+
+
Shares

दुई दिनमै फेरियो श्रीमान्‌को आदेश

अदालतको तहसिल शाखाबाट अघि बढेको निवेदनको सुनुवाइपछि न्यायाधीश हरिप्रसाद कोइरालाले ‘माग बमोजिम नै हुने’ भन्ने आदेश गरेका थिए, जुन आदेश दुई दिनपछि फेरबदल भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते २१:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरका जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाले आदेश फेरबदल गरेपछि विवाद भएको हो।
  • उनले ‘अंशियार घटाइ पाऊ’ निवेदनमा ‘माग बमोजिम हुने’ आदेश गरेका थिए, जुन फेरि ‘माग बमोजिम नहुने’ मा परिवर्तन भयो।
  • पीडित पक्षले न्यायाधीशको कार्यक्षमता नदेखिएको भन्दै न्यायपरिषदमा उजुरी दिएको छ।

२४ असार, काठमाडौं । ललितपुरका जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाले एकथरी आदेश गरेपछि फेरबदल गरेको भेटिएको छ । गत शुक्रबार एकथरी आदेश गरेका जिल्ला न्यायाधीश कोइरालाले दुई दिनपछि त्यसलाई फेरबदल गरेको भेटिएको हो ।

ललितपुरका न्यायाधीश कोइरालाको इजलासमा गत शुक्रबार ‘अंशियार घटाइ पाऊ’ भनी एउटा निवेदन परेको थियो । त्यही दिन न्यायाधीश कोइरालाले निवेदकको ‘माग बमोजिम हुने’ आदेश गरेका थिए ।

‘त्यो दिन फाँटका कर्मचारीहरुले तपाईहरूको जे माग थियो, त्यो कार्यान्वयन हुने भन्ने आदेश भएको छ भनेर बताएका थिए’ निवेदकले भने, ‘पछि बेवसाईट हेर्दा पनि माग बमोजिम हुने भन्ने आदेश थियो ।’

तर आइतबार बेवसाइटमा पहिले लेखेको व्यहोरा फेरेर ‘माग बमोजिम नहुने’ भनेर परिमार्जन भएको थियो । अदालतका कर्मचारीहरुले पनि फोन गरेर तपाईहरूको माग अनुसारको आदेश भएन है भनेर खबर गरेका थिए ।

अंश मुद्दा दायर गरे पनि हाल सुरक्षा सेवामा रहेको भन्दै उनले आफ्नो नाम र पहिचान खोल्न चाहेनन् ।

उनका अनुसार, बाबुआमा, दुई अविवाहित छोरी र दुई छोराहरूवीचको अंशविवाद परेको थियो । सर्वोच्च अदालत पुगेर टुंगिएको विवादमा निवेदकले ६ भागको १ भाग पाउने फैसला भएको थियो ।

फैसलापछि बाबुको निधन भयो । त्यसपछि निवेदक ‘अंशियार घटाइ पाऊ’ भनी जिल्ला अदालत ललितपुर पुगेका थिए ।

अदालतको तहसिल शाखाबाट अघि बढेको निवेदनको सुनुवाइपछि न्यायाधीश हरिप्रसाद कोइरालाले ‘माग बमोजिम नै हुने’ भन्ने आदेश गरेका थिए, जुन आदेश दुई दिनपछि फेरबदल भएको हो ।

ललितपुर जिल्ला अदालतका सूचना अधिकारी राम सञ्जिवन महतोले कुनै मुद्दा विशेषका बारेमा आफूलाई यत्तिकै जानकारी नहुने प्रतिक्रिया दिए । उनले भने, ‘त्यसमा के कसो भएको हो भन्न त बुझ्नै पर्छ, यत्तिकै त सम्भव हुँदैन ।’

न्यायाधीश कोइरालाले गतसाता मात्रै पक्राउ अनुमतिको विषयमा त्यस्तै आदेश गरेका थिए । एक व्यक्तिलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका महेन्द्र रावल र धर्मराज खड्कालाई उनले पक्राउ अनुमति दिएनन्, त्यसपछि दुवैजना छुटेका थिए ।

आदेश दिए लगत्तै पीडित पक्षले न्यायपरिषदमा उजुरी दिएको छ । न्यायाधीश कोइरालामा कार्यक्षमता नदेखिएको भन्दै उनीमाथि छानबिन र बर्खास्तीको माग राखी परिषदमा उजुरी परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?