
News Summary
Generated by OK AI. Editorially reviewed.- पत्रकारितामा 'पाशविक' शब्दले पशुलाई निर्दोष प्रतीक बनाएर भयानक हत्या जनाउँछ, जसले पशु हिंसालाई सामान्यीकरण गर्छ।
- डा. बाबुराम भट्टराईले हात्तीको मातृत्व दृश्यलाई राजनीतिक आलोचनामा प्रयोग गर्दा करुणा र मातृत्वको अर्थ बिगारेका छन्।
- भरत जंगमले कुकुरको मृत्युशोकलाई अपमानजनक रूपमा लिएर पशुप्रति तुच्छ दृष्टिकोण देखाएका छन्।
पत्रकारिता खासगरी ‘क्राइम बिट’मा चल्तीको एउटा शब्दावली छ, पाशविक ।
यो शब्दावली त्यसबेला प्रयोग हुन्छ, जब कसैको भयानक हत्या भएको छ । जस्तो, छियाछिया बनाएर तड्पाई-तड्पाई मारिएको छ । यसलाई जनाउने अरू केही शब्दाहरू पनि छन्-क्रुर, विभत्स, बर्बरतापूर्वक । यति धेरै लाक्षणिक शब्दको विकल्प हुँदाहुँदै पनि किन ‘पाशविक’ लेखिन्छ ?
पाशविकको शाब्दिक अर्थ हो, पशुको जस्तै । वा पशुले जस्तै । वा पशुलाई जस्तै ।
यसको सोझो बुझाइ के भने, हत्या यसरी भएको छ मानौं त्यो कुनै पशुले गरेको हो । वा यसरी मारिएको छ, जसरी पशुलाई मारिन्छ ।
हत्याको स्थिति बखान गर्नका लागि यहाँ निर्दोष पशुलाई सांकेतिक रुपमा प्रयोग गरिएको छ । हेर्दा, सुन्दा र पढ्दा त यो कुरा हल्काफुल्का लाग्छ । तर, यसको मनोसामाजिक नतिजा भयानक छ ।
यसले ‘पशु हिंसा’ लाई सामान्यीकरण गर्छ, जसले पशुप्रति डर र दूरी एकसाथ बढाइदिन्छ । यही मनोविज्ञानको कारण त हो, हाम्रो आँखा अगाडि पशुलाई तड्पाई–तड्पाई मार्दा पनि हामीमा त्यसको पीडाबोध नहुनु । करुणाभाव नजाग्नु ।
अतः यही मनोविज्ञानले मलजल पाइरहँदा ‘साइकोपाथ’ले जन्म लिन्छ । साइकोपाथ, जसले कुनै पनि क्रुर हिंसाबाट आनन्द अनुभव गर्छ । त्यहीबाट जन्म हुन्छ अपराधको श्रृंखला । किनभने हिजो जिउँदै गाईको फिला काट्नेहरूलाई भोलि जिउँदै मान्छेको गर्दन छिनाउनमा खासै गाह्रो लाग्दैन ।
हामीले पशुलाई कुरुप बिम्बको रुपमा प्रयोग गरिरहँदा त्यसको असर कहाँ र कति हुन्छ ? थाहापत्तो पाउँदैनौं । हामीलाई त यति मात्र लाग्छ, ‘म सग्लो र ओभानो, तिनीहरू तुच्छ र बेकारका ।’
…………
मान्छेको खराब प्रवृत्तिलाई संकेत गर्न ‘पशु’लाई माझमा किन राख्छौं ?
खासमा बेबी बुमर्स र मिलेनियल्स भनिने करिब ‘म्याद गुज्रिसकेको’ पुस्ताले पशुलाई खराब बिम्बको रुपमा बढी प्रयोग गरिरहेका छन् । किनभने यो पुस्ताको स्कुलिङ नै त्यस्तै थियो ।
कसैलाई ‘धूर्त’ भन्नुपरेमा ‘काग जस्तो’, कसैलाई तुच्छ भन्नुपरेमा ‘कुकुर जस्तो’, कसैलाई छट्टु भन्नुपरेमा ‘स्याल जस्तो’, कसैलाई एकोहोरो भन्नुपरेमा ‘भेडा जस्तो’ । यो पुस्तालाई विद्यालयमै सिकाइयो कि भैंसी भनेको राक्षसको बहान हो । स्याल भनेको छट्टु प्राणी हो । खरायो भनेको घमण्डी जनवार हो ।
वाल्यकालको यही ह्याङओभरको कारण हुनसक्छ, मान्छेहरू छिप्पिएर ‘विद्वान’ भइसक्दा पनि जीवन र जगतप्रतिको एकलकाँटे हेराइ, बुझाइ र सोचाइ नफेरिएको । ‘स्याल छट्टु थियो’ भनी भाका हाल्दै विद्यालयमा पढेर आएका यिनीहरू कहीँ कतै स्याल देख्नसाथ ढुंगा टिपेर लखेट्न तम्सिन्छन् ।
भनिन्छ, मान्छेको यस्तै पाखण्डी प्रवृत्तिको कारण धर्तीबाट हजारौं प्राणी बिलुप्त भए । अब तिनीहरू कहिल्यै जन्मने छैनन् । के यो धर्ती उनीहरूको पनि थिएन ?
…………..
धर्तीमा हामीसँगै पहिलो पटक जीवनको अनुभव गरिरहेका यी अवोध पाशुप्राणीहरूलाई मान्छेले कहिल्यै सम्यक दृष्टिले हेरेनन् । सम्मान भावले हेरेनन् । करुणा र मैत्रीयबोधले हेरेनन् । तपाईं सोच्नुहोस् त, गाईले दूध नदिने भए मान्छेले ‘गौमाता’ भन्दै दण्डवत् गर्थे होलान् ? उहिल्यै लखेटेर सुकुटी बनाइसक्थे ।
कक्षा २ बाट नै ‘मान्छे सर्वश्रेष्ठ प्राणी हो’ भनी पाठ घोकेर आएको यो पुस्ताले आफूलाई केन्द्रमा राखेर पशुप्राणीमाथि तुच्छ धारणा बनाएका छन्।
त्यसैले त ‘बाँदरले बाली सखाप पार्यो’ भन्छन् तर ‘मान्छेले बाँदरको थातथलो हडप्यो’ भन्दैनन् । ‘हात्तीले वस्तीमा आतंक मच्यायो’ भन्छन् तर ‘मान्छेले हात्तीलाई बसीखाने ठाउँ दिएनन्’ भन्दैनन् । ‘कुकुरले मेरो घरको गेटमै दिसा गरिदियो’ भन्छन् तर ‘मेरो घरले कुकुरलाई दौडन–खेल्न बाधा पुग्यो’ भन्दैनन् ।
यस्तो एकलकाँटे सोचहरू कहाँबाट किन र कसरी आए ? किन पशु भन्नसाथ तुच्छ र बैरी ठाने ? किनभने हामीले पशुप्राणीलाई जहिले पनि कुरुप बिम्बको रुपमा प्रयोग गर्यौं । केही आलोतातो उदाहरण,
–बाबुराम भट्टराईको फेसबुक स्टाटस हेर्नुहोस् ।
–भरत जंगमको फेसबुक पोस्ट हेर्नुहोस् ।
………………….
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही दिनअघि मात्र फेसबुकमा एउटा छुचो स्टाटस लेखेका छन् ।
यसरी, ‘अन्यथा अर्थ नलागोस्, वैचारिक–राजनीतिक–नैतिक स्खलन र बन्धयाकरण भैसकेका पुराना दल र नेताहरूसँग भावनामा बगेर टाँसिइरहनु भनेको हात्तीले मरिसकेको सन्तानलाई बोकेर हिँड्नु जस्तै हो ।’ उनले ह्यासट्याग राखेका छन्, ‘अबआँखाखोलौं ।’
स्टाटस जेसुकै लेखुन्, त्यो उनको आफ्नो भडास होला । तर, ‘स्खलन र बन्ध्याकरण भइसकेका पुराना दलसँग मिल्न सकिँदैन’ भन्नका लागि त्यहाँ हात्तीको अवस्थालाई किन चित्रण गर्नु ?
किनभने सोही स्टाटसलाई सदृश्य वर्णन गर्न उनले एउटा फोटो राखेका छन्, हात्तीले आफ्नो सुँडमा सानो बच्चा हात्तीलाई बोकिरहेको । कमजोर र रोगी बच्चा मरेपछि उसले त्याग्न सकेन । अनि बोकेर आफूसँगै लिएर हिँड्यो ।
पक्कै पनि त्यो करुणा, मातृत्व र प्रेमको प्रतीक हो । कुनै फोटोग्राफरले सो फोटो कैद गरिरहँदा सायद हृदय पग्लिएको थियो, आँखा रसाएको थियो । न्यूजविकमा उक्त फोटोको कारुणिक कथा लेखिएको छ । हात्तीहरूको बुद्धिमता, करुणा र सन्तानप्रतिको स्नेहबारे मर्मस्पर्शी वर्णन छ ।
प्राणी जगतको महानतालाई दर्शाउने उक्त फोटोलाई बाबुरामले कुरुप परिभाषा दिएका छन् । त्यो मातृवसल्यको अनुपम दृश्यलाई उनले ‘मरेको बच्चासँग टाँसिने हात्ती’ भनी मजाकको विषय बनाए ।
बाबुराम भट्टराईको मगजमा यस्ता ‘ननसेन्स’ कुरा मौलाउनु कति टिठलाग्दो कुरा !
डा. भट्टराई स्वयम्ले आफ्ना नातीसँग रमाएको, खेलेको फोटो फेसबुकमा राख्ने गर्छन्, बेलाबखत । त्यही फोटोलाई उनले जस्तै बटारेर अनर्थ लाग्नेगरी दिल्लगीको विषय बनाए उनलाई कस्तो लाग्छ ?
आज तमाम पशुप्राणी मान्छेले गर्ने क्रुर व्यवहारको पृष्टभूमिमा यस्तै सांकेतिक भाष्यहरू लुकेका छन् । जसरी बाबुरामले हात्तीको मातृत्व र विवसतालाई कुरुप बिम्ब बनाइदिएका छन् ।
……………
अब अर्का ‘विद्वान’को कुरा गरौं । उनी हुन्, भरत जंगम । उनले आफूलाई ‘एन्टी करप्सन एक्टिभिस्ट, फ्रिलान्सर जर्नालिस्ट, लेखक’ भनी चिनाउँछन् । यी बुज्रुकले केही दिनअघि फेसबुकमा यस्तो स्टाटस लेखे, ‘आजको नयाँ पत्रिकामा यो तलको विज्ञापन देखें । हामी नेपालीको सोचको स्तर… ? प्रतिक्रिया पाउँ ।’
स्टाटसको मुन्तिर एउटा विज्ञापनको कटिङ थियो, जहाँ कसैले आफ्नो प्यारो कुकुरको मृत्युशोक लेखेका छन् ।
पग प्रजातिको कुकुरको श्यामश्वेवत फोटोसहित विज्ञापनमा प्रेमिल शब्दलहर छ । ‘तिम्रो सम्झना जीवनभर आइरहनेछ….हाम्रो परिवारको मुटुको धड्कन, प्यारो पिटु । तिमी आज हामीबीच नभए पनि हरपल तिम्रो यादमा आँखा रसाइरहनेछ । हाम्रो पिटु तिमी अर्को जन्ममा आफ्नै यही घरमा जन्म लिनू ।’
कति मर्मस्पर्शी र प्रेमिल भावना अभिव्यक्त छ यहाँ । आफ्नै परिवारको सदस्य जसरी पालेको कुकुरको निधनपछि त्यो घर–परिवारले कस्तो रिक्तता महसुस गरे होलान् ? सो कुकुरसँग जोडिएका स्मृतिहरूले उनीहरूलाई कति रुवायो होला ?
तर, जंगमलाई यो कुरा अनौठो र अपाच्य लाग्यो । उनले अर्काको विवसतालाई खिसिट्युरी गर्ने आशयको स्टाटस लेखे र त्यसमा मान्छेले के भन्छन् भनी प्रतिक्रिया मागे ।
मान्छेलाई यसरी श्रद्धाञ्जली दिएको भए त उनले त्यसमा आँखा पनि लगाउँदैनथे । तर, पशु त्यो पनि कुकुरलाई दिएको कुराले सम्भवत उनको मगज खलबलियो । किन खलबलियो भने, उनले त पशुलाई फगत तुच्छ प्राणी ठानेका छन् ।
उनलाई लाग्यो, ‘जाबो कुकुर मर्दा यस्तो रोइकराइ ? यो त नाटकै हो ।’
आवरण, नश्ल र प्रजातिको भरमा विभेदपूर्ण सोच राख्ने यी बुज्रुकलाई थाहा भएन, सम्बन्धको आयम र प्रेमको भाषा कति विराट हुन्छ भन्ने कुरा ।
चाहे कुकुर होस् वा आफ्नी आमा, मृत्युशोक उत्तिकै वेदनापूर्ण हुन्छ । किनभने त्यो आवरणको कुरा होइन । सम्बन्ध र त्यससँग जोडिएको स्मृतिहरूको कुरा हो । कुनैपनि व्यक्तिलाई आफ्नी आमाको मृत्युले विक्षिप्त बनाउँछ । तर, अरुको आमाको मृत्युमा त्यही व्यक्ति रुँदैन । किन ?
किनभने अरुको आमासँग उनको स्मृतिहरू जोडिएका हुँदैन, जसरी आफ्नी आमासँग हुन्छ । आमाको काखमा खेलेको, दूध चुसेको, चकचक गरेको स्मृतिहरू संग्रहित हुन्छ । जब आमाको निधन हुन्छ, त्यही स्मृतिहरूले खिन्न बनाउँछ ।
हो, यसरी नै कुनैपनि व्यक्तिले स्वार्थरहित ढंगले पालेको पशुसँग पनि उसको स्मृतिहरू जोडिएको हुन्छ । उसलाई भेटाएको, ल्याएको, खेलेको, खुवाएको, रमाएको । जब उसको मृत्यु हुन्छ, तब त्यही स्मृतिहरूले मान्छेलाई रिक्तता महसुष गराउने हो ।
……..
सम्भवत: हामीले यसरी कसैको स्वभाव वा कमजोरीलाई बिम्ब बनाएर तुलनात्मक वाक्यहरू बनायौं भने यिनीहरूले हामीविरुद्ध मुद्दा हाल्नेछन्, मानहानिको ।
किनभने यिनीहरूलाई राम्ररी थाहा छ, मान्छेको कानुन छ । मान्छेको न्याय छ । मान्छेको अदालत छ । तर, पशुहरूको ?
आखिर पशुलाई जे गरे पनि, जे भने पनि लाप्पा खेल्न आउने होइन । मुद्दा हाल्ने होइन । विरोध गर्ने होइन ।
प्रतिक्रिया 4