+
+
Shares

एआई प्रयोग गर्नेबेला आफैंलाई सोध्नुहोस् यी चार प्रश्न

अहिले विश्वमा हरेक दिन नयाँ-नयाँ एआई एपहरू सार्वजनिक भइरहेका छन् । यी एपहरु साना–ठूला सबै प्रकारका आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएका हुन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एआई प्रविधि तीव्र गतिमा विकास हुँदैछ र विभिन्न कार्यमा प्रयोग भइरहेको छ।
  • साशा लुचियोनीले भने, 'एआई नियन्त्रित हुनुपर्छ' र प्रयोगअघि चार प्रश्न सोध्न सुझाव दिइन्।
  • एआईको प्रयोग गर्दा यसको उत्तरको सत्यता, गोपनीयता र आवश्यकतालाई ध्यान दिनु आवश्यक छ।

यसले तपाईंको गणितको होमवर्क गरिदिन सक्छ, जागिरको अन्तरवार्तामा सोधिने प्रश्नहरूको उत्तर पनि दिन सक्छ र तपाईंको थेरापिस्ट वा डाक्टरको भूमिकासमेत निर्वाह गर्नसक्छ । वास्तवमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अहिले केवल एउटा बटन थिचेकै भरमा अनगिन्ती कामहरु गर्नसक्ने अवस्थामा पुगेको छ ।

एआई प्रविधि निकै तीव्र गतिमा अगाडि बढिरहेको छ । यसबीचमा विभिन्न एआई प्लेटफर्महरूले एकअर्कासँग कडा प्रतिस्पर्धा गर्दै लगातार नयाँ–नयाँ र सुधारिएका प्रविधि तथा फिचरहरू थपिरहेका छन् ।

च्याट जीपीटी वर्तमान समयको सर्वाधिक तीव्र गतिमा विकशित भईरहेको प्रविधिमध्येको एक हो भन्दा फरक पर्दैन ।

विभिन्न ३० देशका सरकारहरू, संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र आर्थिक सहयोग तथा विकास संगठनको सहयोगमा तयार गरिएको अन्तर्राष्ट्रिय एआई सुरक्षा प्रतिवेदनका अनुसार च्याट जीपीटी सार्वजनिक भएको केवल पाँच दिनमै यसका प्रयोगर्कताको संख्या १० लाखभन्दा धेरै पुगिसको थियो भने दुई महिनामै त्यो संख्या १० करोड नाघेको थियो ।

सन् २०२३ मा आफ्नो एआई असिस्टेन्ट को पाइलट लन्च गरेको माइक्रोसफ्टका अनुसार यो वर्ष सन् २०२५ को दोश्रो त्रैमासिक अविधमा एआई व्यवसायबाट प्राप्त हुने राजस्व १० अर्ब डलर भन्दा धेरै हुनेछ । साथै माइक्रोसफ्टले विश्वका ६० भन्दा धेरै क्षेत्रमा आफ्ना डेटा सेन्टरहरुको विस्तार गरेको जनाएको छ ।

गुगलको मातृ कम्पनी अल्फाबेटका सिईओ सुन्दर पिचाईका अनुसार गुगलको सर्च रिजल्टमा सबैभन्दा माथि देखिने एआई ओभरभ्यूज अर्थात् एआई सिर्जित सारांशलाई हरेक महिना २ सय भन्दा धेरै देश तथा क्षेत्रहरुमा डेढ अर्ब पटक प्रयोग गरिन्छ ।

विज्ञहरुका अनुसार यो प्रविधि अहिले हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । यस्तो परिस्थितमा अब मानव समुदाय एआईबाट टाढा भाग्ने होइन त्यसको अधिकतम लाभ उठाउनु पर्नेछ ।

ओपन सोर्स एआई मोडेलका बारेमा काम गर्ने तथा असल मेसिन लर्निंगको लोकतान्त्रिकरणको पैरवी गर्ने एक वैश्विक स्टार्टअप हगिंग फेन्समा कार्यरत जलवायु सम्बन्धी अगुवा तथा क्यानेडाली कम्प्युटर वैज्ञानिक साशा लुचियोनीले बीबीसी १०० वुमनमा भनेकी छिन्: मैले मानवताको भलाई तथा खराबी दुबै मामिलामा एआईलाई एक विस्तारकको रुपमा हेर्छु । तर यो  नियन्त्रित हुनुपर्छ भन्ने कुरा चाहीँ हामीले सुनिश्चित गर्नुपर्छ ।

उनका अनुसार कुनैपनि मानिसले एआई प्रयोग गर्नुअघि यी चार प्रश्न आफैंसँग सोध्नुपर्छ:

१. के मेरो आवश्यकता पूरा गर्नका लागि यो सबैभन्दा उत्तम एआई टूल हो ?

लुचियोनीका अनुसार एआई सिस्टमहरू धेरै प्रकारका काम गर्न सक्षम हुन्छन् । प्राय: हामी प्रयोगकर्ताहरु च्याट जीपीटीजस्ता सबैभन्दा चल्तीका एआई टूल नै प्रयोग गर्छौं ।

किनभने ती हामी ती टूलहरूसँग परिचित हुन्छौं र तिनीहरूले धेरै कुरा गर्न सक्छन् । तर एआईको संसारमा यस्ता विशेष खालका एआई टूलहरू पनि छन् जुन कुनै विशेष कामका लागि विकाश गरिएका हुन्छन् ।

कतिपय एआई टूलहरु केवल वैज्ञानिक प्रश्नहरूको उत्तर दिनका लागि बनाइएका हुन्छन्, जसले च्याट जीपीटी जस्ता आम प्रयोगका एआई टूलको तुलनामा विशिष्टीकृत र वैज्ञानिक उत्तर दिन सक्दछन् ।

अहिले विश्वमा हरेक दिन नयाँ-नयाँ एआई एपहरू सार्वजनिक भइरहेका छन् । यी एपहरु साना–ठूला सबै प्रकारका आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएका हुन्छन् ।

जस्तै, कुनै एपले हाम्रो  गणितको कुनैपनि समस्या फोटो हेरेकै भरमा समाधान गर्न सक्छ । साथै कुनै  अर्को एपले हाम्रो खाना हेरेर त्यसको रेसिपी अझ राम्रो बनाउन सुझाव दिन सक्छ ।

कुनैले धार्मिक ग्रन्थहरूबाट जानकारी संकलन गरेर तपाईंका लागि व्यक्तिगत प्रार्थनाहरू तयार गर्न सक्छ । स्ट्यानफोर्ड विश्वविद्यालयको एआई इन्डेक्स २०२५ को रिपोर्टअनुसार, गत वर्ष अमेरिकाका संस्थाहरूले ४० वटा  उल्लेखनीय एआई मोडेल तयार गरेका थिए, जबकि चीनले १५ र  युरोपले केवल तीनवटा मात्र बनाएका थिए ।

एकजना एआई टूल प्रयोगकर्ताको रुपमा तपाईंले सबैभन्दा पहिले कुन एपले के सेवा दिन्छ भन्ने बुझ्नुहोस्, अनि आफ्नो आवश्यकतालाई ध्यानमा राखेर सही टूल छनोट गर्नुहोस् ।

२. के एआईका उत्तरहरूमा भर पर्न सकिन्छ ?

एआईले  हामीलाई आफूले सोधेको तथा खोजेको हरेक कुराको उत्तर दिन त सक्छ ।  तर त्यो सधैं सत्य वा एकदमै ठिक नहुन पनि सक्छ ।

लुचियोनी भन्छिन्, ‘एआई मोडेलहरूले कहिलेकाहीँ यस्ता कुराहरु बनाइदिन्छन् जुन यथार्थता अस्तित्वमै नहुन सक्छन् । हामीले जब आफ्नो कार्यालय वा विद्यालयजस्ता गम्भीर ठाउँमा एआई प्रयोग गरिरहेका हुन्छौँ त्यसबेला यस्ता गलत तथा भ्रामक उत्तरहरुले  धेरै नै समस्या सिर्जना गर्न सक्छ ।’

त्यसैले एआईले दिएको जवाफलाई राम्ररी जाँच गर्नुपर्छ । उनको सुझाव छ: एआईको उत्तरलाई ध्यान दिएर धेरैपटक पढ्नुस् र वास्तवमा त्यसले के भन्न खोजेको हो बुझ्नुहोस् । एआईको उत्तर कहिलेकाहीँ अत्यन्तै आत्मविश्वासी देखिन सक्छ । तर त्यसले सही जानकारी दिन्छ भन्ने ग्यारेन्टी हुँदैन ।

३. एआई प्रयोग गर्दा आफ्ना जानकारीहरुको गोपनीयता कत्तिको सुरक्षित छ ?

लुचियोनीका अनुसार प्रयोगकर्ताहरुले एआई मोडेलमा दिने जानकारी मात्र होइन, त्यसबाट आउने उत्तरहरूबारे पनि सोच्न आवश्यक छ ।

एआई सिस्टमहरू ठूलो मात्रामा डेटा संकलन गरी त्यही डेटा प्रयोग गरी प्रशिक्षित गरिन्छन् । यसको अर्थ तपाईं हामीले एआई प्लाटफर्ममा  दिएको जानकारी, चाहे त्यो फोटो होस् वा लेखिएको पाठ, लाई नै विश्लेषण गरेर एआईले भविष्यमा अन्य प्रयोगकर्तालाई दिइने उत्तरहरूमा समावेश गर्दछ ।

हरेक प्लाटफर्महरुको आफ्नै गोपनीयता नीति हुन्छ ।  त्यसैले कुनै पनि एआई टूल प्रयोग गर्नु अघि त्यसका नियम र शर्तहरू ध्यानपूर्वक पढ्नु जरूरी छ ।

विज्ञका अनुसार व्यक्तिगत वा संवेदनशील जानकारीहरु कहिल्यैपनि एआईमा हाल्नुहुँदैन । किनकि त्यो जानकारी इन्टरनेटमा सार्वजनिक हुनसक्छ ।

मेटा एआई एपतर्फ संकेत गर्दै उनले केही प्रयोगकर्ताहरुले अन्जानमै आफ्ना जिज्ञासा तथा विवरणहरु एपको सार्वजनिक फिडमा देखिने गरी राखिरहेका थिए ।

एआई टूलका प्रयोगकर्ताहरूले स्कुल वा विश्वविद्यालयका तस्वीरहरु, परिक्षाका प्रश्नहरू, यौनजन्य सामग्रीका अनुरोधहरू र आफ्नो लैंगिक पहिचानबारे समेत सल्लाह माग्ने जस्ता संवेदनशील कुरा एआईमा अपलोड गर्ने गरेको देखिएको छ ।

स्मरण रहोस् सन् २०२३ मा इटली गोपनीयता सम्बन्धी चिन्ता र आफ्नो डेटा सुरक्षा कानूनका आधारमा च्याट जीपीटीजस्तो अत्याधुनिक च्याटबोटमा रोक लगाउने पहिलो पश्चिमी मुलुक बनेको थियो ।

त्यसैगरी चिनियाँ एआई च्याटबट डीपसीकका  सन्दर्भमा दक्षिण कोरिया, अष्ट्रेलिया र अमेरिका जस्ता देशहरूले पनि प्रयोगकर्ताको डेटा सुरक्षाको बारेमा चासो व्यक्त गर्दै आएका छन् ।

४. के मलाई वास्तवमै एआई आवश्यक छ ?

एआईलाई हामीले केवल एउटा टूलको रुपमा मात्रै प्रयोग गर्नु पर्दछ किनकि यसले हाम्रो दिमागको ठाउँ लिन सक्दैन । कुनैपनि काम आफैंले गर्न सकिन्छ वा गणितका केही जटिल समस्याका लागि क्याल्कुलेटर जस्ता अन्य उपकरणको प्रयोग गरेमात्रै पुग्छ कि भन्ने विकल्पहरुमा ध्यान दिनुहोस् । साथै नैतिक तथा व्यक्तिगत सवालहरुका लागि एआईको साहारा लिनुको साटो आफ्ना नजिकका मानिसहरुको सहयोग लिनुपर्छ ।

लुचियोनी भन्छिन्- जस्तो कि के सही हो र के गलत हो ? कुन परिस्थितमा के नैतिक हो र हामीले कस्तो खालको निर्णय लिनुपर्छ ? मानवीय मूल्यको आधारमा एआईले यस्तो खालका मामिलाहरुमा निर्णय लिन सक्दैन ।

पारम्परिक सर्च इन्जिनको तुलनामा एआईले निकै धेरै उर्जा तथा स्रोतसाधनको प्रयोग गर्ने गर्दछ । एआईले जुन कम्प्युटर सर्भरका डेटा सेन्टरको प्रयोग गर्छ, त्यसलाई चिस्याउनका लागि ठूलो मात्रामा पानी आवश्यक पर्छ। जसबाट विश्वमा पानी आपूर्तिको समस्या झनै खराब बन्नसक्छ ।

उनका अनुसार आम मानिसहरुले  सोसल मिडिया चलाउनुका साथै निकै सक्रिय पनि रहेको हुँदा एआई टूलहरुको उपस्थिति अवस्यंभावी छ ।

तर यसको अर्थ यो होइन कि हामीले आफ्नो जीवनको हरेक चिजका लागि एआईको प्रयोग गर्नुपर्छ । किनकि यसले हाम्रो रचनात्मकता, सम्बन्ध तथा समुदाय जस्ता ती आयामहरुलाई नष्ट गरिदिन्छ, जसले हामीलाई मानव बनाएका हुन्छन् । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?