अंगदानमा निर्णायक हुन्छ ।
-अस्पताल प्रशासन : अंग संकलन प्रक्रियाको सहजता र समन्वय अस्पताल नीतिले सुनिश्चित गर्नुपर्छ।
-सरकार र संघसंस्थाहरू : जनचेतना फैलाउने, तालिम दिने र आवश्यक पूर्वाधार विकास गर्ने मुख्य जिम्मेवारी हुन्छ ।
विश्व सन्दर्भमा नेपाल
आजको मितिमा विश्वका ७० प्रतिशत भन्दा बढी मुलुकमा  मस्तिष्क मृत्युलाई कानुनी मान्यता वा चिकित्सकीय दिशानिर्देशनबाट पुष्टि गर्ने चलन छ । स्पेन, अमेरिका, भारत लगायतका देशहरूमा मस्तिष्क मृत्युपछिको अंगदानले उल्लेखनीय प्रगति गरेको छ । नेपालले पनि २०७२ मा कानुनी आधार तयार गरेको भए पनि कार्यान्वयन र व्यवहारमा अझै ठूलो सुधार आवश्यक छ।
जागरूक बनौँ, जीवन बचाऔँ
मस्तिष्क मृत्युपछि अंगदान गर्नु एक मानवीय, नैतिक र जीवनदायी कार्य हो । नेपालमा सयौं बिरामीहरूले प्रतिक्षा गरिरहेका छन्, जब कि प्रत्येक वर्ष सयौं अंगहरू खेर गइरहेका छन् । चिकित्सक, नीति निर्माता, सञ्चारकर्मी र आम जनता जनसमुदाय मिलेर यो कार्यलाई सफल बनाउनुपर्छ ।
अब हामी नयाँ युगतर्फ अघि बढ्नुपर्छ, जहाँ मस्तिष्क मृत्युलाई मृत्युको रूपमा स्वीकार्ने, मृतकको अंगदाताको इच्छालाई सम्मान गर्ने र जीवन बचाउने प्रयासमा सबै एकजुट हुने समय आएको छ।
हामी सबैको सानो प्रयासले असंख्य जीवनहरू बचाउन सकिन्छ।
अंगदान मस्तिष्क मृत्यु
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

चिकित्सक न त व्यापारी हो, न त भगवान्

चिकित्सक न त व्यापारी हो, न त भगवान्

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक