
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलले एसजी एमयूएन ४.० आयोजना गरी विद्यार्थीलाई व्यावहारिक र अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्यो।
- कार्यक्रममा अतिथिहरूले युवाको आत्मविश्वास र विश्वव्यापी सहभागिताको महत्त्वमा जोड दिए र युवालाई साझेदारको रूपमा हेर्न आग्रह गरे।
- प्रतिनिधिहरूले तर्कशीलता, समस्या समाधान, आलोचनात्मक सोच र अन्तर्राष्ट्रिय सम्मेलन सञ्चालनको ज्ञान हासिल गरे।
२३ असार, काठमाडौं । स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलले बहुप्रतीक्षित नमुना संयुक्त राष्ट्रसंघ (एसजी एमयूएन) ४.० को समारोह सम्पन्न गरेको छ ।
‘आजको सिकाइ, भोलिको नेतृत्व’ भन्ने उद्देश्य अनुसार विद्यार्थीलाई केवल कक्षाकोठा र पाठ्यपुस्तकमा सीमित नराखी व्यावहारिक सिकाइतर्फ उन्मुख गराउने प्रयासस्वरूप एसजी एमयूएन ४.० आयोजना गरिएको हो ।
एसजी एमयूएन ४.० का निर्देशक तथा महासचिव तथा कक्षा १२ का विद्यार्थी अधिशविनोद पोखरेलले उद्घाटन मन्तव्यमा पाहुना र पहिलोपटक सहभागी हुने प्रतिनिधिलाई स्वागत गरे ।
उनी पहिलो संस्करणदेखि नै एसजी एमयूएनसँग आबद्ध छन् । उनलाई कक्षा १० का विद्यार्थी तथा उपमहासचिव जेनिथ कार्कीले साथ दिएका थिए । स्वस्तिश्री गुरुकुलका प्रतिनिधिले विगतमा अमेरिकाको न्युयोर्कमा आयोजित डब्लूआईएमयूएन लगायत संयुक्त राष्ट्रसंघ मुख्यालयमा समेत सहभागिता जनाएर उच्चस्तरमा पहुँच बनाउँदै आएका छन् ।
तीन सफल संस्करणपछि विद्यार्थीको नेतृत्वमा सञ्चालित एसजी एमयूएन ४.० ले प्रेरित युवालाई संयुक्त राष्ट्रसंघ सत्रको अनुकरण गर्दै बौद्धिक, सामाजिक र नैतिक विकासका लागि महत्त्वपूर्ण मञ्च उपलब्ध गराउन आफ्नो उद्देश्यलाई निरन्तरता दिएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा युवा सशक्तीकरण र विश्वव्यापी प्रगतिमा समर्पित व्यक्तित्वहरू उपस्थित थिए ।
चे एन्ड कोका प्रबन्ध निर्देशक चेवन राई र यूएनएफपीए नेपालका ‘डाइभर्सिटी एन्ड इन्क्लुजन’ कार्यक्रमकी एसोसिएट रेश्मी सुनारले विशेष अतिथिका रूपमा मन्तव्य दिँदै आफ्नै एमयूएन अनुभव सम्झना स्वरूप भावनात्मक र प्रेरणादायक सन्देश दिइन् ।
उनीहरूले भने ‘एमयूएनले आत्मविश्वास बढायो । हामीले आफूभित्रको नयाँ पक्ष पत्ता लगायौं जब युवाले फस्टाउन पाउँछन्, तब सम्पूर्ण समुदाय फस्टाउँछ । तपाईंहरू जस्ता युवाले नै यस्तो विश्वस्तरीय कार्यक्रम आयोजना गर्दै ४० वटा प्रायोजक ल्याउनु प्रेरणादायक कुरा हो । जब युवा अघि बढ्छ, समुदाय अघि बढ्छ, हामी आशा गर्छौं, तपाईंहरूले देखिरहनुभएको सबै कुरामा प्रश्न उठाउनु हुनेछ ।’
कार्यक्रमकी प्रमुख अतिथि संयुक्त राष्ट्रसंघ सूचना केन्द्र (यूएनआईसी) काठमाडौंकी प्रमुख सिम्रिका शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, ‘कूटनीति भनेको केवल सुट र मिटिङ मात्रै होइन, फरक मत राख्नेहरूसँग संवाद गर्ने प्रक्रिया पनि हो ।’
यस वर्ष संयुक्त राष्ट्रसंघको ८०औं वार्षिकोत्सव र नेपालमा यसको ७०औं वर्ष भएको जानकारी गराउँदै उनले थपिन्, ‘हामी युवालाई भविष्यमात्र होइन, साझेदारका रूपमा पनि हेर्छौं । तपाईंहरूको आवाज महत्त्वपूर्ण छ, तपाईंहरूको पुस्ताले जुन कुरालाई प्राथमिकता दिन्छ, उद्यमशील यात्रा होस् वा यस्ता ठूला संवादहरूमा सहभागिता त्यसमा आशा देखिन्छ ।’
स्वस्तिश्री गुरुकुलकी प्रधानाध्यापक नेहा केसीले एसजी एमयूएनलाई एक यस्तो मञ्च जसले जोश, कूटनीति र युवाको आवाजको शक्तिलाई एकै ठाउँमा ल्याउँछ भनेर प्रशंसा गरिन् ।
साथै, उनले स्वस्तिश्री गुरुकुलले आफ्ना विद्यार्थीमा समालोचनात्मक सोच र विश्वव्यापी चेतनाको विकासमा सधैं प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
सम्पूर्ण अतिथिलाई विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जनले स्वागत गर्दै मायाको चिनो प्रदान गरेकी थिइन् ।
एसजी एमयूएन ४.० असार २२ सम्म चलेको थियो । जहाँ प्रतिनिधिले सम्मेलनबाट विद्यार्थीमा तर्कशीलता, समस्या समाधान पहिल्याउने क्षमता, आलोचनात्मक सोच, फरक विचार आत्मसात गर्ने अभ्यास साथै विश्व राजनीति तथा अन्तर्राष्ट्रिय सम्मेलन कसरी सञ्चालन हुन्छ भन्ने ज्ञान हासिल गरे ।
उक्त कार्यक्रममा उपत्यकाका ४० विद्यालयका १ सय ७५ प्रतिनिधिको उत्साहजनक सहभागिता थियो ।
प्रतिक्रिया 4